जे नहुनु थियो, त्यो त भैहाल्यो। सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसका बारेमा बाल, वृद्ध तथा सबै उमेरका मानिस सचेत छन्।
कोरोना भाइरसका कारण यो भयो, त्यो भयो अथवा यसो हुनेछ र उसो हुनेछ भन्ने कुरा सबैले गर्दछन्। तर यदि कोरोना भाइरस नै नआएको भए, यदि कोभिड-१९ को नाम नै सुन्न नपरेको भए विश्व र विशेषगरी नेपालमा के हुन्थ्यो होला?
सर्वप्रथम कुरा गरौँ चीनको जुन विश्वको सबैभन्दा उच्च आर्थिक वृद्धि दर भएको राष्ट्र हो। कोरोना भाइरस देखा पर्नुअघि चीनको आर्थिक वृद्धि दर ८.१% थियो। तर अहिलेको अवस्थामा चीनको वृद्धिदर ६% मा पुगेको छ।
चीन जस्तो सुसम्पन्न राष्ट्रले सायद यति नराम्रोसँग आर्थिक वृद्धि दर गुमाउँदैनथ्यो होला। जति चीनले यस अवस्थामा घाटा व्यहोरेको छ, त्यसको पुनःप्राप्तिका लागि उसले त्यति नै मिहेनत गर्नु पर्नेछ जति दोश्रो विश्व युद्धपछि जापानले गरेको थियो।
उता अमेरिका, रुस, बेलायत, जर्मनी, इटाली तथा फ्रान्स जस्ता देशको हालत पनि यस्तै छ। अमेरिकामा ट्रम्पले पनि आलोचना खेप्नु पर्दैनथ्यो होला। यसो त ट्रम्पले यस्ता आलोचना पहिले नसुनेका हैनन् तर जुन तरिकाले उनले 'चाइनिज भाइरस' आफ्नो देशमा आउन नसक्ने मुर्खतापूर्ण आभिव्यक्ति दिए, त्यस्तैमा आफ्नो देशलाई समस्यामा डोर्याए।
यस्तो अवस्था नभएको भए पनि ट्रम्पले कुनै न कुनै खिचडी ट्वीटर अथवा ह्वाइट हाउसबाट पकाईरहेका हुन्थे।
उत्तर कोरियाको भने अलि बेग्लै प्रसंग छ। त्यहाँका नेता किम जोङ उन लगभग ४० दिनका लागि देखा नपरेको समाचार आइरहेको थियो। अवस्था सामान्य भएको भए यो विषय त्यति सामान्य ढंगले जाने थिएन जसरी अहिले गयो। विश्वभरका कतिपय मानिस यसैको अनुसन्धानमा देखिन पनि सक्थे।
यसले एउटा रमाइलो माहोल बनाउने वा दुखमा टुंग्याउने काम भने अवश्य गर्ने थियो। किम केही दिन पहिले सार्वजनिक त भए तर पनि सबैले पत्याउने गरि हैन, केहि श्रोतले उनको शारीरिक बनावट फरक देखिएको समेत बताएकाले कुराहरु अलिक गहिराईसम्म पुग्थे होला।
खेल जगत यसरी सुनसान सायद कहिल्यै भएन र होला भनेर कसैले सोचेन पनि। कुनै समय हानाहान नै हुनेगरी सुरे हुने प्रिमियर लिगका चिया गफ अहिले कता हराए, हराए। प्रिमियर लिगले नयाँ च्याम्पियन पाउथ्यो, आइपिएलको रौनक चरम सीमामा हुन्थ्यो।
च्याम्पियन्स लिगमा नकाउट चरणका खेल चल्थे। साथै, सिरी ए, वान लिग, ला लिगाका अनकौं रंग उडिरहेका हुन्थे। जति घाटा अहिले खेल क्षेत्र व्यहोरेका छन्, त्यसको यथार्थ लेखाजोखा गर्न सम्भव छैन।
यस्तो संक्रमणको बेलामा आँट गर्ने भारतले कारोना नभएको भए कालापानी, लिम्पियाधुरा विवाद चर्क्याउदैन थियो भनेर कसरी भन्नु खै? लकडाउन भएर जनता भित्र छन्। कोरोना नभएको भए विप्लवको बन्द निश्चित थियो।
माइतिघरमा आन्दोलन सहित 'ब्याक अफ इंडिया'को नारा लाग्थ्यो। सरकारलाई केही भएपनि काम गर्न बाध्य बनाउथे, गफ मात्र होइन। नारा लगाउँदैमा जेल हाल्न पाइन्छ भन्ने टोली आउथे र फेरि नारा लाउथे। अनि उही त हो केही समएपछि नेपाल सरकारले भारतसँग आफ्नै जमिन पनि माग्न सकेन भने समाचार सुनिन्थ्यो।
एसइई परिक्षा मात्र हैन, ११ र १२ दुवैको परीक्षा सकिन्थ्यो। उता फेक फेसबुक पेजबाट एसइईको नतिजा यति छिट्टै आउँदै, तुरुन्तै हेर्नुहोस् जस्ता समाचार हाल्न सुरु हुन्थ्यो, आखिर जेठ लाइसक्यो। अनि विद्यार्थीहरु रुटिन अफ नेपाल बन्दले भन्या छैन, त्यसैले फक हो भनेर केही चित्त बुजाउँथे।
साना बाबुनानीहरुलाई नयाँ ड्रेस र नयाँ किताब पाउने रहर पूरा भैसक्थ्यो। केही समय नयाँ पारेर राखेका किताब यतिबेलासम्म त केर्ने सुरु गर्थे। नयाँ स्कूलमा भर्ना भएका विद्यार्थी पनि यसबेलासम्म अवश्य घुलमिल हुन्थे। कीर्तिपुर खेलमैदानमा क्रिस गेलको आधीबेहेरी धेरै पहिला सकिन्थ्यो र उनलाई देख्न चाहाने कयौँ नेपालीको सपना समेत पूरा हुन्थ्यो।
उकालो लागिरहेको नेपालको अर्थतन्त्र यस्तो अफ्ठ्यारो अवस्थामा पुग्दैनथ्यो होला। केही हदसम्म सुधार ल्याइसकेको नेपाललाई फेरि उही अवस्थामा फर्कने चुनौती थपिएको छ तर एउटा समस्यासँगै।
यस अवस्थामा नेपालले वैदेशिक रोजगारबाट फर्कने अनुमान गरिएका १२ लाख जना कामदार र उनीहरु सहित काटिएको रेमिट्यान्स बिना काम गर्नु पर्नेछ। भन्ने नै हो भने, यो समस्या छोटो समयमा सकिदैन र नेपालले थप आर्थिक समस्याको सामना गर्नुपर्ने देखिन्छ।
यस्तै अनेकौँ कुराहरु चलिरहने थियो, यदि कोरोना नभएको भए। शिक्षा आफ्नै गतिमा, विकास आफ्नै गतिमा, अर्थ आफ्नै गतिमा। जिवनमा यस्ता अनपेक्षित क्षणहरु त आउछन् नै, तर मानिस विवेकशील र चेतनशील प्राणी भएकालेनै यस्ता समास्यालाई सही ढंगले समाधान गर्नेछ।