‘कति हतार हो भने, नाइट बसलाई जस्तो।’ कहिले म अरूलाई यसै भनेर पर्खाउन खोज्छु। कहिले अरू मलाई यसै भन्छन्। नाइट बस त हतारिन्छन् नै तर राजमार्ग छेउछाउका बस्ती भने नाइट बस जसरी हतारिन्छन् कि हतारिँदैनन् खै! यो त म पनि भन्न सक्दिनँ- कारण पुर्खाले राजमार्ग छेउछाउ सम्पत्ति जोड्न नसक्नु वा सरकारले मेरो गाँउ हुँदै राजमार्ग नलगिदिनु कुनै हुन सक्छ।
घरको पिँढीमा बसेर हतारिएका नाइट बस हेर्न नपाए पनि जिन्दगीले थुप्रै नाइट बसका यात्रा भने गराएको छ।
नाइट यात्राका थुप्रै अनुभवले व्यक्तिको आर्थिक स्थितितर्फ सोझै संकेत गर्छ आजकल। बिहान मात्रै काठमाडौं आइपुगेको भनि नसक्दै अर्को प्रश्न सोध्छन् मान्छे “उडेर कि गुडेर ?”।
उत्तर भने धुलाम्य झोला र शरीरबाट आएको गाडीको गन्धले आफैं दिन्छ।
गाडीको क्याबिनमा बस्ने हरिष कुमार, छोरोलाई विदेश पठाउन संचयकोषको पैसा झिक्न काठमाडौं आएका हुन्। छिट्टै घर पुगेर नपुगेको पैसा खोज्ने हतारो छ उनलाई।
पासपोर्ट बनाउन आएको रमेश अहिले निदाए पनि एकछिनमा ब्यूँझिएर ५ नम्बर सिटको झ्यालबाटै चिहाउने छ बाहिर कता आइपुगियो भन्दै।
लोक सेवाको जाँच सकेर एक साँझ होटलमा बस्ने र भोलि बिहानै पशुपति जाने रहर गरेका कृष्ण, समिर र धनबहादुर गोजीको पैसाले सक्दिनँ भनेपछि हस्याङ्फस्याङ गर्दै गाडी चढेका उनीहरू लास्ट सिटमा कोचिएर बसेका छन्।
बेलाबेला केही बोलेजस्तो मात्रै सुनिन्छ नत्र सबै चुपचाप।
सम्झिँदैछन् सबैले आफ्ना आफ्नै भोगाइ, रहर, सपना र झस्काइरहने जिन्दगीका घुम्ती गाडीको बेगसँगै, घुम्तीमा बज्ने हर्नसँगै।
फिफा, धुम, फेसबुक डिलक्स जस्ता विविध नाम भएका रात्री बस हतारिँदै हुइँकिन्छन् घुम्ती, मोड र विभिन्न सहर छाडेर।
राजमार्ग कै छेउमा पर्छन् हजारौं प्रतीक्षालय जँहा पर्खिरहेका छन् हजारौं यात्रु। बसको नाम र नम्बर लेखिएको कागजको टुक्रो बोकेर दिनहुँ पर्खिन्छन् उनीहरू। बस नम्बर ठम्याउन नपाउँदै पल्लो घुम्ती पुगिसक्छन् कति बस त। यही भीडमा छन् प्रेमिप्रेमिका, साथी, नातेदार, छरछिमेकी, भाइ- बहिनी, बूढा बा अनि रात्री बसको हतारोलाई पनि जित्ने गरी हतारिएर सन्तानलाई पर्खदै गरेका आमा।
हो यिनै पर्खिरहेका आमाहरूको तर्फबाट लेखिएको कथा हो ‘वुहानदेखि लहानसम्म’।
झिसमिसे अँध्यारै छ अझै। हातको घडी हेर्न खोजें अँध्यारोले राम्ररी ठम्याउन सकिनँ। मोबाइल त राति नै स्विच अफ भएको थियो।
‘मेरो मोबाइल स्विच अफ हुन्छ बिहानै आइपुगेस् है त गाडी रोक्ने ठाउँमा’ भनेर साथीलाई राति नै म्यासेज पठाएको थिएँ।
