नेपालभित्रको नेपालजस्तै देखिने जिल्ला भनेर प्रख्यात बागलुङको दुर्गम धम्जा भन्ने एउटा सानो, अति सुन्दर गाउँमा मेरो जन्म भयो। त्यो गाउँ मेरा बुवाको कर्मथलो थियो। धम्जाको हावामा खै के थियो कुन्नि, एक किसिमको छुट्टै आनन्द आउँथ्यो। आज बाल्यकाललाई सम्झेर हेर्दा त्यो अनुभूति झन् गहिरो भएर आउँछ।
नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो भनेझैँ धम्जामा पनि सबै जातजातिका मानिसहरूको बसोबास थियो। जसमा धेरै मगर, थकाली, क्षेत्री, दमाई, कामी, सार्की र थोरै बाहुन। अधिकांश घरमा जाँडको एउटा घैँटो हुने गर्थ्यो। गाउँका मानिसहरूबीच एउटा छुट्टै हार्दिकता थियो।
मेरो बुवा गाउँबाट करिब एक घण्टा हिँडेर पुग्नुपर्ने ठाउँमा रहेको विद्यालयमा शिक्षक हुनुहुन्थ्यो। गाउँमा त्यसबेला शिक्षकलाई अहिले बालुवाटारदेखि सिंहदरबारसम्मका चर्चित व्यक्तिलाई गरिने सम्मानभन्दा पनि चार गुणा बढी सम्मान गरिन्थ्यो भन्ने कुरा आज पनि म महसुस गर्छु। गाउँ छोडेर सहरिया भएको पनि दुई दशकभन्दा बढी भइसक्यो। तर नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै जाँदा मेरो मानसपटलमा धम्जाका ती रमाइला दिनहरू फेरि ताजा भएर आउँछन्।
सानै भए पनि म यति बुझ्ने भइसकेको थिएँ कि दसैँ आउन लाग्दा गाउँमा सबैलाई धान काट्ने चटारो हुन्थ्यो। तपाईंलाई लाग्ला, अहिले मात्र परिवारका तन्नेरीहरू प्रदेश पस्छन्, विदेश जान्छन् भनेर। तर त्यतिबेला पनि भर्खर–भर्खर बैँस चढेका कैयौँ केटाहरू कोही मलायाका लाहुरे, कोही भारतमा, कोही ब्रिटिस सेनामा र कोही खाडीमा हुन्थे।
सेनामा गएका लाहुरेहरूलाई दसैँमा घर आउने छुट्टी दैवसंयोगले मिल्थ्यो। खाडी गएकाहरूको भने अर्को दसैँमा घर जान पाउने सपना बोकेको चिठी हुलाकीको हातमार्फत गाउँ आइपुग्थ्यो। गाउँ त्यतिबेला जवान नै थियो। आफ्नै पाखुरा बजाएर बाँचेका थिए धम्जालीहरू। खेतीपाती गर्न अर्मपर्म गर्ने चलन निकै बाक्लो थियो।
जाँडमा रमाउने धम्जालीहरूको गोठमा मोटा–मोटा भैँसीहरू हुन्थे। तिनले दिने खाँटी दूधमा उनीहरूलाई खासै महत्त्व थिएन, सिवाय चिया पिउन भने प्रयोग गर्थे। सायद त्यसैले होला, ईजा आज पनि भन्नुहुन्छ— ‘त्यस्तो बाक्लो भैँसीको दूध खुवाएर हुर्काएको मान्छे, आज यति जाबो ग्यास सिलिन्डर पनि उठाउन सक्दैनस्।’
