सन्दर्भ बुद्धजयन्ती २०७७
बोधिचित्त
धेरै पहिलाको कुरा हो, पृथ्वीमा दीपंकर बुद्ध विचरण गर्नुभएको समय थियो । सात वटा कमल पुष्प (उत्पल) लिएर आएकी एक ग्रामीण युवतीलाई देखेर मेघ माणवक नामका ऋषिले सोधे, 'आज के कारणले नगरलाई सिंगारेको?' युवतीले भनिन्, 'दीपंकर बुद्ध नगरमा आउँदै हुनुहुन्छ, त्यसैले नगरवासीहरुले सबैतिर सजावट र सिंगारपटार गरेका हुन् ।' यो खबर सुनेर सुमेध ऋषि भनेर परिचित ती मेघ माणवक ज्यादै खुशी भए । उनले ती युवतीलाई आग्रह गरे, 'तिमीसँग सात वटा उत्पल रहेछन्, कृपया मलाई पाँच वटा उत्पल देऊ, म दीपंकर बुद्धलाई चढाउँछु । तिमी दुई उत्पल चढाऊ ।'
युवतीले मेघ माणवकले मनमनै बुद्ध बनेर जगत्को कल्याण गर्न चाहेको थाहा पाइन् र अत्यन्त प्रभावित भइन् । यी ऋषिको महान् संकल्प पूरा गर्न मद्दत गर्न सकें भने मेरो जीवन पनि धन्य हुने थियो भन्ने सोचेर युवतीले भनिन्, ''हजुर जहाँ जहाँ जन्मनुहुन्छ त्यहाँ त्यहाँ म हजुरकी पत्नी भएर जन्मन चाहन्छु, यदि हुन्छ भने मात्रै यो पाँच उत्पल दिन्छु ।''
मेघ माणवकले भने, 'म त अनुत्तर सम्यक् सम्बोधिको अनुकूल चित्त उत्पन्न गर्न चाहन्छु । कसरी तिमीसँग संयोग (विवाह) को चित्त उत्पन्न गर्न सक्छु र?' युवतीले भनिन्, 'अनुत्तर सम्यक् सम्बोधि चित्त उत्पन्न गर्नुहोस्, म कुनै बाधा पुर्याउने छैन ।'
मेघ माणवकले दीपंकर बुद्धलाई उत्पल अर्पण र बोधिचित्त उत्पन्न गर्नका निम्ति ती उत्पल पाउनका लागि ती युवतीलाई जन्मजन्मका निम्ति पत्नीका रुपमा स्वीकार गर्नुभयो ।
मेघ माणवकले बुद्धको समीप झुकेर कमलका फूलहरू चढाउनुभयो र 'अहमपि बुद्धो लोके भविष्यामि' म पनि लोकमा बुद्ध बन्न सकूँ भनी बोधिचित्त उत्पाद गर्नुभयो । दीपंकर बुद्धले ऋषिको शुद्ध चित्त देखेर 'तिमी भविष्यमा शाक्यहरुको कपिलवस्तु नगरमा सम्यक्सम्बुद्ध बन्नेछौ' भनी भन्नुभयो ।
तदनन्तर बोधिचित्तोत्पाद गरी अनेक जन्म जन्मान्तरसम्म विभिन्न पशु, पंछी, मानिस, राजा, महाराजा आदिको रूपमा जन्म लिँदै बोधिचर्या गर्नुभयो र सबै पारमिताहरू पूरा गर्नुभयो। अन्ततः पारमिताहरू पूरा भएपछि दीपंकर बुद्धले व्याकरण गरेबमोजिम बोधिसत्त्वले तुषित भुवनमा जन्म लिनुभयो। केही काल त्यस भुवनमा बस्दा त्यहाँका देवदेवीहरू पनि बुद्धसँगै लुम्बिनी नगरीमा जन्म लिने र ध्यान, धर्म, करूणाको अभ्यास गर्दै निर्वाण प्राप्त गर्ने संकल्प गरे। यथा समयमा नेपालको लुम्बिनीस्थित शालवनमा वैशाख पूर्णिमामा जन्म लिनुभयो।
