विराटनगरबाट काठमाडौं आउनु थियो। हामी २ जना थियौं। धमाधम विराटनगरबाट काठमाडौं आउने रात्री बस छुटिरहेका थिए।
‘दाइहरू कहाँ जाने हो?’ गाडी स्टाफले सोध्यो।
‘काठमाडौं जाने हो भाइ’ मैले भनें।
‘बस्नोस् बस्नोस् अब गाडी छुटिहाल्छ’,उसले भन्यो।
‘गाडी कस्तो छ भाइ’, चढ्नुभन्दा अघि मैले सोधें।
‘गाडी डिलक्स हो नि! मात्र एक जनाको एक हजार मात्र’, उसले भन्यो।
‘अनि कति बजे पुर्याउँछ नि भाइ काठमाडौं?’
‘यहाँबाट ४ बजे छुट्छ भोलि बिहान ढिलामा ६ बजे त हामी काठमाडौं त पुगिहाल्छौ नि!’
गाडीवालाले भने पछि विश्वास गरेर गाडीमा बस्नेभन्दा अर्को विकल्प थिएन।
टिकट लिन काउन्टरमा पुग्यौं।
हामी टिकट लिएर एकछिन बसेका थियौं पाथीभरा डिलक्स लेखेको गाडी आयो।
‘ल बस्नोस् यही हो तपाईंको गाडी।’
हामी गाडीमा चढ्यौं। ४२ सिटे थियो। विराटनगरबाट छुट्दा ३२ जना यात्रु थियौं। विराटनगरबाट इटहरीसम्मको धुलाम्मे सडकमा उफार्दै गाडी ५ बजे इटहरी आइपुग्यो।
३० मिनेट करिब इटहरी रोकी गाडी अगाडि बढ्यो। गाडीको रफ्तार हेर्दा लाग्थ्यो गाडीले बिहान ४ बजे नै काठमाडौं पुर्याउँछ।
लहानबाट ७ जना युवा चढे। ती सबको भोलिपल्ट अपरान्ह ३:३० बजे मलेसिया जाने टिकट रहेछ। लहानबाट गाडी अगाडि बढ्यो। मिर्चैया पुगेपछि गाडी साइड लाग्यो। टायर पन्चर भएको रहेछ। लालगढमा खाना खाइवरी करिब एक घण्टापछि गाडी अगाडि बढ्यो। चितवनको खैरहनी पुग्दा बिहानको ४:३० बजिसकेको थियो।
अगाडि के भैराखेको छ कसैलाई थाहा थिएन।
गाडी आधा घण्टा रोकी भरतपुरबाट रामनगर हुँदै जुगेडी पुग्यो। गाडीका लस्कर थिए। अघिल्लो दिन ३ बजे बेलुका छुटेका सुदूर पश्चिमका र सुदूर पूर्वका गाडी बल्ल जुगेडी आइपुगेका थिए। तब ती मलेसिया जान भनि हिँडेका युवा चिन्तित हुन थाले। गाडीलाई ५ किलामिटर दूरी पार गर्न १ घण्टा लागिरहेको थियो।
गाडी अगाडि नबढ्दा ती विदेश जान हिँडेका युवा ‘हाम्रो प्लेन छुट्ने भयो’ भनेर गाडी स्टाफलाई भन्दै थिए। ११ बजे बल्ल मुग्लिङ पुगियो।
मुग्लिङबाट अगाडि के लागिएको थियो जाम त्यस्तै। जामलाई व्यवस्थापन गर्न ट्राफिक थिएन त्यहाँ। गाडी टसमस गर्ने छाँट थिएन। के गर्ने के नगर्ने भेउ पाइरहेका थिएनन् ती गाडी चालकले पनि। लहानबाट चढेका युवा जंगिन थाले तर जंगिएर के गर्ने! थोडी गाडी चालकले जाम गरेका थिए र! कछुवाको गतिमा गाडी अगाडि बढ्दै थियो।
जसोतसो गाडी साँझ ५ बजे कलंकी आइपुग्यो। विचरा ती युवाको मलेसिया जाने प्लेन छुटिसकेको थियो।
जामको सकसले ज्यान लखतरान भएको थियो।
सधैं यसरी नै जाममा फस्दा कैयौं यात्रुको समय बर्बाद भएको छ। राज्यको फितलो व्यवस्थाले गर्दा आम नागरिकले अनायसै दु:ख खेप्नु परिरहेको छ। यो आजको मात्र समस्या होइन विगतदेखि आम नागरिकले भोग्दै आएका समस्या हुन्। पदमा बसेकालाई के थाहा यसरी जाममा फस्दाको पीडा। उनीहरू कुनै कार्यक्रममा जानु परे हेलिकप्टर नै चार्टर नै गरेर जान्छन्। दु:ख झेल्नेलाई मात्र थाहा हुन्छ दु:ख कस्तो हुन्छ भनेर। विचरा ती युवालाई कस्तो भयो होला खाडीमा काम गर्न जान लाग्दा प्लेन नै छुट्दा। यस्तै छ हाम्रो देश, हाम्रो परिवेश।