आज हामीलाई लाग्दैछ कोरोना हाम्रो लागि संकट हो तर यो भन्दा ठूलो संकट त हामीले अझ भनौं विश्वले नै झेल्न बाँकी नै छ। र आजको आवश्यकता पनि कसरी आगामी संकटसँग जुध्ने भन्ने नै हो। अझ हाम्रो जस्तो अर्थतन्त्र भएकोका मुलुकका लागि त निकै ठूलो चुनौती हो।
उद्योग कलकारखाना,पर्यटन व्यवसाय लगाएतका व्यवसाय ठप्प प्राय: भैरहँदा मुलुकको अर्थतन्त्रमा ठूलै प्रभाव पार्ने वैदेशिक रोजगारी पनि के हुने भन्ने अन्यौल नै देखिन्छ।
यस्तो बेलामा सरकारले कस्तो रूपमा आफूलाई अघि बढाउने छ भन्नेले पनि उत्तिकै चासो राख्दछ।
हिजोका दिनमा हामीले महाभूकम्प जस्तो विपत्तिको सामना गरी रहँदा हामीलाई सहयोग गर्न हाम्रा छिमेकीहरूले देखाएको सदासहायता हाल विश्वले नै झेलिरहेको कोरोना महामारी पछि त्यही स्तरमा देखाउन पनि सक्ने अवस्था पक्कै रहँदैन र महाभूकम्प आएको २४ घण्टा नबित्दै विभिन्न राहातलगायतका सामग्री बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको लाइन पनि पक्कै लाग्ने छैन।
अत: यो महामारीसँग जुध्न हामीले हाम्रा जननिर्वाचित दुई तिहाइ सरकार र स्थानीय निकायले अख्तियार गर्ने रणनीतिले नै हाम्रो देशकै भविष्य निर्धारण गर्ने कुरालाई नर्कान सक्किन्न।
त्यसैले हामीले समयमा नै कुन क्षेत्रमा कति असर देखा पर्न सक्छ निर्क्यौल गरी कुन कुन उद्योग धन्दा संचालन गर्ने हो त्यसतर्फ ध्यान दिन जरूरी छ। यदि चाँडो नगर्ने हो भने आगामी दिनमा आउने आर्थिक मन्दी हाम्रा लागि कोरोना महामारीले भन्दा भयावह स्थिति निम्त्याउने कुरालाई नकार्न सकिन्न।
अंग्रेजीमा एउटा भनाइ छ ‘‘जुन चरा बिहान सबेरै चारोको लागि निस्किन्छ त्यसैले धेरै र चाँडो चारो भेट्ने गर्दछ”। त्यसैले अब पनि लकडाउन भनेर घरमा नै मात्रै बस्ने हो भने भोलिका दिनमा अझै ठूलो संकटको सामना गर्नुपर्ने हुन सक्छ।
त्यसैले कुन क्षेत्रमा कति र कस्तो असर छ पहिचान गरी बिलासिताका वस्तुहरूको आयात तत्कालै बन्द गरी उद्योग धन्दा सुचारू नगर्नुको विकल्प हामीसँग छैन। जसका लागि राज्य अभिभावकको रूपमा प्रस्तुत हुनैपर्छ। हैन भने कोरोनाभाइरसले मानव शरीरमा संक्रमण गरेझैं कोरोनापछिको हाम्रो अर्थतन्त्रमा देखापर्ने संक्रमणले अझै ठूलो संकट निम्त्याउने कुरा घामझैं छर्लङ्ग छ।
खर्बौको लगानीमा संचालित समग्र सिमेन्ट उद्योगको भविष्य के हुने भन्ने चिन्ता त छँदै नै छ ती उद्योगमा मजदूरी गर्ने मजदूर, समग्र निर्माण क्षेत्रमा काम गर्ने मजदूर, अर्बौको लगानी रहेको यातायात क्षेत्र तीसँग जोडिएका हजारौं मजदूरको पनि दैनिक रोजिरोटीसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी र यस्तै उद्योग तत्कालै संचालनको विकल्प छैन।
अर्थतन्त्र भनेको एउटा चक्र हो जो घुम्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबैलाई फाइदा हुन्छ नै तर यो घुम्न छाड्यो वा भनौ विस्तारै घुम्न थाल्यो भने यसको असर चौतर्फी देखा पर्न थाल्दछ।
त्यसैले आगामी दिनमा बढ्ने बेरोजगारी लगायतका समस्यामा पनि सरकार गम्भीर हुन आवश्यक छ।
उदाहरणका लागि ‘टुँडिखेलमा लगेर बेलुका एक ट्रक तोरी छर्ने र बिहान त्यही तोरी संकलन गर्न बेरोजगारहरूलाई खटाई त्यही तोरी सरकारले नै किन्नेसम्मको रणनीति पनि सरकारले अपनाउनु सक्नु पर्छ’।
मैले किन यसो भनिरहेको छु भने एक जना मजदूरले दैनिक कामसँगै ज्याला पनि पायो भने उसको दैनिकी सहज हुन्छ नै ऊसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने विभिन्न व्यवसायसँग जोडिएका व्यवसाय स्वत:स्फुर्त रूपमा सञ्चालन हुन सक्दछ जसले गर्दा हजारौं लाखौंको दैनिकी सहज हुने छ र उद्योगधन्दा, होटल, रेष्टुरेन्ट लगायतका व्यवसाय सहजै संचालनमा आउने छन्।
उद्योगधन्दा चलेरमात्रै पनि यो संकटको समाधान पक्कै हुन्न। संसारमा विभिन्न समयमा भएका आर्थिक मन्दीलाई नियाल्यौं भने पनि के थाहा पाउन सकिन्छ भने जब जब आर्थिक मन्दी हुन्छ तब तब मान्छेको क्रयशक्ति निकै कम हुने गर्दछ। त्यसका लागि त आमजनताको क्रयशक्ति बढाउनुको विकल्प छैन। त्यसैले आमजनताको क्रयशक्ति बढाउनको लागि के के गर्न सकिन्छ सोचौं अर्थतन्त्र भनेको एउटा चक्र हो।
यो सबैले बुझ्न आवश्यक छ। त्यसैले यो जति चलायमान हुन्छ त्यति नै फाइदा सबैलाई हुने हो। चाहे त्यो राज्य होस् वा अथवा उद्योगी व्यापारी वा एक सामान्य मजदूर।