दीपंकर बुद्धको गरिमा अपार थियो। उहाँको मुहार शान्ति र आनन्दले धपक्क बलेको थियो। उहाँका आँखाबाट समस्त प्राणीहरूप्रति मैत्री र करूणा बर्सिरहेको देख्न सकिन्थ्यो। दीपंकर बुद्धले क्लेशबाट मुक्त हुने, शान्ति र निर्वाण प्राप्त गर्नेसम्बन्धी महत्त्वपूर्ण धर्म देशना दिइरहनुभएको थियो, मानिसहरू ती हितकारी उपदेश सुनेर भावविह्वल भएका थिए। यसप्रकार दीपंकर बुद्धले लोकको अपार कल्याण गरेको देखेर माणवक ऋषिमा 'बुद्धो भवेयं जगतो हिताय' भन्ने भाव पैदा भएको थियो।
मैत्री र करूणाको स्रोत
बुद्धत्त्वको आलोक पाएको व्यक्ति सदासर्वदा मैत्री र करूणाको भावनाले ओतप्रोत हुन्छ। किनभने ध्यानको अभ्यासले, धर्मको साधनाले उसको मनबाट राग, द्वेष, मोह जस्ता क्लेश निर्मूल भइसकेका हुन्छन्। मानिसको मनको ऊर्जा नष्ट गर्ने यी क्लेशहरू क्षय भएपछि ऊर्जा सञ्चित हुन थाल्छ। यही ऊर्जा मैत्री र करूणाका रूपमा रूपान्तरित र प्रवाहित हुन थाल्छ। मनबाट सबै क्लेशहरू क्षय गर्ने उपायका सम्बन्धमा बुद्ध भन्नुहुन्छ –
सब्ब पापस्स अकरणं कुशलस्स उपसम्पदा ।
सचित्त परियोदपनं एतं बुद्धानं सत्सन ।।
अर्थात्, कुनै प्रकारको पाप कर्म नगर्नू, कुशल कर्महरू गरेर निरन्तर पुण्य सञ्चय गरिरहनु र ध्यान इत्यादिको माध्यमले चित्त शुद्धिको प्रयत्न गरिरहनु – यी उपायले मानिसको मनका क्लेशहरू क्षय हुन्छन्। मनमा प्रशान्ति आविर्भाव हुन थाल्छ।
प्रतीत्यसमुत्पादलाई बुझेपछि पनि मानिसमा करूणा पैदा हुन थाल्छ। हेतुप्रत्ययको कारणबाट कुनै पनि कुरा उत्पन्न हुने नियमलाई प्रतीत्यसमुत्पादको नियम भनिन्छ। यो नियम अनुसार कुनै पनि कुराको स्वतन्त्र अस्तित्व छैन। सबै कुरा कार्यकारण सम्बन्धबाट उत्पन्न भएका छन्।
अस्मिन् सति इदं भवति। अस्य उत्पादात् इदं उत्पद्यते। अस्मिन् असति इदं न भवति। अस्य निरोधे इदं निरुध्यते। अर्थात् यो हुनाले यो भएको हो। यो उत्पन्न भएकोले यो उत्पन्न भएको हो । यो नहुँदा यो पनि हुँदैन। यो निरोध हुँदा यो पनि निरोध हुन्छ। यसरी प्रतीत्यसमुत्पादले जीवन र जगत् कसरी सापेक्षताको नियम अनुसार चलेका छन् भन्ने सुझाउँछ। मानिस र प्रकृतिको सम्बन्ध पनि यही नियमले सञ्चालित भएको पाइन्छ ।
विद्वान् लेखक टमस मर्टन भन्छन् – सबै जीवित प्राणीहरू एकआपसमा अन्तर्सम्बन्धित छन्, एकअर्कामा अन्तर्निर्भर छन्, सबै एकअर्काका पूरकका रूपमा एकआपसमा जोडिएका छन्, सबै एकअर्काका अंश हुन् भन्ने गहिरो सचेतनामा करुणाको भावना निर्भर हुन्छ ।
यो बोधसँगै मानिसले आफू र अर्को प्राणीमा एकाकार अनुभूति गर्न थाल्छ । अरूको सुखदुःख आफ्नो पनि सुखदुःख हुन थाल्छ । अरुको कल्याण आफ्नो पनि कल्याण हो भन्ने चेतना जागृत हुन्छ । तब मानिस स्वतःस्फूर्त रुपले सबै प्रति करुणा जागृत हुन्छ ।
