डिफेन्डिङ च्याम्पियन एनआरटीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब काठमाडौँले इलाम गोल्डकपको तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा एनआरटीलाई २–० गोलअन्तरले हराउँदै मछिन्द्रले उपाधि हात पारेको हो। योसँगै एनआरटीको उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा ब्रेक लागेको छ।
राष्ट्रिय तथा विभिन्न उमेर समूहका खेलाडी सम्मिलित दुवै टोलीबीचको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दुवै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल हुन सकेन । तर, दोस्रो हाफ सुरु भएसँगै मछिन्द्रले खेलमा पकड जमायो । दोस्रो हाफको दोस्रो मिनेटमै सौरभ सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मिलन चाम्लिङले अर्को गोल थप्दै मछिन्द्रलाई २–० गोलको सुरक्षित अग्रता दिलाए, जुन अन्त्यसम्म कायम रह्यो ।
उपाधिसँगै मछिन्द्रले रु १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता एनआरटीले रु पाँच लाखमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दी म्याच मछिन्द्रका प्रदीप बुढाथोकी घोषित भए । उनले रु आठ हजार १०० प्राप्त गरे ।
उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर मछिन्द्रका युवराज ढकाल, सर्वाधिक गोलकर्ता मछिन्द्रका मिलन चाम्लिङ र उत्कृष्ट प्रशिक्षक मछिन्द्रका प्रवेश कटुवाल घोषित भए । उनीहरूले जनही रु १५ हजारसहित ट्रफी प्राप्त गरे ।
उदीयमान खेलाडी रेडहर्षका विवेक सुनाम घोषित भए । उनले रु २५ हजारसहित ट्रफी पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका सनिस श्रेष्ठ घोषित भए । उनले रु ५१ हजारसहित ट्रफी प्राप्त गरे । रेडहर्ष फुटबल क्लबको आयोजनामा यही वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।