सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चैत ६ गते कक्षा ८ को परीक्षा सकिएसँगै कम्तीमा एक महिना घरमा बस्नुपर्छ भन्नेमा म ढुक्क थिएँ। साथीहरूसँग काँक्रेबिहार, बुलबुले र देउती बज्यै घुम्ने योजनासहित हामी छुट्टिएका थियौं। तर हामीले साेचेकाे जस्ताे भएन, परिस्थिति फरक बन्यो। चैत ११ गतेदेखि सरकारले देश लकडाउनमा गएको घोषणा गर्यो।
सुरूमा मलाई क्वारेन्टाइन पीडामा बित्छ जस्ताे लागेकाे थियाे। तर क्वारेन्टाइन कुनै मायाको फूलबारीजस्तै लागिरहेकाे छ। न स्कुलको होमवर्कको चिन्ता छ, न विहानै उठ्न पर्छ भन्ने पीडा। न नौ बजेसम्म सडकको पेटीमा उभिएर स्कुलको बस छुट्ला र हिँडेर जानुपर्ला भन्ने चिन्ता।
मलाई त एउटै चिन्ता छ, हिजो बाबा र मैलै मिलेर बनाएको दिउँसोको पुरी तरकारीको परिकार जतिकै स्वादिलो आज ममी र म मिलेर बनाएकाे हुन्छ कि हुँदैन। बाबाले हिजोभन्दा मिठो छ भन्नु हुन्छ कि हुन्न। हिजो ममी र बाबाले माझेझैं भाँडाको सुन्दरता बहिनी र म मिलेर माझ्दा हुन्छ कि हुँदैन।
मलाई क्वारेन्टाइन अर्को स्कुल भेटेझैं लागिरहेको छ जहाँ मैले अहिलेसम्म पाउन नसकेको मीठो मायाको स्वाद पाइरहेको छु। हप्तामा एक दिन हुने शनिवारकाे बिदा सरसफाइमा बित्थ्यो, त्यसैमाथि स्कुलको थप गृहकार्य। अहिले क्वारेन्टाइन बसेको यतिका दिनसम्म पनि मलाई पटक्कै पट्यार लागेको छैन।
म जे गर्छु मेरा ममीबाबालाई मनपर्ने मात्र गर्छु। बिहान ६ः३० बजे बिहानै उठ्दा घाम झलमल्ल झुल्किसकेको हुन्छ। हातमुखको सफाइसँगै बिहानै पूजा र गमलाको सिँचाई मेरो ममीले भनेझैं सक्छु। त्यसलगतै बाबाले बनाएको बिहानको खाजा हामी तीन भाइबहिनी मिलेर खान्छौं। खाजासँगै ममीले काट्दै गरेको तरकारी काट्न, धोइपखाल्न तथा अचार पिस्न सहयोग गर्न मन लाग्छ। खाना पाक्दै गर्दा सानी बहिनी खाजा खाएको भाँडा सफा गर्छिन् भने बाबाले घरको कोठा सफा गरिरहेको देख्छु।
सानो भाइलाई प्रायः बाबाले बिहान दूध र पपकर्न मनतातो पानीसँग खुवाउदै गर्दा मन फुरूङ्ग हुन्छ। ममीले म र मेरी बहिनीको कपाल थरीथरीको ढाँचामा हरेक दिन कोरीबाटी गरिदिँदा भाइले 'मेरो कपाल पनि दिदीको जस्तो बनाइदिनु न ममी' भन्दा हाँस उठ्छ।
त्यसपछि म मेरो कोठा सफाइसँगै सजाउन थाल्छु। आधुनिक गीत निकै मनपर्ने भएकाले विशेषगरी मेलिना राई र अन्जु पन्तको गीत नगुन्गुनाई बस्न सक्दिनँ। खुलेर कोठा रन्किने गरी गाउँछु। खाना खान ममीले बोलाइसकेपछि हामी स-परिवारसँगै बसेर खान्छौं। मेरो ममी पसल गर्ने भएकाले आज आठौं महिनापछि मात्र यसरी बस्न पाइएको छ।
