अहिले विश्वले कोरोना भाइरस (कोभिड १९)सँगको लडाइँमा सम्पुर्ण शक्ति लगाई रहेको अवस्था छ। यस महामारीको अन्त्य र यसले पुर्याउने नोक्सानीको आँकलनको यसै भन्न सक्ने स्थिति छैन।
यद्यपी यसलाई सन् १९३० पछिकै सबैभन्दा ठूलो आर्थिक संकटका रुपमा आँकलन गर्न थालिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले जारी गरेको प्रक्षेपणले (वर्ल्ड इकोनोमिक आउटलुक, ६ अप्रिल २०२०) विश्वको समग्र आर्थिक वृद्धि ३ प्रतिशतले नकारात्मक हुने बताइसकेको छ।
केन्द्रीय तथ्याङ्क विभागले समेत वैशाख १७ गते नयाँ तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धि २.२७ मा सीमित रहने प्रक्षेपण गरेको छ। विश्व स्वास्थ्य संगठनले मार्च ११ मै अहिलेको अवस्थालाई स्वास्थ्य महामरीको रुपमा घोषणा गरिसकेको अवस्था छ।
कोरोना भाइरसको संक्रमण संसारभरि नै अत्यन्तै तीव्र गतिमा फैलिरहेको छ। हाम्रा छिमेकी तथा श्रम गन्तव्यमा समेत तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा सोही गतिमा फैलने त देखिँदैन यद्यपी हाम्रो अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न हुने निश्चित छ।
यस्तो विषम परिस्थितिमा वैदेशिक रोजगारी गुमाएका नागरिक, श्रम बजारमा वर्षेनि थपिने नयाँ जनशक्ति तथा समग्र देशको आर्थिक क्रियाकलापको सही व्यवस्थापनका लागि परिस्कृत एवं योजनावद्ध रणनीति अवलम्वन गर्नुको विकल्प छैन।
१९८० को दशकदेखि नै विश्वव्यापीकरणको महत्व तथा आवश्यकतामा अत्याधिक वृद्धि भएको पाइन्छ, देशका राजनैतिक सीमानाले समेत आर्थिक गतिविधिलाई रोक्न सक्ने स्थितिमा छैनन्।
विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणको लहर र त्यसले ल्याएको आर्थिक एकीकरण सँगसँगै विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय व्यापार, आप्रवासन र वैदेशिक पुँजी प्रवाहमा वृद्धि भएको पाइन्छ।
नेपालमा समेत बहुदलीय व्यवस्थाको पुनरागमन तथा वि.सं. २०५६ मा श्रम तथा रोजगार प्रवद्र्धन विभागको स्थापना पश्चात वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या र सोवापत प्राप्त रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि हुँदै आएको छ।
कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०७२/७३ सम्म निरन्तर वृद्धि भई १८.५५ प्रतिशतबाट २९.५२ प्रतिशत बराबरसम्म पुगेको थियो।
त्यसपछिका वर्षहरुमा भने यो अनुपात क्रमश घट्दै गएर आर्थिक वर्ष २०७५/७६ मा २५.४ प्रतिशत बराबरमा झरेको थियो।
जुन आप्रवाह रकममा कमी नभएता पनि कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धि तथा वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको कमीका कारण कुल गार्हस्थ्य उत्पादनमा योगदान कम हुन पुगेको थियो।
