क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी आधुनिक फुटबलका दुई सर्वकालीन महान् खेलाडी हुन्। झन्डै दुई दशकदेखि यी दुई सुपरस्टारबीच को उत्कृष्ट भन्ने बहस चलिरहेको छ।
उनीहरूको प्रतिस्पर्धा मैदानमा मात्र सीमित छैन, गोल संख्या, व्यक्तिगत अवार्ड र कीर्तिमानमा समेत निरन्तर तुलना हुँदै आएको छ।
तर, के रोनाल्डो र मेसीले साँच्चै एकअर्काको प्रदर्शनमा ध्यान दिन्छन्? एकले गोल गर्दा अर्को खेलाडीलाई पनि त्यस्तै प्रदर्शन गर्ने दबाब महसुस हुन्छ?
म्यानचेस्टर युनाइटेडमा रोनाल्डोसँगै खेलेका पूर्व मिडफिल्डर एन्डरसनले यसको जवाफ दिएका छन्। उनले दुवै खेलाडीले एकअर्काको प्रदर्शनलाई महत्त्व दिने र एकअर्कालाई अझ राम्रो गर्न प्रेरित गर्ने बताएका छन्।
एन्डरसनका अनुसार रोनाल्डो र मेसीबीचको प्रतिस्पर्धा नै उनीहरूलाई फुटबलको असाधारण उचाइमा पुर्याउने एउटा महत्त्वपूर्ण कारण हो।
‘मलाई लाग्छ, उनीहरू दुवैले एकअर्काको ख्याल गर्छन्। दुवै एकअर्काले राम्रो गरेको देख्न चाहन्छन्,’ एन्डरसनले गोल डटकमसँग भनेका छन्।
उनले मेसी र रोनाल्डोको प्रतिस्पर्धात्मक मानसिकतालाई उदाहरण दिँदै भने, ‘मेसीले क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको देखे भने आफूले पनि दुई गोल गर्नुपर्छ भन्ने सोच्छन्। शीर्ष स्तरका खेलाडीको मानसिकता यस्तै हुन्छ।’
उनका अनुसार यी दुई खेलाडीले एकअर्कालाई निरन्तर चुनौती दिँदै सामान्य खेलाडीले कल्पना गर्नसमेत कठिन हुने स्तरमा पुर्याएका छन्।
‘यी दुईले एकअर्कालाई यति धेरै प्रेरित गरेका छन् कि उनीहरू अर्कै स्तरमा, अर्कै ग्रहमा पुगेजस्ता देखिन्छन्,’ एन्डरसनले भने।
एक हजार गोलको अविश्वसनीय लक्ष्य
रोनाल्डो र मेसी अहिले आफ्नो व्यावसायिक करिअरमा एक हजार गोलको ऐतिहासिक आँकडा छुने लक्ष्यतर्फ अघि बढिरहेका छन्। दुवै खेलाडीले वर्षौँदेखि गोल, उपाधि र व्यक्तिगत कीर्तिमानमा आफ्नो वर्चस्व कायम राख्दै आएका छन्।
एन्डरसनलाई यी दुई खेलाडीको गोल संख्याले पनि आश्चर्यचकित बनाएको छ।
‘यी दुवै एक हजार गोलको नजिक पुगिरहेका छन्। यो पत्याउनै नसकिने कुरा हो। यस्तो कसले गर्छ? पेले? रोमारियो? सायद एक वा दुई खेलाडीले मात्र यस्तो गरेका होलान्। अब यी दुईले एक हजार गोल गर्नेछन्,’ उनले भने।
रोनाल्डोको उमेर बढ्दै गए पनि उनको गोल गर्ने क्षमता र खेलप्रतिको भोकमा प्रश्न उठाउनु आवश्यक नरहेको एन्डरसनको तर्क छ।
‘क्रिस्टियानो रोनाल्डोले ४५ वर्षको उमेरमा पनि गोल गर्न सक्छन्। मानिसहरूले किन उनको आलोचना गरिरहेका छन्, मैले बुझ्न सकेको छैन। उनलाई गोल गर्न दुई मिनेट मात्र पर्याप्त हुन सक्छ,’ उनले भने।
उनका अनुसार रोनाल्डो र मेसीजस्ता खेलाडीलाई गोल गर्ने अवसर दिनु नै पर्याप्त हुन्छ। उनीहरूलाई उमेरले रोक्न सक्दैनन् भन्ने उनको विश्वास छ।
राष्ट्रिय टोलीमा पनि खेलाउनुपर्छ
एन्डरसनले रोनाल्डो र मेसीलाई उनीहरूको राष्ट्रिय टोलीमा पनि निरन्तर स्थान दिनुपर्ने धारणा राखेका छन्।
उनका अनुसार यी दुई खेलाडीले मैदानमा पाँच वा १० मिनेट मात्रै बिताए पनि खेलको नतिजा बदल्न सक्छन्।
‘यदि म राष्ट्रिय टोलीको प्रशिक्षक भएको भए यी दुवैलाई सधैँ टोलीमा राख्थेँ। किनकि मलाई थाहा छ, उनीहरूले जुनसुकै बेला गोल गर्न सक्छन्। चाहे १० मिनेट होस् वा पाँच मिनेट, शीर्ष खेलाडीले गर्ने यही हो,’ उनले भने।
रोनाल्डो पोर्चुगलका लागि र मेसी अर्जेन्टिनाका लागि खेल्दै आएका छन्। क्लब फुटबलमा रोनाल्डो साउदी अरबको अल नासर र मेसी अमेरिकाको इन्टर मियामीबाट खेलिरहेका छन्।
उनीहरूबीचको प्रतिस्पर्धा अब करिअरको अन्तिम चरणमा पुग्दै गर्दा पनि उत्तिकै चर्चामा छ। दुवैले व्यक्तिगत उपलब्धि र गोल संख्यामा नयाँ उचाइ हासिल गर्ने प्रयास जारी राखेका छन्।
रोनाल्डो र मेसी न त एकअर्काका शत्रु हुन्, न त अत्यन्त निकट मित्र। तर, उनीहरूबीच आपसी सम्मानसँगै एकअर्काभन्दा उत्कृष्ट बन्ने चाहना पनि रहेको एन्डरसनको भनाइले स्पष्ट पारेको छ।
दुई दशकदेखि फुटबलमा राज गरिरहेका यी दुई महान् खेलाडीको प्रतिस्पर्धा केवल कसले धेरै गोल गर्यो भन्नेमा सीमित छैन। एकको सफलताले अर्कोलाई अझ राम्रो गर्न प्रेरित गर्ने यही मानसिकताले उनीहरूलाई फुटबल इतिहासकै विशेष खेलाडी बनाएको छ।