मानिसहरू भन्छन्– ‘बैंकमा काम गर्छौ, पैसा त प्रशस्तै होला नि? पैसाको खानी, एटिएम हौ यार तिमी त।’
मनमनै सोच्छु अनि मुस्कुराउँछु, छ नि बैंकमा त तर अरूको। म अचम्म मान्दिनँ। किनकि समाजको आँखामा बैंकर भनेको पैसाको भण्डार र चल्तीको नोट जस्तै जहाँ चाह्यो त्यही निकाल्न मिल्ने प्राणी हो। म पैसाको मालिक, नोट छाप्ने मेसिन, मान्छेले हेर्दा राष्ट्र बैंकको गभर्नर। किनकि म त बैंकर पो।
बैंक खुल्नुभन्दा अघि मेरो अलार्म बज्छ, मेरो आँखा खुल्छ तर मेरो सपना अझै सुतेको हुन्छ। बैंक बन्द भएपछि पनि मेरो टेन्सन बन्द हुँदैन। कम्प्युटर अफ हुन्छ तर दिमागमा हिसाब मिलान अनलाइन नै हुन्छ। सुट-टाईवाला म ऐनामा हेर्दा सफल देखिन्छु तर मलाई मेरो मनले भन्छ– तँ झुटो छस्।
बैंकभित्र पस्दा हामी सुट–टाईका कबज लगाएका आधुनिक युगका योद्धा हौँ। हाम्रो युद्ध हुन्छ–गलत अंकसँग, क्लोजिङ टाइमसँग र ‘सर पाँच मिनेट मात्र’ भन्ने वाक्यसँग। कहिलेकाहीँ त लाग्छ– मान्छेहरूले हामीलाई गुगल सर्च इन्जिन ठानेका छन्। ‘लोन कति मिल्छ? सरकारी बैंक ढिलो पो हुन्छ कि? मेरो काम तुरुन्तै हुन्छ नि? पैसा काट्यो तर उता गएन, पैसा काट्यो तर एटिएमले फालेन। सिस्टम चलेन, वैकल्पिक व्यवस्था गर्नु पर्दैन?’ सबै प्रश्नको उत्तर मेरो टेबलमाथि नै हुनुपर्छ रे!
दिनभर, कोही भन्छ– ‘सर पैसा तुरुन्त चाहियो, कोही भन्छ सर नियम त तपाईंले बनाएको हो नि।’ मनले भन्छ, सोच्छु नियम बनाउने हामी होइनौ, हामी त नियममा बाँधिने कैदी हौँ।
घरमा भने म कुनै बैंकर होइन। मेरो पदवी काम लाग्दैन घरमा। न त ब्याज चल्छ, न पेनाल्टी माफ हुन्छ, न रिकभरी न त लगानी नै। ‘बच्चाको मौन प्रश्न र भान्साबाट आउने खामोस आवाज’– मेरा लागि सबैभन्दा कडा सजाय।
‘बैंकमा काम गर्ने तलब त एक डेढ लाख होला है, के चिया खाएको पैसो नि हामीलाई तिराउँछस् यार, आज जाऊँ गुड फ्राइडे बैंकर साथी भएपछि हामीलाई के टेन्सन, यो बाट त दरो गिफ्ट आउँछ, ओए, बैंकर भएर नि कस्तो जुत्ता लगाएको..... घडेरी कति ठाउँमा किनिस् बे’ मात्र हो र ‘यिनी त बैंकरको श्रीमती पो हुन्, आज यिनले खर्च गर्छिन् (श्रीमतीलाई)... तेरो बाउ त बैंकमा होइन र के लोभ गरिरा (छोरालाई)।’ मेरो समाजको प्रश्न वा भनौँ अपेक्षा। अरूको नजरमा बैंकमा काम गर्नेको जिन्दगी सेट हुन्छ, सेट त हुन्छ तर कम्प्युटर सेटिङ जस्तै अलिकति गडबड भयो कि पुरै सिस्टम ह्याङ।
दिनभरि अरूको पैसा गन्छु तर आफ्नै समय गन्न भ्याउँदिनँ। अरूको सपनामा ऋणको साइन गर्छु, आफ्नो सपनालाई दराजमा थन्काउन बाध्य छु। मेरो हाँसो औपचारिकताका लागि हुन्छ तर त्यो हाँसोभित्र लक्ष्यको दबाब, ग्राहकको गुनासो, त्रुटि हुन नदिनुपर्ने सतर्कता अनि समयसँगै दौडिरहेको जिम्मेवारी लुकेको हुन्छ। गल्ती शून्य हुनुपर्छ किनकि एउटै अंकको भूलले इमानदारितामाथि प्रश्न उठ्छ। अरूको खातामा खुसी भर्ने म आफ्नो डायरी थकान र वेदनाले भर्ने गर्छु।
मानिसहरू बैंक बन्द भएपछि ढोका ढकढकाउँछन्, ‘थोरै काम बाँकी छ।’ उनीहरूलाई थाहा छैन मेरो पनि घरमा कसैले बाटो हेरिरहेको छ। कोही आउँछन् आशा बोकेर, कोही आवेग बोकेर त कोही अकारण रिस बोकेर।
बैंकभित्रको जिन्दगी तिमीले सोचेजस्तो एसी र कुर्सी मात्र होइन। यो त अंकसँगको अखडा हो, जहाँ गल्ती गर्नेलाई ताली होइन, अडिटले स्वागत गर्दछ। सिस्टमले सम्झाउँछ, सिनियरबाट सोधिन्छ– तत्काल स्पष्टीकरण।
तर गुनासो मात्र होइन, त्योभन्दा बढी गर्व छ मलाई बैंकर हुनुमा। कसैको व्यवसाय उभिन मद्दत गर्दा, कसैको घर बन्ने सपना पूरा हुँदा, कसैको छोराछोरीका भविष्य सुरक्षित भएको देख्दा, मनमा भित्रैबाट सन्तोषको सानो दीप बल्छ। म पैसाको मात्र होइन, विश्वासको रक्षक हो। आर्थिक पहरेदार।
संवेदनशील र महत्त्वपूर्ण क्षेत्र हो बैंकिङ। अझ बढी सुझबुझ र जिम्मेवार बन्नुपर्ने अभिभारा छ हामीमा। जनताको विश्वास सदैव बरकरार राख्नुपर्ने नैतिक दायित्व छ। बैंकिङ प्रणाली व्यवस्थित, विश्वासिलो र धेरैको पहुँचमा हुँदा मात्र समाजको उन्नयनमा टेवा पुग्छ। त्यही जिम्मेवारीको आत्मबोध छ ममा।
ए श्रीमती, ए छोराछोरी, ए आफन्त, ए समाज– तिमीले मलाई देख्दा सायद एटिएम सम्झियौ, नोटको दराज सम्झियौ, पैसाको भकारी सम्झियौ, ती सबै मेरै हुन् तर मेरो बैंकको, सर्वसाधारण जनताको– न कि मेरो व्यक्तिगत। किनकि म बैंक होइन नि त। म त बैंकर पो।
(लेखक राष्ट्रिय वाणिज्य बैंक, भैरहवा शाखामा सहायक व्यवस्थापकका रूपमा कार्यरत छन्।)