वेम्बली स्टेडियममा भएको एफए कपको प्रतिस्पर्धात्मक सेमिफाइनलमा एन्जो फर्नान्डेजको सानदार हेडर गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई पराजित गरेको छ।
मुख्य प्रशिक्षक लियाम रोजेनियरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै चेल्सीले जित निकाल्दै नयाँ सिजनको सुखद सुरुवात गरेको हो।
यस सिजनको अन्त्यसम्मका लागि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका कालुम म्याकफार्लेनले अब आगामी मे १६ (शनिबार) हुने म्यानचेस्टर सिटी विरुद्धको फाइनल खेलमा चेल्सीको नेतृत्व गर्नेछन्।
अर्कोतर्फ सन् १९७३ पछि पहिलोपटक एफए कपको फाइनल पुग्ने लिड्सको सपना यसपटक पनि अधुरै रह्यो। खेलको सुरुवाती समयमा पाएका केही सुनौला अवसरहरूलाई गोलमा बदल्न नसक्दा ड्यानियल फार्केको टोली लिड्सले हारको सामना गर्नुपऱ्यो।
खेलको सुरुमै लिड्सका ब्रेन्डन आरोन्सनले गोल गर्ने निकै राम्रो मौका पाएका थिए, तर चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले खुट्टाले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे। लिड्सले यो मौका गुमाउनु महँगो सावित भयो।
खेलको २३औँ मिनेटमा पेड्रो नेटोको सुन्दर क्रसलाई सदुपयोग गर्दै एन्जो फर्नान्डेजले पावरफुल हेडरमार्फत गोल गरे र चेल्सीलाई १-० को अग्रता दिलाए।
खेलमा चेल्सीको पकड बलियो हुँदै जाँदा जोआओ पेड्रोको एउटा प्रहार पोस्टमा लागेर फर्किएको थियो। दोस्रो हाफमा लिड्सले खेलमा फर्किन निकै कसरत गऱ्यो।
वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका एन्टोन स्टाचको प्रहारलाई सान्चेजले डाइभ गरेर बचाए। त्यस्तै, डोमिनिक काल्भर्ट-लेविनले निकै नजिकबाट गरेको हेडर सिधै गोलकिपरको हातमा पुगेपछि लिड्सले बराबरी गर्ने अवसर गुमायो।
प्रशिक्षक रोजेनियरलाई मात्र १०६ दिनमा बर्खास्त गरेपछि दबाबमा रहेको चेल्सीले अन्तिम समयसम्म आफ्नो अग्रता जोगाएर जित सुनिश्चित गऱ्यो। एफए कपका पछिल्ला तीनवटा फाइनलमा हार बेहोरेको चेल्सीले यसपटक भने उपाधि जित्दै त्यो खराब लय तोड्ने प्रयास गर्नेछ।