लहान बजार मेरो लागि नयाँ ठाउँ हो। त्यही रात्री बसमा हतारिँदै लहान हुँदै पूर्वसम्म पुगे पनि लहान घुम्ने, बस्ने मौका भने मिलेको थिएन। छेउछाउका पसल खुल्न थालेका थिए । सटरहरूको र्घारर्घुर, स्पिकरमा घन्किएको भजन, नाइट बसको आवाज, साइकलका टिङटिङ इत्यादि।
लामो सास तान्दै मनभरि लहान समेट्न खोज्छु। सकिनँ क्यारे लहान अझै नि:शब्द बसिरह्यो। उसको लागि म एउटा नाइट बसको यात्रु मात्र न हुँ।
साथी भेट्न आउनु मेरो बाध्यतासँग उसको के सरोकार। बसको झ्यालबाट दिनहुँ फालिने पानीका बोत्तल, कुरकुरे र चाउचाउका खोलका रिस पोख्दैछ शायद।
***
‘कारोना होइन के कोरोना भन न’ चिन्टुका बा उसकी आमालाई जिस्काउँदै भन्नुहुन्छ।
‘जे भए नि, उता छोरोले कति दु:ख पायो होला, लौन केही गर्नुपर्यो, दिनदिनै फैलँदो छ पो भन्छन्।’ यत्ति भनेर अड्किनु भयो उहाँ। सरासर पूजा कोठामा जानुभयो। भित्तामा झुन्डिएको फोटो च्याप्प समात्नुभयो अनि हेरिरहनुभयो टुलुटुलु।
‘चार वर्ष भयो नदेखेको। पढाइ सक्याएर मात्रै आउँछु आमा भनेको थियो,’ मन थाम्न खोज्नुहुन्छ, तर अहँ रोक्न सक्नुभएन आँखाबाट निस्कन लागेको आँसु अनि फोटोमाथि दर्किन्छन्। यसरी नै बिताउँदै आउनु भएको छ दिनहरू।
‘डाक्टर पढ्ने छोरो, सुरक्षित हुन्छ नि, जानेबुझेको छ’ मनलाई यसरी बुझाउन खोज्नुहुन्छ अहँ तर सक्नुहुन्न।
त्यसपछि अघि जस्तै सटर, साइकल र स्पिकरको आवाज मात्रै... शब्द रोकिए।
***
मैले समय सोधें, उहाँले उमेर। मैले मैथिली राम्ररी बुझ्न सकिनँ, उहाँले नेपालीमै घर र मामाघर सोध्नुभयो। मैले बस्ने ठाँउ खोजें, उहाँले छेउको झोला उठाएर हातमा लिनु भो। अघिसम्मको यात्रु म अब भने प्रतीक्षार्थी भए। प्रतीक्षार्थीहरू एक अर्काबीच गफिन्छन् यही त हो प्रतीक्षालयको सुन्दरता। तर यहाँ गफ मात्रै हुँदैछैन। यो वेदना हो, चित्कार हो। आफूलाई निरिह ठान्ने आमाको भोगाइ।
फिफा डिलक्स लेखेको बस हर्न बजाउँदै लहान बजारमा रोकियो। गाडीको गन्ध र सडकको धुलोसँगै नाकभित्रसम्म पुग्यो। गाडीभित्रका यात्रु निन्द्राबाट ब्यूँझिएर खासखुस गर्न थाले। गाडी बाहिरका केही मान्छेहरू भने ढोकासम्मै पुगे। तीन जना यात्रु झारेर गाडीको छतमा राखिएको सामान झार्दैछन् सहचालक।
मेरो जस्तै उमेर लाग्ने एउटा पुरुष हामीतिर आए। उहाँ(आमा) केही खुसी देखिनुभयो। पक्कै उहाँको छोरा हुनुपर्छ। उनले ढोगे अनि छेउमा बसेर कुरा गर्न थाले। मैथिली मैले बुझिनँ र पनि खुसी लाग्यो उहाँहरूको भाव देखेर। जसको बारेमा यति धेरै दिन चिन्ता लिएर बिताउनु भयो आज अगाडि छ ऊ। चौध दिन क्वारेन्टाइनमा बसेर निरोगी प्रमाणित गरेर आइपुगेको छ ऊ। मोबाइलमा केही देखायो उसले। फोटो हुनुपर्छ सायद। घर जाने हतारो पनि छैन उनीहरूलाई। जहाँ सन्तान त्यहीँ रमाउँछिन् आमा न धुलो न घाम।
