पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको छ।
महासंघले उनलाई अस्थायी रूपमा निलम्बन गर्दै घटनाबारे अनुसन्धानसमेत सुरु गरेको छ।
४१ वर्षीय रोनाल्डोले पछिल्लो अन्तर्राष्ट्रिय खेलको विश्रामका क्रममा डेनमार्कसँगको खेल हुनुभन्दा २४ घण्टाअघि राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। त्यसपछि उनी विवादमा तानिएका थिए।
पोर्चुगल फुटबल महासंघको अनुशासन परिषद्ले शुक्रबार रोनाल्डोको घटनाबारे निर्णय गरेको थियो। शनिबार सार्वजनिक जानकारीअनुसार परिषद्ले उनीमाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको हो। घटनालाई गम्भीर मान्दै अनुसन्धानलाई प्राथमिकतामा राखिएको छ।
महासंघले रोनाल्डोमाथि लगाइएको अस्थायी निलम्बनलाई नियमित रूपमा स्वतः लागू हुने कारबाहीभन्दा अलग सावधानीस्वरूप गरिएको निर्णयका रूपमा व्याख्या गरेको छ। यो अनुसन्धान पूरा भएर अन्तिम निर्णय नआउँदासम्मको प्रारम्भिक कारबाही हो।
महासंघले घटनाको विस्तृत विवरण अनुसन्धान पूरा नभएसम्म गोप्य राखिने जनाएको छ।
६ महिनासम्म प्रतिबन्ध र जरिवाना हुन सक्ने
पोर्चुगल फुटबल महासंघको अनुशासनसम्बन्धी नियमअनुसार, राष्ट्रिय टोलीमा बोलाइएपछि उचित कारणबिना क्याम्प छाडेको पुष्टि भएमा रोनाल्डोलाई एक महिनादेखि ६ महिनासम्म प्रतिबन्ध लाग्न सक्छ।
नियमअनुसार राष्ट्रिय टोलीमा बोलाइएको खेलाडीले उचित कारणबिना प्रशिक्षण, खेल वा राष्ट्रिय टोलीसँग सम्बन्धित अन्य गतिविधिमा सहभागी नभएमा अनुशासनात्मक कारबाही गर्न सकिन्छ।
व्यावसायिक खेलाडीको हकमा प्रतिबन्धसँगै आर्थिक जरिवानासमेत हुन सक्छ। नियमअनुसार रोनाल्डोलाई करिब ५०० देखि १ हजार युरोसम्म जरिवाना हुन सक्ने बताइएको छ।
यद्यपि, उनलाई कति समय प्रतिबन्ध लगाउने वा कति जरिवाना गर्ने भन्ने अन्तिम निर्णय अनुसन्धानपछि मात्र हुनेछ।
प्रशिक्षकसँगको विवादपछि क्याम्प छाडेका थिए रोनाल्डोले
रोनाल्डोले पछिल्लो अन्तर्राष्ट्रिय विश्रामका क्रममा प्रशिक्षक जोर्गे जेसुससँगको विवादपछि पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। प्रशिक्षकको भनाइप्रति असन्तुष्टि जनाउँदै उनले टोली छाडेपछि यस विषयले व्यापक चर्चा पाएको थियो।
पछि रोनाल्डोले आफ्नो पक्ष स्पष्ट पार्दै लामो वक्तव्य जारी गरेका थिए। उनले आफ्ना सहखेलाडी र पोर्चुगलका जनतासँग माफीसमेत मागेका थिए।
रोनाल्डोले आफू राष्ट्रिय टोलीको सामान्य खेलाडी मात्र नभई कप्तानसमेत भएकाले यस घटनामा कडा कारबाही हुनुपर्ने धारणा राखेको समाचारमा उल्लेख छ।
यसैबीच, राष्ट्रिय टोली छाडेको घटनामा विवाद भइरहेकै समयमा पोर्चुगल राष्ट्रिय टोलीका आधिकारिक सामाजिक सञ्जाल खातामा साउदी अरेबियाको क्लब अल नासरबाट अल दिरियाहविरुद्ध रोनाल्डोले गरेको गोलको प्रशंसा गरिएको थियो।
अब अनुसन्धानपछि महासंघले गर्ने अन्तिम निर्णयले रोनाल्डोको आगामी अन्तर्राष्ट्रिय खेल सहभागितामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।