देश लकडाउन बाट गुज्रिरहेको छ। अझै कति समय गुज्रेला, यो भन्न गार्हो छ। लकडाउन अवधिलाई प्रभाव पार्ने एउटा प्रमुख तत्व क्वारेन्टाइनको नतिजा पनि हो।
संक्रमण फैलावटका सम्भावनालाई जति चाँडो निस्तेज बनाउन सकियो, लकडाउन अवधि त्यहीअनुसार छोटिन्छ। त्यसैले क्वारेन्टाइन बसाईको गुणस्तर अहिलेको अवस्थामा एउटा निर्णायक तत्व हो भन्दा फरक नपर्ला।
यहाँ मेरा आफ्नै क्वारेन्टाइन बसाईको अनुभवले यसका केही रंग देखेका छन्, भोगेका छन्। मेरा यी भोगाई र देखाई नै क्वारेन्टाइन बसाईको गुणस्तर मुल्यांकन गर्ने सुत्र बनेका छन्। गुणस्तर सर्वसाधरण र सरोकारवाला सबैको मनस्थितिमा समेत निर्भर रहेको हुनाले यसको यात्रा घरको आँगन बाटै सुरु गर्छु।
आफू गाउँ आइरहेको खबर प्रशासनलाई पहिल्यै गरेको थिएँ। नभन्दै घर टेक्दा नटेक्दै एक प्रहरी देखा परिहाले। तत्कालै अस्पताल जानु भनि सुझाउन आएका थिए ती। आज्ञा शिरोपर गर्दै पाइला अघि बढाएँ।
घरमा लुकेर बस्ने र सुराखी पाएपछि प्रहरीले लिएर जाने गरेका घटना व्याप्त थिए वरिपरि। त्यसैले पनि टोल छिमेक ससंकित बनेँ यसपाली। बारदली र झ्यालबाट चिहाइरहेका आँखा मलाई क्वारेन्टाइन ठेलिरहेका थिए।
विधि प्रतिको सचेतना देखेर खुशी मान्दै अघि बढेँ।
अस्पताल पुग्दा अफिस टाइम सकिसकेको रहेछ। इमर्जेन्सीमै भए नि मलाई चेकजाँच गर्ने उर्दी सुनियो। केही समयको प्रतिक्षापश्चात थर्मल गनले मेरो ज्वरो नाप्ने काम गरियो।
कीट सकिएकाले आरडिटी सम्भव भएन। मेरा बारे अनुसन्धानात्मक प्रश्न गरिए। सबै कुरा नर्मल थिए। तर क्वारेन्टाइन अनिवार्य भएकाले त्यसको तयारी तुरुन्तै थालियो।
वास्तवमा मलाई त क्वारेन्टाइन नै जानु थियो, देखाई र भोगाईका रंग सबै सामु पोख्नु थियो।
हस्पिटलबाट क्वारेन्टाइन लाने जिम्मा एक जना बिना बर्दीका प्रहरी अधिकारीको थियो। क्वारेन्टाइन स्थल पुग्दासम्म नगरपालीकाले गाडी नपठाएको ह्रोष पोखिरहे उनले। आफैँ पुर्याउनु परिरहेको छ भन्दै बिलौना गरिरहे फोनमा।
वर्षौँ पहिले मैले एसएलसी दिएको परीक्षा केन्द्रलाई नै क्वारेन्टाइन बनाइएको रहेछ। भवन अगाडिको जमिनमा पाँच वटा टेन्टहरु नि टाँगिएका रहेछन्। रात परिसकेकाले धेरै दृश्य आँखामा अटाउन सकेनन्।
मेरो लागि दोस्रो तलाको एउटा कोठा तर्जुमा गरियो। चार वटा खाट राखिएको त्यस कोठामा म दोस्रो पाहुना बनेर पुगेको थिएँ। पहिलो पाहुना मभन्दा थोरै अघि मात्र आएका रहेछन्। एकछिनमै तेस्रा पनि थपिए।
क्वारेन्टाइनको पहिलो नजिर त्यत्ती सुन्दर बन्न सकेन। खाटको सेतो बेड सिट मैलो र टक्टक्याउनु पर्ने अवस्थामा थियो। सँगै टाँसिएको झ्यालको रडमा जिल्ला अस्पतालको पुर्जा उनिएको थियो। त्यसमा लेखिएको नामबाट म अघि त्यहाँ ५० वर्षिय एक महिला बसेको अनुमान सहजै लगाउन सकिन्थ्यो। ओड्ने ब्लाङ्केट लथालिङ्ग छरिएको थियो।
पुनः प्रयोग गर्न मिल्ने कुरा शंकास्पद नै देखिन्थ्यो। सिकसिको मेट्न सेनिटाइजरको स्मरण भयो, तर तत्काल हातलाई त्यो सुँघ्ने नसिवै मिलेन। क्वारेन्टाइन स्थलबाट घर नजिकै पर्छ। त्यसैले ओड्ने ओछ्याउनेको जोहो घरैबाट गर्नुपर्ने महशुस गरेँ।
मेरा रुम पार्टनरहरुलाई तत्कालै मगाउन सम्भव भएन। पहिलो रात जे छ त्यसमै गुटमुटिन मजबुर बनेँ।
