नेपाल राष्ट्र बैंकले केही डिजिटल कारोबारमा सीमा बढाएको छ।
बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा रकमान्तर गर्न पाइने रकमको सीमा बढाइएको छ। अब बैंक खाताबाट वालेटमा वा वालेटबाट बैंक खातामा एक पटकमा ५० हजार रुपैयाँसम्म र प्रतिमहिना १० लाख रुपैयाँसम्म रकमान्तर गर्न सकिनेछ।
यसअघि एक पटकमा २५ हजार र मासिक ५ लाखसम्मको सीमा थियो। बैंक खाताबाट वालेटमा वा वालेटबाट बैंक खातामा एक दिनमा ट्रान्सफर गर्न मिल्ने १ लाखकाे सीमालाई यथावत राखिएको छ।
एक वालेटबाट अर्को वालेटमा भने एक पटकमा २५ हजार रुपैयाँसम्म र प्रतिमहिना ५ लाख रुपैयाँसम्म रकमान्तर गर्न पाउने पुरानै व्यवस्थालाई कायम गरिएको छ।
त्यस्तै वालेटमा राख्न पाउने रकमको सीमा भने बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ। एक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न मिल्नेछ।
डेबिट कार्डबाट हुने कारोबारलाई पुरानै सीमा यथावत राखिएको छ। एटिएममा डेबिट कार्ड प्रयोग गरी एक पटकमा २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँसम्म र प्रतिमहिना ४ लाख रुपैयाँसम्म नगद झिक्न पाइने छ।
प्रिपेड कार्डबाट १० हजार रुपैयाँसम्म नगद झिक्न पाइनेछ। त्यस्तै प्रतिदिन २० हजार र प्रतिमहिना २ लाख रुपैयाँसम्म झिक्न सकिनेछ।
मोबाइल बैंकिङबाट गरिने कारोबारको सीमा पनि यथावत राखिएको छ। यसबाट प्रतिदिन २ लाख रुपैयाँ कारोबार गर्न सकिन्छ। त्यस्तै इन्टरनेट बैंकिङमार्फत प्रतिदिन २० लाखसम्म कारोबार गर्न सकिने व्यवस्थालाई यथावत राखिएको छ।
एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटिएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई वटा कारोबार निशुल्क हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भनेको छ।
त्यसपछि त्यस्तै एउटा बैंकको एटिएम कार्ड अर्को बैंकको मेसिनमा प्रयोग गर्दा प्रतिकारोबार २० रुपैयाँसम्म मात्रै शुल्क लिन पाइने छ।