गाउँमा सार्वजनिक धारा थियो। हरेकको घरमा खाना त्यही धाराको पानीले पाक्थ्यो र हरेकको प्यास पनि त्यही धाराले मेटाउँथ्यो। सायद त्यसैले होला, समाजमा विविधता हुँदाहुँदै पनि एउटा छुट्टै एकरूपता थियो। कसैको दुःखमा सबै एक हुन्थे, सुखमा पनि सबै एक।
उमेरसँगै म धम्जाकै एउटा प्राथमिक विद्यालयमा पढ्न जान थालेँ। विद्यालयको खेल्ने चौर आजको समाजजस्तो खुम्चिएको थिएन, निकै विशाल थियो। त्यतिबेला अहिले जस्तो ‘सयौँ थुँगा फूलका हामी’ भनेर राष्ट्रिय गीतमा जातका कुरा थिएनन्। बरु, त्यतिबेला ‘श्रीमान् गम्भीर नेपाली’ थियो र राजाको स्तुतिगान गाइन्थ्यो।
गाउँमा मेरी ईजा म जन्मिनुभन्दा अगाडिदेखि नै सानो पसल चलाउनुहुन्थ्यो रे। मैले अहिले सानो भने पनि, त्यतिबेलाको त्यो पसल गाउँलेहरूका लागि आजको भाटभटेनी सुपरमार्केटजस्तै थियो। दसैँमा अरू समयभन्दा व्यापार झन् बढी हुने भएकाले बुवाले पसलका सामान ल्याउन त्यतिबेलाका गाडीहरू भनेर परिचित खच्चडको बथानसँगै बागलुङ बजार झर्नुहुन्थ्यो।
धान स्याहार्ने चटारो सकिएपछि गाउँलेहरू दसैँमा घर रङ्गाउन गाउँभन्दा अलि माथि लेकतिर पाइने कमेरो र रातो माटो लिन जान्थे। बुवा पसलका सामानको भारी बोकेर खच्चडसँगै घर फर्किनुहुन्थ्यो।
उता गाउँलेहरू मास्टरको घरका लागि पनि कमेरो र रातो माटो बोकेर ल्याइदिन्थे। कमेरो मात्र होइन, गाउँलेका करेसाबारीमा फलेका हरेक तरकारी पनि हाम्रो घरमा आइपुग्थे। गुरुलाई विद्यार्थीहरूले यति माया गर्थे कि खाली हात गुरु भेट्न कहिल्यै आउँदैनथे। जसको पढाउने र पसल हेर्ने काममै समय बित्थ्यो, उसको घरमा टन्न चिरिएका दाउरा हुन्थे—बुवाका विद्यार्थीहरूले ल्याइदिएका।
बुवाले पनि गाउँलेहरूलाई आफूले सकेको सहयोग गर्नुहुन्थ्यो। कसैको चिठी पढिदिने, लेखिदिने, कानुनी सल्लाह दिने, विद्यार्थीहरूलाई त्यतिबेलाको भविष्य, लाहुरे बन्ने बाटोबारे मार्गदर्शन दिने र पढ्न प्रेरणा दिने। गाउँको हरेक दुःख र सुखमा बुवा जोडिनुभएको थियो।
दसैँको रमझम गाउँमा कोटबाट सुरु हुन्थ्यो। कोट हामी बसेको घरको अगाडि नै थियो। गाउँलेहरू जम्मा भएर कोट मन्दिरको सरसफाइ गर्थे। अनि लेकतिरबाट ल्याएको कमेरो र रातो माटोले कोट मन्दिरलाई रङ्ग्याएर सजाउँदै आफ्ना–आफ्ना घरहरू सजाउन व्यस्त हुन्थे।
‘बागलुङ जिल्ला मसालको लाल किल्ला...’ जस्ता गीतहरू सुन्दै हुर्किएको म। त्यतिबेला पल्टनबाट आएका लाहुरेहरूले ठूला–ठूला क्यासेट प्लेयर, जसलाई गाउँले भाषामा ‘टेप’ भनिन्थ्यो, काँधमा बोकेर बागलुङ बजारमा लुकीछिपी किनिएका रक्तिम परिवारका क्रान्तिकारी गीतहरू घन्काउँदै गाउँ पस्दा यस्तो लाग्थ्यो—गाउँमा कुनै ठूलो क्रान्तिकारी आएको छ।
