गत डिसेम्बरमा पहिलो पटक चीनमा देखापरेको कोभिड-१९ र त्यसको प्रभावले अहिले धेरैको चासो शिक्षाको क्षेत्रमा देखा परेको छ। विश्वव्यापी लकडाउनले विगत एक महिनाभन्दा बढी समयदेखि संसारभरीकै विद्यालय, कलेज तथा विश्वविद्यालयहरू पूर्ण तथा आंशिक रूपमा बन्द छन्।
यसबाट नेपाल पनि अछुतो रहन सकेन। नेपालमा पनि सरकारले गत चैत्र ५ गते भित्रमा वार्षिक परीक्षा सक्न निर्देशन दिएबाट विद्यालय तथा स्थानीय तहहरूले रातारात लगाएर सम्पन्न गरेको परीक्षाको नतिजा भर्खरै निकाल्न थालिएको छ। यस बीचमा सरकारले नै गर्ने भनिएको एसइई, कक्षा ११ र १२ को परीक्षा भने रोकिएको छ।
गत वर्षको चैत्र ११ गतेदेखि जारी भएको लकडाउनले अत्यावश्यक क्षेत्र बाहेकका अन्य क्षेत्र जस्तै शिक्षाको क्षेत्र पनि पूर्णरुपले बन्द छ। र यो बन्द कहिलेसम्म रहने हो कुनै निश्चित छैन। यो अनिश्चित बन्दाबन्दीले खासगरी स-साना स्कुले बालबालिकाहरूको शिक्षाको चिन्ता सबैलाई छ।
दुई हप्तासम्म त घरैमा रमाएका बालबालिका तथा अभिभावकहरू अब भने चिन्तित देखिन थालेका छन्। शिक्षक, शिक्षाविद्, राजनीतिज्ञ तथा संघीयदेखि स्थानीय तहसम्मका सरकारको सर्वाधिक चासोको विषय भनेको अब कसरी विद्यालयहरूलाई पुनः पूर्ववतरूपमा सूचारू गर्ने र बालबालिकाहरूलाई विद्यालय पठाउने भन्ने रहेको छ।
के हुँदैछ ?
विद्यालय खुल्ने दिन अनिश्चित हुँदै जाँदा शिक्षाका अनेकन विकल्पहरूको बारेमा छलफल भईरहेका छन्। शिक्षा तथा मनवस्रोत विकास केन्द्रले वेबसाईटमा सर्वप्रथम एसइई तथा अन्य कक्षाका विद्यार्थीका लागि भनेर अनलाइन रूपमा सिकाई गर्नका लागि केही वेबसाइटका लिंकहरू राखेर एउटा सूचना प्रकाशन गर्यो।
त्यसपछि अभिभावकको सहयोगमा बालबालिकालाई घरैमा सिकाई गर्न भनेर यूसएआइडीको सहकार्यमा कक्षा १,२,३ र ४ विद्यार्थीलाई भनेर सिकाई सामाग्री प्रकाशन गरेको छ। उच्च शिक्षातर्फ काठमाडौँ विश्वविद्यालय तथा खुल्ला विश्वविद्यालयले यस अघिदेखि नै अनलाइन शिक्षामार्फत अध्यापन गरिरहेका छन्।
त्रिविले पनि अनलाइन कक्षाका आचार संहिता भनेर सूचना निकाल्यो र अहिले केही-केही तहका कक्षाहरु अनलाइनमार्फत संचालन पनि भईरहेका छन्। तर यी सामाग्रीहरूको पहुँच र प्रभावकारिता कत्तिको छ भन्ने कुरा बहसको अर्को विषय हुनेछ।
यसै बीचमा सहरी क्षेत्रका कतिपय संस्थागत तथा सामुदायिक विद्यालयहरूले अनलाइन कक्षाहरूको प्रारम्भ गरियो भनेर सामाजिक सञ्जालहरूमा अनलाइन कक्षाका समयतालिका हाल्न थालेका छन्। जुम, मुडल, गुगल मिट लगायतका एप्लिकेसनहरूबाट कक्षा सञ्चालन गरेका भिडियो तथा फोटाहरू पनि प्रशस्तै भेटिन्छन्। यस्ता अनलाइन कक्षाको प्रभावकारीता र पहुँच पनि अर्को बहस र छलफलको विषय हुनसक्छ। हामी धेरैले हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक र प्रधानाध्यापकहरुको डिजिटल लिट्रेसीको अनुमान लगाउन सक्छौँ।
