मैले नचाहँदा नचाहँदै पनि
गाँउमा बाले आफ्ना हड्डीहरू धरौटी राखेपछि
म विवश भए तिम्रो खाल्डोमा आउन
तिम्रो विश्वविद्यालयमा आउन
म बाध्य भएँ तिम्रो मौनताको अघि उभिन ।।
बा
पिर नगर प्रिय तिम्रो बसन्तमा झुल्न आउँदिन
म आउँदिन तिम्रो सपनाको सहर बर्लिन र सिड्नीका चोकमा उभिन म शाहस् गर्दिनँ थेम्सको धुनमा तिमी गाइरहेको बेला तिम्रो माधुर्यता भङ्ग गर्न
किन कि!
मैले आफ्नै कर्णालीको धुनमा गाउन सकेको छैन यहाँ
मैले आफ्नै राराको छेउमा मृगसावकसँग नृत्य गर्न सकेको छैन यहाँ ।।
तिमी स्वतन्त्र भएर जहाँ फुल्नु छ फूल
म तिम्रो रसराग पान गर्न आउदिनँ
म तिम्रा लालित्य ओठहरुलाई नजर लाउन आउँदिनँ
किन कि!
मेरो घर उहिले नै गोर्खाले भत्काइसकेको छ
मेरो उड्ने सुन्दर सपना तिम्रो मौनताको आँधिले खाइसकेको छ
मेरो जिन्दगीको उड्ने प्वाँखहरू तिम्रो खाल्डोले काटिसकेको छ।।
म नचाहँदा नचाहँदै पनि विवस छु
छातिमा पशुपतिनाथ उमारेको तिम्रो खाल्डोमा उभिन
मरिसकेका दिनको इतिहाँसको ठेली पढ्न
अझ त्यो भन्दा बढ्ता तिम्रो मौन आधिको सिकार हुन।
तिमी निश्फिकर भए र फूल यो खाल्डोको बगैंचामा
तिम्रो रसराग पान गर्ने प्रशस्तै माहुरीहरु छन् यो खाल्डोमा
जसले गाँउमा सयौं घरहरुका हड्डीहरु लिलाम गरेर एउटा महल उभ्याएका छन यो खाल्डोमा ।।
जसले तिमी जस्तै मौन तिम्रो पशुपतिनाथलाई धुप बत्ति गरिरहेछन्।।।
लिलामित सयौं आत्माहरुले सपनामा चिथोरे पछि।।
तिमी ढुक्क भएर बस प्रिय!
म आउँदिन लिलामित आत्माहरू चिच्याइरहेको तिम्रो सपनाको सहरमा ।।
किन कि!
मैले बनाउनु छ भग्नाशेष सिंजाको दरबारलाई
मैले भर्नु छ भोकले अघाएको पेटलाई
मैले न्यानो दिनु छ हिउँले ढाकेको शरीरलाई
त्यो भन्दा बढ्ता गर्न सके भने लाल किल्ला गाढ्न आइपुग्नु छ तिम्रो खाल्डोसम्म
ध्वस्त पार्नु छ हड्डिहरुको इट्टाले तिम्रो खाल्डोभित्र बनेका आलिसान महलहरुलाई ।।