सृष्टि भित्रको सबैभन्दा सुन्दर विवेकशील प्राणी हो मान्छे। त्यही सुन्दर प्राणी भित्रकी मान्छे हुँ म। मान्छे भएका नाताले मैले पनि आफूले गरे-भोगेका विचारहरु राख्न सक्दछु।
प्रकृतिको सुन्दरतामा हराउँदै नयाँ-नयाँ अनुभव र मिठास सँगालेकी छु। आफ्नो जन्म र कर्म भूमि यही नेपालका सुन्दर संस्कृतिहरुमा रमाइरहेकी छु। देश जस्तै स्वतन्त्र, स्वाभिमानी र खुल्ला छु। भनिन्छ, अदृश्य शक्ति (दैविक शक्ति)ले मानव सभ्यताको विकास गरेको हो रे।
यही मानव सभ्यताको विकासका क्रममा हरेक सजीव प्राणीको अस्तित्त्वको निरन्तरताका लागि पनि स्त्री जातीको अपरिहार्यतालाई जोड दिएको छ। यसैलाई निरन्तरता दिन र चिरस्थायी बनाउन नेपाल जस्तो वैदिक परम्परा भएका मुलुकमा एक पुत्रीले गर्नुपर्ने दायित्वभन्दा पुत्र बधु भएर गर्नुपर्ने दायित्य र जिम्मवारीलाई विशेष जोड दिने प्रचलन छ।
यसर्थ एक नारीका लागि जन्म क्षेत्रभन्दा कर्म क्षेत्र बलियो बनाउनु पर्ने बाध्यता हुन्छ। यो हामी जस्ता नारीका लागि चुनौती, अवसर तथा गौरवको विषय समेत हो। माइती घरभन्दा कर्म घरलाई बलियो, उर्जाशिल र मानव वंशजको निरन्तरता दिनुपर्ने दायित्व हरेक नारीको जस्तै मेरो पनि विवाह भएकै दिनबाट काँधमा आयो।
जन्म दिने आमा, बाबा, दाजुभाइ र दिदीबहिनीबाट सिकेका कैयौं ज्ञान र सीपको वास्तविक प्रयोगलाई मूर्तता दिने मार्गमा जन्म दिने माता समान कर्म दिने आमा समेत भेटिनु भयो। जन्म दिने आमाको बारेमा त कसैले नकरात्मक विचार दिने आँट नै गर्न सक्दैन र गलत सोच्न पनि सक्दैन। त्यसैले त 'कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति' भन्ने पनि गरिन्छ।
आधुनिक सभ्यतासँगै छोरी जस्तै बुहारी पनि कामको सिलसिलामा बाहिर जान छुट हुँदै गएको छ। यस्तै छुट एवं बाध्यतामा परि म आफ्नो दायित्व बिर्सी काठमाडौंमै रमाएकी त छैन जस्तो लाग्छ कहिलेकाहीँ। खुल्ला हृदय, सरल स्वभाव तथा काम र जिम्मेवारी प्रति सदैव सजग वनाउने मेरो कर्म घरको मातालाई रुवाएर शान्तिको खोजीमा मन्दिर दौडिएकी त छैन?
जहाँ नारी रमाउँछन्, त्यहाँ देवता खुसी हुन्छन भन्दै स्कुलमा पढाउने म, विश्वमा फैलिएको यस महामारीमा समेत सासूआमाको नातीसँग रमाउने रहर पूरा गर्न सकेकी छैन। उहाँको मुहारमा साँचिक्कै खुशी ल्याउन सकेकी छैन। बुहारी घरमा हुनुको आभास गराउन सकेकी छैन।
तैपनि निरन्तर फोनमा कुरा हुँदा आफ्नोभन्दा बढी मेरै ख्याल गर्नु भएको भान गराउनु हुन्छ। हामी नारीले अहिलेको वास्तविक परम्परागत संरचनाको भावनामा आफू अनुकुल बनाउने प्रयास गर्दा जन्म दिने र कर्म दिने मातामा फरकपन पाएका त होइनौँ।
एक महिलाको खुसीमा अर्को महिलाको उत्तिकै योगदान र लगानी हुन्छ। विवाह गरी पराइ घर गएको, छोरीबाट बुहारी बनेको, कन्याबाट कसैको श्रीमती बनेको त्यो दिन कति कठिन परिस्थिति थियो, सम्झनुहोस् त। त्यो समयको रोदन मनलाई आरतीको ज्वालाबाट भस्म गरी कर्तव्य बोधको यात्रा गराउने मेरो सासूआमा छोरी समान बुहारी पाएकोमा खुसिले गदगद् हुनुहुन्थ्यो।
