पार्मालाई २-० ले सहजै पराजित गर्दै इन्टर मिलानले २१ औं पटक इटालियन 'सिरी ए' को उपाधि जितेको छ।
सिजनका तीन खेल बाँकी छँदै लिग च्याम्पियन बन्न इन्टरलाई मात्र १ अंकको आवश्यकता थियो, तर सन सिरो मैदानमा भएको खेलमा जित निकाल्दै उसले सानदार ढंगले उपाधि आफ्नो नाममा गर्यो।
इन्टर मिलानको यो जितमा मार्कस थुराम र हेनरिक मखितार्यानले निर्णायक गोल गरे। यो जितसँगै इन्टरले साविक विजेता नापोलीभन्दा १२ अंकको स्पष्ट अग्रता बनाएको छ।
फ्रान्सेली फरवार्ड मार्कस थुरामले पहिलो हाफको अतिरिक्त समय (इन्जुरी टाइम) मा दायाँ खुट्टाले उत्कृष्ट प्रहार गर्दै गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ८० औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका लाउटारो मार्टिनेजको पासमा ३७ वर्षीय मखितार्यानले दोस्रो गोल गर्दै इन्टरको जित सुनिश्चित गरे।
खेल सकिएपछि मैदानमा निलो र सुनौलो रिबनहरू उडाइएको थियो र समर्थकहरूले भव्य उत्सव मनाएका थिए। इन्टर मिलानका प्रशिक्षक क्रिस्टियन चिभुका लागि प्रशिक्षकको रूपमा यो पहिलो ठूलो उपाधि हो। यसअघि उनले खेलाडीको रूपमा इन्टरबाटै तीन पटक सिरी ए जितेका थिए।
खेलअघि उनले मिडियासँग ‘चाँडोभन्दा चाँडो उपाधि टुङ्ग्याउने’ इच्छा व्यक्त गरेका थिए, जुन उनले पूरा गरेरै छाडे।
१२ औं स्थानमा रहेको पार्मा विरुद्ध इन्टरले पूरै खेल नियन्त्रणमा राखेको थियो।
इन्टरले ५९ प्रतिशत समय बल आफ्नो कब्जामा राख्यो र विपक्षीको पोस्टमा १२ पटक आक्रमण गर्यो। पछिल्ला ६ खेलमा मात्र १९ गोल गरेको इन्टरले यो सिजन खेलेका ३५ मध्ये २६ खेलमा जित निकाल्दै आफूलाई उपाधिको हकदार सावित गरेको छ।