संसारभर अहिले सुनको भाउ घटेको चर्चा छ। नेपाली बजारमा पनि गत माघयता सुनको मूल्य करिब २७ प्रतिशत घटिसकेको छ।
तर तपाईंले याद गर्नुभएको छ कि छैन, चाँदीमा आएको गिरावट अझ ठूलो छ। यही अवधिमा चाँदीको भाउ करिब ५८ प्रतिशत घटेको छ। अर्थात्, सुनको तुलनामा चाँदी दोब्बरभन्दा बढी ओरालो लागेको छ।
गत माघ १५ गते चाँदी तोलाको ७ हजार ५०५ रूपैयाँ पुगेको थियो। यो अहिलेसम्मको उच्च मूल्य हो।
सुन महँगो हुँदै जाँदा धेरैले चाँदीलाई लगानीको विकल्प मानेका थिए। सुनको तुलनामा सस्तो भएकाले चाँदी धेरै परिमाणमा किन्न पनि सजिलो थियो। मूल्य अझै बढ्ने आशामा कतिपयले एकै पटक धेरै चाँदी किने। गहना वा भाँडाकुँडा मात्र होइन, लगानीका लागि दाना र ढिक्का खोज्ने ग्राहक बढेका थिए।
अहिले अवस्था उल्टिएको छ।
शुक्रबार चाँदीको भाउ तोलाको ३ हजार १९५ रूपैयाँमा झरेको छ।
तपाईंले माघमा ५० तोला चाँदी किन्नुभएको भए ३ लाख ७५ हजार रूपैयाँभन्दा बढी खर्च भएको हुन्थ्यो। अहिले त्यही चाँदीको मूल्य करिब १ लाख ६० हजार रूपैयाँ मात्र भएको छ।
त्यसैले चाँदी किनेर राख्नेहरूलाई अहिले मूल्य घट्दा ठूलो असर परेको छ।
अन्तर्राष्ट्रिय बजारमा यस वर्ष जनवरी २६ मा प्रतिऔंस १२१.६५ अमेरिकी डलरसम्म पुगेको चाँदीको मूल्य नोभेम्बर ४ सम्म आइपुग्दा ५२ डलरमा झरेको थियो।
आखिर केही महिनाअघि असाधारण रूपमा बढेको चाँदीको भाउ किन एकाएक घट्यो? अब फेरि बढ्ने आधार छन् कि अझै घट्न सक्छ?
चाँदीको मूल्य बढ्नुमा यसको औद्योगिक उपयोग विस्तार हुनु एउटा कारण थियो। अनि लगानीकर्ताहरूको प्रवेशले पनि ठूलो भूमिका खेलेको थियो।
सन् २०२५ अन्त्यदेखि चाँदीमा पैसा लगाउनेहरू बढ्न थालेका थिए।
अमेरिकाले विदेशबाट आउने सामानमा भन्सार शुल्क बढाउन सक्ने चर्चा चलेपछि व्यापारीहरूले ठूलो परिमाणमा चाँदी किनेर अमेरिका लैजान थाले। भन्सार शुल्क लाग्नुअघि नै चाँदी अमेरिका पुर्याएर राख्ने उनीहरूको प्रयास थियो। यसरी अमेरिकामा चाँदी थुप्रिँदा अरू बजारमा किन्न पाइने चाँदी कम हुन थाल्यो।
यसको असर बेलायतको राजधानी लन्डनमा पनि देखियो। लन्डन विश्वकै प्रमुख सुनचाँदी कारोबार केन्द्रमध्ये एक हो। अमेरिकातर्फ चाँदी लैजाने क्रम बढेपछि लन्डन बजारमा तत्काल किन्न पाइने चाँदी कम भयो।
अर्कातिर, चाँदी किन्न चाहनेहरू बढिरहेका थिए। लगानी गर्न चाहने धेरै तर बजारमा बेच्न उपलब्ध चाँदी कम भएपछि मूल्य थप बढ्यो।
अन्तर्राष्ट्रिय बजारमा चाँदीमा लगानी गर्न वास्तविक चाँदी नै किनेर राख्नुपर्छ भन्ने छैन। लगानीकर्ताले सेयर बजारबाट पनि चाँदीको मूल्यसँग जोडिएको वित्तीय उत्पादन किन्न सक्छन्। यस्तो उत्पादनलाई एक्सचेन्ज ट्रेडेड प्रोडक्ट (इटिपी) भनिन्छ। यसको मूल्य चाँदीको भाउसँगै घटबढ हुन्छ।
