प्रकृतिको समीपमा मानिसले धेरै नबिगारिसकेको प्राकृतिक अवस्थितिमा पदयात्रा गर्न पाउनु मेरो लागि सबैभन्दा सन्तुष्टिको क्षण हो। कर्णालीमै जन्मे हुर्केको भए पनि म यहाँका धेरै प्राकृतिक छटाहरूमा पुग्न अझैँ बाँकी छ।
अवस्था अनुकूल म प्रायः छोटो छोटो पदयात्रा गरिरहन्छु, ती मध्ये अधिकांश यात्रा एकल हुन्छन्। एक्लै, आफ्नै सेड्युलमा मनमौज हिँडिरहनुको मज्जा बेग्लै हुन्छ। यस्तै यात्राहरूको क्रममा संयोगले अघिल्लो वर्षको जेठ/असारमा नेपालकै सबैभन्दा कठिन, लामो, खर्चालु र रोमाञ्चक पदयात्रा मध्येको एक उपल्लो डोल्पा पदयात्रा गर्ने अवसर जुर्यो। करिब १ दशक पहिले कर्ण शाक्यको पुस्तकहरू पढ्दा मलाई उपल्लो डोल्पा पदयात्रा गर्ने हुटहुटी पलाएको थियो।
जुम्लाबाट बाइकमा दुनै पुगेको भोलिपल्ट कांग्लापास भएर उपल्लो डोल्पा जानलाई गाउँपालिकाको कर्मचारीहरूको टोलीसँग जोडिन म एक दिनमै दुनैबाट फोक्सुन्डो ताल पुग्नुपर्ने भयो। अघिल्लो पटक २ दिन लगाएर तालमा पुगेको बाटो १ दिनमै पुग्छु भन्ने अठोटका साथ भोलिपल्ट बिहानै म शे फोक्सुन्डोको पदयात्रामा निस्किएँ।
बाटोमा फाट्टफुट्ट २/४ जना मानिसहरू ओहोरदोहोर गरेको बाहेक त्यो रुट लगभग सुनसान थियो। जेठ असारको महिना यार्सागुम्बा टिप्ने सिजन भएकोले अधिकांश मानिसहरू पाटनमा गइसकेका रहेछन्। डोल्पा लगायत कर्णालीका धेरै हिमाली जिल्लाहरूको आयको एक मुख्य स्रोत यार्सा संकलन नै हो। डोल्पामा यार्सा टिप्न डोल्पाका अलावा छिमेकी जिल्लाहरू जुम्ला, जाजरकोट, रुकुम, सल्यानदेखिका मानिसहरू जाने रहेछन्।
हिउँचितुवाको आक्रमणमा परेर घाइते छोरीको उपचारमा दुनै हिँडेका उपल्लो डोल्पाका स्थानीय
बाटोमा हिँड्दै गर्दा माथि तिरबाट एउटा घोडामा अन्दाजी १२/१३ वर्ष जतिको नानीलाई चढाएर अगाडि मरुन कलरको लामा पोसाक लगाएको मानिसले घोडा डोर्याएर आइरहेको भेट्टाएँ। उहाँहरू शे फोक्सुन्डो गाउँपालिकाकै स्थानीय हुनुहुँदो रहेछ। ९ दिन अगाडि तिनी नानीलाई उनको गाउँमा हिमचितुवाले आक्रमण गरेर घाइते बनाएको रहेछ। टाउको, घाँटी र शरीरमा भएको बासी घाउ देख्दा हिमचितुवा कति आक्रामक हुने रहेछ भन्ने कुराको सहजै अन्दाज गर्न सकिन्थ्यो।
उनलाई उपल्लो डोल्पामा स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि दुनै रिफर गरेको रहेछ। बाटोमा आउँदा आउँदै ५ दिन जति लागिसकेको र आज बेलुकीसम्म दुनै पुग्न सकिन्छ होला भन्ने आशामा हुनुहुँदो रहेछ। शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उपल्लो डोल्पामा हिमचितुवाले चौँरी, भेडा च्याङ्ग्रा र मानिसलाई बेलाबेलामा आक्रमण गरिरहने रहेछ। क्षतिपूर्ति स्वरूप निकुञ्जले नगण्य सहयोग प्रदान गर्ने बाहेक सबै त्यहाँका स्थानीयले बेहोर्नुपरेको रहेछ।
झट्ट हेर्दा पर्यटकहरूको ओइरो लाग्ने, यार्सागुम्बा लगायत बहुमूल्य जडीबुटी पाउने, प्राकृतिक स्रोतहरूको धनी देखिने उपल्लो डोल्पामा स्थानीय सरकार र त्यहाँका बासिन्दाको भागमा केही नपर्ने रहेछ। सबै रोयल्टी, राजस्व निकुञ्ज कार्यालयले उठाएर संघमा पठाउने रहेछ।
भारी ओरालेर विश्राम गर्दै याकहरूको बथान

बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म १४ घण्टाको पैदल यात्रा पूरा गरेर फोक्सुन्डो ताल पुग्दा धेरैले मेरो हिँडाइको तारिफ गरेका थिए। थाकेर लखतरान परेको ज्यान मित्र छेवाङ क्याल्बो लामाजीको परिवारले सञ्चालन गरेको लामा होटेलमा बिसाइयो। न्यानो आतिथ्य मिसाइएको भोटेचिया, चाइनिज चुल्होको राप नजिकै पलेटी कसेर स्वादिष्ट खाना खाइसकेपछि बिस्तरामा गएर घुप्लुक्कै सुतेको, एकैचोटि भोलिपल्ट बिहान ७ बजे उठेछु।
