घटना १
नेपालमा कोरोना संक्रमित भित्रिन नदिने उद्देश्यले चैत १० गतेदेखि सबै सीमा नाकाहरु बन्द गराउने निर्णय संघीय सरकारले गरेको थियो। तर रोजगारीका लागि भारत गएकाहरु हजारौंको संख्यामा सीमामा अलपत्र परेपछि स्थानीय प्रशासनको समन्वयमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट उद्धार गरेर उनीहरुकै घरसम्म पुर्याउने व्यवस्था मिलाएको थियो।
गौरीफन्टामा हजार बढी मानिसहरुको भीडमा थिए कोरोना संक्रमित २१ वर्षिय युवा, जो घर पुगेर मात्र क्वारेन्टाइन गए। उनीलाई गाडीमा राखेर उनीहरुको पालिकासम्म पठाइएको थियो।
घटना २
दुबईबाट मार्च १९ मा फर्किएर आएका ३४ वर्षिया संक्रमित युवककी ४१ वर्षीया भाउजुमा पनि कोभिड-१९ संक्रमण भएको छ। योसँगै पहिलो पटक नेपालमै बसेकालाई संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
माथिका घटनाहरुबाट नेपालमा अरु मानिसहरुमा संक्रमण फैलन सक्ने जोखिम ह्वात्तै बढेको छ। नेपाल संकटमा परिसकेको त छैन तर संकटासन्नमा पक्कै छ।
उल्लेखित संक्रमितहरुले पहिचान हुनु अगावै अरु कति धेरैलाई संक्रमण सारिसकेका होलान्। उनीहरुको व्यवहारले यात्रा गर्दा आसपासमा आएका व्यक्तिमार्फत संक्रमण कति सय/हजारमा फैलाउन सके होलान्। हामी कल्पना गर्न सक्दैनौँ र यो अब हाम्रो कल्पनाभन्दा बाहिर छ।
किनकी इटालीमा मात्र दुई जनाबाट सुरु भएको संक्रमणले आज त्यहाँ कस्तो अवस्था ल्याएको छ हामी सबैलाई थाहै छ। हरेक दिन त्यहाँ सात सयभन्दा बढी मरिरहेका छन् र आफन्तहरुले लास व्यवस्थापन गर्न स्थान पाउन सकिरहेका छैनन्।
सामान्यतया, कोभिड-१९ को संक्रमण भएका मानिसमा रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, साँस फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन्। तर यी माथिका संक्रमितमा यस्तै कुनै लक्षण देखिएन। क्वारेन्टाइनमा राखिएकालाई चेक गर्दा माथिका संक्रमितहरु पोजेटिभ भेटिएका हुन्।
त्यसकारण अब लक्षणको आधारमा होइन सबै विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखी संक्रमण परीक्षण गर्नु पर्दछ र क्वारेन्टाइनको अवधिभरी पटकपटक परीक्षण आवश्यक छ। विश्वमा धेरैलाई परीक्षणमा दुई पटकसम्म नेगेटिभ आएता पनि तेस्रो पटकमा १४ औँ दिनको दिन पोजेटिभ देखिएको अनुभव छ।
खुला सिमाना पार गरेर आएकाबाट नेपालमा संक्रमण फैलिएको प्रमाणित भैसकेको छ। संक्रमण थप फैलन नदिन र फैलिसकेको भए समयमै न्यूनीकरण गर्न हाम्रो मुलुक अहिले लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ। अझै पनि प्रवासमा गएका नेपालीहरु संक्रमणबाट जोगिनकै लागि सिमानामा लुकिछिपी आईनै रहेका छन्।
हाम्रो खुला सिमाना यतिखेर अत्तिनै जोखिमयुक्त छ। यसरी आउने नेपालीहरु आफै सजक हुनु पर्ने हो। उनीहरुको कारण उनीहरुकै परिवार र समुदाय उच्च जोखिममा छन्।
नेपाल भारत दशगजामा जम्मा भएका नेपालीहरु आफू घर पुग्न पाउन पर्छ भनि आन्दोलन गरिरहेका थिए। कोही मिलेमतोमा छिरेर घर पुगिरहेका थिए। विश्वको विकसित मुलुकलाई मुस्किलमा गाज्न सक्ने यस माहामारीको अवस्थामा उनीहरु घर पुग्नभन्दा पनि सुरक्षित क्वारेन्टाइनमा बस्न माग गर्नु पर्दथ्यो।
उनीहरुमा सावधानी देखिएन र हतारिए पनि। यसको अर्थ उनीहरुमा चेतनाको कमी पनि हो। स्थानीय, प्रदेश तथा संघीय सरकारले संयुक्त रुपमा उनीहरुलाई सुरक्षित क्यारेन्टाइन गर्न सक्न पर्दथ्यो। अब उनीहरुलाई खोज्न कुन समुदायमा कसरी जाने?