सन् २०२५ अन्त्यतिर चाँदीको मूल्य बढ्ने आशामा यस्ता उत्पादन किन्ने लगानीकर्ता पनि बढेका थिए। यस्ता उत्पादनमध्ये केहीले लगानीकर्ताबाट पैसा उठाएर वास्तविक चाँदी किन्छन् र सुरक्षित ठाउँमा राख्छन्। त्यसैले यस्ता उत्पादन किन्नेहरू बढेपछि तिनका सञ्चालकले पनि थप चाँदी किन्नुपर्छ। यसले बजारमा चाँदीको माग अझ बढाउँछ।
यसरी पसलबाट किन्नेहरू मात्र होइन, सेयर बजारबाट चाँदीमा पैसा लगाउनेहरू पनि मूल्य बढ्नुको एउटा कारण बनेका थिए।
तर मूल्य बढेपछि लगानीकर्ताले नाफा कमाएर बाहिरिन चाहे भने अवस्था उल्टिन सक्छ। उनीहरूले इटिपी बेचेर आफ्नो पैसा फिर्ता लिन थाल्छन्। भौतिक चाँदी किनेर राखेका त्यस्ता कोषले पनि आफ्नो चाँदी बेच्न सक्छन्। यसरी बजारमा बिक्रीका लागि चाँदी थपिन्छ। त्यही बेला चाँदी किन्न चाहनेहरू पनि घटे भने मूल्य ओरालो लाग्न सक्छ।
चाँदीको मूल्य बढेपछि बजारमा देखिएको अवस्था पनि बिस्तारै बदलियो।
अमेरिकातर्फ चाँदी लैजाने क्रम र लगानीकर्ताको खरिद घट्दै जाँदा बजारमा उपलब्धता बढ्न थाल्यो। अर्कातिर, मूल्य उच्च बिन्दुमा पुगेपछि केही लगानीकर्ताले नाफा कमाउन चाँदी बेच्न थाले। यसले बजारमा बिक्री बढायो।
त्यसमाथि अमेरिकी डलर बलियो हुँदै जानु, केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अपेक्षा हुनु र ऋणपत्रबाट पाइने प्रतिफल बढ्नुले पनि चाँदीमा लगानी गर्ने आकर्षण घटायो।
सुनचाँदीले बैंकको ब्याज वा ऋणपत्रले जस्तो प्रतिफल दिँदैनन्। त्यसैले बैंकको ब्याज वा ऋणपत्रबाट राम्रो आम्दानी हुने देखिएपछि लगानीकर्ताले चाँदीमा राखेको पैसा अन्यत्र लगाउन सक्छन्। त्यस्तै डलर बलियो हुँदा डलरमा किनबेच हुने चाँदी अरू मुद्रा प्रयोग गर्नेका लागि महँगो पर्छ।
यी कारणले चाँदीको मूल्यमा थप गिरावट आयो।
लगानीकर्ताले चाँदीमा गरेको लगानी झिक्न थालेको संकेत इटिपीमा रहेको चाँदीको परिमाणमा आएको गिरावटले पनि गर्छ।
चाँदी बजारको अध्ययन र तथ्यांक प्रकाशन गर्ने अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था सिल्भर इन्स्टिच्युटले नोभेम्बर १२ मा सार्वजनिक गरेको अनुमान अनुसार, यस वर्षको सुरूदेखि नोभेम्बर ३ सम्म इटिपीमा भएको चाँदीको परिमाण ५ करोड ५० लाख औंस घटेको थियो। यो करिब ४ प्रतिशत गिरावट हो।
यसले चाँदीको मूल्यमा लगानीकर्ताको खरिदबिक्रीले कति ठूलो प्रभाव पार्छ भन्ने देखाउँछ। मूल्य बढ्ने आशामा उनीहरू चाँदी किन्छन्। मूल्य घट्न थालेपछि त्यही चाँदी बेच्न थाल्छन्।
उद्योगहरूमा पनि छ चाँदीको ठूलो माग