म उठ्नुभन्दा अगाडि नै गाउँपालिकाका कर्मचारीहरूको टिम उठेर मौसमको अवस्था जाँच पडताल गरिरहेका रहेछन्। मौसम ठिक भएन भने काङ्ग्लापास क्रस गर्न कठिनाइ हुने र बिचमा बास बस्ने ओडारमा बाहेक विकल्प नहुने हुँदा त्यो दिन यात्रा नगर्ने निर्णयमा पुगेछन्। म भान्छामा चिया खान पुग्दा पो थाहा पाएँ, मलाई त मनकै कुरो बुझेजस्तो लाग्यो; हिजो १४ घण्टा हिँडेर आएको शरीर थकित थियो, कम्तीमा १ दिन रेस्ट गर्न पाइने भयो भनेर म त फुरुङ्गै भएँ।
रिग्मो बस्तीदेखि देखिने फोक्सुन्डो ताल
त्यो दिन विश्राम गरिसकेपछि भोलिपल्ट ७ ओटा घोडाको व्यवस्थासहित हामी उपल्लो डोल्पाको यात्रामा निस्कियौँ। बिहानै नीलाम्मे शे फोक्सुन्डो तालको किनारै किनार फोटो भिडियो खिच्दै घोडामा चढेर यात्रा गर्दाको आनन्द शब्दमा वर्णन गर्न नसकिने थियो। चर्चित चलचित्र क्याराभान सुटिङ गर्दा कलाकार थिन्लेको टोलीले याकहरूको बथान पार गरेको बाटो, याक तालमा खसेको स्थान आँखै अगाडि झलझलती आइरहेको थियो। घोडामा चढेर जति माथि उकालो जाँदै थियौँ, त्यति नै फोक्सुन्डो ताल मनमोहक देखिँदै थियो। माथि पुगेपछि त ताल ठ्याक्कै अंग्रेजी ‘वाई’ आकारमा देखिने रहेछ।
फोक्सुन्डो तालको दृश्य
फोक्सुन्डो तालको वाई आकारमा देखिने दृश्य
तालको माथिल्लो छेउमा बिहानको खाना खाएर कान्जिरोवाको पूर्वी मोहडा पट्टिबाट सानातिना हिमपहिरोहरूलाई दृश्यावलोकन गर्दै घोडामा पुनः उकालो लागियो।
कान्जिरोवाको फेदबाट उकालो लाग्दै
साँघुरो खोँचबाट अप्ठ्यारो बाटो घोडामा चढ्दै झर्दै हाई क्याम्प भन्ने स्थानमा पुग्दा दिउँसोको ४:३० बजिसकेको थियो। अझैँ काङ्ग्लापास पुग्न डेढ घण्टाको बाटो थियो भने आजको बास बस्ने स्थानसम्म पुग्न थप ३ घण्टा बाँकी थियो। बिचमा हामीसँग यार्सा टिप्न जाने टोली पनि मिसिएको थियो, उनीहरूले बोकेर ल्याएको फापरको लगर र छ्याङ २/४ घुट्की लगाउँदै एकछिन आराम गर्यौँ। लेक लाग्ने मानिसलाई लगभग हाई क्याम्प पुगेपछि बिस्तारै लक्षण देखिन थाल्ने रहेछ, सबैको ध्यान म तिरै थियो। किनभने मबाहेक अरू सबै जनाले त्यो पास धेरै चोटि क्रस गरिसकेका रहेछन्। मलाई भने कुनै पनि असहजता महसुस भइरहेको थिएन।
हाई क्याम्प
बेलुकीको ६ बजे हामी काङ्ग्लापास पुग्यौँ, जहाँबाट हामीलाई पुर्याउन गएका घोडाहरू फर्किएर पैदल हिँड्नुपर्ने थियो। पासमा पुगेपछि १ जना सरले तलबाटै बोकेर लगेको बियरको बोटल स्याम्पेन फोडेजस्तै गरेर 'स्यो स्यो' भन्दै चढाउनु भयो। पासमा बोकेर लगेको तरल पदार्थ छ्याङ, रेडबुल, बियर आदि चढाउने प्रचलन रहेछ। कतै हिउँ त कतै हिउँ पग्लेको हिलो बाटोबाट सम्हालिएर अति तल पुगिसकेपछि सजिलो बाटो आइपुग्यो।
कांग्लापास
कांग्लापास
बिस्तारै अँध्यारो हुँदै गएको सुनसान दृश्यमा एकअर्कासँग कुराकानी गर्ने ऊर्जा समेत बाँकी थिएन। गोधूलि साँझमा सुनसान बाटो हिँड्दै गर्दा परपर पाटनमा यार्सा टिप्ने टोलीहरूले आगो बालिरहेको दृश्य देखिन्थ्यो। मोबाइलको नेटवर्क समेत नभएको त्यो ठाउँमा पछाडिबाट हिमचितुवाले आक्रमण पो गर्छ कि भन्ने डर उत्तिकै थियो। मोबाइलको टर्च बालेर जसोतसो थाकेको ज्यान शे गुम्बामा पुग्दा रातको ९ बज्न लागेको थियो। आजको बास बस्ने टेन्टभित्र चियाएर हेर्दा चुल्होको वरिपरि करिब १५/२० जनाको टोली पहिल्यै पलेटी कसेर बसेका थिए। भित्र पस्ने बित्तिकै 'लास्सो' भन्दै सबैले स्वागत गरे। पछि बुझ्दा त शे फोक्सुन्डो गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी टोली १२ वर्षपछि भदौमा हुन गइरहेको शे मेलाको तयारीमा आएका रहेछन्।