लकडाउनको असर शिक्षाको क्षेत्रमा (विद्यार्थी, शिक्षक र परिवारहरूमा) मात्रै होइन स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक तथा आर्थिक क्षेत्रमा समेत देखिने निश्चित छ। तर अलिक फरक किसिमले सोच्ने हो भने लकडाउनले समस्या र चुनौती मात्र थपेको छैन, थुप्रै अवसरहरू समेत दिएको छ। यस आलेखमा शिक्षालाई कसरी पुनर्जीवन दिन सकिन्छ भनेर सामान्य चर्चा मात्रै गरिएको छ।
घरैमा पढाई
घरमा पनि पढाउन सकिन्छ र? साधारणतया घरमा त बालबालिकाले होमवर्क मात्र गर्ने भन्ने जस्तो बुझाई आजभोलि विकास भएको छ। माथिल्लो कक्षामा पढ्नेहरुले विद्यालयको समयभन्दा बाहेक अन्य समयमा कोचिङ तथा ट्युसन कक्षामा जानुपर्ने बाध्यता हुन्छ। जतिबेला विद्यालय तथा शैक्षिक सस्थाहरू थिएनन्।
त्यतिबेलादेखि नै बाबुले छोरालाई र आमाले छोरीलाई शिक्षा दिने प्रचलन थियो। अहिले हामी धेरै विकसित छौँ। घरमै बसेर पनि पाठ्यक्रमले तोकेअनुसारको औपचारिक शिक्षा लिन सकिन्छ। घरायसी शिक्षा भन्ने वित्तिकै शिक्षालाई परम्परागत नै बनाउनु पर्छ भन्ने पनि छैन। तर आधुनिक विश्वमा पाश्चात्य दर्शनले प्रभुत्व जमाईसकेको अवस्था र हाम्रो पूर्विय दर्शन लोप हुदै गईरहेको अवस्थामा यस किसिमको शिक्षा प्रारम्भ गर्नु एउटा नौलो अभ्यास हुनसक्छ।
इन्टरनेटको सुलभ पहुँच हुने ठाउँमा डिजिटल प्ल्याटफर्मबाट पर्याप्त शैक्षिक सामाग्रीहरु खोजेर पढ्ने बानी सिकाउन सकिन्छ। ग्रामीण भेगहरुमा अन्य पुस्तकहरु, पुराना कक्षाका विषयवस्तुहरु पढाउने, कमजोर लागेका विषयहरुलाई पुनः मेहनत गर्ने गर्न सकिन्छ। त्यसैगरी सानो कक्षादेखि नै पाठ्यपुस्तकको भारी बोक्नाले बालबालिकाहरुमा किताब प्रति नै वितृष्णा भएको हुन्छ।
यो समयमा होमवर्क तथा परीक्षाको दबाब नहुने भएकोले उनीहरुलाई अन्य किताबहरु पढ्ने बनि लगाउन सकिन्छ। उनीहरुलाई उमेरअनुसारको कथा, कविता, आख्यान, उपन्यासका किताबहरु पढ्न दिएर पढाइ प्रति रुची जगाउन सकिन्छ। अभिभावकले पढ्ने तथा घरायसी काम गर्ने समय तालिका बनाएर बानी बसाल्न सकिन्छ।
पारिवारिक मिलन र शिक्षा
कोभिड–१९ ले विद्यालयहरू बन्द त भएका छन् नै यसले अन्य धेरै सम्भावनाहरू पनि देखाएको छ। त्यसैको एउटा उदाहरण बन्छ पारिवारिक साक्षरता। राज्यले औपचारिक र अनौपचारिक शिक्षामा अर्बौँ लगानी गरेको छ। साक्षरताको प्रवर्द्धन गर्न भनेर कैयौं प्रयासहरू पनि भएका छन्। तर यसको उपलब्धी एकदमै नगन्य मात्रै छ।