त्यसपछिका दिनमा बरन्डामा बसी क्वारेन्टाइनका विभिन्न रंगहरुको अवलोकन गरिरहेको छु।
वान मिस्टेक, गेम ओभर। यो कोरोनाकको रंग हो। यसलाई यहाँ भर्ना भएका, र यहाँ खटिएका सबैले मिलिजुली रंगाइरहेको देखिन्छ।
सुरुमा यहाँको परिदृश्यको कुरा गरोँ। जस्तो कि खानेपानीको स्रोत युरोगार्ड युक्त धारा छ। धाराको टुटीमा सबै हातको स्पर्ष पर्छ। मिनरल वाटरको कल्पना गर्दै यहीँबाट पानी थाप्ने गरेको छु।
शौचालय साझा छ। पिसाब फेर्ने ठाउँ र स्नान कक्ष टाँसिएको छ। पानी जमेर त्यहाँ सँधै फोहोर हुनेगर्छ। भुसुना उडेका छन्। शौचालय गन्हाएको बाहिरै थाहा हुन्छ। हार्पिक र ओडोनिलको व्यवस्था छैन। आफैँ सफा गर्न पानी हाल्न बाहेकको उपाय छैन।
सरसफाईको सवालमा यहाँको रंग रातो छ। यहाँ बसेका अधिकांशमा कर्तव्यबोध र सजकता देखिँदैन। खाजा-खानाको लाइनमा दुई इन्चकै दुरी पनि हुँदैन। आफूले दुरी कायम गर्दा बीचमा अर्को फुत्त घुसेको धेरै पल्ट देखेको छु। बिना मास्क हिँडडुल र गफागफी व्याप्त देखिन्छन्।
‘हामी त कोठाभित्रै तास खेल्छोँ!’
खतरोका खेलाडी नि व्याप्त छन् यहाँ।
सबैलाई अनुशासनमा बाँध्नुपर्ने प्रहरीले खुलेआम खैनी माड्दै गरेको दृश्य धेरै पल्ट देखिसकेको छु। यस्तोमा यहाँ भर्ना भएकाहरु खुलेआम धुवाँ उडाउँदै हिँडेको देख्दा मलाई अचम्म लागेन। यी सबै विश्वस्त छन् कि यहाँभित्र कुनै संक्रमण नै छैन। यो क्वारेन्टाइन समाजबाट त अलग छ। तर यहाँ भित्रै संक्रमण फैलाउन सक्ने मार्ग प्रशस्त रहेका छन्।
सजगताको सवालमा नि यहाँको रंग रातै छ। क्वारेन्टाइन संवेदनशील स्थल हो। सम्भावित संक्रमित ठहर्याएरै भर्ना गरिएका हुन्छन् सर्वसाधरणलाई। भने नि, वान मिस्टेक एण्ड गेम ओभर। झिनामसिना कुरामा नि कम्प्रोमाइज गर्ने सवालै रहँदैन।
किनकी संक्रमण फैलिन सक्ने सबैभन्दा जोखिमपुर्ण ठाँउ पनि यही हो। त्यसैले यहाँ हर बखतको निगरानी, सम्झाई-बुझाई र कडि-कडाई अत्यावश्यक हुन्छ। यस्ता कार्यको लागि स्वास्थ्यकर्मीको उपस्थिति अपरिहार्य हुन्छ।
तर यहाँ दिउँसो एकपल्ट ज्चरो नाप्न बाहेक अरुबेला स्वास्थ्यकर्मीको उपस्थिति देख्न सकिन्न।
किटको अभावले आरडिटि नै नगरी ज्वरो नापेर यहाँबाट बिदाई गरेको दृश्य नि देखेको छु। यो सेफ्टी फ्याक्टर माथिको ठूलो चुनौती हो। १४ दिन पश्चात??
त्यसैले व्यवस्थापनको सवालमा नि यहाँको रंग रातै छ। यी सबै राता रंग एकै ठाउँ मिस्सिएर कोरोनाको रंग बन्न तत्पर बनेका छन्।
नेपाल कोरोनाको तेस्रो स्टेज यानिकी कम्युनिटी ट्रान्समिसनको चरणमा प्रवेश गरिसकेको छ। यो अवस्थामा क्वारेन्टाइनको बसाईनै रोकथामको सबैभन्दा भरपर्दो विधि मानिएको छ।
क्वारेन्टाइन बसाईको गुणस्तर नै आफू र समाजलाई सुरक्षा प्रत्याभूती दिलाउने आधार बनेको छ। त्यसैले क्वारेन्टाइन बसाईका स-साना कुराहरुले समेत निर्णायक अर्थ राख्छन्।
एउटा सचेत नागरिकको हिसाबले यहाँ व्याप्त यी समस्याहरु सम्बन्धित निकायमा पुर्याइरहेको छु। यस्ता समस्याहरु देशका अन्य क्वारेन्टाइनमा पनि छैनन् भन्न सकिन्न। विभिन्न कारणले ती बाहिर आउन नसकेका हुन सक्छन्।
भर्ना भएकामा कर्तव्यबोध, र भर्ना गराउनेमा जिम्मेवारी बोध आवश्यक छ। सम्बन्धित सबैको चेतना र सजगताको लागि मैले यो बाहिर ल्याउने हिम्मत गरेको छु।