एकछिनको भलाकुसारी पश्चात् खाना खाएर टोली मुर्चुङ्गा बजाउँदै स्थानीय गीत गाउन पो सुरु गरे। क्रिष्टल माउन्टेनको कोरा गर्न टाढाको गाउँबाट आएका महिलाहरू र जनप्रतिनिधि, कर्मचारीहरूको टिम उठेर गोलो घेरामा गाउँदै नाच्दै गर्न थाले। यो त मेरा लागि गज्जबको अनुभूति थियो। गीत नबुझे पनि मैले आनन्द लिइरहेको थिएँ।
टेन्टको बसाइ
करिब २५ जनाको टोलीलाई एक्लै खान बस्नको व्यवस्था गरिरहेकी अन्दाजी ४० जतिकी साहुनीको साहस ऊर्जा देखेर म छक्कै परेँ। त्यहाँ बस्दै गर्दा मैले अर्को गज्जबको कुरा देखेँ। टेन्टमा सामान बिक्री गरेर संकलन गरेको ५०० र १००० नोटको नगद पैसा (उपल्लो डोल्पामा ५००/१००० भन्दा सानो नोट बिरलै देखिन्छ) कुनै लकर वा झोलाबिना साहुनीले त्यतिकै एउटा कार्टुनमा हालेर सामान र पैसा खुला छोडेकी थिइन्। इमानदारिता र विश्वासको योभन्दा ठुलो उदाहरण के हुन सक्छ? केही बेरको सांगीतिक माहौलपश्चात् नजिकैको अर्को टेन्टमा गएर सुत्यौँ।
ऐतिहासिक शे गुम्बा
ऐतिहासिक शे गुम्बा
थाकेको ज्यान भोलिपल्ट उठ्दा बिहानको ८ बजिसकेको रहेछ। एउटा टेन्टमा हिजो सुत्दा ४ जना सुतेको भोलिपल्ट उठ्दा ७ जना थियौँ। राति ३ जना थपिएर कोही सिरानतिर त कोही खुट्टातिर सुतेका थिए। रातभरि नाचगान गरेर थाकेका वडाध्यक्षहरू थपिएका रहेछन्। २ कप भोटेचिया खाइसकेपछि शे गुम्बातिर लाग्यौँ। सानो खोला तरेर पारिपट्टि थुम्कोमा अवस्थित गुम्बाको प्राङ्गण टेक्दै गर्दा पनि भित्रैबाट जीउमा कम्पन महसुस भयो, लामो सास फेर्न मन लाग्यो।
गुम्बाको परिक्रमा गरेर दर्शन गरिसकेपछि साल्दाङ्ग जाने तयारी सुरु भयो। हिजो राति नै बुक गरेका घोडाहरू त बिहानै भागेर पाटन तिर पुगेछन्। पाटनबाट घोडा खोजेर ल्याइसकेपछि जनप्रतिनिधि, कर्मचारी लगायत १६ जनाको टोली उकालो लाग्यौँ। उकालोमा घोडाहरूको लावालस्कर, थरीथरीका घण्टीहरू बजाउँदै धुलो उडाउँदै जाँदै गर्दा मानौँ कुनै फिल्मको सुटिङ भइरहेजस्तै भान भइरहेको थियो। सुख्खा मरुभूमि जस्तै देखिन अधिकांश पाटनहरूको बाटो भएर हिँड्दै गर्दा आँखाभरि धुलो पसेर हेर्न र सास फेर्न मुस्किल भइरहेको थियो। सनग्लास र मास्कले पनि धान्न सकिरहेको थिएन।
घोडाको लावालस्कर सहित शे गुम्बाबाट उकालो चढ्दै
बिच बिचमा आराम गर्दै तलैबाट बोकेर लिएको तातोपानी, छ्याङ, चिया आदि खाँदै करिब ३ घण्टापछि हामी सेला ला पास भन्ने ठाउँमा पुग्यौँ। त्यो समूहमा यात्रा गर्दै गर्दा मैले एउटा नयाँ चलन थाहा पाएँ। स्थानीय भोटेहरू हामीलाई रोङ्वा र आफूलाई ढल्वा भन्दा रहेछन्। जुनसुकै गाउँको ठाउँको भए पनि उनीहरू बिच जुठो चल्ने रहेछ। एउटै कपमा चिया, छ्याङ सर्भ गरेर एक एक सुर्को लगाएर पास गर्दै गरेको दृश्य मेरा लागि नौलो थियो। आफू खानुभन्दा पनि अरूलाई सर्भ गर्नुलाई कर्तव्य ठान्ने स्थानीयहरूको त्यो आत्मीयता साँच्चिकै रोचक थियो।
सेला ला पास देखि देखिएको उपल्लो डोल्पाको भूभाग
त्यहाँबाट घोडाहरूलाई फिर्ता पठाएर साल्दाङ्गका लागि हाम्रो ओरालो यात्रा सुरु भयो। बाटोमा फाट्टफुट्ट मानिसहरू भेटिए पनि बस्तीहरू बाटो प्रायः सुनसान थियो। यात्रामा रोचक किस्साहरू सुन्दै गफ गर्दै करिब ३ घण्टाको उकालो ओरालो हिँडाइपश्चात् रोड खनेको स्थानमा पुगियो। म त छक्कै परेँ। यस्तो विकट ठाउँमा पनि रोड खनिएको थियो, भित्रभित्रै अब गाडी चढ्न पाइन्छ कि क्या हो भनेर सोचिरहेको थिएँ। तर ती रोडहरू केही हेलिकप्टरद्वारा ढुवानी गरिएका डोजर त केही मुस्ताङको बाटोबाट छिराइएका मेसिनहरूले खनिरहेका रहेछन् । भविष्यमा मुस्ताङको बाटो या दुनैबाट काइके हुँदै आइरहेको बाटो जोडियो भने सहज होला भनेर गाउँपालिकाको बजेटबाट खनिएको रहेछ।
