अभिनेत्री प्रियंका चोपडाको मुख्य अभिनय रहेको हलिउड फिल्म 'द ब्लफ' को ट्रेलर सार्वजनिक गरिएको छ।
प्राइम भिडिओको अफिसियल युट्युबमा सार्वजनिक दुई मिनेट लामो ट्रेलरले प्रियंकाको आक्रामक र सशक्त अवतारलाई प्रस्तुत गर्छ। प्रियंकाको पात्रले आफ्नो छोरीलाई जोगाउन ज्यानको बाजी लगाएको ट्रेलरमा देख्न सकिन्छ। उनका एक्सन दृश्यहरू ट्रेलरमा देखिन्छ।
फिल्ममा प्रियंकाले ‘ब्लडी मेरी’ नामले चिनिने पूर्व समुद्री डाकुको भूमिका निभाएकी छन्। कठोर र रफ लुकमा देखिएकी प्रियंकाको विगत फेरि सतहमा आउँछ, जसले उनलाई आफूले छाडिसकेको ठानेको जीवनसँग पुनः सामना गर्न बाध्य बनाउँछ। उनको अभिनयमा आक्रामकता, पीडा र मातृत्वको गहिरो भाव एकसाथ देखिन्छ।
फ्र्याङ्क ई फ्लावर्सको निर्देशमा बनेको 'द ब्लफ' मा प्रियंका र कार्ल अर्बन मुख्य भूमिकामा छन्। अमेजन एमजीएम स्टुडियोजको ब्यानरमा बनेको फिल्मले समुन्द्री डाकुहरूको जीवनलाई प्रस्तुत गर्ने जनाइएको छ।
फिल्म आगामी फेब्रुअरी २५ तारिखमा प्राइम भिडिओमा विश्वव्यापी प्रिमियर हुने तालिका तय छ।