यस किसिमको तथ्याङ्कहरुले देशमा रोजगारीका अवसरहरुका क्रमशः सुधार आएको भन्न सकिने अवस्था थियो तर कोरोना भाइरसको महामारीका कारण समग्र अर्थव्यवस्थामा परेको प्रभावका कारण केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/७७ मा नेपाल भित्रने रेमिट्यान्सको आप्रवाह ७१६ अर्बमा सीमित रहने र कुल गार्हस्थ्य उत्पादनमा योगदान १९.०१ प्रतिशत बराबरमा खुम्चने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।
हाल विश्वका जनसंख्यामा नेपालको जनसंख्या करिब ०.३७ प्रतिशत मात्रै हो तर चीनसहित दक्षिण एसियालाई हेर्ने हो भने करिब ४३ प्रतिशत मानिस हाम्रा छिमेकी हुन् र जुन हाम्रो संभावित बजार क्षेत्र समेत हो।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन र पाँचौ ठूलो अर्थतन्त्र भारत जस्ता हाम्रा अन्य छिमेकीहरुबाट हामीले पर्याप्त फाइदा लिन सकिरहेका छैनांै।
महामारीको आर्थिक प्रभाव विकसित मुलकमा भन्दा पनि नेपालजस्ता विकासशिल मुलकमा अत्यन्तै कष्टकर हुनसक्छ।
यस्तो अवस्थामा हामो मानव पुँजीको व्यवस्थित उपभोगबाटै सम्वृद्धि हासिल हुने हो, जसका लागि हाम्रो जनसंख्याको विस्तृत विश्लेषण र योजना बनाई काम गर्नु अहिलेको आवश्यकता हो।
विश्वका धेरैजसो बहुराष्ट्रिय कम्पनीहरुको उपस्थिति चीनमा छ अहिलेको तथ्याङ्कलाई हेर्दा चीनमा ७२ प्रतिशत श्रम गर्न सक्ने मानिस छन्। जसले श्रम र उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गरे भने १४० करोड जनसंख्याको बजार समेत रहेकाले वैदेशिक लगानी चीनमा आकर्षित हुन पुग्यो।
वैदेशिक लागानीले रोजगारी मात्रै प्रदान गर्दैन प्रविधि तथा व्यवसायीकताको हस्तान्तरण पनि गर्दछ जसका कारण चिनियाँहरु आफ्नो क्षमतामा समेत उत्तिकै विकास गर्न सफल भए।
अहिले चिनियाँहरु बजार र श्रमिक मात्रै होइनन् आफै ठूलो लगानीकर्ताका रुपमा, उत्पादकका रुपमा परिणत भए। अब विस्तारै चीनको जनसंख्यामा पाका उमेरका मानिसको संख्या थपिने क्रम जारी छ भने बच्चाहरुको जनसंख्या पनि थोरै हुँदै गइरहेको छ।
त्यसैले अगामी दिनमा चीनको बजारमा श्रमिकको कमी हुन सक्दछ भने त्यसको विपरित भारतमा सक्रिय जनसंख्या तथा १५ वर्ष मुनिका बच्चाहरुको संख्या उल्लेख्य रहेकाले बहुराष्ट्रिय कम्पनीहरुको नयाँ आकर्षणमा भारत हुन थालेको छ।
साउथ एसियाको जनसंख्या मात्रै पनि विश्वको जनसंख्याको २४ प्रतिशत भन्दा बढी छ। तर लागनीकर्ताले बजार सँगसँगै, पुँजीको सुरक्षा र लगानीको वातावरणमा सहजता खोज्दछ।
यस्तो बेलामा हामीले बैदेशिक लगानी भित्र्याउन, लगानीको सुरक्षामा हदैसम्मको लचकता अपनाई सरकार, आम जनता तथा देशका सम्पुर्ण राजनीतिक दलहरुले समान धारण बनाउन सकेको खण्डमा नेपालमा पर्याप्त वैदेशिक लगानी भित्रिन सक्छ। जसले देशमा पुँजी, रोजगारी र प्रविधि सबै दिन सक्छ।