चाँदीलाई सामान्यतया गहना र मूल्यवान धातुका रूपमा बुझिन्छ। तर यसको प्रयोग उद्योगहरूमा पनि व्यापक छ। विद्युत राम्रोसँग सञ्चालन गर्ने क्षमता र अन्य प्राविधिक गुणका कारण यो धेरै उत्पादनमा उपयोगी छ।
अमेरिकी सरकारी निकाय युएस जिओलोजिकल सर्भे (युएसजिएस) का अनुसार चाँदीको प्रयोग विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण, सौर्य प्यानल, गहना, सिक्का र अन्य औद्योगिक उत्पादनमा हुन्छ।
अमेरिकाको सन् २०२५ को चाँदी खपतमा विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणको हिस्सा २५ प्रतिशत र सौर्य प्यानलको १५ प्रतिशत थियो। यी अमेरिकी बजारका तथ्यांक हुन्, विश्वभरको मागको अनुपात होइनन्।
सौर्य ऊर्जा उत्पादनमा चाँदीको प्रयोगले यसको औद्योगिक माग बढाउन भूमिका खेलेको छ।
सौर्य प्यानलमा सूर्यको प्रकाशलाई विद्युतमा बदल्ने कोषहरूमा चाँदी प्रयोग हुन्छ। विश्वभर सौर्य ऊर्जा प्रणाली जडान बढ्दा यसका लागि चाहिने चाँदीको माग पनि बढ्छ। त्यस्तै विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार, इलेक्ट्रोनिक्स र डेटा सेन्टर विस्तारले पनि यसको माग बढाउन सक्छ।
तर औद्योगिक माग सधैं बढिरहन्छ भन्ने छैन। चाँदी महँगो हुँदा उत्पादकले एउटै कामका लागि कम परिमाण प्रयोग गर्ने प्रविधि अपनाउन सक्छन्। कतिपय अवस्थामा अर्को धातु प्रयोग गर्ने विकल्प पनि खोजिन्छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी अन्तर्गतको फोटोभोल्टिक पावर सिस्टम्स कार्यक्रम (आइइए–पिभिपिएस) ले सन् २०२६ मा सार्वजनिक गरेको अध्ययनले सौर्य प्यानल उत्पादनमा चाँदीको प्रयोग घटाउन सकिने र केही अवस्थामा तामा यसको विकल्प बन्न सक्ने देखाएको छ।
त्यसैले सौर्य ऊर्जा विस्तार हुँदैमा चाँदीको माग पनि त्यही अनुपातमा बढ्छ भन्ने छैन। प्रविधि परिवर्तनसँगै प्रयोग हुने चाँदीको मात्रा घट्न सक्छ।
सिल्भर इन्स्टिच्युट र बहुमूल्य धातुको बजार अध्ययन गर्ने स्वतन्त्र अनुसन्धान संस्था मेटल्स फोकसका अनुसार, सन् २०२६ मा विश्वभर चाँदीको कुल माग १ अर्ब ८ करोड औंस रहने अनुमान छ। यो सन् २०२५ को तुलनामा ५ प्रतिशत कम हो। औद्योगिक माग पनि अघिल्लो वर्षको तुलनामा ३ प्रतिशत घटेर ६४ करोड औंस पुग्ने अनुमान छ।
यसमा अर्को महत्त्वपूर्ण पक्ष छ।
सौर्य प्यानलमा प्रयोग हुने चाँदीको माग कमजोर भए पनि अन्य औद्योगिक क्षेत्रमा माग बढ्न सक्ने अनुमान छ। सौर्य प्यानल बाहेकका औद्योगिक प्रयोगमा चाँदीको माग यस वर्ष ४.५ प्रतिशत बढेर ४९ करोड २० लाख औंस पुग्ने प्रक्षेपण छ। अटोमोबाइल क्षेत्रमा पनि माग बढ्ने अपेक्षा छ।
अर्कातर्फ, चाँदीका गहना र भाँडाकुँडाको माग घट्ने देखिएको छ।