दुई देश बीचको यो खुला सिमानमा निरन्तर अनुगमनको खाँचो छ। हामी तबसम्म अनुगमन गरौँ, जबसम्म छिमेकी भारतमा संक्रमण शुन्य हुँदैन। नत्र नेपालमा सधै संक्रमणको त्रास रहिरहन्छ। त्यसकारण हामीले भारतको कोभिड-१९ संक्रमण विरुद्धको रणनीतिलाई पनि नजिकबाट नियाल्नु पर्दछ।
यस्तैगरी तेस्रो मुलुकहरुबाट पनि प्रवासी नेपालीहरु फर्कदै छन्। अस्ट्रेलिया सरकारले ६ महिनासम्म बस्न सक्ने अवस्था भए मात्र बस्नु नभए आफ्नै मुलुक फर्कन त्यहाँ अध्ययनरत विध्यार्थीहरुलाई भनिसकेको छ। अब नेपालमा संक्रमणको सम्भावना भएका धेरै व्यक्तिहरु जम्मा हुदैंछन्। सरकार यसको पनि व्यवस्थापनमा तयारी हुन जरुरी छ।
अग्रपंक्तिमा रहेर उपचार र सुरक्षामा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीको कार्यलाई थप बल प्रदान गर्न तथा आत्मबल बढाउन सरकारले उनीहरुको सुरक्षाका सामाग्रीहरु सहितको अनुकूल प्याकेजहरु तुरुन्त ल्याउन जरुरी छ।
यस्तो विषम परिस्थितिमा कोभिड-१९ संक्रमण नभए पनि लक्षण मिल्दोजुल्दो बिरामी अस्पताल आएमा बिरामीहरुको उपचार नै नगरी अन्त पठाईरहेका छन्। यसले भयावह स्थितिको सिर्जना हुन पुगेको छ र यसका कारण कतिपयले अनाहकमा ज्यान गुमाइसकेको समाचार आएका छन् भने उपचार नपाएर कतिपय जीवन-मरणको दोसाँधमा छन्।
महामारी सधै आउँदैन, यो एक उपचार सेवा गर्ने अवसर पनि हो र स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप र अभ्यासको परीक्षाको घडी पनि हो। यस परीक्षामा स्वास्थ्यकर्मीहरु सफल हुनेछन् भन्ने शुभेच्छा व्यक्त गर्न चाहान्छु। उनीहरुको सफलताको विकल्प पनि छैन।
हरेक एक बिरामीलाई बचाउने हर कोशिस गर्नु स्वास्थ्यकर्मीको पेशागत मर्यादा हो। उपचारका लागि स्थापित अस्पतालले आनाकानी गरिरहेको खबर आउनु गलत हो र उनीहरुले यसलाई गलत सावित गर्नेछन्।
सरकारले लकडाउन गरेको दुई साता पुग्दै गर्दा यसका बहुआयामिक असर देखिन थालेको छ। आममानिसको दैनिक जीवनका हरेक पलहरु प्रभावित हुन पुगेका छन्। खासगरी असंगठित क्षेत्रका कमजोर वर्ग जो दैनिक श्रम गरेर गुजारा चलाउनेहरुलाई सरकारले राहत दिन सक्नु पर्दछ।
सरकारले स्वयंसेवक दल तयार गरेर अति आवश्यक खाध्यपदार्थको सन्तुलित वितरण प्रणाली विकास गरी आम मानिसको दैनिकीमा सहजता ल्याउन थाल्नु पर्दछ। यस कार्यबाट नागरिकले सरकार उत्तरदायी भएको महशुस गर्नेछन्।
लकडाउन गर्दै गर्दा यसबाट परिरहेको असर मन्थर गर्न र लकडाउन बढाउँदै लैजाँदा थप हुन सक्ने बहुआयामिक असरहरुबारे समयमै अनुमान गरी सरकारले अर्थतन्त्रलाई ढाढस दिन सक्नु पर्दछ।
