कोभिड-१९ ले उब्जाएका समस्याहरु सँगसँगै अवसरहरु पनि छन्। सन् २०१९ को डिसेम्बर अन्तिम तिर चीनमा देखिएको कोभिड-१९ का बिरामीहरु विस्तारै संसारभर फैलिँदै नेपालमा पनि देखा परिसकेको छ। यो विश्व तथा नेपालका लागि समस्या तथा चुनौतीको रुपमा देखिएको छ।
यस समस्यालाई समाधान तथा फैलिन नदिन सरकारले विगत १४ दिनदेखि लकडाउन गरेको छ। यस अवस्थासँगै देश बाहिर रहेकाहरु घरमा आएका छन् र देशभित्र रहेकाहरु पनि आ-आफ्नो घरमा आएर बसेका छन्।
विगतका दिनहरुमा सधैजसो नियमित गरिरहने कार्यहरुको ढाँचा फरक भएको छ। सधैँजसो कार्यलयबाट गरिने कामहरु घरबाट गरेपनि केही कर्मचारी बाहेक सबै जना घरमै बसिरहेका छन्। महामारीका कारण लामो समय वा दिनभरी आफ्नो घरमा सेल्फ क्वारेन्टाईन मा बसिरहेका छन्।
न त चिया पसलमा गएर चिया पिउँदै गफ लगाउन पाइन्छ, न त मर्निङ तथा ईभिनिङ वाक नै। २४ घण्टा आप्नै घरमा बस्नुपर्ने अनिवार्य भएको बेलामा धेरैजसो मानिसहरु अस्थिर देखिएको बुझिन्छ। टाईम पास गर्न गाह्रो भो, के गर्ने दिनभर घरमा बस्ने होला आदि आदि…।
त्यसमा पनि महिलाभन्दा बढी पुरुषहरुमा अस्थिरता देखिएको होकी भन्ने भान हुन्छ। किनकी धरै जसो महिलाहरु प्रायः यसरी नै पहिला पनि दिनचर्या बिताइरहेका थिए, जो समाजले निर्धारण गरेको थियो। त्यही भएर महिलाहरुमा खासै अस्थिरता नदेखिएको होला।
पहिलाभन्दा आजकाल धेरै जसो पुरुष र महिला दुबै आआफ्ना नोकरी, व्यवसाय तथा घरभित्र र बाहिर दुबै काममा व्यस्त देखिन्छन्। तर पनि हाम्रो परम्परा, रीतिरिवाज र सामाजिक अभ्यास र व्यवहारले पुरुष घर बाहिर काममा खटिने, कमाएर ल्याउने, आयआर्जन त पुरुषहरुको जिम्मेवारी हो भन्ने मान्यता छ।
महिलाले चुलोचौकाको काम गर्ने भन्ने बलियो धारणाले समाजमा जरो गाडिएको अहिले पनि हामो छरछिमेकमा प्रष्ट देखिन्छ। चाखलाग्दो कुरा त के छ भने, चुलो चौकोमा सिमित सबै नभए पनि केही महिलाहरु आफूलाई परिमार्जन गरी जागीर खाने, विभिन्न सभा समारोहमा जाने र आय हुने काममा संलग्न भईरहेका छन्।
केही प्रयासरत छन् र घर बाहिरको काममा आफूलाई बलियो स्थापित गर्दै छन्। यो राम्रो पक्ष हो। तर समाजमा अहिले पनि केही चुलो चौकाको काम त महिलाको हो, महिलाले जन्मजात लिएर आएका हुन् भन्ने जस्तो व्यवहार गरिरहेको धेरै जसो ठाउँमा देखिन्छ।
नेपालमा लकडाउन छ, सबै जना घरमै छन्। तर प्राय पुरुषहरुलाई समय व्यतित गर्न धौधौ भएको छ। किनकी समाज घरायसी काम त महिलाहरुको हो भन्ने परम्परागत धारणाले ग्रस्त भै बाचिरहेको छ। तर महिला पुरुष दुबै जनाले प्राकृतिक भिन्नता बाहेक अन्य सबै काम सबैको साँझा हो भन्ने धारणाको विकास गरी घरायसी काममा महिलालाई सहयोगभन्दा पनि यो सबैको साँझा काम हो भन्ने धारणाको विकास र यी कुरा व्यवहारमा लागू भएमा बिहानबेलुका बचत भएको समय तरकारी खेती, परिवार तथा बालबच्चाहरुसँग रमाईलो गर्ने गरेमा, धेरै फाईदा हुने कुरा त छरलंगै छ र भएको पनि देख्छौँ।
यो जरुरी पनि छ किनकी घरायसी काम महिलाको हो भन्ने भावना तथा व्यवहार पूर्खादेखि नै समाजले र्निमाण गरेको हो र सोहीअनुसार संस्थात विकास भएको हो। म यो लेख लेख्नुभन्दा ४/५ घन्टा अगाडि यस्तै कुराको खोजीनितिका लागि घरभन्दा ५०० मिटर परसम्म रोडमा निस्किएको थिए र मैले प्राय घरको अगाडी २/४ जना पुरुषहरु कोही आआफ्नो घरको छतमा त कोही बाहिर मस्त गफ गर्दै बसिरहेका देखिन्थे।