यस्तो परिदृष्यमा अहिलेको समय साक्षरता अभिवृद्धिको लागि सुनौलो अवसर बन्न सक्छ। विद्यालय बन्द भएर घरैमा बसेका नानीबाबुहरूसँग घरका प्रौढ सदस्यले पढ्न लेख्न सिक्न सक्छन्। यसबाट हाम्रो एक्लिदै गएको पुरानो पुस्तालाई नयाँ पुस्तासँग जोड्न सकिन्छ। गाउँबाट शिक्षा तथा रोजगारका लागि सहर पसेका छोराछोरीको सुखी जिन्दगी देख्न चाहेका बाबुआमाले आफ्नै नातीनातिनाले नचिन्दा परेको मनोवैज्ञानिक पीडा कम गर्ने अवसर पनि बन्न सक्छ।
बालबालिकाहरूले परिवारका ज्येष्ठ सदस्यसँग खेल्न, झ्याम्मिन तथा उहाँहरूबाट इतिहास, आदर्श, नैतिकता, जीवन आदि सिक्न सक्छन् भने बालबालिकाहरूबाट पनि ज्येष्ठ सदस्यहरूले आफ्नो एक्लिदै गरेको जिन्दगीमा रस भर्ने अवसर पाउछन्। मोबाइल, ल्यापटप, इन्टरनेट, फेसबुक लगायतका प्रविधि चलाउन सिक्न सक्छन्। पढ्न, लेख्न सिक्न सक्छन्। यसले डिजिटल डिभाइडलाई कम गर्नका साथै साक्षरता बृद्दी पनि हुन्छ।
घरायसी सीप र काम
गाउँघरमा पहिले-पहिले घरायसी हाते सीप भएका प्रशस्तै मानिसहरू पाइन्थे। आफूलाई आवश्यक पर्ने डालो, डोको, घुम, नाम्लो, बरीयो (डोरी), टोपी, मफ्लर, स्वीटर, झोला, राडी, पाखी, गुन्द्री, पिरा, आदी सबैकुरा आफै बुन्ने परम्परा थियो। त्यस्तै चित्रकला, मूर्तिकला लगायतमा पनि हामी सीपालु भनेर चिनिन्थ्यौँ।
अहिले यी सबै कुरा उद्योगमा बन्छन्, हामी बजारमै किन्छौँ। कोरोना भाइरसको जोखिमले विश्वभरीनै उद्योगहरू बन्द हुने क्रममा छन्। विश्वव्यापी रूपमै बेरोजगारी तथा आर्थिक मन्दिले हाम्रो क्रयशक्तिमा पनि आघात पर्छ नै। यस्तो बेलामा हामीमा भएको सीपले केहि हदसम्म भएपनि आत्मनिर्भर बन्न सघाउ पुर्याउछ। यो समय हाम्रा सीपहरूलाई नयाँ पुस्तामा हस्तानान्तरण गर्ने राम्रो अवसर हो।
बालबालिकाहरु घरमा के-के काम गर्न सक्छन? हामी बालबालिकाहरुलाई स्कुल त पठाउछौँ तर घरायसी काम कमै मात्र लगाउँछौँ। उनीहरु आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने जिम्मेवारी बोध अझै पनि गर्दैनन्। यो समयमा हामी नानिबबुहरुलाई पढ्ने, लेख्नेका अलाबा आफ्ना लुगा आफैं धुने, घर सफा गर्ने, आइरन लगाउने, कोठा मिलाउने, भान्साको काममा खान पकाउने, खाजा बनाउने, करेसाबारीमा काम गर्ने, करेसाबारीबाट तरकारी टिपेर ल्याएर केलाउने, पकाउने, तरकारी रोप्ने, फुलबारी गोड्ने आदि जस्ता कामहरु सिकाउन सकिन्छ। यो सिकाइ कै व्यवहारिक पाटो हो।
प्रविधि साक्षरता र अनलाइन कक्षा
