स्पेनिस क्लब रियल सारागोसाका गोलरक्षक एस्टेबान एन्ड्राडालाई विपक्षी खेलाडीको अनुहारमा मुक्का प्रहार गरेको आरोपमा १३ खेलको प्रतिबन्ध लगाइएको छ।
स्पेनको दोस्रो डिभिजनअन्तर्गत आइतबार रियल सारागोसा र हुयस्काबीच 'डर्बी' खेल भइरहेको थियो।
खेलको अन्तिम समयमा एन्ड्राडाले दोहोरो पहेँलो कार्ड खाँदै रातो कार्ड पाएर मैदान बाहिरिनु पर्ने भयो। तर, मैदानबाट निस्कनुको साटो ३५ वर्षीय एन्ड्राडाले दौडिएर गएर हुयस्काका कप्तान जर्ज पुलिडोको अनुहारमा जोडले मुक्का प्रहार गरे।
त्यसपछि मैदानमा दुवै टोलीका खेलाडीबीच ठूलो झगडा र कुटाकुट सुरु भयो। स्थितिलाई नियन्त्रणमा लिन रेफ्रीले हुयस्काका गोलरक्षक डानी जिमिनेज र सारागोसाका डानी तासेन्डेलाई पनि रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए।
स्पेनिस फुटबल महासंघले मुक्का प्रहार गरेकोमा एन्ड्राडालाई १२ खेलको निलम्बन सुनाएको छ भने रातो कार्डका कारण लाग्ने नियमित १ खेलको प्रतिबन्ध गरी कुल १३ खेल खेल्न नपाउने निर्णय गरेको छ।
घटनापछि पछुतो मान्दै एन्ड्राडाले भने, ‘जे भयो, त्यसका लागि म धेरै दुःखी छु। यो क्लब, फ्यान र म जस्तो व्यावसायिक खेलाडीका लागि राम्रो छवि होइन। म जर्ज पुलिडोसँग पनि माफी माग्न चाहन्छु, किनकि हामी सहकर्मी हौं। त्यो क्षणमा मैले आफ्नो नियन्त्रण गुमाएका कारण यस्तो हुन पुग्यो। अब लिगले दिने सजाय भोग्न म तयार छु।’
उनले आफ्नो पूरै खेल जीवनमा यसअघि एउटा मात्र रातो कार्ड खाएको र त्यो पनि डिपिबक्स बाहिर हातले बल छुँदा भएको दाबी गरे।
१-० को हारपछि सारागोसा र हुयस्का दुवै टोली अहिले रेलिगेसन क्षेत्र (तल्लो डिभिजनमा झर्ने डर भएको स्थान) मा छन्। रियल सारागोसाले एक विज्ञप्ति जारी गर्दै एन्ड्राडाको व्यवहारको कडा निन्दा गरेको छ र उनीमाथि आन्तरिक रूपमा पनि अनुशासनको कारबाही गर्ने बताएको छ।