रोडमा पनि महिलाहरुको तुलनामा बिना काममा पुरुषहरु नै बढी हिँडिरहेका देखिन्थे। यसबाट पनि प्रष्ट के हुन्छ भने पहिला पुरुषहरु मेरो त्यो काम छ, यो काम छ भनेर घरायसी काममा वास्ता नगर्ने गरेकोमा अहिले सरकारले घरबाहिर नजानु भनेपछि नि छत, घरको बाहिर गफ गर्ने, रोडमा बिना काम डुल्ने गरेका छन्।
यसको पछाडि के कुरा प्रष्ट हुन्छ भने पुरुषहरु अहिले प्रशस्त समय भएर पनि घरायसी काम गर्दा समाजले यो भन्ला, त्यो भन्ला भनेर लाज मान्ने तथा चुनौती सामना गर्न तयार छैन। र घरमा लुगा धुने, खाना पकाउने, बच्चालाई खुवाउने, घरआँगन सरसफाई गर्ने जस्ता कार्यमा संलग्न भएको पाइएन।
पहिला त घायसी काममा वास्ता गरेनौँ, अब यो लकडाउनमा घरका अन्य परिवार सदस्यहरुसँग मिलेर घरायसी काममा पनि आफ्नो व्यवहारहरु प्रर्दशन गर्ने र परम्परागत रुपमा जरो गाडेर बसेको यस्ता व्यवहार, धारणालाई परिवर्तन गर्ने ठूलो अवसर तथा मौका हो। यसलाई सही उपयोग गरेको खण्डमा लैंगिक समानता मुखले मात्र होइन, व्यवहारबाटै लागू गर्न सकिने लकडाउनले जुराएको ठूलो अवसर हो।
यसलाई उपयोग गनुपर्छ। हो कसैलाई खाना पकाउन, बच्चालाई स्याहार गर्न र अन्य काम गर्न आउँदैन होला। तर महिलाहरुले पनि त जन्मदा पेटबाटै सिकेर त आएका होइनन्, समाजले महिलाले गर्नुपर्छ भन्ने मान्यताबाट निर्देशित भएर गर्दै जाँदा सिकेका हुन्। त्यसैले यो लकडाउन हाम्रो लागि पनि घरायसी कामका लागि प्राविधिक ज्ञान र व्यवहारमा उर्तानलाई सहयोग पुग्नसक्छ।
हुन त घरायसी काममा मात्र समानता आउँदैमा लैंगिक समानता हुन्छ भन्ने छैन। अन्य समानतका लागि हामीले वातावरण बनाउनु पर्छ, तर हाम्रो समाजमा घरपरिवार स्तरमा लैंगिक असमानता देखाउने व्यवहारहरु प्रशस्तै छन्। त्यही भएर लकडाउनले घरायसी काममा समानता ल्याउने र यसलाई निरन्तर गरी संस्थागत गर्ने मौका भएको हुँदा अलि बढी जोड गरिएको हो।
अरु दिनमा त हामी व्यस्त भए पनि आजभोली त हामीलाई प्रशस्त समय उपलब्घ छ। पुरुषहरुले भरपुर घरायसी काममा सक्रिय सहभागीता देखाउन सक्छन्। यो त नगर्नेभन्दा पनि अहिलेसम्म नगरेको काम गर्दा अफ्ठ्यारो लाग्ने र समाजले केही पो भन्छ कि भन्ने धारणा भएर नगरेको हो जसतो लाग्छ।
यसका निम्ति समाजले जे भनेपनि म सही गर्दैछु भनेर सुरुमा आफैँबाट सुरुआत गर्नु जरुरी छ। यो लकडाउनको अवधिमा हामीले निरन्तर घरायसी काममा केही समय उपलब्ध गरी कार्य गरेको खण्डमा हाम्रा बानी व्यवहारमा परिवर्तन आउने छन्, परिवर्तन पहिला आफुबाटै सुरु गनुपर्ने हुन्छ र वरपरका छरछिमेकीहरु सहित संस्थागत हुन सक्छ।
लैंगिक असमानताको ठूलो समस्यालाई हामी आफूबाटै परिवर्तन गर्न सक्छौँ। किनकी हामीलाई थाहा छ, आज घरायसी काम महिलाहरुको हो भन्ने सामाजिक मूल्यमान्यता र परम्पराका कारण केही महिलाहरु घरायसी काममा सिमित छन्। जागीर गर्ने महिलाहरु पनि दोहोरो मार्कामा छन्।
आज आप्नो स्वास्थ्य, आयआर्जन, मनोरञ्जन जस्ता कार्यहरुमा सहभागी हुन पाएका छैनन्। यसको परिणाम विभिन्न हिंसा हुने, मानसिक रोगहरु उत्पन्न हुने र घरपरिवारमा शान्ति नहुने जस्ता समस्या रहेका छन्। तपाई हामी कल्पना गर्न सक्छौँ हिंसा र अशान्ति भएको घरमा हामी र हाम्रा हुर्कदै गरेका सन्ततीहरुका मानसिक, सामाजिक अवस्था कस्तो होला?
