अर्को महिना हुने फिफा विश्वकपमा एकटा नियम परिवर्तन हुँदैछ। विशेषगरी पहेँलो एककार्डका कारण महत्वपूर्ण खेलहरू गुमाउनुपर्ने डरलाई कम गर्न फिफाले नयाँ योजना बनाएको छ।
अहिलेको नियम अनुसार एउटा पहेँलो कार्ड समूह चरणमा र अर्को क्वार्टरफाइनलमा पाएमा खेलाडीले सेमिफाइनल गुमाउनुपर्ने हुन्थ्यो। तर अब फिफाले दुई पटक कार्डहरू मेटाउने योजना बनाएको छ।
समूह चरण सकिएपछि सबै पहेँलो कार्डहरू 'शून्य' हुनेछन्। यस्तै क्वार्टरफाइनल सकिएपछि फेरि सबै पहेँलो कार्डहरू 'शून्य' हुनेछन्।
आगामी विश्वकपमा ३२ को सट्टा ४८ टोली सहभागी हुँदैछन्। यसको मतलब खेलको संख्या बढेको छ। सेमिफाइनल पुग्नका लागि टोलीले पहिलेभन्दा धेरै खेल खेल्नुपर्ने हुन्छ। धेरै खेल खेल्दा दुईवटा पहेँलो कार्ड पाउने र मुख्य खेलाडीले सेमिफाइनल वा फाइनल जस्ता ठूला खेल गुमाउने जोखिम बढी हुने भएकाले फिफाले यो नियम ल्याउन लागेको हो।
नियम परिवर्तन भए पनि दुईवटा पहेँलो कार्ड खाँदा एक खेलको प्रतिबन्ध लाग्ने नियम भने कायमै रहनेछ। तर, त्यो कार्ड निश्चित समयभित्रै खाएको हुनुपर्नेछ।
उदाहरणका लागि यदि कुनै खेलाडीले समूह चरणका ३ खेलमध्ये २ खेलमा पहेँलो कार्ड खाएमा उसले अर्को खेल गुमाउनेछ। यदि समूह चरणमा एउटा मात्र कार्ड खाएको छ भने समूह चरण सकिएपछि त्यो कार्ड मेटिनेछ।
त्यसपछि नकआउट चरण (राउन्ड अफ ३२, १६ र क्वार्टरफाइनल) मा फेरि दुईवटा पहेँलो कार्ड खाएमा मात्र प्रतिबन्ध लाग्नेछ।
कुनै पनि स्टार खेलाडीले केवल दुईवटा सामान्य गल्ती (पहेँलो कार्ड) का कारण विश्वकपको सेमिफाइनल जस्तो महत्वपूर्ण खेल गुमाउन नपरोस् भनेर फिफाले यस्तो नियम ल्याउन लागेको हो। यो नियमले खेललाई अझ निष्पक्ष र रोमाञ्चक बनाउने विश्वास गरिएको छ।
यस विषयमा क्यानडाको भ्यानकुभरमा मंगलबार हुने फिफा काउन्सिलको बैठकमा औपचारिक छलफल र निर्णय हुनेछ।