उपल्लो डोल्पामा खनिएका सडकहरू
यसरी खनिएका धेरैजसो बाटोहरूमा चाइनाको नाकाबाट ल्याइएका चाइनिज मेड मोटरबाइकहरू चल्ने रहेछन्। नेपाल सरकारको झन्डै ३०० प्रतिशत कर नजोडिने भएकाले तुलनात्मक रूपमा बाइक सस्तोमा पाइने भए तापनि पेट्रोल नेपाली बजारबाटै घोडा खच्चरमा ढुवानी गरिने भएकाले लिटरको ८००/९०० तिर्दा पनि सहजै नपाइने रहेछ। यसरी पेट्रोल हालेर सीमित सङ्ख्यामा पाइने बाइक चढ्न लाग्ने खर्च सुन्दा जो कोहीले नसक्ने रहेछ। यसरी गफगाफ गर्दै हिँड्दै गर्दा दिन ढल्किँदै गएको गोधुलीको मधुरो दृश्यमा तल एउटा ठुलो गुम्बासहितको बस्ती देखियो। त्यही नै रहेछ भोटसँगको व्यापारका बेलाको व्यापारिक केन्द्र र आजभोलिको गाउँपालिकाको केन्द्र, साल्दाङ्ग।
टाढाबाट देखिएको साल्दाङ्ग बस्ती
शे फोक्सुन्डो गाउँपालिकाको केन्द्र, साल्दाङ्ग
अब ४५ मिनेट जति ओरालो हिँडियो भने पुग्न सकिने रहेछ। बेलुकी ८ बजेतिर साल्दाङ्ग पुग्दा झमक्कै अँध्यारो भइसकेको थियो। धेरैजसो जनप्रतिनिधि र कर्मचारीहरूको आफ्नै क्वाटर डेरा भएकोले मलाई नजिकैको ज्योवो ग्याङ्गछेन होटेल एन्ड गेस्ट हाउसमा खाने बस्ने व्यवस्था मिलाइदिए।
बस्ती स्तरमा स्थानीयहरूसँगको छलफल
भोलिपल्टका केही दिनहरूमा साल्दाङ्ग वरपरका बस्तीहरूमा गएर भेटघाट, छलफल गर्ने अवसर मिल्यो। त्यो बेला स्थानीय तहको योजना तर्जुमा प्रक्रिया सुरु भएको रहेछ। उहाँहरूको बैठक अवलोकन गर्दा केही रोचक दृश्यहरू पनि देखिए। यार्साको सिजन सुरु भएकोले मानिसहरूको उपस्थिति न्यून थियो तर छलफल गहन रूपमा चलिरहेको थियो। बैठकमा आउँदा सबैले एक-एक वटा झोला बोकेरै आएका थिए र झोलामा चिया, तातोपानी, सातु, छ्याङ बोकिएकै हुन्थ्यो। बैठक सुरु हुनु पूर्व नै यी नास्ताहरू खान दिइहाल्ने चलन रहेछ। अझ भनौँ, खाँदै गफ गर्दै। आहा! क्या रमाइलो। धेरैजसो छलफलहरू स्थानीय भाषामै हुने भएकाले नबुझे पनि सक्रिय सुनाइ चाहिँ भयो।
सुन्दर तिन्जेभ्याली
यसरी ३/४ दिनको साल्दाङ्ग बसाइपश्चात् म तिन्जे, धो, काइकेको बाटो फर्किने भएँ। फर्किँदा एक्लै हुने भएकाले सबै जनाले धो सिसौलसम्म बाइकमा जान सल्लाह दिए। यसरी बाइकमा जाँदा धेरै ठाउँ अवलोकन गर्न पाइने लोभमा महँगै भए पनि बाइक चढ्ने निधो गरेँ। भोलिपल्ट बिहानको लागि एक जना तिन्जेको सरले मलाई धोसम्म पुर्याइदिने र त्यहाँबाट अर्को बाइकमा सिसौलसम्म जाने व्यवस्था मिल्यो। बाइकमा करिब ३/४ घण्टा लाग्ने बाटोको लागि मैले मिलाएर २२ हजार तिर्ने भएँ। साधरणतया त्यहाँको रेट ३० हजार जति पर्ने रहेछ।
बाइकमा चढ्नुभन्दा अगाडि खनिएको सडकको बाटो नै प्रयोग गरेर जानुपर्ने होला भन्ने मेरो अनुमान त्यो बेला फेल खायो, जति बेला राइडर साथीले सडक छोडेर घोडा मानिस हिँड्न बनाइएको बाटोतिर बाइक कुदाए। सामान्यतया म भिर पाखा, खोँच, साँघुरो बाटोमा त्यति नडराउने मान्छे भए पनि राइडरको स्किल, स्पिड र साहसको अगाडि डराएँ। ३ घण्टाको बाटोमा मुस्किलले ३० प्रतिशत सडकमा गुडियो होला, बाँकी यस्तै साँघुरो बाटो, पाटन र जता पायो त्यतैबाट गुडेर धो पुगियो।