उनिहरुले पनि राम्रा कुराहरु सिक्न सक्दैनन र भोली पनि ती सन्ततीहरु अहिलेको समाज जस्तै आफ्ना लैंगिक असमानताका व्यवहारहरु देखाउने छन् र फेरी हिंसा र असान्तिले निरन्तरता पाउने छ। त्यसैले यो अवस्थालाई हामीबाटै ब्रेक गर्नुपर्दछ।
लकडाउनमा प्रशस्त समय हुन्छ। सो समय घरमा घरायसी कामभन्दा पनि श्रीमानले रक्सी खाएर श्रीमतीलाई कुटिरहेका कुराहरु समेत सुन्नमा आएको छ। अध्यानले पनि के देखाएको छ भने लकडाउनले विश्वव्यापी रुपमै घरेलु हिंसा बढाउछ। विभिन्न संचार माध्यामका अनुसार चीनको हुवईमा फेब्रुअरीमा मात्र घरेलु हिंसा साधारण समयभन्दा तीन गुणाले बढेको थियो।
नेपालमा पनि राष्ट्रिय महिला आयोगको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष महिलामाथि हुने घरेलु हिंसा दुई प्रतिशत बढेको छ। अहिले नेपालमा पनि लकडाउन छ, हिंसा गर्ने व्यक्तिको मानसिकता यतिबेला झन् बलियो हुनसक्छ। त्यसैले हिंसामा बाचिरहेका महिला तथा केटाकेटीका लागि यो समय थप कठिन हुनसक्छ।
अनि घटना बाहिर आउन पनि गाह्रो छ। हिंसामा परेकाहरु यतिबेला बाहिर कतै निस्कन नसक्ने र कसैको सम्पर्कमा आउन गाह्रो हुने भएको हुँदा उजुरी नआउन सक्छ। त्यसैले अब कोरोना हाम्रो लागि समस्या भएर उभिएको छ तर यससँगै अवसरहरु पनि छन्। समाजमा महिला पुरुष समानता सहितको शान्ति स्थापना गर्न महिला पुरुषको उत्तिकै भुमिका छ।
लकडाउनका कारण २४ सैँ घण्टा सँगसँगै दिन बिताईरहेका महिला पुरुषहरु एकअर्कालाई अब समाजले र्निधारण गरेका हानीकारक परम्पराका रुपमा स्थापित सामाजिक अभ्यासहरुलाई स्वयमले नै हटाई सकारात्मक व्यवहार लागू गर्ने र यस लकडाउनलाई अवसरको रुपमा लिई हिंसा नगरी लैंगिक समानता कायम गर्न सक्छौँ। यो कोरोनाले दिएको अवसर हो।
त्यसैले कोभिड-१९ ले पारेको समस्यामा हामी सबै एकजुट भै लागेर परास्त गर्नुनै छ। यससँगै हाम्रो सामु अवसरहरु पनि प्रशस्तै भएको हुँदा यसको सदुपयोग गरी लकडाउनको समयमा लैंगिक असमानताका लागि आफैँबाट व्यवहार परिवर्नत गरी लैंगिक समानता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरौँ र यस अवसरमा लैंगिक समानता कायम गर्दै हिंसामुक्त भएको अबको देशका लागि प्रयासरत होऔँ।
(लेखक स्वास्थ्य, सुशासन तथा लैंगिक समानताका क्षेत्रमा विगत १५ वर्षदेखि कार्यरत छन्।)