हाम्रो अवस्था हेर्ने हो भने अलिक भिन्नै छ, सक्रिय जनसंख्याको (१५ वर्ष देखि ६५ वर्षसम्मको) करिब ४० प्रतिशत संख्या श्रम, रोजगारी तथा शिक्षाका लागि देश बाहिर रहेको आँकलन गरिएको छ, त्यसमा पनि हाम्रो श्रमशक्ति मुलत मजदुरीका लागि देश बाहिर जाने प्रचलन छ।
अहिले अधिकांश शिक्षित युवा शैक्षिक गतिविधिका लागि बाहिरिने र सकेसम्म उतै पलायन हुने गरेकाले सक्रिय जनसंख्याबाट हामीले पर्याप्त फाइदा लिन सकिरहेका छैनौं। जसले गर्दा विदेश गएका नागरिकको संख्याका आधारमा नेपालले प्राप्त गर्ने रेमिट्यान्स समेत एकदमै न्युन छ। साथै आफ्नै अगाडि रहेका ठूलो बजारले समेत हामीलाई गिज्जाइ रहेका छन्।
जेनतेन प्राप्त हुने विप्रेषणको पनि ठूलो हिस्सा जीवन निर्र्वाहका लागि मात्रै खपत हुने गर्दछ, जसमा राष्ट्रिय बचतको हिस्सा समेत एकदमै कमजोर छ।
१५ वर्षमुनिको जनसंख्या हाम्रो भविष्य हो भने सक्रिय जनसंख्या हाम्रो वर्तमान हो। हाम्रो वर्तमान देश बाहिर छ, भविष्यकोबारे समेत उचित ध्यान दिन सकेका छैनौं।
आव २०७६/७७ को बजेट बक्तब्य मार्फत २०७६ देखि २०८५ लाई सामुदायिक विद्यालयको गुणस्तर सुधारको दशक भनेर शिक्षा बजेटको आकार वृद्धि त गरिएको छ तर गुणस्तर सुधारका लागि उक्त रकम पर्याप्त छैन। अब त झन हामी शैक्षिक बेरोजगार मात्रै उत्पादन गर्दै छौँ, त्यसैले हाम्रो शिक्षाको बजेट तथा शैक्षिक गुणस्तर दुवैमा सुधार ल्याई पढेका मात्रै होइन काम गर्न सक्ने मानिस उत्पादन तथा निर्माणका लागि गहन रुपले सोच्ने बेला आइसकेको छ।
सन् १९७१ मा पाकिस्तानबाट टुक्रिएर स्वतन्त्र भएको मुुलुक बंगलादेश, क्षेत्रफलमा करिब करिब नेपाल जत्रै छ तर अर्थतन्त्रमा बंगलादेश हामी भन्दा करिब ११ गुणा ठूलो छ, श्रीलंकाको अर्थतन्त्र समेत हाम्रो भन्दा करिब तीन गुणा ठूलो छ।
हाम्रो सक्रिय जनसंख्याको आकार हाम्रा सबै छिमेकिहरुसँग करिब करिब समान छ तर नेपाल लामो समयसम्म राजनैतिक रुपले अस्थिर हुन पुग्यो र सरकारले पनि विकासमा भन्दा श्रमिकको निर्यातमा धेरै ध्यान दिएको जस्तो देखिन्छ, जसको असर हाम्रो अर्थतन्त्र र बिकास सबैमा पर्न गयो।
भूकम्प पश्चातको पुनर्निर्माणले हाम्रो गतिमा सुधार आएको छ हाम्रा आर्थिक सुचकांकहरु समेत सकारात्मक गतिमा अगाडि बढ्ने क्रममा छन् तर अब कोरोनाले अर्थतन्त्र सिथिल बनाउन खोज्दैछ।
फेरि बंगलादेशकै कुरा गर्दा बंगलादेशले साउथ एसियामा निकै दु्रत गतिमा आफ्ना आर्थिक क्रियाकलापहरु अगाडि बढाएको देखिन्छ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको विवरण अनुरुप बैदेशिक रोजगार विभागबाट श्रम स्विकृति लिनेको संख्या २०७०/७१ मा संख्या बढेर ५१९,६३८ सम्म पुगेकोमा हाल घट्ने क्रममा छ। यद्यपि हालको समयमा अध्ययनका लागि जाने विद्यार्थीहरुमा समेत उल्लेख्य रुपमा बढेको पाहिन्छ।