बाटोमा आकर्षक भोटे बस्तीहरू, सुन्दर तिन्जे भ्याली, याक र घोडाहरूका बथान, यार्सा टिप्न गएकाहरूले पाटनभरि टेन्ट बनाएर बसालेका अस्थायी बस्तीहरू आदि अवलोकन गर्दै धो आइपुग्दा बेलुकीको ५ बजिसकेको थियो। अलिअलि खुला खोँचमा धोको बस्ती निकै सुन्दर देखिन्थ्यो, पर्यटकहरूलाई केन्द्रमा राखेर स्थापना गरिएका केही राम्रा राम्रा होटेलहरू पनि रहेछन्। हेर्दा ठिकठिकै लाग्ने होटेलमा बास बस्ने निर्णय गरियो, एउटा कोठाको २००० तिरेर त्यसमा मोबाइल चार्जको चार्ज छुट्टै र वाइफाईको पैसा पनि छुट्टै तिर्नुपर्ने रहेछ। पावरब्यांक साथमा बोकेको र खाएर घुप्लुक्कै सुत्ने योजना भएकाले ती दुई वटै एक्स्ट्रा चार्ज घटाएर बास बसेँ।
यार्सा टिप्न पाटनमा टेन्ट टाँगेर बसेका स्थानीयहरू
सुन्दर धो उपत्यका
भोलिपल्ट बिहानै कनट्याक्ट गरिएको बाइकलाई बोलाएर सिसौलसम्म पुगेँ। त्यो रुटमा २/४ वटा अटोरिक्साहरू पनि चल्ने रहेछन्। बिहान करिब ९ बजेतिर सिसौल पुगिसकेपछि मेरो यात्राको सबैभन्दा कठिन खण्ड सुरु हुने भयो। उपल्लो डोल्पाको एकल यात्रा सुरु गरे पनि सिसौल नपुगुन्जेलसम्म बाटोमा कोही न कोही सहयोगी साथी भेटिएका थिए। अब सिसौलबाट दुनै पुगुन्जेलसम्म २ दिनको बाटो म एक्लै हिँड्नुपर्ने थियो। मनमनै बाटोमा कोही साथी भेटिएको भए हुन्थ्यो भनेर सोच्थेँ तर कोही भेटिए पनि सजिलै विश्वास गर्न सकिने वातावरण थिएन। त्यो बेला झन् यार्साको सिजन भएकोले बाटोमा हिँड्ने जो कोहीलाई पनि यार्सा व्यापारी हो कि भनेर शंका गर्ने प्रशस्त आधार थिए।
सिसौलको झोलुङ्गे पुल तरिसकेपछि मनमनै आफूलाई विश्वस्त बनाएँ। एक्लै यात्रा गर्छु भनेर उपल्लो डोल्पा निस्किएको म बाटोमा जे आइपर्छ, त्यसको सामना गर्नुपर्ने हुन्छ भनेर सशंकित र चनाखो हुँदै अगाडि बढेँ। जति अगाडि गइन्छ, त्यति खोँच साँघुरो हुँदै गइरहेको थियो। बाटोमा मोबाइलको नेटवर्क पनि थिएन। अझैँ ४/५ घण्टाको बाटो मोबाइल नेटवर्क नहुने रहेछ। त्यहाँ मुख्य गरेर २ वटा डर महसुस गरिरहेको थिएँ। एउटा हिमचितुवासँग जम्काभेट पो हुन्छ कि भनेर र अर्को मानिसले लुटपाट गर्ने मनसायले केही खतरा गर्छन् कि भनेर।
पहिलो डरभन्दा दोस्रो डर भयानक थियो। मैले जनावरभन्दा मानिसबाट बढ्ता डराएको त्यही बेला हो। मनमा डर बढ्दै थियो। झोलाबाट चक्कु निकालेर बाटो नजिकै काँडा भएको एउटा मजबुत लट्ठी काटेँ। अब 'सेल्फ डिफेन्स'मा मसँग एउटा चक्कु र लट्ठी भयो। दुई घण्टा हिँड्दा पनि बाटोमा आउने जाने कोही पनि मानिस भेट्टिएनन्। फाट्टफुट्ट भेटिएका टेन्ट पसलहरू पनि बन्द अवस्थामा थिए।
पछि अलि हिँडिसकेपछि खोला पारिपट्टि एउटा टेन्टमा धुवाँ निस्किरहेको देखेँ। त्यहाँ त पक्कै पनि कोही न कोही होला भनेर बाहिरबाटै बोलाएँ। केही समयमा एक जना अधबैँसे महिला बाहिर निस्किन्। बाहिर धारामा पानी भर्दै, मैले खाजा केही पाइन्छ कि भनेर सोधेँ। उनले चाउचाउ बाहेक केही छैन भनिन्। एक प्याकेट चाउचाउ उमाल्न आग्रह गरेँ अनि बाटो यति धेरै किन सुनसान छ भनेर सोध्दा उनले यार्साको सिजन भएकाले सबै जना पाटनमै गएको र फाट्टफुट्ट यार्सा नपाएर फर्किएका केही मानिसहरू अगाडि गइसकेको जवाफ दिइन्। अनि निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले पनि बाटोमा धेरै होटेल पसलहरू स्थापना गर्न अनुमति नभएको बताइन्।
एकछिन थकाई मार्दै चाउचाउ खाएर म पुनः बाटो लागेँ। थप १ घण्टा हिँडिसकेपछि अलि पर ४/५ जना केटाहरू हिँड्दै गरेको देखेँ। एक मनले फटाफट हिँडेर उनीहरूलाई भेटाऊँ कि लाग्यो, अर्को मनले होइन उनीहरूलाई नभेट्टाउने गतिमा हिँड भन्यो।
खच्चरबाट उपल्लो डोल्पामा सामान ढुवानी गरिँदै
