क्रिस्टल प्यालेस विरुद्धको जितका क्रममा लिभरपुलका स्टार स्ट्राइकर मोहम्मद सलाह घाइते भएका छन्। देब्रे खुट्टाको ह्यामस्ट्रिङ चोटका कारण खेलको ५९ औँ मिनेटमा मैदान छाड्दा उनी निकै भावुक देखिएका थिए।
प्रशिक्षक आर्न स्लटले सलाहको अवस्थाबारे अहिले नै भन्न नसकिने र रिपोर्टको प्रतीक्षा गर्नुपर्ने बताएका छन्।
३३ वर्षीय इजिप्सियन खेलाडी सलाहले यसअघि नै यो सिजनको अन्त्यसँगै लिभरपुल छाड्ने घोषणा गरिसकेका छन्। लिगको अन्तिम खेल मे २४ मा ब्रेन्टफोर्ड विरुद्ध हुँदैछ। तर, यो चोटका कारण उनले आफ्नो बिदाइ खेल खेल्न पाउने हुन् कि होइनन् भन्नेमा ठूलो संशय पैदा भएको छ।
प्रशिक्षक स्लटले भने, ‘सलाह सजिलै मैदान छाड्ने खेलाडी होइनन्। उनले जसरी मैदान छाडे, त्यसले चोट गम्भीर हुन सक्ने संकेत गर्छ। सिजन सकिन केही हप्ता मात्र बाँकी रहँदा यस्तो हुनु दुर्भाग्यपूर्ण छ।’
मैदानबाट बाहिरिँदा सलाहले एनफिल्डका दर्शकहरूलाई ताली बजाएर अभिवादन गरेका थिए, जसलाई धेरैले उनको अन्तिम बिदाइको रूपमा हेरेका छन्।
सन् २०१७ मा लिभरपुल आएका सलाहले क्लबका लागि २ प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपसहित धेरै ट्रफी जिताएका छन्। ४३५ खेलमा २५७ गोल गर्दै उनी क्लबको इतिहासमा सर्वाधिक गोल गर्नेको सूचीमा तेस्रो स्थानमा छन्।
यो चोटका कारण उनले अर्को हप्ता हुने चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड विरुद्धको महत्त्वपूर्ण खेल गुमाउने निश्चित प्रायः छ। म्यानचेस्टर विरुद्ध १८ खेलमा १६ गोल गरेका सलाहको अनुपस्थिति लिभरपुलका लागि ठूलो झड्का हुनेछ।
अबको केही दिनमा आउने मेडिकल रिपोर्टले नै तय गर्नेछ कि सलाहले फेरि एकपटक लिभरपुलको जर्सी लगाएर मैदानमा उत्रिन पाउनेछन् वा क्रिस्टल प्यालेस विरुद्धको खेल नै उनको ऐतिहासिक यात्राको अन्तिम अध्याय बन्नेछ।