यसरी विभिन्न अध्यनहरुले गराएको जानकारी अनुसार करिब ६० देखि ६५ लाखको हाराहरीमा नेपालीहरु रोजगारी तथा अध्ययनको सिलसिलामा देश बाहिर रहेको भनिएको छ। हाल नेपाली विद्यार्थीहरु विश्वका ७० भन्दा बढि मुलकहरुमा अध्ययनका लागि पुग्ने गरेका छन्।
आर्थिक वर्ष २०७५/७६ मा करिब ५० अर्बको हाराहरीमा पैसा अध्ययनका लागि बाहिरिएको छ। श्रमिकबाट अब हामी विद्यार्थी निर्यातमा लागेको जस्तो देखिन्छ। विद्यार्थी अधिकाशंको मानसिकता नेपाल फर्किने हुँदैन जसका कारण हामी झन झन गहिरो खाडलमा पर्दैछौं।
यस महामारीका कारण नेपाली विद्यार्थीको अध्ययन तथा श्रम गन्तव्यहरु समेत नराम्रोसँग प्रभावित भइरहेका छन्। हाम्रा सरकारी निकायले विभिन्न तरिकाबाट देशमा आउन सक्ने सम्भावित दवावको परीक्षण र सही निर्णय लिनु उत्तिकै जरुरी छ।
दबाब परिक्षण गर्दा विदेशमा रहेका हाम्रा २५ प्रतिशत नागरिक एकैपटक स्वदेश फर्किएमा के हुन सक्छ? एकै पटक २५ प्रतिशतसम्म रेमिट्यान्सको आप्रवाहमा कमी आएको अवस्थामा हाम्रो अर्थतन्त्रमा कस्तो प्रभाव पर्न सक्दछ? आदि तरिकाबाट आर्थिक तथा समाजिक अप्ठ्याराहरुको पहिचान र योजना निर्माण गर्नुपर्ने हुन सक्दछ।
यस्तो संकटको अवस्थालाई अवसरमा परिणत गर्ने योजना तयार गर्ने बेला समेत आएको छ। जसका लागि अल्पकालीन, तथा दिर्घकालीन रणनीति तयार गरी, अल्पकालीन रुपमा विदेशबाट फर्किएकालाई ब्यवस्थापन गर्ने र दिर्घकालमा देशमा पर्याप्त पुँजी र प्रविधि, रोजगारसहितको वातावरण निर्माण गर्नुपर्छ। हाललाई विदेशबाट फर्किएका नागरिकहरुको ब्यवस्थापन तथा अर्थतन्त्र चलायमान बनाइराख्न निम्न उपायहरु अवलम्बन गर्न सकिन्छः
श्रमको सम्मान गर्ने वातावरणको विकास गर्नेः
नेपालको संविधानले नै श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित समाजिक सुरक्षाको हक रहने कुरालाई स्पष्ट पारेको छ तर हाम्रोमा कामको आधारमा गरिने विभेदको अवस्था डरलाग्दो छ जसकारण हामीले अनौपचारीक क्षेत्रमा हाम्रा कामदारहरुलाई प्रयोग गर्न सकिरहेका छैनौँ, तिनै कामदार बाहिर श्रम बेच्न जान बाध्य छन्।
श्रमिकको उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाका साथै उसको भविष्य तथा वृत्ति विकासमा रोजगारदाता समेत सचेत रहेको पाइँदैन। जसले गर्र्दा हामीले कामदार पनि पाउँदैनौ र हाम्रा कामदार समेत आफ्नो क्षमताको विकासमा धेरै सचेत रहेको पाउँदैनौँ, अन्तत देशले सही दिशा पहिल्याउन सकेको छैन।
विदेशबाट फर्किएका तथा श्रम बजारमा आउने नागरिकहरुको सम्पुर्ण विवरण संकलन गर्नेः