गाउँको मुखैमा हाम्रो घर र घरमै पसल भएकाले पनि हाम्रो घर धेरैजसो मानिसहरू बस्ने ठाउँजस्तै थियो। कति लाहुरेहरू बुवाका विद्यार्थी हुन्थे। पल्टनबाट फर्किँदा बुवालाई माया गरेर के–के कोसेली ल्याइदिन्थे। हाम्रो घरमा पसल हुँदाहुँदै पनि उनीहरूले पल्टनबाट ल्याएको चकलेटका पोका मलाई दिएर जान्थे। पल्टनबाट आउने सबैबाट चकलेटको प्याकेट नै पाइने भएकाले होला, अरू केटाकेटीभन्दा आफूलाई विशेष महसुस गर्थेँ म पनि।
पल्टनबाट आएका लाहुरे र गाउँमै भएका युवाहरू मिलेर गाउँमा लिङ्गे पिङ र चर्खे पिङ राख्ने काम धमाधम अगाडि बढ्थ्यो। मैले पढ्ने विद्यालयको त्यो विशाल चौरमा पिङका लागि खम्बा गाड्ने, लठो बनाउने काम भइरहेको हुन्थ्यो। कक्षाकोठाबाट सरका आँखा छलेर त्यो काम हेर्दै मख्ख पर्थेँ।
दसैँको बिदा सुरु हुनुअघि नै विद्यालयमा पिङ र रोटेपिङ, जसलाई हामी ‘चर्खे पिङ’ भन्थ्यौँ, तयारी अवस्थामा हुन्थे र हामी केटाकेटीलाई बोलाइरहेका हुन्थे। त्यसमा पनि सबैको प्रिय मास्टरको छोरा भएकाले म सबैको काखको प्राथमिकतामा पर्थेँ।
मेरो जन्मसँगै देशमा एउटा क्रान्तिको थालनी भएको रहेछ, जसलाई पछि गएर जनयुद्ध भनियो। जनयुद्धमा लागेका मानिसहरू गाउँमा विभिन्न सांस्कृतिक कार्यक्रम बोकेर आउँथे। अगाडि–पछाडि माओवादी देखेर डराउने गाउँलेहरू पनि सांस्कृतिक कार्यक्रम हेर्दा केही समय आफ्नो डर बिर्सिन्थे।
मेरा बुवा र ईजालाई पसलबाट फुर्सद नै हुँदैनथ्यो। घर अगाडिको कोट मन्दिरमा घटस्थापनादेखि नै पूजा सुरु हुन्थ्यो। दमाईहरू बाजा लिएर आउँथे र मन्दिरको आँगनमा बसेर नहरा लगाउँथे। पुजारीहरू पूजामा व्यस्त, बुवा–ईजा पसलमा किनमेल गर्न आउनेहरूसँग व्यस्त।
मलाई सम्झना छ, त्यो कालरात्रिको दिन डर पनि एकदमै लाग्थ्यो, रमाइलो पनि त्यत्तिकै। त्यो दिन कोट मन्दिरमा रगतको खोला बगेजस्तो हुन्थ्यो। मानिसहरू आफ्ना भाकलअनुसार पञ्चबली अर्पण गर्न खसी, बोका, हाँस, परेवा, राँगा लिएर आउँथे। बलि दिइएका जनावरका टाउका कोट मन्दिरमा चढाइन्थे। त्यो दृश्य सम्झिँदा आज पनि शरीरमा काँडा उम्रन्छ।