ध्यानको अभ्यासले मनका क्लेशहरू क्षय हुन्छन्, मानिसमा होसपूर्ण रहने कला विकसित हुन्छ । धर्मको अभ्यास भनेकै वर्तमान क्षणमा होसमा रहने अभ्यास हो । विगतका याद र भविष्यको कल्पनामा जीवन छैन, जीवन त अहिले यही क्षणमा उपलब्ध छ । वर्तमान क्षणमा होसमा रहनु नै जीवनसँग जोडिने एकमात्र उपाय हो । बुद्धले विपश्यना ध्यानको अभ्यासलाई विमुक्तिका निम्ति एकमात्र यात्र भन्नुभएको छ ।
विपश्यना ध्यान शमथको अभ्यासबाट आरम्भ हुन्छ । शमथ ध्यानमा पलप्रतिपल स्वासप्रश्वासमा ध्यान केन्द्रित गरिन्छ । यो एउटै सरल काम धेरै पटक दोहोर्याएपछि हामीमा स्मृति र सम्प्रजन्य विकसित हुन थाल्छ । स्मृति भनेको जागरूकता हो, होसपूर्ण रहन अभ्यस्त भएको स्थिति हो । शरीर र मनको अवस्थाका बारेमा हरपल, हरक्षण सजग, सचेत भइरहँदा सारा दुःखका कारणहरू जरैदेखि निर्मूल हुन्छन् । क्लेशहरू क्षय भएमा हामीभित्र जन्मजात रहेको बुद्ध स्वभाव प्रकट हुन्छ । अतः ध्यानको अभ्यास मार्फत् होसपूर्ण रहने कला सिकेर आफ्नो कल्याण गर्नु र सबैप्रति करुणाको भाव जगाउनु भगवान् बुद्धप्रति सच्चा श्रद्धा हुनेछ ।
बुद्धले भन्नुभएको छ – होसपूर्ण रहेर बिताएको एक दिन वेहोस रहेर बिताएको समग्र जीवनभन्दा महत्त्वपूर्ण हुन्छ । मानिस होसपूर्ण रहन अभ्यस्त भयो भने उसले मन, वचन र कर्मले कहिल्यै गलत कर्म गर्दैन । भ्रष्टाचार, घुसखोरी, शोषण, अनैतिक गतिविधि लगायत सबै वर्जित कर्महरू मानिसले वेहोसीका क्षणमा गर्ने गर्छ । अतः होसको कला सिक्नु सर्वोपरि हुन्छ । बौद्ध भिक्षु नागार्जुनले होसपूर्ण रहन सिकाएर चोरलाई समेत धर्मको बाटोमा लगाउनुभएको थियो ।
होसमा रहने अभ्यास
भिक्षु नागार्जुन राजाको दरबारबाट कुटीतर्फ जाँदै थिए। उनले सुनको भिक्षापात्र उपहार पाएका छन् भन्ने सुनेको एउटा चोर उनलाई पछ्याउन थाल्यो। दिनभरिको यात्रापछि भिक्षु कुटीमा पुगे र ढोकाभित्र पसे । विश्राम गर्नु पहिला उनले भिक्षापात्र झ्यालबाहिर मिल्काइदिए।
चोर नजिकै लुकेर बसिरहेको थियो, भिक्षु सुतिसकेपछि पात्र चोरी गरौंला भनेर। भिक्षु स्वयंले स्वर्णपात्र बाहिर फ्याँकिदिएको देखेर चोर चकित भयो। धेरै नसोची चोरले पात्र उठायो र चोरी गर्नै नपरी माल हात पारेकोमा खुसी हुँदै घर फर्कियो।
घर पुगेपछि भने चोरको मनमा कुरा खेल्न थाले। यति बहुमूल्य स्वर्णपात्र के कारणले बाहिर फ्याँके हुन् ती भिक्षुले? मैले पछ्याइरहेको उनले चाल पाएको हुनुपर्छ । तर त्यसो भए त पात्रको झन् सुरक्षा गर्नुपर्थ्यो। यसमा अवश्य केही रहस्य छ भन्ठानेर केही दिनपछि चोर भिक्षुलाई भेट्न गयो। सबै कुरा खुलस्त बताएर चोरले सोध्यो, 'भिक्षु, के कारणले त्यो स्वर्णपात्र बाहिर फ्याँकिदिनुभयो?'