वैदेशिक रोजगार युवाहरुका लागि रहरभन्दा पनि बाध्यताका रुपमा रहेको छ कोरोनाका कारण रोजगारीका गन्तव्य प्रभावित हुँदै जाँदा विदेशबाट फर्किएकाहरुको व्यवस्थापन तथा रेमिट्यान्स आप्रवाहमा आउन सक्ने कमीका कारण आगामी दिनहरु थप चुनौतिपुर्ण हुने देखिन्छन्।
नेपाल वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गरी विदेशबाट फर्किएका नागरिकहरुको सम्पुर्ण विवरण संकलन गर्ने र उनीहरुके सिप र दक्षतालाई प्रयोग गर्नेगरी योजना तर्जुमा गर्न आवश्यक देखिन्छ।
जसका लागि स्वदेश फर्कने सम्पुर्ण नागरिकको विदेशमा रहँदा गरेको काम, शैक्षिक योग्यता, तालिम, काम गरेको संस्थाको नाम, पारिश्रमिक तथा सिकेको सिप, कति समयसम्म सो काम गरेको हो जस्ता कार्य विवरण अद्यावधिक गर्नुपर्छ। यसका लागि वैदेशिक रोजगार सूचना ब्यवस्थापन प्रणालीको मोवाइल एप्लिकेसनलाई आवश्यकता अनुरुप परिमार्जन गर्नुपर्ने हुन सक्दछ।
साथै नेपालमा रहेका सम्पुर्ण रोजगारदाताको विवरण समेत सोहीअनुरुप राख्ने र आवश्यक जनशक्तिको विवरण प्रकाशन गर्न लगाउने र कर्मचारी छनोट तथा भर्नाका लागि दर्ता क्रम संख्या र सिपका आधारमा सम्वन्धित विवरणबाट छनोट तथा भर्ना प्रक्रिया संचालन गर्ने नियमनकारी छुट्टै निकाय तथा प्रविधि प्रयोग गर्न सकिन्छ।
हाम्रा युवाहरु विदेसिँदा नयाँ तथा अनुभवविहीन थिए तर फर्किदा पर्याप्त तालिम, सिप र अनुभवसहित फर्किएका छन्। त्यस्तो सिप, अनुभव र जोशको समुचित उपयोग गर्न सके देशको विकासमा महत्वपुर्ण आधार तयार हुन सक्दछ।
सार्वजनिक संस्थानहरुको केन्द्रिकृत व्यवस्थापन र नियमन गर्नेः
हाल नेपालमा संचालनमा रहेका ३९ वटा सार्वजनिक संस्थानहरु मध्ये गएको अर्थिक वर्ष २०७५/७६ मा जम्मा २६ वटा संस्थानहरु मात्रै नाफामा रहेको देखिन्छ, जसबाट प्राप्तहुने आम्दानीले देशको राजस्वमा जम्मा १.५ प्रतिशतको मात्र योगदान पुर्याएको देखिन्छ, जुन एकदम न्युन हो।
यसले राजस्वमा हुने योगदानका साथै देशको ठूलो लगानीले समेत उचित प्रतिफल प्राप्त गर्न नसकेको देखाउँछ। विदेशबाट फर्किएका उच्च सिप भएका नागरिकलाई हामीले सार्वजनिक क्षेत्र सुधारका लागि समेत उपभोग गर्न सक्नुपर्दछ तर सार्वजनिक संस्थानहरुमा विज्ञ तथा उच्च सिप भएका त्यस्ता कर्मचारीहरुको प्रवेशका लागि केही जटिलताहरुको समाधान समेत उत्तिकै जरुरी छ।
जसमा हालको भर्ना प्रक्रियामा निश्चित समयका लागि केही पुनरावलोकन गरी विदेशमा सम्बन्धित संस्थामा काम गरेर फर्किएका अनुभवीलाई निश्चित समयावधि र संख्या तोकेर करारमा भर्ना गर्दा कर्मचारी तथा संस्था दुवैले फाइदा लिन सक्दछन्। तर सार्वजनिक संस्थानहरुमा विद्यमान निम्न समस्याहरुको समाधान उत्तिकै जरुरी देखिन्छ।
–बैंक तथा वित्तीय संस्थाहरुमा जस्तै एकीकृत साझा निर्देशक ऐनको अवलम्बन गर्ने।
