'छुट्ने' शब्दको आफ्नै परिभाषा र गहिरो अर्थ छ। नेपाली शब्दकोशमा यो भन्दा हजारौँ गहिरा र मर्मस्पर्शी शब्दहरू छन् जस्तो धेरैलाई लाग्ला तर मेरो लागि नेपाली बृहत् शब्दकोशमा 'छुट्नु, छुट्यो, छुट्छन्' भन्दा गहिरा शब्दहरू अरू छैनन्। कारण आ-आफ्नै हुन्छन्!
फेरि छुट्नु त जीवन चल्नु पनि हो। एकबाट छुटकारा नपाई अर्को भेटिन असम्भव पनि त होला! त्यस्तै, छुट्टिएकाहरू कहिल्यै नभेटिनु पनि त गहिरो पीडा होला। के एक पटक भेटिएपछि कहिल्यै नछुट्टिन मिल्दैन? कि छुट्टिनु प्रकृतिको नियमनै हो कि?
आफ्नो सानो गन्थन गरौँ न आज। तपाईंसँग पनि मिल्छ कि!
करिब ७ महिना अगाडि मेरो हजुरबुबा हामीलाई छोडेर जानुभयो। दिदी बित्नु भएको एक वर्ष पूरा भयो। साहित्यले त तारा बनेर हेरिरहनु भएको छ भन्ला, अर्कोतिर भौतिकवाद आउला। तर 'छुट्टिनुभयो' पनि त बेठीक हैन। जब आमा-बुबा चिनियो सायद त्यही बेलाबाट हजुरबुबालाई चिनियो। माया चाहिँ सबैभन्दा बढी हजुरबुवाकै लाग्यो। वहाँलाई पनि त झनै माया थियो होला हामीप्रति तर किन छुट्टिनुभयो? सायद प्रकृतिको नियम हो कि। प्रकृति त प्रेमिल हुन्छ यद्यपि किन छुटाउँछ? उसको कानुन निर्माण गर्ने आफ्नै व्यवस्थापिका होला। छुट्टिएर प्रकृतिमा विलीन हुनुभएको हजुरबुवा र दिदीको शरीर मात्र छुट्यो। सम्झनाहरू, हरेक पलहरू, पदचापहरू किन छुटेनन्? हे प्रकृति कि त सबै छुटाऊ कि त अलिअलि चाहिँ स्मरणमै नछोड् है। यो लोक छोडेर गएकाहरू फेरि काहीँ कतै एक आपसमा भेट हुन्छन् कि हुँदैनन् होला?
भोलि यसै गरी बुवा-आमा, दाजुभाइ, दिदीबहिनी, आफन्तहरू छुट्दै जालान्। सबै छुटेर जानेहरू गई त हाले भनेर हाम्रो मन मान्ला? हामीले चाहेर पनि त केही गर्न सक्दैनौँ। अझ भनौँ एक दिन म छुट्छु, तपाईं छुट्नुहुन्छ! 'छुट्टिनु' कति डरलाग्दो।
अर्कोतिर, प्रेमी-प्रेमिकाहरू छुट्टिन्छन्। सँगै जीवन काट्ने सपना देख्नेहरू किन छुट्टिन्छन्? प्रकृतिले छुटाएको कि आफ्नै मन/परिवेशले? यसरी सपना देखाएर वा सँगै सपना देखेर छुट्टिएकाहरू रहरले छुट्टिन्छन् वा बाध्यताले? कि स्वार्थ/परिस्थितिले? अग्नि साक्षी राखेर विवाह बन्धनमा बाँधिएकाहरू किन छुट्टिन्छन्?
दिलमा लालीगुराँसको फूल फुलाएर जानेहरू दौडिएर कहाँ पुग्छन्? के लालीगुराँसको जङ्गल भेट्छन्? या त थाकेर कतै बसेर पश्चात्ताप पो गर्छन् कि?