केही तल पुगिसकेपछि खोला किनारमा २ वटा होटेल देखिए। नजिकै खच्चरहरू भारी बोकेर उभिरहेका थिए। संयोगवश तिनी खच्चर चलाउने केटाहरूले खाना अर्डर गरेका रहेछन् र म थप एक जनालाई खाना पुग्ने रहेछ। उनीहरू दुनैबाट सामान बोकेर साल्दाङ्गका लागि हिँडेका रहेछन्। अनि उनीहरूसँग गफ गर्दै खाना खाएँ। उनीहरूले मेरो मनमा थप डर जगाइदिए।
‘दाइ, तपाईं यार्सा खरिद गरेर फर्केको व्यापारीजस्तो देखिनुहुन्छ, बाटोमा यसरी एक्लै नहिँड्नु पर्ने, यार्सा नपाएर औलेलहरू पाटनबाट रित्तै फर्किएका छन्। लुटपाट र ज्यानकै खतरा हुनसक्छ सजग हुनुहोला।’
डोल्पामा रुकुम जाजरकोट तिरबाट आएका मानिसहरूलाई औलेल भन्ने रहेछन्। अब मेरो मनमा झनै डर बढेर आयो। तैपनि म अगाडि बढ्नुको विकल्प थिएन। त्यो ठाउँमा प्रायः २ वटा बाटाहरू थिए, खोला किनारै किनार वारिपारि गर्दै खच्चरहरू हिँड्ने बाटो र एउटा अलि माथिपट्टि मानिसहरू हिँड्ने बाटो। अलि तल पुगिसकेपछि अघि देखिएका केटाहरू र केही थप महिला बालबालिका सहितको टोली बाहिर खुला ठाउँमा खाना पकाएर खाँदै थिए। बल्ल अलि सुरक्षित महसुस गरेर उनीहरूसँग केही नबोली म अगाडि बढेँ।
अगाडि पनि यस्तै मानिसहरू भेटिँदै गए। एक ठाउँमा असईको कमान्डमा ५/७ जना प्रहरी, खच्चरमा लोड गरेका केही थान बक्साहरू (सम्भवतः पैसाका बक्साहरू हुनुपर्छ) सहित धो तर्फ गइरहेको भेटाएँ। अब त झनै राहतको सास फेरेँ। असई साबसँग बाटो, कठिनाइ र बास बस्ने स्थानको बारेमा जानकारी लिएँ।
करिब २:३० बजेतिर लैनीको डाँडा कटिसकेपछि बल्ल मोबाइल नेटवर्कले काम गर्यो। त्यहाँ केही मानिसहरू मोबाइलमा कुरा गर्दै थकाइ मारिरहेका थिए। मैले पनि घरमा आफू सकुशल रहेको जानकारी गराएँ। अनि ३ घण्टा थप ओरालो हिँडिसकेपछि म लासिक्याप पुगेँ। यो स्थानीय बजार छार्का ताङसोङ गाउँपालिका हुँदै बग्ने ठुलीभेरी र डोल्पोबुद्ध गाउँपालिका हुँदै बग्ने खोलाको दोभानमा रहेछ। यहाँ प्रहरी चौकी पनि रहेछ। अघि बाटोमा भेटाएका प्रहरीहरू यही चौकीबाट गएका रहेछन्। चौकी नजिकै एउटा होटेलमा बास बस्ने निर्णय गरेँ।
लासीक्यापदेखि छार्का ताङसोङ जाने बाटो
होटेलमा एक जना ७५ वर्ष जतिको आमा मात्रै रहिछन्। उहाँको छोरी, ज्वाइँ, नातिनीहरू सबै पाटनमा गएका रहेछन्। मैले बास माग्दा ‘बस्ने ठाउँ त छ तर खाना आफै पकाउनुपर्छ बाबु’ भनिन्। मैले स्विकारेर त्यहीँ बसेँ । एकछिन पछि एक जना भाइ पनि बास माग्न आए अनि खाना पकाउने २ जना भयौँ। भाइले म पकाइहाल्छु भनेर कस्सिए। केही समयपछि ४ जना केटाहरू थपिए। ती केटाहरूलाई अघि आउने भाइले चिन्ने रहेछन्। ती केटाहरू पहिल्यै रक्सी सेवन गरेर मात्तिएका जस्ता देखिन्थे। उनीहरू पनि त्यहीँ बस्ने भए।
त्यो भाइले सुटुक्क मलाई यिनी केटाहरू खराब छन् दाइ, यिनीहरूसँग नबोल्नु होला भने। बाटोमा भाइको र उनीहरूको बिचमा केही विवाद भएको रहेछ। ठिकै छ भनेर हामी आफ्नै सुरमा खाना खानतिर लाग्यौँ। खाना खाइसकेपछि म एक्लै सुत्ने योजनामा थिएँ तर त्यो भाइले म पनि दाइसँगै सुत्छु भनेर प्रस्ताव राखे। ठिकै छ त भनेर भाइ र म एउटा कोठामा सुत्ने भयौँ। अरू केटाहरू नजिकैको टेन्टमा सुत्ने व्यवस्था भयो।
त्यो ठाउँमा मोबाइल नेटवर्क टिप्ने भए तापनि हामी सुत्ने बारीपट्टि ढोका भएको कोठामा नटिप्ने रहेछ। अघि भर्खरै भेट भएको भाइलाई सहजै विश्वास गरिहाल्ने वातावरण पनि थिएन। कोठामा एकछिन गफ गर्यौँ अनि म नसुतेर मोबाइलमा फोटो भिडियो हेर्दै, इडिट गर्दै ब्लाङ्केटले मुख छोपेर पल्टिएँ।