मेराे घरमा जहिले नि सन्तुलित खाना खाने प्रयास गरिन्छ। कार्वोहाइड्रेड, प्रोटिन, भिटामिन तथा आइरन युक्त खाना नखाए सुक्ष्म भोक मेटिन्न भनेर पोषणविद्ले भनेको सुनेको छु। सायद, यही पोषणयुक्त भोजनले कोरोनालाई पनि हराउन सजिलो हुन्छ। खाना खाइसकेपछि हामी स-परिवार बाबा वा ममीको मोबाइलमा फेसबुक पेजमा झुमिन्छौं। त्यहाँ कसैले पोस्ट गरेकोभन्दा समाचारमा बढी आँखा जान्छ। आवश्यकताअनुसार विस्तृत समाचार पढ्छौं। समाचार पढ्दा हामी पालैपालो ठूलो स्वरमा एकजनाले पढ्छौ र अरूले सुनिरहन्छौं। अन्तमा समाचारको निश्कर्ष निकाल्छाैं।
त्यसपछि प्रायः टेलिभिजनको स्क्रिनमा केन्द्रित हुन्छौं। विश्व परिवेशका बारे सबै नेपाली च्यानल पालैपाले हेर्छौं। स्क्रिनमा देखिने न्युज अपडेट कसले छिटो पढ्छ भनेर प्रतिस्पर्धा गर्छौं। त्यसपश्चात रमाइलो टिभी च्यानल पनि हामी तीन भाइबहिनी मिलेर हेर्छौं।
हरेक दिन एउटा नयाँ हिसाब बाबाले कथा सुनाए जसरी सिकाउने र दुइटा हिसाब जसरी नि जान्नै पर्ने रहर बीचको बाध्यता छ हामी तीन भाइबहिनीकाे। त्योसँगै हरेक दिन एउटा गुणन (टेबल) पढ्ने प्रतिस्पर्धा म र बहिनीबीच हुन्छ। आजका दिनसम्म २ देखि २० सम्मको गुणन हामी दुई बहिनीलाई र ५ सम्मको गुणान भाईलाई कण्ठस्थ छ।
केही समयपछि दिउँसोको खाजाको तयारी हुन्छ। कहिले बाबाममी, कहिले बाबा र म त कहिले ममी र म विभिन्न खाजा बनाएसँगै खाइसकेपछि प्रतिभा देखाउने खेल सुरू हुन्छ। म आधुनिक गीत गाउँछु र बहिनीले आफ्नो नाच मोबाइलको गीतसँगै नाचेर देखाउँछिन्। बाबाममी हाम्रो तारिफ गर्दै मख्ख पर्नुहुन्छ। मेरो भाइले दिनमा कम्तीमा बीसवटा भन्दा बढी नेपाली शब्दको अंग्रजीमा के हुन्छ भनेर सोध्छ। कतिपय शब्द नेपाली र अंग्रजी के हुन् छुट्ट्याउन हामीलाई हम्मेहम्मे पर्छ।
साँझको खाना पकाउने, भाँडा माझ्ने विषय मेरो घरमा टाउको दुखाइको विषय बनेको छैन। पल्लो घरमा त्यही विषयमा हरेक दिन किचकिच हाम्रै कानले सुन्नुपर्छ।
अन्तमा घरमै बसौं, बाहिर ननिस्कौं। कोरोनाले कसैलाई छाड्दैन। के थाहा मेरै मामामाइजु, काकाकाकी, दाइदिदी, साथीसंगीले पो कोरोना बोक्नु भा'छ कि? सबै आफन्तलाई सम्झेको छु। फोनमा निरन्तर कुरा भइरहेकै छ। आखिर भौतिक भेट मात्र त हो नि नभएको। खुसीले बसौं र बाँचौ केही दिन। आगामी दिन त त्यसै उज्याला छन् नि।
(अनुषा चन्द सुर्खेत वीरेन्द्रनगरस्थित इलाइट इङलिस माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com