सन् २०२६ मा गहनाको माग २२ प्रतिशत र भाँडाकुँडाको माग १७ प्रतिशत घट्ने अनुमान छ। बार र सिक्कामा हुने लगानीको माग पनि २ प्रतिशत घट्ने देखिएको छ।
चाँदीको मूल्यमा प्रभाव पार्ने अर्को पक्ष यसको आपूर्ति हो।
विश्वमा उत्पादन हुने धेरैजसो चाँदी यसको छुट्टै खानीबाट मात्रै आउँदैन। यसको ठूलो हिस्सा तामा, सिसा, जस्ता र सुन उत्खनन गर्ने खानीबाट सह–उत्पादनका रूपमा प्राप्त हुन्छ।
युएसजिएसका अनुसार विश्वको चाँदी उत्पादनमा सिसा, जस्ता, तामा र सुनका खानीबाट प्राप्त हुने चाँदीको ठूलो हिस्सा छ। त्यसैले चाँदीको मूल्य बढ्दैमा खानी सञ्चालकले तुरून्तै यसको उत्पादन बढाउन सक्दैनन्। अन्य धातुको माग, मूल्य र खानी सञ्चालनको अवस्थाले पनि चाँदीको उत्पादन निर्धारण गर्छ।
नयाँ खानी सञ्चालन गर्न ठूलो लगानी, अनुमति, पूर्वाधार र समय चाहिन्छ। उत्पादन भइरहेका खानीमा पनि धातुको मात्रा, उत्खनन लागत र प्राविधिक अवस्थाले उत्पादन निर्धारण गर्छ। त्यसैले माग बढेको अवस्थामा आपूर्ति छिटो बढ्न नसक्दा बजारमा चाप पर्न सक्छ।
सिल्भर इन्स्टिच्युट र मेटल्स फोकसको अनुमान अनुसार सन् २०२६ मा खानीबाट आउने चाँदीको उत्पादन ०.५ प्रतिशत घटेर करिब साढे ८३ करोड औंसमा सीमित हुन सक्छ। अर्कातर्फ, पुराना गहना, औद्योगिक सामग्री र अन्य स्रोतबाट चाँदी पुनः प्रशोधन गरी बजारमा ल्याउने परिमाण ६ प्रतिशत बढेर २१ करोड औंस पुग्ने अनुमान छ।
यति हुँदाहुँदै पनि सन् २०२६ मा विश्व बजारमा चाँदीको माग आपूर्तिभन्दा साढे ३ करोड औंस बढी हुने अनुमान छ। यो लगातार छैटौं वर्ष बजारमा मागभन्दा आपूर्ति कम हुने अवस्था हो।
तर यहाँ एउटा कुरा बुझ्नुपर्छ। मागभन्दा आपूर्ति कम हुनु भनेको त्यही वर्ष चाहिने सबै चाँदी तत्काल बजारबाट हराउनु होइन। यो वार्षिक माग र नयाँ आपूर्तिबीचको अन्तर हो। यस्तो कमी पुराना मौज्दात, भण्डारणमा रहेको धातु र बजारबाट फर्केर आएको चाँदीले पूर्ति गर्न सक्छ।
त्यसैले लगातार अभाव देखिए पनि बजारमा कारोबारका लागि चाँदी उपलब्ध हुन सक्छ।
यसपालि मूल्य घट्नुको एउटा कारण यही हो।
यस वर्षको सुरूतिर अमेरिकातर्फ लगिएको र इटिपीमा रहेको चाँदीको केही हिस्सा बजारमा फर्किएको छ। त्यसैले आपूर्ति कम भए पनि बजारमा पहिलेजस्तो अभाव भएन।
अर्को कुरा, चाँदीको मूल्य निर्धारणमा माग र आपूर्तिको हिसाब मात्रै निर्णायक हुँदैन। बजारमा थप चाँदी किन्न चाहने लगानीकर्ता कति छन् भन्ने पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। मूल्य बढ्ने अपेक्षामा लगानीकर्ता बढे आपूर्ति अभावको असर तीव्र देखिन सक्छ। लगानीकर्ता बाहिरिँदा अभाव हुँदाहुँदै पनि मूल्य घट्न सक्छ।
अब चाँदीको भाउ के होला?