तिनी भाइ राति करिब १२ बजेतिर बाहिर निस्किए। एकछिनसम्म पनि नआएपछि मेरो मनमा शंका उत्पन्न हुन थाल्यो। अनि म पनि बाहिर निस्केर अलि उतापट्टि लुकेर बसेँ। मलाई २ वटा कुराको शंका लागेको थियो, एउटा अघि टेन्टमा सुतेका केटाहरूसँग उनको विवाद भएको थियो, बाहिर निस्किँदा उसलाई कतै तिनी केटाहरूले पो केही गरे कि? दोस्रो, ऊ भाइ पनि तिनी केटाहरूसँगै मिलेर मलाई केही खतरा पो हुन्छ कि? त्यही भएर म बाहिरको माहौल बुझ्न कोठाबाट निस्केर नजिकै लुकेर बसेको थिएँ। करिब ३० मिनेटसम्म पनि तिनी भाइ रुममा नआएपछि मलाई झनै शंका लागेर आयो। ट्वाइलेट गएको भए पनि आधा घण्टासम्म त आइसक्नुपर्ने हो। पक्कै पनि केही गडबड छ भन्ने लागेर म बिस्तारै प्रहरी चौकी भएको ठाउँतिर गएँ।
चौकीको गेटमा पुगेर मैले ड्युटीमा कोही छ कि भनेर बिस्तारै बोलाएँ तर केही प्रतिक्रिया नआएपछि अलि चर्को स्वरमा बोलाएँ। भित्र सबै प्रहरीहरू सुतिसकेका रहेछन् । मैले मध्यरातमा यसरी बोलाउँदा उनीहरू जर्याकजुरुक उठेर बाहिर निस्किए। मैले यस्तो यस्तो भयो, शंका लागेर कोठामा एक्लै बस्न सकिनँ, मलाई यतै कतै सुत्न दिनुहुन्छ भनेर आग्रह गरेँ। तर जिम्मेवारी पाएका हवलदार साबले मलाई ठाडै हकारे, रक्सी खाएर राति डिस्टर्ब गर्न आउनेसम्म भन्न भ्याए। मलाई भित्र ठाउँ नभए पनि बाहिरै बेन्चमा पल्टिन दिनुहोस् भन्दा पनि मानेनन्।
केही सीप नलागेपछि मैले मेरो काम गर्ने कार्यालयको सेक्युरिटी अफिसरलाई राति फोन गरेँ। त्यहाँको वस्तुस्थिति सबै वर्णन गरिसकेपछि सेक्युरिटी अफिसरले जिल्ला प्रहरी कार्यालय डोल्पामा खबर गरेछन् अनि तुरुन्तै लासीक्याप चौकीमा जिप्रकाबाट फोन आयो। चौकी इन्चार्ज धो तिर पैसा पुर्याउन गएकोले हवलदारले रिपोर्ट गरे। उताबाट हवलदारलाई सहयोग माग्न आएको व्यक्तिलाई जसरी पनि सुरक्षित सुताउनु भन्ने आदेश भएछ। अनि हवलदार साब नरम रूपमा प्रस्तुत भए। बल्ल मेरो कुरा विस्तृतमा सुने।
चौकीमा सुत्ने ठाउँ नभएकोले म सुतेकै कोठासम्म पुर्याइदिने, तिनी केटाहरूको अवस्था चेक गर्ने भनेर हामी होटेलमा फर्कियौँ। कोठामा पुग्दा तिनी भाइ आएर सुतिरहेका थिए। अघि कहाँ हराएको भनेर सोध्दा ट्वाइलेट गएको र यता कोठामा नेटवर्क नटिप्ने भएकाले फोन गरेर बसेको भन्ने जवाफ दिए। हवलदार साब त बाहिर टेन्टमा बसेका केटाहरूलाई उठाएर सोधपुछ गरौँ भन्दै थिए, मैले त्यसो नगर्न भनेँ।
अब प्रहरीको टोली फर्काएर भित्रबाट कोठा बलियो रूपमा बन्द गरेर म ओछ्यानमा पल्टिएँ। तैपनि मलाई निन्द्रा लागेन। रातभरि नसुतेर बिहान उज्यालो भइसकेपछि तिनी भाइको टोली होटेलबाट निस्केपछि म बिहान ९ बजेसम्म सुतेँ। त्यो रात मेरो जीवनको सबैभन्दा लामो र डरलाग्दो रात थियो।
अघिल्लो दिनको हिसाबकिताब गरेर म बाटो लागेँ। त्यो दिन पनि म बाटोमा एक्लै थिएँ । करिब २ घण्टा हिँडिसकेपछि म काइके भन्ने ठाउँमा आइपुगेँ। उपल्लो डोल्पा जाने सडक काइके हुँदै लासिक्यापसम्म पुर्याएको थियो तर बिच बिचको खण्डहरू बाँकी हुँदा गाडी दुनैभन्दा अगाडि बढ्न सकेको छैन। काइके गाउँपालिकाको केन्द्र कटिसकेपछि पुल छेउमा खाना खाएँ अनि बिस्तारै अगाडि बढेँ।
अलि तल आइसकेपछि भरखरै आएको बाढीले नदी किनारको बाटोको केही भाग बगाएर हिँड्न नमिल्ने भएको रहेछ। त्यहाँबाट उकालो लागेर फेरी ओरालो झर्न अल्छी लागेर खोला किनारमा पानीले डुबाएको भाग लट्ठीले चेक गरेँ। किनारै किनार सजग भएर जाँदा कम्मर मुनिसम्म पानी आउने आकलन गरेर जोखिम उठाउने निधो गरेँ। अनि बायाँ हातले लट्ठी टेक्ने, दायाँ हातले चट्टानको कापहरू समातेर उर्लिएको नदीको किनारबाट बिस्तारै करिब २० मिटर खण्ड पार गरेँ। पार गरिसकेपछि एक्लै सुनसान ठाउँमा यस्तो जोखिम उठाउनु मूर्खता थियो भन्ने महसुस गरेँ। भिजेको ट्राउजर र जुत्ता बजाउँदै अगाडि बढेँ।
