सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ। सावधानी अपनाउन हाम्रो देशमा पनि लकडाउन भएकाले अहिले हामी घरमा नै बस्नु परेको छ। हुन त यति बेला वार्षिक परीक्षा सकिने भएकाले बिदा हुने बेला भए पनि यसपालि फरक तरिकाको बिदा मनाउन पाएका छाैं।
लकडाउनका कारण घरमा बस्दा एकदमै अल्छि लाग्न थालेको छ। दिन पनि धेरै लामो भएजस्तो लाग्छ। स्कुल लागेका बेला कहिले बिदा हुन्छ भन्ने लाग्थ्यो। अहिले भने कहिले स्कुल लाग्छ जस्तो भएको छ। कोरोनाको महामारी नफैलिएको भए म अहिले मामाघरमा रमाउँथे। अनि मुना मामु (सानीमा) को घरमा रमाइलो गरिरहेकी हुन्थेँ।
हामी परिवार नै नयाँ ठाउँसमेत घुम्न जान्थ्यौं। तर यस्तो डरलाग्दो रोगले हामीलाई घरमै कैदी बनाइदिएको छ। भूकम्पले हामीलाई घर बाहिर खेदायो भने कोरोनाले घरभित्र बन्दी बनाएको छ। कस्तो अचम्म है!
जे भए पनि लकडाउनका कारण मलाई फाइदा पनि भएको छ। मेरो मामु सरकारी जागिरे र बाबा बैंकमा काम गर्ने हुँदा उहाँहरूसँग बस्न म र मेरो बहिनीले शनिबारसम्म पर्खनु पर्थ्याे। तर लकडाउनले गर्दा उहाँहरूसँग समय बिताउन पाउनु हाम्रो लागि धेरै खुसीको कुरा भएको छ।
घरमा बस्दा अहिले म समाचार पढेर कोरोनाका बारेमा धेरै कुरा जान्ने भएको छु। बहिनी, बुवा, मामु, बाबा सबैलाई कोरोनाबाट बच्न बारम्बार हात धुनुपर्छ भन्दै सिकाउँछु। अनि गुगल हेरेर कोठा कसरी सजाउने भन्ने पनि सिकिरहेको छु। मामु घरमै बसेको समयमा कति मिठो मिठो खानेकुरा बनाउनुहुन्छ। म त बिहानको खाना खान नपाई दिउँसो के खाने भनेर सोध्न थालिहाल्छु। किनकि मैले दिनहुँ केही न केही बनाउन सिक्न पाउँछु नि त।
आजसम्म मैले म:म, पुरी, आलुचप, केक, चाउचाउ, पिज्जा, चिया बनाउन सिकिसकेँ। तर कहिलेकाहीँ मामुबाबा अफिस जानुपर्ने हुँदा भने हामी चिया पाउरोटीमा नै चित्त बुझाउँछौं।
लकडाउनको समयमा मामुले विभिन्न खेल खेलाउनुहुन्छ। बाबाले चित्र बनाउन र रङ भर्न सिकाउनुभएको छ। दुरदर्शन च्यानलबाट अहिले लकडाउनको समयमा रामायण र महाभारत आउन थालेको छ। यसबाट मैले धेरै ज्ञानगुनका कुरा सिक्न पाइरहेकी छु। अब म कक्षा ७ मा जाने हुँदा छिमेकी दाइको किताब लिएर हिसाब र विज्ञान पनि पढिरहेको छु। अनि नि रेडियो नेपालमा बाल समाचार पनि भन्छु।
लकडाउनले गर्दा म रेडियाे स्टेसनसम्म पुग्नु पर्दैन। घरमा म आफैं मामुको मोबाइलमा समाचार रेकर्ड गर्छु र इमेलबाट पठाउन थालेकी छु। यसरी मैले इमेल चलाउन पनि सिकेँ नि। हरेक दिन ३ बजे फेसबुक लाइभमा 'स्टाेरी टाइम इन नेपाल'मा आउने नयाँ-नयाँ कथा सुन्न मामुले सहयोग गर्नु भएको छ। राम्रा कथा आउँछ, हजुरहरू पनि सुन्नु ल।
फुर्सदमा म युट्युबमा फिल्म पनि हेर्छु। मलाई 'चक एण्ड डस्टर' नामको फिल्म राम्रो लाग्यो। यसमा हामीलाई पढाउने सर मिसको बारेमा कथा रहेछ। मलाई त धेरै नै मनपर्यो। अनि stories.audible.com मा आउने कथा सुनेर म सबैलाई कथा सुनाउन सक्ने भएको छु।
अन्त्यमा म मेरा साथीहरूलाई घरमै बस्न, साबुन पानीले बारम्बार हात धुन अनि नयाँ-नयाँ कुरा सिक्ने कोशिस गर्नु भन्न चाहन्छु।
धन्यवाद!
(राजश्री तिम्सिना मण्डिखाटार, काठमाडौंस्थित काष्ठमण्डप विधालयमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com