नागार्जुनले भने, 'मसँग त्योभन्दा बहुमूल्य खजाना छ। त्यो खजाना जोगाउन मैले पात्र फ्याँकिदिएको हो।'
चोर झन् चकित भयो। स्वर्णपात्रभन्दा बहुमूल्य खजाना एउटा भिक्षुसँग के हुनसक्छ? उसको मनको खुल्दुली बुझेर थप बिलम्ब नगरी भिक्षुले प्रष्ट पारिदिए, 'मसँग ध्यान छ ।'
चोर झनै आश्चर्यमा पर्यो र निकै अलमलियो। धनभन्दा ध्यान कसरी बहुमूल्य हुन सक्छ? भिक्षुले फेरि पनि उसको मनको अलमल बुझिहाले र भने, 'ध्यानको स्वाद पायौ भने मात्रै यो कति अनमोल रहेछ तिमीले बुझ्छौ।'
चोरले जिज्ञासा राख्यो, 'ध्यानको स्वाद कसरी पाउने?' नागार्जुनले सुझाए, 'अबदेखि हरेक पटक चोरी गर्नु पहिला एकैछिन स्थिर रहनू र स्वासप्रश्वास चलिरहेको हेक्का राख्नू ।'
चोरले त्यसै गर्यो। चोरी गर्नुपहिला स्थिर भएर स्वासलाई हेर्दा उसको मन एकैछिनलाई विचारशून्य भयो। उसले अचम्मको शान्ति अनुभूति गर्यो । यस्तो शान्ति उसलाई पहिला कहिल्यै महशुस भएको थिएन। उसले हरेक पटक यस्तो प्रक्रिया दोहोर्याउँदा शान्ति झन्झन् गहन र आनन्ददायी हुन थाल्यो।
चोर नागार्जुनलाई भेट्न गयो र सबै कुरा बतायो, 'मैले शान्ति र सन्तुष्टि पनि पाउन थालें।
चित्तको प्रशान्त भावदशामा चोरी गर्न कसैगरी सकिनँ। मेरो पेशा छुट्यो। तर चोरीको माल हात पारेर हुनेभन्दा अनेक गुना सन्तुष्टि स्वासमा एकाग्र हुनुमा रहेछ भन्ने मैले बुझिसकेको छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।'
बुद्ध जयन्तीको शुभ घडीमा हामीले ध्यानको अभ्यास गर्यौं र एक दिन, एक क्षण मात्र पनि होसपूर्ण रह्यौं भने यही बुद्धप्रति श्रद्धा हुने छ। हामीमा 'बुद्धो भवेयं जगतो हिताय' भन्ने संकल्प पैदा भयो भने, बोधिचित्त पैदा भयो भने हामी बुद्धत्त्वको लामो मार्गमा एक कदम भए पनि अगाडि बढ्नेछौं। सबैको मंगल होस्।
(लेखक आचार्यले बौद्ध ध्यान पद्धतिमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।)