– उच्च व्यवस्थापन तथा संचालकहरुको विषयगत विज्ञतामा सुधार ल्याउने तथा त्रैमासिक रुपमा कार्य एवं प्रगति मुल्याङकनमा ध्यान पुर्याउने।
– राजनैतिक दल समर्थित ट्रेड युनियनहरुको व्यवस्थापन एवं कर्मचारीमा व्यवसायिकताको विकासका लागि पर्याप्त ध्यान दिने।
– एकीकृत कर्मचारी तथा सेवा सुविधा प्रणालिको पुर्ण अवलम्बन हुन सकेको छैन, तबलका अतिरिक्त वितरण गरिने विभिन्न भत्ता, ओभर टाइम, काज अदिको केन्द्रिकृत व्यवस्थापनमा ध्यान दिनु जरुरी देखिन्छ, साथै भर्ना पश्चात कर्मचारीहरुको पेशागत दक्षता अभिवृद्धिका लागि सम्बन्धित विषयको तालिम एवं सिप विकासमा पर्याप्त ध्यान पुर्याउन आवश्यक छ।
– सूचना प्रविधिको उपभोगबाट कर्मचारीको दक्षता अभिवृद्धि तथा सेवा प्रवाहका थप कदमहरु चाल्नुपर्ने देखिन्छ।
ठूला आयोजनाहरुको निर्माण सम्झौतामा रोजगारीको समेत संयुक्त सम्झौता गर्न सकिन्छ
नेपाल सरकारले लामो सयमदेखि निर्माण गर्दै आएका २१वटा गौरवका आयोजनाहरु मध्ये कतिपय आयोजनाले अहिलेसम्म पनि काम सुरु समेत गर्न सकेका छैनन् भने काम सुरु गरेका अधिकांश आयोजनाहरुको प्रगति समेत ५० प्रतिशत भन्दा कम छ।
यी र यस्ता सबैखाले आयोजनाहरुको निर्माण गर्दा हामीले कति युवालाई रोजगारी प्रदान गर्न सक्दछौ, त्यसको समेत पुर्वअनुमान गरी निर्माण हुने आयोजनाहरुको निर्माण सम्झौता गर्दा उक्त आयोजनाले कम्तिमा कति मानिसहरुलाई रोजगारीको अवसर दिनुपर्ने हो सोको पनि सम्झौता गर्न सकिन्छ। जसले गर्दा रोजगारीको सुनिश्चितता तथा आयोजना सम्पन्न गर्ने समयावधि समेत एकीन गर्न सजिलो हुन्छ।
सहकारीताको प्रयोग गरी साना उत्पादकहरुको उत्पादनलाई सुरक्षित गर्न सकिन्छ
सहकारीको संजाल नेपालका सबै स्थानीय तहबीच फैलिएको छ, करिब ३४ हजारको हाराहारीमा सहकारी रहेको तथ्याङ्क सहकारी विभागले प्रस्तुत गरेको छ। नेपालमा रहेको निर्वाहमुखी कृषि कर्मलाई व्यवसायिकता प्रदान गर्न सहकारीताको विकास गर्न सकिन्छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरु आफैमा पर्याप्त जग्गा जमिन भएका र उत्पादन गर्न सक्ने क्षमता भएका मानिसहरु नहुने यथार्थलाई नकार्न सकिँदैन। त्यसैले हाम्रा साना किसानलाई समेत आफ्नो उत्पादनलाई बिक्रि गर्न सक्ने बजारको उपलब्धतालाई ध्यान पुर्याउनु महत्वपुर्ण हुन्छ जसका लागि गाउँ गाउँमा छरिएर रहेका सहकारीहरुको संजाल प्रयोग गरी स्थानीय स्तरमा उत्पादित बस्तुको संकलन, प्याकेजिङ, लेबलिङ गरी निर्यात गर्न सकियो भने स्थानीय कृषकहरुलाई श्रमको मूल्य प्रदान गर्दै आयतलाई प्रतिस्थापन गर्न सकिन्छ, साथै रोजगारीका अवसरहरु समेत प्राप्त गर्न सकिन्छ।
कृषिमा क्षेत्रगत वितरण, उत्पादनमा अधारित अनुदान प्रणाली अवलम्बन गर्न सकिन्छ।