एक्कासि उहाँको अनुहार मलिन देखे। जुरुक्क उठ्नुभयो विस्तारै बसको ढोकासम्म पुग्नुभयो। बसको ढोकालाई विस्तारै सुम्सुम्याउनु भयो। लामो सास तान्दै बसभित्रसम्म हेर्नुभयो। कोही खोजेजस्तै। अहिले भने साथ दिन आँखाभरि आँसु आइपुगेको थियो। बसभित्रै टोलाउनु भयो जबसम्म गाडीले हर्न बजाएन। जाँदै गरेको बसलाई हात हल्लाउदै बिदा गर्नुभयो। मैले बुझ्न सकिनँ के खोजिरहनु भएको थियो उहाँ।
(सरकारले चीनबाट नेपालीहरू ल्याउने मिति तोकिसकेको थियो। उसले म पनि फर्किदैछु आमा भनेको थियो रे। ज्वरो आएकोले विमानस्थलबाटै फर्कियो ऊ। अघि आएको उसकै साथी हो। उसैले बिदा गरेर पठाएको)
उहाँ बोल्न सक्नु भएन त्यसपछि। आँसुमात्र बगिरह्यो।
ऊ नआएर के भो त! उसले पठाएका सम्झना वुहानदेखि लहानसम्म आइपुगे भन्दै चित्त बुझाउनुभयो। गाडीसँगै आएको हावाको झोंकले उसको झल्को मेटाइदिए।
म अवश्य आउने छु आमा भन्दै खबर पठाएछ उसले।
‘मेरो बच्चो मेरो चिन्टु। हुन्छ छोरा म तिमीलाई पर्खिरहने छु। मलाई विश्वास छ तिमी हार्ने छैनौं। तिमी फर्किएको दिन हामीसँगै लहान घुमौंला । तिमीलाई मनपर्ने जेरी किनेर आमा- छोरा हुँदै खानुपर्छ है। ए हावा, यही खबर पुर्याइदिनु उसलाई,’उहाँ बोल्दै हिँड्नुभयो।
म नाजवाफ भएँ। यतिकैमा एउटा बाइक आएर भने मेरै अगाडि रोकियो।
अनुहारमा रुमाल बेरेर लगभग तीस मिनेटपछि आइपुगेको थियो ऊ।
‘सरी यार आउँदा आउँदै ढिला भयो,’ अनुहारको रुमाल खोल्दै उसले भन्यो- हेर न आमाले कोरोना हो कि के जाति आको छ रे भन्दै रुमाल बाध्न लगाएर यार।’
मैले उहाँ गएतिर हेरें अलि पारि पुगिसक्नुभएको थियो।
‘उ…. उता जाँदै गरेको मान्छेलाई चिन्छस् ?’ मैले सोधे।
‘खै छोरो चीनबाट सम्पर्कविहीन भएको छ रे, विचरा बुढीआमा दिनहुँ यहाँ आउँछिन्। नाइट बस चढेर छोरो आयो कि भन्दै,’ कुरा सुनेर म भावुक भएँ।
‘ऊ फर्कनेछ आमा एकदिन । ऊ सँगै थुप्रै नेपाली फर्कनेछन्। कोरोनालाई अवश्य जित्ने छन् उनीहरूले। त्यस दिन लहानको बस रोक्ने ठाँउ होइन। काठमाडौं एयरपोर्ट जानुपर्छ। ठूलो झण्डा बोकेर। ‘हामीले कोरोनालाई जित्यौ ’लेखेको ठूलो ब्यानर बोकेर,’ भन्न मन लाग्यो दौडिँदै गएर।
तर उहाँ छिटोछिटो पाइला चालिरहनु भएको थियो। उहाँलाई भेटाउने आँट गर्न सकिनँ।
कति धेरै प्रश्नहरू उत्तरविहीन नै रहने भए तर सम्झिएँ आफ्नी आमालाई। एक पटक फोन त अवश्य गर्नुपर्छ र भन्नुपर्छ ‘म यहाँ सुरक्षित छु आमा’।
(चीनमा कोरोनाको संक्रमण घट्दै गएको समचार बाहिरिए पनि उल्लेख्य नेपालीहरूको बसोबास रहेका अन्य विभिन्न देशहरूमा संक्रमण फैलँदो छ। सन्तानको सुरक्षाको चिन्ता गरिरहेका आमा र देश विदेशबाट कोरोनासँग जुधिरहेका सम्पूर्णप्रति समर्पित)