तर कोट मन्दिरको आँगनमा दमाई दाइहरूले बजाउने पञ्चेबाजाले भने छुट्टै आनन्द दिन्थ्यो। म बाजामा खुब नाच्थेँ। मानिसहरू मलाई फुर्काउँथे, ‘मास्टरको छोरा साह्रै राम्रो नाच्छ।’ म हौसिन्थेँ र अझै नाच्थेँ। बाजाको तालमा आफूलाई समाहित गरेर नाचिरहन्थेँ।
कालरात्रिमा रातभर बाजा बज्ने र गाउँका मानिसहरू सबै जम्मा भएर रमाइलो गर्ने भएकाले त्यो दिन ईजालाई मेरो अरू दिनभन्दा विशेष चिन्ता हुन्थ्यो। किनकि म सबैको काखको प्यारो थिएँ। कहिले कसको काखमा, कहिले कसको काखमा हुन्थेँ।
सबैको घरमा पाकेको मासु कोट मन्दिरको प्रसादका रूपमा हरेक घरमा पुग्थ्यो। लाहुरे दाइहरूका पल्टनका गफ, दसैँ बिदाको स्वतन्त्रता र गाउँलेहरूको माया, यस्तै–यस्तै गर्दै टीकाको दिन आइपुग्थ्यो। गाउँमा कोही रातो टीका लगाउँथे, कोही सेतो। त्यो उमेरमा कसको निधारमा कति धेरै टीका भन्नेमा पनि हामी साथीहरूबीच छुट्टै प्रतिस्पर्धा चल्थ्यो।
हामी उच्च जीवनशैलीको खोजीमा गाउँबाट बसाइँ सर्यौँ र तराई झर्यौँ। बुवालाई मेरो भविष्यको चिन्ता थियो। तर म भने वर्तमानमै रमाएको थिएँ, त्यो सुन्दर गाउँमा, धम्जाको त्यो संसारमा। आज म सहरिया भएको छु। तर खै, हरेक वर्ष आउने बडादसैँमा मेरो मन फेरि उतै गाउँतिर पुग्छ। धम्जातिर, बाल्यकालका ती दिनहरू सम्झिन पुग्छु।
हरेक दसैँमा अभाव खड्किन्छ, मैले बाँचेका ती दिनहरूको अभाव। त्यो समयको दसैँ सम्झिँदा आजका दसैँहरू जुठो, सुत्केरो परेका जस्ता लाग्छन्। सबै कुरा भएर पनि केही नभएको जस्तो। सबै कुरा सम्पन्न हुँदा पनि दसैँमा आफूलाई सबैभन्दा गरिब महसुस गर्छु। नयाँ कपडाले भरिए पनि मनलाई पुरानो दसैँको ठूलो तिर्सना लागिरहन्छ।
सायद उमेर बढ्दै जाँदा हामीले गाउँ छोड्यौँ, घर छोड्यौँ, मानिसहरू छोड्यौँ, तर बाल्यकाल छोड्न सकेनौँ। त्यसैले त हरेक दसैँमा शरीर जहाँ भए पनि मन धम्जामै पुग्छ। त्यही धम्जामा, जहाँ कोटको आँगनमा रातभर बाजा बज्थ्यो, जहाँ कमेरो र रातो माटोले घरहरू सजिन्थे, जहाँ लाहुरेहरू चकलेट बोकेर आउँथे, जहाँ मास्टरको छोरालाई गाउँभरिले आफ्नै छोराजस्तो माया गर्थे, जहाँ दुःखमा सबै एक हुन्थे र सुखमा पनि सबै एक।
आज त्यो गाउँ उस्तै छ कि छैन, मलाई थाहा छैन। तर मेरो स्मृतिभित्रको धम्जा आज पनि त्यहीँ छ—उस्तै सुन्दर, उस्तै आत्मीय र उस्तै जवान।
र बडादसैँ आउँदा हरेक वर्ष म त्यही पुरानो धम्जामा फर्किन्छु—आफ्नो बाल्यकाल खोज्दै, आफ्नो मान्छे खोज्दै र त्यो समयको दसैँ खोज्दै।
(लेखक सिभिल इन्जिनियर हुन्।)