सरकारले घोषणा गर्यो कि नेपालको संक्रमण दोस्रो चरणमा पुगेको छ। घोषणासँगै सरकारले विदेशबाट आएकाहरुलाई व्यवस्थापन गर्न नसकेको प्रष्ट बुझिन्छ। सरकार कहाँ चुक्यो भनेर विश्लेषण गर्ने बेला यो होइन। सरकारको कमजोरीबारे यस संक्रमणको लडाईमा विजय प्राप्त गरिसकेपछि समीक्षा अवश्य गरौँला।
अब जनतासँग प्रत्यक्ष सम्पर्कमा रहिरहने सरकार भनेको स्थानीय सरकार हो र यो सरकार भने कदापी हार्नु हुदैंन, यो कोभिड-१९ विरुद्धको महासंग्राममा। अहिले हाम्रा स्थानीय सरकारहरुको जिम्मवारी बढेको छ। आफ्ना वडामा देशबाट आएकाहरुलाई जानकारी गराएर क्वारेन्टाइनमा लिन जरुरी छ।
यो नै यति खेरको सर्वोतम तथा अनिवार्य उपाय हो। स्थानीय सरकार चुक्न हुन्न र हामी यो सरकार चुकेको अवस्थाको कल्पना गर्न सक्दैनौँ। त्यसकारण स्थानीय सरकारका राजनैतिक नेतृत्व र कर्मचारीहरुले बिना गल्ति गम्भीरताका साथ यस महामारी विरुद्ध बिजय हासिल गर्न लाग्नु पर्दछ। तुरुन्तै संघीय सरकारले पनि कोभिड-१९ बारे ज्ञान भएका स्वास्थ्यकर्मी र स्वयंसेवीहरु परिचालन गर्न अति आवश्यक छ।
र अन्त्यमा
बीचमा हामी तयारी नगरी कोरोना फ्रि भन्दै हिड्यौँ। त्यो त सुन्निएर मोटाएको जस्तै भयो। मृत्यसँग मित लगायौँ! अब हामीलाई जोगाउने भनेको स्थानीय सरकारले हो- ‘कन्ट्याक ट्रेस’ गर्ने, क्वारेन्टाइन गर्ने, टेस्ट गर्ने, आइसोलेसन गर्ने र संक्रमित देखिएमा आइसोलेसनमा उपचार गर्ने। यस कार्यमा स्वास्थ्य क्षेत्रमा कार्यरत सबैले गम्भीरताका साथ ठूलो जिम्मेवारी लिन एकदम जरुरी छ।
चीनना सरकारले कोभिड-१९ सरुवा रोग माहामारी घोषणा गर्नुपूर्व नै हुवान अस्पतालका आँखाका डक्टर ‘लि वेनलियाङ’ले गत डिसेम्बरको प्रारम्भमै यसबारे सचेत गराईसकेका थिए। तर सरकारले समयमै उचित कदम चाल्न नसकेको कारण आज विश्वनै यस माहामारीको शिकार बन्न परेको छ र आज हामी यस संक्रमणको दोस्रो खतरनाक चरणमा पुगेका छौँ।
अध्ययनले देखाएको छ कि कोभिड-१९ संक्रमण दर व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता र वायुमण्डलको तापक्रमसँग संवेदनशील छ। हामी नेपालीहरुको शरीरमा विविध कारणले रोग प्रतिरोधात्मक क्षमता अन्य कतिपय विकसित मुलुकहरुको तुलनामा बढी छ। त्यसकारण यसले हामीलाई सजिलै संक्रमण फैलाउन सक्दैनकी। अनि नेपालको वायुमण्डलमा हरेक दिन बढ्दै गरेको तापक्रममा यसको संक्रमणको ताकत क्षिण बन्दै जानेछकी।
कोभिड-१९ संक्रमण मानिसबाट मानिसमा सर्ने हो र जनघनत्व बढी भएको समुदायमा तीव्र फैलन्छ। त्यसमाथि पनि चेतनाको कमी भएका घना बस्तीमा यो संक्रमणले गुणात्मक स्वरुप लिन्छ। त्यसकारण नियन्त्रित लकडाउनमा रहन आम-नागरिकले सावधानी र अनुशासित भई आफ्नै घरमा बस्नु नै पहिलो र अत्यावश्यक कार्य हो, किनकी यही कार्यले अब नेपालीलाई कोभिड-१९ को संक्रमणबाट जोगाउने छ।