हामीले परम्परागत खेती प्रणालीबाट जीवन निर्वाहबाहेक व्यवसायिकता हासिल गर्न सकेका छैनौं। जसका कारण सबै क्षेत्रमा सबै प्रकारका खेती गर्ने प्रचलन छ। यसले हाम्रो उत्पादन विस्तार, अनुसन्धान पद्धतीको विकास तथा व्यवसायीकता समेत हुन सकिरहेको छैन।
अब एकै स्थानमा फरक फरक प्रकारका खेती गर्दा आधुनिक कृषि औजारको प्रयोगमा समेत बाधा रहने र सबै किसानहरुले फरक फरक जातिका फसल उत्पादन गर्दा एकै पटक खेती गर्न पनि नमिल्ने, उत्पादनले समेत उचित बजार नपाउने र आधुनिक औजारहरुको प्रयोगबाट उत्पादन पनि एकै पटक गर्न नसकिने भएकाले हाम्रा उत्पादनयोग्य जमिनको वर्गीकरण, खेतको चक्लाबन्दी र पकेट क्षेत्र घोषणा गरी निश्चित क्षेत्रमा निश्चित उत्पादनलाई मात्र प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नुपर्ने देखिन्छ।
जसले गर्दा लगानी अनुरुपको उत्पादन, बजार र आधुनिकीकरणमा सहजता उत्पन्न हुन सक्दछ। एउटा गाउँ कागतीका लागि उपयुक्त हुन सक्छ भने अर्को सुन्तलाका लागि।
कागती पकेट क्षेत्रमा उत्पादन हुने सुन्तलाको लागि समेत कृषि अनुदान वितरण गर्ने विधिको बारेका विचार गर्नु पर्ने देखिन्छ। जसले उत्पादन र देशको लगानी दुवैलाई न्याय गर्नेछ।
यसका साथसाथै अब बैंकहरुमा पैसाको कारोबारको सीमामा नियन्त्रण गर्ने, निश्चित समयसम्मका लागि धेरै रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्योगहरुलाई करका दरहरुमा सहुलियत प्रदान गर्ने, अहिले पहिचान गरिएका तथा थप निर्यात गर्न सक्ने उद्योगहरुका लागि समेत निर्यात प्रवद्र्धनमा थप सहुलियत उपलब्ध गराउने, सहकारीहरुको कामलाई उत्पादन र ग्रामीण विकाससँग जोड्ने र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सिपबाट फाइदा प्राप्त गर्ने उपायहरु अवलम्बन गर्ने, अनौपचारिक क्षेत्रमा कामगर्ने कामदाहरुको काम सामाजिक सुरक्षा तथा वृत्ति विकासका आधारहरु पहिचान गर्ने, शिक्षालाई आधुनिक तथा प्रविधिमैत्री बनाई गाउँदेखि शहरसम्म समान शिक्षाको अवसर प्रदान गर्ने, स्वास्थ्य केन्द्रहरुको पहुँच स्थानीय स्तरसम्म विकास गर्ने, सूचना प्रविधिको विकासमा सहयोग पुर्याउने साथै हाल हाम्रो भविश्यको रुपमा रहेको ३४ प्रतिशत विद्यार्थीहरुलाई नैतिक तथा व्यवहारीक ज्ञान प्रदान गर्न सकियो भने यस विपदलाई हामीले सजिलै परास्त गरी भूकम्प पछाडि अर्थतन्त्रले समात्न लागेको गतिलाई कायमै राख्दै नयाँ नेपालको निर्माणको यात्रामा अग्रसर हुन सकिन्छ, तर देशले रेमिट्यान्सको बदलामा आजैबाट पुँजी र प्रविधि आप्रवाहमा ध्यान केन्द्रित गर्नु आवश्यक छ।
(लेखक ग्लोबल आइएमई बैंक कपिलवस्तु वाणगंगाका शाखा प्रबन्धक हुन्)
स्रोत : wikipedia.org, worldbank.com,nrb.org.np,dofe.gov.np