डकुमेन्ट्री फिल्म 'स्नो लियोपार्ड सिस्टर्स' लाई नेपाल प्रिमियर गरिएको छ।
बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उपस्थिति रहेको थियो। यो डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक कुना डोल्पाका दुई आदिवासी महिलाबीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ।
यो डकुमेन्ट्रीलाई सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले निर्देशन गरेका हुन्। फिल्मले स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी गुरूङलाई कसरी मार्गदर्शन गर्छिन् भन्ने यात्रा देखाउँछ। उनीहरू दुवै खतरापूर्ण र सुन्दर हिमालयको भू–दृश्य हुँदै दुर्लभ र संकटग्रस्त हिमचितुवाको खोजीमा निस्कन्छन्।
यो फिल्मले संरक्षण क्षेत्रमा महिला आवाजको शक्ति उजागर गर्दै उनीहरूले रहस्यमय हिमचितुवाहरूका लागि कसरी राम्रो भविष्य निर्माण गर्ने भन्ने सम्भावनालाई देखाउँछ। साथै, डोल्पा जिल्ला क्षेत्रमा संकटग्रस्त हिमचितुवाको संख्या बढाउन र स्थानीय गोठालाहरूले बदला स्वरूप गर्ने हिमचितुवा हत्या पूर्ण रूपमा अन्त्य गर्न प्रत्यक्ष पहललाई प्रेरित गरेको छ।
फिल्म निर्माणसँगै तयार गरिएको प्रभावकारी कार्ययोजना र पात्रहरूले सिनेमाभित्र विकास गरेका नयाँ अहिंसात्मक प्रविधिहरू प्रयोग गर्न सहयोग पुर्याउँछ, जसले पशुधनको सुरक्षा गर्छ र स्थानीय समुदायको जीविकोपार्जनलाई हिमचितुवा संरक्षणसँग जोड्छ। यसले पनि निर्माण टिमलाई यो डकुमेन्ट्री फिल्मको महत्व सरकारले बुझोस भन्ने लागेको छ।
नेपाली फोटोग्राफर सोनम चोयकीले आफ्नी दिदि छिरिङ ल्हामु लामासँग मिलेर हिमचितुवाको खोज तथा संरक्षणको कामलाई आफ्नो दुर्गम मातृभूमिमा कैद गर्न सुरू गरेकी थिइन्, जुन पछि उनको पहिलो वृत्तचित्रका रूपमा विकसित भयो। यो डकुमेन्ट्रीमा विभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवका विजेता सिनेमामेकरहरू बेन आयर्स र एन्ड्रयू लिन्च पनि जोडिए, जसले तीन महादेशमा फैलिएको सशक्त टोली निर्माण गर्यो।
यो डकुमेन्ट्रीको कथा बेन आयर्स र एन्ड्रयू लिन्चले लेखेका हुन्। फिल्मलाई इयान डेभिस, टोर्किल जोन्स, जोआना नतासेगारा र छिरिङ ल्हामु लामाले निर्माण गरेका हुन्। सोनम चोयकी लामा, एन्ड्रयू लिन्च र रश स्टर्जेसले छायांकन गरेको डकुमेन्ट्रीको सम्पादन केटी ब्रायरले गरेका हुन्।