भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीहरूलाई स्थानीय तहमा जान अनुरोध गरेकी छन्।
शनिबार दिउँसो सुकुम्बासीहरू बसिरहेको भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा पुगेकी मन्त्री रावलले उनीहरूलाई स्थानीय तहमै जान अनुरोध गरेकी हुन्।
'जग्गाको व्यवस्था त्यहीँ हुन्छ। हामीलाई पनि यसमा थप काम बढाउन सहज हुन्छ,' मन्त्री रावलको भनाइ उद्धृत गर्दै सुकुम्बासी प्रतिनिधि दलमर्दन कामीले भने।
कामीका अनुसार मन्त्री रावलले सुरूमा १२ परिवारलाई मात्रै भेटेकी थिइन्। उनीहरू भूमिहीन ठहर भएका परिवार थिए।
उनीहरूलाई कोठा भाडाबापत पहिलो महिनाको रकम लिएर होल्डिङ सेन्टर खाली गर्न मन्त्री रावलले आग्रह गरेकी थिइन्।
'एक महिनाको रकम लिएर अहिलेलाई स्थानीय तहमै जानुहोस्। बाँकी दुई महिनाको पछि व्यवस्था गर्छौं। हामीलाई काम गर्न दिनुस् भन्नुभो,' कामीले सेतोपाटीसँग भने।
जबाफमा सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था गरी लालपुर्जा नदिएसम्म होल्डिङ सेन्टरबाट नजाने अडान लिएका थिए।
'उहाँले कन्भिन्स गर्न खोज्नुभएको थियो। तर वैकल्पिक व्यवस्था सुनिश्चित नै नभई हामी होल्डिङ सेन्टर छाडेर कहाँ जाने,' कामीले भने।
सुकुम्बासीहरूले अडान कायम राखेपछि मन्त्री रावलले उनीहरूलाई सोच्न र छलफल गर्न सोमबारसम्मको समय दिएकी थिइन्।
'सोमबारसम्म छलफल गर्नुस्। त्यतिन्जेलसम्म तपाईंहरू पनि केही निर्णयमा पुग्नुस्। फेरि आउँछौं। फेरि कुरा गरौंला। आक्रोशमा नआउनुस् भन्नुभयो,' मन्त्री रावलको भनाइ उद्धृत गर्दै कामीले सेतोपाटीसँग भने।
मन्त्री रावलले भूमिहीन ठहर नभएका सात परिवारलाई भने भेट्न नचाहेको अर्का एक आश्रितले बताए।
'उहाँहरू अपराधी हो? उहाँहरूलाई पनि भेट्नुस्, उहाँहरूको कुरा पनि सुन्नुस् भनेपछि उनीहरूसँग कुरा बुझ्नुभयो। उहाँहरूको कुरा सुन्नुभयो, प्रतिक्रिया दिनुभएन,' उनले भने।
सुकुम्बासीहरूलाई शुक्रबार होल्डिङ सेन्टर छाड्न भनिएको थियो। तर वैकल्पिक व्यवस्था नभएसम्म होल्डिङ सेन्टर नछाड्ने अडानमा छन्।
होल्डिङ सेन्टर नछाडेपछि शुक्रबार त्यहाँ सरकारले सुकुम्बासीलाई खाना बन्द गरिदिएको थियो।
शुक्रबार दिउँसो अभियानीहरूले पैसा संकलन गरी चिउरा किनेर सुकुम्बासीलाई खाने व्यवस्था गरेका थिए। दिउँसो नै प्रहरी टोली होल्डिङ सेन्टरमा पुगेका थिए।
शनिबार बिहान माजिद अन्सारी, रक्षा बम लगायतका अभियानीहरूले सुकुम्बासीका लागि खाना लिएर गएका थिए। तर भित्र लैजान नदिएपछि आश्रितहरूले सडकमै बसेर खाना खाएका थिए।
अपराह्न होल्डिङ सेन्टर पुगेकी मन्त्री रावलले सुकुम्बासीसँग करिब डेढ घन्टा कुराकानी गरेकी थिइन्।
शनिबार बेलुकीदेखि भने खानाको व्यवस्था गरिएको सुकुम्बासी प्रतिनिधि कामीले जानकारी दिए।
मन्त्री रावलसँगको भेटमा सुकुम्बासीले ६ बुँदे माग पनि बुझाएका थिए। मागपत्रबारे मन्त्री रावलले कुनै प्रतिक्रिया नदिएको त्यहाँका सुकुम्बासीहरूले बताएका छन्।
यस्ता छन् सुकुम्बासीका माग—
१. होल्डिङ सेन्टर खाली गर्ने सूचना तत्काल फिर्ता गरी वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबर्जस्ती हटाउने कार्य बन्द गरियोस्।
२. जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुम्बासी नठहर्याउने निर्णय पूर्ण रूपमा अन्यायपूर्ण छ। प्रत्येक परिवार भूमिहीन तथा सुकुम्बासी हुनुपरेको कारण, वास्तविक जग्गा, आवासीय र आर्थिक अवस्थाबारे पीड़ित परिवारसँग प्रत्यक्ष संवाद तथा निष्पक्ष स्थलगत छानबिन गरी न्यायोचित निर्णय गरियोस।
३. सरकारले पटकपटक विकल्पको रुपमा भन्दै आएको कोठा भाडा वा अन्य कुनै अस्थायी विकल्प मान्य हुने छैन। सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धता अनुसार निष्कासित परिवारलाई सुरक्षित र सम्मानजनक भूस्वामित्व सहित आवास उपलब्ध गराइयोस्।
४. वैकल्पिक व्यवस्थापनबिना जबर्जस्ती भत्काइएका घरटहरा नष्ट भएका सम्पत्ति तथा जीविकोपार्जनमा पुगेको क्षतिको निष्पक्ष मूल्यांकन गरी उचित क्षतिपूर्ति दिइयोस्।
५. जुन जिल्ला र स्थानबाट निष्कासन गराइयो सो जिल्ला प्रशासन, सम्बन्धित सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गरी समयसीमा सहितको कार्ययोजना तयार गर्न प्रभावित परिवारसँग संवाद, सहमति गरी योजना सार्वजनिक गरियोस्।
६. व्यवस्थापनबिना घरटहरा भत्काइएका कारण जनधनको क्षति तथा निष्कासन क्रममा भएका मानवीय घटनाको छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही तथा जबाफदेही बनाइयोस्।