घरमा गरिएको ग्रह शान्ति पुजापछि माइतीलाई सम्झेर मनलाई हलुका बनाउने प्रयास गरें। युद्धको मैदानमा गइसकेको सिपाहीले जस्तै अब म पनि पराइ आमालाई आफ्नै आमा बनाई कर्तव्यको क्षेत्रमा दृढ इच्छाका साथ लाग्ने निश्चय गरेँ।
भनिन्छ, प्रत्येक नारीमा मातृभाव जागृत हुन्छ भनेर, मेरो जन्मदिने आमा र कर्म दिने आमामा पनि त्यस्तै भाव पाएँ। म एक शिक्षकको नाताले हरेक विधार्थीलाई छोराछोरी समान मानेर शिक्षा दिनु पर्ने मेरो जिम्मेवारीले गर्दा म लामो समय प्यारो सासूआमासँग समय बिताउन पाएकी छैन।
संयोग नै भन्नु पर्छ, विवाह पछि मलाई दुई आमाको आशिर्वादले गर्दा असफलता भोग्नु परेको छैन। मेरो सासूआमा काठमाण्डौमा हुँदा उहाँसँग घुमेका पलहरु, गरिएका व्यवहारहरुले मातृभावको स्पष्ट संकेत गर्दथ्यो। जब म प्रसव पिडामा थिएँ, तब डाक्टर रेनीले अपरेशन गर्नुपर्छ भन्दा सबैभन्दा बढी रोदन उहाँकै भएछ। मैले त पछि थाहा पाएँ।
डाक्टर रेनीले पछिका भेटमा पनि हजुरकै गुणगान् गर्दै मलाई सहज भएको आभास गराउँथिन्। तपाईको आफ्नै आमा लाग्यो भन्दा भावविह्वल भएकी थिएँ। प्रौढ कक्षा मात्र पढ्नु भएको मेरो आमा स्वास्थ्य स्वयंसेविका समेत भएकोले बच्चाको र मेरो हरेक अवस्थाको समेत स्याहारसुसार गर्नु भयो।
उहाँको रोगी शरीरले रातभरको अनिद्रामा समेत थकान महशुस नगरी प्रेरणादायी, मननयोग्य र जिवन उपयोगी वाणीले मृत्युशैया जितेर आएकोमा आफूले आफैलाई भाग्यमानी ठानें। मनमनै गुनें; वास्तवमै उहाँ मेरो पतिको मात्र नभई मेरो पनि जननी हो।
संसारमा सासू र बुहारीको सम्बन्धलाई जुन पवित्र पार्नु पर्ने वा हुनुपर्ने हो, सो नभएको पाइन्छ। यसमा दुबै पक्षको उत्तिकै भुमिका हुन्छ। हरेक नारी एक घरको छोरी र अर्को घरको बुहारी निश्चित रुपमा हुनु पर्ने अवस्था छ। सो कुरालाई मध्येनजर गर्दै आफ्नो जिम्मेवारी कता बढी छ, त्यो ध्यान पुर्याउन पर्छ जस्तो मलाई लाग्दछ। घरको झगडा नारीले गराउँछन् भन्ने मान्यतालाई चिर्न सबैभन्दा पहिले सासू बुहारीको सम्बन्ध प्रगाढ हुनु पर्दछ।
सासूआमाले पनि घरको अहित कहिल्यै सोच्ने होइन, केवल बाटोमा हुन सक्ने अवरोधको बारेमा सजग पार्ने हो। अबुझ त कदापी होइन, केवल हामीले उहाँहरुको भावना बुझ्न नसकेको वा बुझ्ने प्रयास नगरेको पनि त हुन सक्दछ। भावनाको कदर गर्न नसकेर समस्या पो आएको हो की? बुहारी पनि छोरी हो भन्ने अनुभुति गराउन सकेनौँ कि?
उहाँको कोमल नयन र मनमा मायाको बीउ रोप्न सकेनौँ कि? नत्र भने बुहारीको प्रगतिमा रमाउने सासूआमालाई किन समाजले आमा-छोरीको जस्तो रुपमा हेर्न सकेन। यो हामी आफैँले सुन्दर फूल फुलाउन नसकेको मात्र हो। समाजमा सासू बुहारीभन्दा जुन किसिमको नकारात्मक सोच उत्पन्न हुन्छ, त्यसलाई चिर्नका निमित्त एक अर्कामा दोषारोपण गर्ने प्रवृत्तिको अन्त्यका लागि अग्रसर हुनु अत्यावश्यक हुन्छ।
आफू भलो त जगत भलो भन्ने मानसिकताबाट अगाडि बढी सन्तानका निम्ति जीवनभर संघर्षरत आमाहरुको सम्मान गर्नुपर्दछ। हाल विश्वमा फैलिरहेको कोरोना जीवाणुले पारिवारिक दुरता कायम बनाएको सन्दर्भमा यस जीवाणुको अन्त्यको समेत कामना गर्दै संसारका सबै आमाहरुले आफ्ना सन्तानहरुलाई खुशीले अँगाल्न पाउन्।