त्यस्तै, मेरो परिवारबाट पहिलो पटक दाइ क्यानडा जाँदा कलिलो मस्तिष्कले भन्थ्यो- 'दाइ छुट्नुभयो कि!' दुई थोपा आँसु एकान्तमा खसेर सकिए, यदाकदा दाइ नेपाल आउँदा 'पाहुना' बनेर आउनुभयो भन्छ मनले। पछि भाउजू, भाइ, बुहारी, भतिज, भान्जा, भान्जी सविस्तारले क्यानडा जानुभयो। मलाई लागिरहन्छ- के हामीलाई छोडेर जानुभएको हो?
प्रविधिले हामीलाई नजिक बनाए पनि सत्य कुरा चाहिँ हामी टाढा नै छौँ। हजुरबुबा अर्को लोकमा जानु र दाइभाइ विदेश जानुमा एउटै 'छुट्टिनु' ले काम गर्ला र? हेर्नुस् त कति गहिरो छ 'छुट्टिनु' शब्द!
अर्कोतिर साथीभाइहरू हुन्छन्। स्कुल, कलेज, विश्वविद्यालयमा भेटिनेहरू। समयको अन्तरालले एकदमै नजिक ल्याउँछ तर एउटा बिन्दु आउँछ जहाँ उनीहरू पनि छुट्दै जान्छन्। तर किन? एउटै लक्ष्य र सपना देखेकाहरू किन समयसँगै टाढिन्छन्? सँगै संघर्षपूर्ण समय व्यतीत गरेकाहरूले आखिर त्यस्तो के चमत्कार भेट्छन् र छुट्टिन्छन्!
केहीले मलाई छोडे, केहीलाई मैले छोडे। जीवनको बाङ्गोटिङ्गो यात्रामा फेरि कुनै घुम्तीमा भेट भएछ भने पहिलाको जसरी नै खुलेर बोल्न सकिन्छ? कि शून्यबाट सुरु हुन्छ सम्बन्ध? फेरि भेट्दा ठोकिनु कि तर्किनु?
शान्ति प्रक्रियामा आउँदाको क्षण प्रचण्ड र बाबुराम एउटै गेटअपमा देखा पर्थे, एउटै बोली हुन्थ्यो। तर आज?
केपी ओली र माधव नेपाल त एकै ठाउँमा जानुपर्दा पनि फरक-फरक प्लेन चढेर जान्थे रे ताकि केही तलमाथि भइहाल्दा पनि अर्कोले पार्टी हाँकोस्। तर आज?
जीवनमा बहुआयामिक आयामहरू मध्ये राजनीतिमा चाहिँ छुट्टिनु र फेरि एकीकृत हुनु सामान्य नै होला। यद्यपि, कोही किन छुट्टिन्छन् भन्ने यक्ष प्रश्न हरेक क्षेत्रमा छ।
विचार, आनीबानी, जीवनशैली, पेसा, हैसियत र कहिलेकाहीँ जात, धर्म, लिङ्ग आदिका कारण मानिसहरू छुटिँदै जान्छन् होला। के जीवन भनेको कुनै बहानामा छुट्टिनु नै हो? यस्ता प्रश्नहरू थुप्रै आउँछन् तर उत्तर जटिल छ। प्रश्नबाट उम्किने सहज उत्तर भनेको 'सम्झौता गर्न जान्नुपर्छ मात्र हो।'
कोही अनायासै भेटिन्छन्, गहिरो सम्बन्ध राख्छन् र तारा पिण्ड जस्तो झिलिक्क भएर छुटेर जान्छन्। यहाँ, कोही पारिजात बने जो रातभर सुन्दर भएर फूले र बिहानै झरै गए।
अन्त्यमा,
हामी
पहिला पटक भेटेको साँझ
कुन गीत बजेको तियो
याद छ?
छैन
तर...
तिमी गएदेखि
जे-जति गीत सुनेँ
ती सबै याद छन्! -अज्ञात।