नेपाल साहित्य महोत्सवको आठौं संस्करण मंसिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुने भएकाे छ।
महोत्सवमा भारतका चर्चित लेखक जावेद अख्तर, अभिनेत्री शबना आजमी र लेखक शशी थरुर मुख्य अतिथिका रुपमा नेपाल जानकारी आयोजक बुकवर्म फाउन्डेसनले दिएको छ।
आइतबार एक कार्यक्रममार्फत् आयोजकले महाेत्सवमा १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जानकारी दिएको हो।
सन् २०११ मा सुरू भएको महोत्सव राष्ट्रियस्तरबाट बिस्तारै दक्षिण एसियाकै महोत्सवका रुपमा विस्तार हुन लागेको बुकवर्मका अजित बरालले बताए।
महोत्सवमा दक्षिण एसियाली साहित्यकै महत्वपूर्ण मानिने 'डिएससी' पुरस्कार प्रदान गर्न लागिएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशी बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो।

महाेत्सवलाई यस पटक जनकपुरमा समेत विस्तार गरिएकाे छ। जनकपुरमा हुने कार्यक्रम तराई मधेसको महत्वपूर्ण पर्व छठको समयमा पारिएको छ। कार्यक्रम विभिन्न पाँच ठाउँमा हुने सहआयोजक 'फ्याक्ट्स नेपाल'का मनिष झाले बताए।
सहआयोजक नेपाल पर्यटन बोर्डकी श्रद्धा श्रेष्ठले पर्यटनले साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै 'भिजिट नेपाल २०२०' को प्रचार प्रसारमा समेत योगदान दिने बताइन्।