चाँदीको मूल्य फेरि बढ्न सक्ने आधार छन्।
किनभने, लगातार छैटौं वर्ष मागभन्दा आपूर्ति कम हुने अनुमान छ। औद्योगिक क्षेत्रमा यसको प्रयोग बढ्न सक्छ। नयाँ खानीबाट उत्पादन बढाउन पनि सजिलो छैन। यी कारणले दीर्घकालमा चाँदीको माग र मूल्य बढाउन सक्छ।
तर जोखिम पनि उत्तिकै छ।
चाँदीको मूल्य उच्च हुँदा गहना र भाँडाकुँडाको माग घटेको छ। सौर्य प्यानल उत्पादकले चाँदी प्रयोग घटाउने उपाय खोजिरहेका छन्। फर्केर बजारमा आउने चाँदी पनि बढिरहेको छ। औद्योगिक माग अपेक्षा अनुसार बढेन र लगानीकर्ता फेरि बाहिरिए भने मूल्यमा थप दबाब पर्न सक्छ।
अर्को पक्ष, चाँदीको मूल्य सुनको तुलनामा धेरै उतारचढाव हुने प्रकृतिको छ। यसमा औद्योगिक र लगानीकर्ताको माग दुवैको प्रभाव पर्छ। ब्याजदर र डलरको अवस्थाले लगानीकर्ताको निर्णय बदल्न सक्छ। यस्तो दोहोरो भूमिकाले चाँदीको मूल्य थप अस्थिर बनाउँछ।
नेपालमा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँगै अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको विनिमय दर, आयात लागत र स्थानीय बजारको अवस्थाले प्रभावित हुन्छ।
अन्तर्राष्ट्रिय बजारमा चाँदी सस्तो भए पनि डलरको भाउ बढे नेपालमा त्यसको प्रभाव कम देखिन सक्छ। उल्टो, अन्तर्राष्ट्रिय मूल्य स्थिर रहँदा पनि नेपाली रूपैयाँ कमजोर भयो भने आयातीत चाँदी महँगिन सक्छ।
त्यसैले अहिलेको मूल्य घटाइलाई मात्रै हेरेर चाँदी सस्तो भयो भन्ने निष्कर्ष निकाल्नु हतार हुन सक्छ।
लगानीका लागि चाँदी किन्न चाहनेले एकै पटक ठूलो रकम लगाउनुको सट्टा आफ्नो जोखिम वहन गर्ने क्षमता र लगानीको अवधि हेर्नु उपयुक्त हुन्छ। मूल्य घट्दैमा थप लगानी गर्न हतार गर्नु वा बढ्दैमा नाफा छुट्ने डरले किन्नु दुवै जोखिमपूर्ण हुन सक्छन्।
चाँदीले ब्याज वा लाभांश दिँदैन। यसको प्रतिफल मूल्य बढेपछि मात्रै प्राप्त हुन्छ। त्यसैले किनबेचको मूल्य अन्तर र भण्डारण खर्च पनि विचार गर्नुपर्छ।
***