हाल विश्वभर फैलिरहेको महामारी कोरोना (कोभिड १९) भाइरसले गर्दा धेरै मानिसहरूको मृत्यु भइरहेको छ।
यसको प्रभावले विश्वका धेरै देशहरूले अतिआवश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरेर लकडाउन लागू गरेका छन्।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड १९) को नेपाल पनि उच्च जोखिममा परेको भएकाले सम्भावित जोखिम नियन्त्रणका लागि नेपाल सरकारले संघ, प्रदेश, स्थानीय तह, सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसार अतिआवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने एवं विश्वविद्यालयहरू वि.स. २०७६ चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ।
अहिले कोरोनाभाइरस जोखिम न्यूनीकरणका लागि यही चैत २५ गते राति १२ बजेसम्मका लागि देश पूरै लकडाउन गरिएको छ। लकडाउन लम्बिन पनि सक्छ। यसको असर विश्वविद्यालय तथा शिक्षण संस्थाहरूको पठनपाठनमा पनि परेको छ।
नेपालमा जो नियमित विद्यालय जान पाउँदैनन्। उनीहरूका लागि घरमै वा जो जहाँ छ त्यही बसेर डिग्री हासिल गर्न सकिने गरी ‘नेपाल खुला विश्वविद्यालय’ खोलिएको ह । अहिले विश्वभरि अनलाइन शिक्षणमा जाने विश्वविद्यालय थुप्रै छन्।
यस्ता विश्वविद्यालयमा अनलाइनबाट कक्षा सञ्चालन हुने गर्दछन्।
नेपालमा पनि काम गर्दागर्दै अथवा कलेज नगइकन धरमै बसेर उच्च शिक्षा तथा डिग्री लिनको लागि नेपाल खुला विश्वविद्यालय हो। जहाँ अनलाइनमै कोर्ष तथा सिलेवस हुन्छ। यसका देशैभर विद्यार्थी छन्। अनलाइनबाट बेलुका ६ बजेदेखि ९ बजेसम्म विभिन्न प्रोग्रामका कक्षा सञ्चालन हुने गर्दछन्।
शिक्षकको गाइड अनुसार विद्यार्थीहरूले अनलाइनबाट पढ्ने गर्दछन्। तर कोरोना भाइरसका कारण नेपाल खुला विश्वविद्यालयको अनलाइन शिक्षण बन्द गरिएको छ। यो एउटा ‘डिस्टेन्ट लर्निङ’ हो। जहाँ कोही कसैसँग भौतिक रूपमा भेट हुँदैन। प्राध्यापक र विद्यार्थी जहाँ छन् त्यही बसेर अनलाइनबाट पढाउने र पढ्ने हो। यस्तो अवस्थामा इन्टरनेटबाट हुने पढाइ रोक्नुको कारण के हो?
यदि लकडाउन अझै लम्बियो भने के गर्ने? अनलाइनबाट पढाइ हुने विश्वविद्यालयले यस्तो अवस्थामा झन् पढाउनुको सट्टा बन्द गर्नु हुँदैन। यो अवस्था विश्वविद्यालयको लागि एउटा अवसर हो।
यो समयमा नेपाल खुला विश्वविद्यालयले आफ्नो सेवा प्रवाहमा अनलाइन विधि झन् प्रभावकारी बनाउनु पर्छ। यदि लामो समयसम्म पठनपाठन बन्द गर्नुपर्ने भयो भने अन्य विश्वविद्यालय तथा शिक्षण संस्थाहरूसँग साझेदार गरेर सेवा प्रवाह गर्न तयार हुनुपर्छ। आफ्नो क्षमता विस्तारमा तत्परता लेखाउन जरूरी छ न की सेवा बन्द गर्न।
अहिलेको यस्तो परिस्थितिमा अरू विश्वविद्यालयहरूले पनि अनलाइन शिक्षा प्राक्टिस गर्नु आवश्यक छ। परीक्षा पनि घरबाट दिने सिस्टम बनाउनु आवश्यक छ। देशका लागि चाहिने आवश्यक जनशक्ति समयमा नै विश्वविद्यालयबाट उत्पादन गराउन सकेन भने देशलाई घाटा हुन्छ।
यस्तो स्थितिमा पठनपाठन नरोकिन अनलाइनबाट पठनपाठन गराउनु विश्वविद्यालयहरूको आवश्यकता हो। त्यसैले कलेज जान बन्द भए पनि पठनपाठन बन्द गर्नु हुन्न। भर्चुअल कक्षा सञ्चालन गर्नु पर्दछ। अहिलेको परिस्थितिमा खुला विश्वविद्यालयले थुप्रै सरकारी तथा अन्य सेवा प्रवाहका कामकाज सिकाउनु पर्ने हो। यो विश्वविद्यालयले अहिलेको परिस्थितिमा झन् काम गर्नु पर्नु बेलामा पठनपाठन बन्द गरेर बसेको जुन दु:खको कुरा हो।
अहिले कोरोनाभाइरसका कारण शिक्षण संस्था बन्द छन्। जसको असरले विद्यालयबाट नियमित ज्ञान लिने विद्यार्थी भाइबहिनीहरू ज्ञान सिक्ने कुराबाट बञ्चित भएका छन्।
अहिले वार्षिक परीक्षा सकिएर विद्यालय चैत मसान्तसम्म बन्द छन्। लकडाउनका कारण विद्यार्थी घरमै बस्न बाध्य छन्।
यदि कोरोना भाइरसका कारण लकडाउन अझै लम्बिने हो भने के गर्ने ? विद्यार्थी भाइबहिनीहरूलाई यस्तो अवस्थामा सिकाइबाट बञ्चित गराउनु त भएन नि ? विद्यालयहरूले विद्यार्थीका लागि सिकाइको प्याकेज बनाएर इन्टरनेट सुविधा भएका आफ्ना विद्यार्थीहरूलाई ज्ञान दिन सकिन्छ। दूर ठाउँका विद्यार्थीहरूलाई सरकारले श्रव्यदृश्य तथा दूर शिक्षाबाट शिक्षा दिन सकिन्छ।
विद्यार्थीहरूलाई विद्यालय नगइकन पढाउन सकिन्छ। अहिले बाहिरका धेरै देशका विद्यालयहरूले अनलाइनमार्फत् कक्षा सञ्चालन गरिरहेका छन्। त्यसैले नेपालका विद्यालयहरूले पनि अनलाइन सिकाइ पद्धति अवलम्बन गर्नुपर्ने देखिन्छ।
अनि अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई यो समय नैतिक शिक्षा सिकाउनुका साथै इन्टरनेट र युट्युबमा भएका पाठ्य सामग्रीहरूको प्रयोग गरी सिकाउनु आवश्यक छ।
कोरोना भाइरसका कारण विद्यालय बन्द रहेकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको बालबालिका लागि उपयोगी पाठयसामग्री रहेका वेबसाइटहरू उपलब्ध गराएको छ। त्यसबाट पनि विद्यार्थी भाइबहिनीहरूलाई पढाउन सकिन्छ।
शिक्षण सिकाइबाट विद्यार्थी भाइबहिनीहरूलाई बञ्चित नगराई इन्टरनेटमा भएका पाठ्यसामग्री उपयोग गरी सिकाइ गराउनु आवश्यक छ।
(लेखक नेपाल खुला विश्वविद्यालयका मास्टर्स इन ई–गभर्नेसको चौथो सेमेस्टमा अध्ययनरत छन्।)