विद्यालयमा सजाएर राखिएका कम्प्यूटर, ऐच्छिक कम्प्यूटर विषय पढ्ने विद्यार्थीले हप्तामा एकचोटि ल्याबमा गएर किबोर्ड र माउस छुन बल्ल बल्ल पाउने अवस्था छ। शिक्षक बिदामा भएको बेला सहायक हेडसरले प्रोजेक्टरबाट फ्लिम हेर्न दिएकोभन्दा अरूबेला कम्प्यूटर, मोबाइल छुँदा, चलाउँदा बच्चा बिग्रन्छन् भन्ने शिक्षक, अभिभावक तथा प्रिन्सिपलहरूले अनलाइनमा पढाई हुन्छ, मोबाइलबाट पनि पढ्न पढाउन सकिदो रहेछ भनेर पत्याउन थालेका छन्।
यद्यपी अनलाइन कक्षा मात्रै समाधान भने होइन। तर जति पनि ठाउँमा अनलाइन कक्षा गर्न सकिन्छ, खासगरी उच्च शिक्षामा यसको प्रयोगलाई बृद्धि गर्दै निरन्तरता दिनु पर्दछ। राज्यको तर्फबाट सबै शैक्षिक संस्थाहरुमा सूचना तथा संचार प्रविधिको विकास गरेर अब शिक्षाको क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अवसर बनेको छ।
कक्षाको सिकाईभन्दा फरक तरिकाले टाढा बसेर, इन्टरनेटमा खोजेर पनि शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई साँच्चीकै व्यवहारमा ल्याउने अवसरको रुपमा बदल्न सकिन्छ। तर अनलाइन कक्षालाई एकोहोरो हेर्ने मात्र नभई दोहोरो अन्तरक्रियात्मक बनाउनु अत्यन्तै जरुरी हुन्छ।
योग तथा ध्यान
परापूर्वकालदेखि नै हाम्रो देश ऋषिमुनीहरूको तपोभूमीको रूपमा चिनिएको छ। हामी प्रायः बिहान उठ्ने, खाना खाने, आफिस जाने, घर आउने, खाना खाने, सुत्ने रूटिनमा बानी परिसकेका छौँ। सहरी क्षेत्रमा प्रायः गरेर अधिकांश समय टिभि तथा मोबाइलमा बिताउने गरिन्छ। फलस्वरूप ४० वर्ष हाराहरारीको उमेरमै भद्दा शरीर, मोटोपना तथा मधुमेहको शिकार हुन्छौं। अहिले लकडाउनमा त झन् आफिस पनि जानु नपर्ने हुँदा हामी आधिकांश समय सुतेर नै बिताउदैछौं।
त्यतिमात्र होइन दैनिक ज्याला मजदुरी गरेर खानेहरूको पनि अहिले फूर्सदै फूर्सद छ। उनीहरूपनि काम नहुँदा सुतेर नै दिन काट्नुपरेको छ। तर यसले झनै जोखिम निम्त्याउँदैछ। नसर्ने रोगहरू मोटोपना, मधुमेह, मुटु सम्बन्धी रोगको जोखिम बढाउँछ। लकडाउन नहुँदा बिहान मर्निङवाक गर्ने समय पनि सुतेरै बितिरहेको छ।
दैनिक मजदुरी गर्नैहरूले पनि लकडाउन भरी बस्दा बस्दा पछि पहिलेकै अवस्थामा काम गर्न सक्ने क्षमतामा ह्रास अउन सक्ने कुरा विज्ञहरू बताउँछन्। यसले हाम्रा बालबालिकाहरूको पनि जीवनशैली बिगार्छ।
बेदले ब्रम्ह मूर्हतमा उठ्नुपर्छ भनेको छ। ब्रम्ह मूर्हतमा प्राणवायु प्राप्त गर्न सकिन्छ भन्ने कथन छ। हामीले बिहानीको समयलाई योग तथा ध्यानमा लगाउने गर्यौँ भने मनोवैज्ञानिक शान्ति मिल्छ। परिवारका सबै सदस्यहरू मिलेर योग गर्नाले बालबालिकाहरूमा पनि यस प्रति रूची बढ्छ। परिवारमा संस्कारको विकास हुन्छ।