बाढीले बाटो बगाएको स्थानमा जोखिम मोलेर जँघार तरेको खण्ड
करिब ३ घण्टा थप हिँडिसकेपछि ब्याँसगाड भन्ने ठाउँमा एउटा पल्सर बाइक भेटियो। बाइकवाला भाइलाई दुनैसम्म पुर्याइदिन अनुरोध गरेँ, उनी एक जना कर्मचारीलाई दुनैबाट त्यहाँ पुर्याउन आएका रहेछन्। भाडामा सहमति गरेर म बाइकमा दुनैतिर आएँ। बेलुकी ६ बजेतिर दुनै पुगियो। जुत्ता खोलेर हेर्दा खुट्टाको औँलामा, पैतलामा, कुर्कुच्चामा फोका उठेर, फुटेर घाउ भइसकेका थिए। मेडिकलबाट औषधी किनेर लगाएँ।
यसरी मेरो उपल्लो डोल्पाको रोमाञ्चक एकल यात्रा सम्पन्न भयो। मैले दुनैदेखि फोक्सुन्डो ताल, काङ्ग्लापास, शे गुम्बा, साल्दाङ्ग, तिन्जेभ्याली, धो, काइके हुँदै दुनैसम्मको एक फन्को लगाएको थिएँ । सामान्यतया धो हुँदै फोक्सुन्डो तालबाट फन्को लगाउनु सजिलो मानिँदो रहेछ, तर पनि परिस्थितिअनुसार म घडीको दिशामा उपल्लो डोल्पा घुमेर दुनै आइपुगेँ। भोलिपल्ट बाइकमा दुनैदेखि जुम्ला यात्रा गरिसकेपछि मेरो उपल्लो डोल्पा घुम्ने वर्षौँदेखिको सपना साकार भएको थियो। म यो साहसी र रोमाञ्चक यात्रा एक्लै सम्पन्न गरेकोमा भित्रैदेखि खुसी भएको थिएँ।
यो पदयात्राका क्रममा मैले उपल्लो डोल्पाका २ वटा पक्षहरूलाई विश्लेषण गरेँ, एउटा पर्यटकको नजरमा र अर्को स्थानीयवासी दिनचर्याको हिसाबमा। आधुनिक सुख सुविधा र सहरको भिडभाडभन्दा पर केही दिनको लागि पर्यटक भएर उपल्लो डोल्पा घुम्न जाँदा साँच्चिकै त्यो ठाउँ भू-स्वर्ग भन्दा कम्ती लाग्दैन। हिमालपारिको यो क्षेत्र परपर तिब्बती सिमानासम्म नियालेर हेर्ने हो भने एकनासै जस्ता लाग्ने सुनौला रङका सयौँ थुम्काथुम्कीहरू कुनै चित्रकारले क्यानभासमा उतारेका पेन्टिङ जस्तै लाग्छन्।
परम्परागत बोन धर्म, बौद्ध धर्मको पवित्र स्थल यो क्षेत्रमा पदयात्रा गर्दा कुनै गहिरो ध्यानमा डुबेको महसुस हुन्छ र केही दिनमै मानिसले आफू र जगतलाई हेर्ने दृष्टिकोणमै परिवर्तन महसुस गर्छ। त्यसैले जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ उपल्लो डोल्पा हो जस्तो लाग्यो।
तर त्यहाँको स्थानीयवासीको जीवनस्तरको कुरा गर्ने हो भने बिलकुलै फरक नजरिया बन्छ। अत्यन्तै नगण्य मात्रामा अन्न उब्जनी हुने यो क्षेत्रमा अधिकांश खाद्यान्नहरू याक र खच्चरमा १०/१२ दिन लगाएर ढुवानी गरिएको किनेर खानुपर्ने बाध्यता छ। अलि हुनेखानेहरू हिउँदे सिजनमा पोखरा, काठमाडौँ जस्ता सहरहरूमा आउने गर्छन् भने गरिबहरूलाई हिउँदे सिजन झन् कष्टकर छ। उनीहरू हिमाल नाघेर तुलनात्मक रूपमा न्यानो हुने स्थानहरूमा अस्थायी टहराहरू बनाएर ६ महिना गुजार्छन्। बिरामी भएको खण्डमा औषधी अभाव भइराख्ने केही सीमित स्वास्थ्य चौकीहरूको भरमा र अधिकांश परम्परागत आम्ची उपचार विधिका भरमा बस्नुपर्छ।
उपल्लो डोल्पामा भएका सबै आधारभूत तहका विद्यालयमा अध्ययनपश्चात् कि त पढाइ छाड्नुपर्छ कि माथिल्लो तहको शिक्षा प्राप्तिका लागि उपल्लो डोल्पा छोड्नुपर्छ। स्वदेशी तथा विदेशी पर्यटकहरू आफैले खाने बस्ने सुत्ने व्यवस्थासहित जाने हुँदा पर्यटनले पनि त्यहाँको जीविकोपार्जनमा खासै टेवा पुर्याएको देखिँदैन। जडीबुटी र पर्यटनको रोयल्टी उठाएर निकुञ्जले संघमा पठाउँछ। यस्ता विभिन्न कारणहरूले गर्दा उपल्लो डोल्पाका स्थानीयहरूको जीवनस्तर एकदमै कष्टकर छ। त्यसैले केही दिनको घुमाइको रोमाञ्चकतामा स्वर्ग झैँ लाग्ने उपल्लो डोल्पा सधैँ भरिको कष्टकर जीवनयापनका हिसाबले अत्यन्तै दुर्गम र कठिन स्थान हो।