बालबालिकाहरूले यो व्यवहार सिके भने भोलिका दिनमा पनि समयमै उठ्ने बानीको विकास हुन्छ। सधैँ योग तथा ध्यान गर्ने बानीको विकास हुन्छ। यसले आत्मलाई केन्द्रित गर्दछ। विचलित हुनबाट जोगाउँछ। निरोगी हुन सघाउँछ। काममा हौसला मिल्छ।
धार्मिक तथा नैतिक शिक्षा
लकडाउन सुरु भएपछि भारतीय सरकारी टेलिभिजन दुर्दर्शनले रामायण र महाभारत पुनः प्रसारण गर्न थालेको छ। यी कार्यक्रमले सो च्यानलको टिआरपी पनि बढेको समाचारहरु सुन्न पाइन्छ। धर्मले, सत्य, निष्ठा, अहिंसाको मार्ग हिडाउँछ। पूर्वीय दर्शनका बेद, गीता, उपनिषद् जस्ता धार्मिक ग्रन्थहरु ज्ञानका स्रोतका रुपमा मानिन्छ।
यस्ता ग्रन्थहरुको अध्ययनले पनि हाम्रो ज्ञानको स्रोतलाई फराकिलो बनाउँछन्। अस्थीर राजनीति र कानुनी शासनको अभावमा नैतिकता र इमान्दारीताको खाँचो बढ्दै गएको छ। जसरी पनि धनी बन्नुपर्ने मानसिकतामा समाज अघि बढ्दै गईरहेको छ। सम्मान, सहयोग, क्षमा, विनम्रता, समानुभूती जस्ता कुराहरू पाउन एकदमै गाह्रो छ।
हामी हाम्रा बालबालिकाहरूलाई यस्ता कुराहरू घरैमा सिकाउन सछौं। समाजमा परम्परादेखि चल्दै आएका कुराहरु, नीतिकथा आदि सुनाएर उनीहरुमा असल बानी व्यवहारको निर्माण गर्न सकिन्छ। आफ्नो धर्म, संस्कृती, परम्परा, चाडपर्वको बारेमा अधाकाधिक ज्ञान परिवारमै दिन सकिन्छ। त्यस्तै पूर्वीय दर्शनको अध्ययन एउटा बहसको विषय पनि बन्न सक्छ।
अन्त्यमा,
कोभिड-१९ तथा लकडाउनले शिक्षालाई पारेको असरलाई सबैले अवसरमा बदल्नु पर्छ। सर्वप्रथम, नागरिकमा भएको मनोवैज्ञानिक भयलाई चिर्नु जरुरी छ। उच्च शिक्षालाई स्वःअध्ययन, दुर शिक्षा, अनलाइन शिक्षाको माध्यमबाट अगाडि बढाउदै लैजानु पर्छ। सामाजिक दुरीलाई कायम राख्दै दैनिक जीवनमा फर्किनुको विकल्प छैन।
लकडाउन बढ्दै गएमा सामुदायिक रूपमा विद्यार्थीहरुको समूह बनाई सोही समुदायमा रहने शिक्षकलाई जिम्मेवारी दिएर पनि सिकाईलाई निरन्तरता दिन सकिन्छ। कृषिको पूर्वाधारमा विकास गर्दै कृषिलाई अध्ययन अनुसन्धानमार्फत आधुनिक बनाउँदै लैजाने दिशामा शिक्षालाई केन्द्रित गर्न सकिन्छ।
यसले व्यवसायिक कृषि तथा आत्मनिर्भर बन्न तथा बेरोजगारी घटाउन सहयोग गर्छ। यी र यस्तै व्यवहारिक पक्षको विकासबाट पाठ्यपुस्तक बिना पनि सिकाई गर्न सकिन्छ भन्ने कुरालाई चरितार्थ गर्नुपर्छ। शिक्षकको पेशागत विकासलाई बढाउँदै अनलाइन शिक्षालाई प्रभावकारी बनाउनु पर्छ।
यसको लागि देशमा भएको बढी र कम प्रविधिको पहुँचको फरकलाई समाधान गर्न सरकारी तवरबाट नै शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायलार्ई प्राविधिक सहयोग प्रदान गरेर गर्न सकिन्छ। परम्परागत सीपलाई प्रवर्द्धन गर्दै आधुनिक परिवेशमा लागू गर्न सक्नुपर्छ।