कस्तुरीले बिनाको बास्ना खोजिहिँडे जस्तै, संसारकै स्वर्ग मानिने आफ्नै देशको अति मनोरम स्थान हामीले साक्षात्कार गर्न सकेका रहेनछौं।
सायद यो हाम्रो कमजोरी नै हुनसक्छ- हामी सेखासेखीले आन्तरिक पर्यटनलाई हेला गरी र मुद्रा पलायन गरिरहेका छौं।
सुन्दरता प्राप्त गर्न कठिन यात्रा गर्नुपर्छ भन्ने उक्तिलाई आत्मसात गर्दै, हामी धर्तीकी स्वर्गको खोजीमा निस्कियौं।
सम्भाव्यताको आधारमा विकटता र कठिनाइको प्रतीक बनेको कर्णालीलाई गन्तव्य बनाइएता पनि, सुन्दरताको खोजी भने ठ्याक्कै कस्तुरीको बीना जस्तै रहस्यमय र अन्तहीन लागिरहेको थियो।
कल्पनामा मात्र देखिएको, तर अनुभूतिमा मात्रै महसुस गर्न सकिने सुख, सौन्दर्य, भोग र आत्मसन्तुष्टि प्राप्त हुने ठाउँ नै सायद स्वर्ग होला।
सबैले नदेखेको स्वर्गकै बयान गर्छन् र हामी त्यही बयानको पछाडि कर्णालीमा खोज्नु पर्दा - कालिकोटको पाचल झरना, हुम्लाको नेप्का गाउँ, डोल्पाको से फोक्सुन्डो ताल, डोल्पाकै छर्का भोट उच्च मानव बस्ती, जुम्लाको सिन्जा उपत्यका, मुगुको रारा ताल आदिमध्ये कहाँ खोज्ने दुविधामा पर्यौं।
-1763797143.jpg)
गुगल म्यापबाट देखिएको एउटा निलो थोप्लो अर्थात् नेपालको सबैभन्दा ठूलो ताल– 'रारा' जहाँ राजा महेन्द्रले वि.स. २०२० सालमा अवलोकन गरेर 'स्वर्गकी अप्सरा' भनेर नामकरण गरेका रहेछन्। यसले हामीलाई सहजता प्रदान गर्यो।
तालको सुन्दरताको बयान गर्नेहरू भन्छन्- धर्तीकी स्वर्ग, प्रकृतिकी अप्सरा, हिमालकी निली रत्न, स्वर्गधरा, बहुरूपी निली जलपरी, कर्णालीकी मणि, निलो स्वर्ग, रारा ब्लु, कर्णालीकी प्रतिबिम्ब, राराकी अप्सरा जस्ता उपनामले हामीलाई 'वीणा' खोज्न आतुर बनायो।
करङ आकारमा नाली भएर बगेको नेपालकै लामो नदीको विकट भूश्रृङ्खलाको कोखमा कठिन र कहालीलाग्दो भिरपहराका साँघुरा खाल्डे बाटाहरूमा ज्यान जोखिममा राखेर लामो समय झेल्दै जानुपर्दा र अझ अनकन्टार जस्ता लाग्ने बस्तीविहीन यात्राले पट्यार लाग्न सक्छन्। अनि त धर्तीको स्वर्ग भेटिँदैन होला कि? भने जस्तो लागेर फर्कन दुरूत्साहन पार्न सक्ने मानसिकताले दिक्तता पनि भर्न सक्छन्।
अथक प्रयासका बाबजुद, सुन्दरताको प्रतीक रारा राष्ट्रिय निकुञ्जभित्र एउटा अद्वितीय ताल रहेछ। जहाँ साइबेरियाबाट समेत चराहरूका झुण्ड घुम्न आउने रहेछन्।
कञ्चन, स्निग्ध, निर्मलजल सलबलाउने पवित्र तालको उत्तरतर्फ चाँदीझैं मनोरम हिमाल साइपाल, कान्जिरोवा, चन्दननाथ, चंखेली, सिस्ने सँगैका टाकुराहरूमा उत्तरमा रूम काँध र मालिका काँध, दक्षिणमा चुचेमारा टाकुरा, पश्चिममा मुर्मा टाकुरा र पूर्वमा मिलीचौरका थुम्काहरू, आसपासका घाँसे मैदान र जडीबुटीका उद्यानलाई कोणधारी वनस्पतिले घेरेको रहेछ।
यसको बीच भागमा अवस्थित २९९० मि. उचाइमा अन्दाजी लम्बाई ५.१ किमि, चौडाइ ३.२ किमि, औसत १६७ मि. गहिराइमा १६ किमि परिधि भएको रामसार सूचीकृत रारा ताललाई एक फन्को मार्न छ घण्टा बिताउँदा पनि परामनन्दले अझै धित मर्दैन। गुगल म्यापमा र तस्बिरमा देखिएकी धर्तीकी रानीलाई प्रत्यक्ष आफ्नै आँखाले देख्न पाउनु एक अनुपम र अलौकिक क्षण हुन गयो।
राराको अद्भूत विशेषता भनेकै रङ परिवर्तन गर्ने स्वभाव रहेछ। सूर्योदयको बेला गगनमा सूर्यका लालीसँगै क्रमशः किरण तालमा पर्दा रारा फिक्का हरियो अनि निलो रङ्गमा मुस्कुराउँदा शान्त र सुरम्य देखिन्छिन्। मध्याह्न सूर्यको किरण तालमा पर्दा गाढा निलो रंगमा गहिराइसँगै प्राकृतिक दर्पण बन्दी रहिछिन्।
त्यस्तै, साँझपख गोधूलीको समयमा घामका सुनौला किरणले होला, यस्तरी नै सप्तरङ्गी इन्द्रेणी झैं बैजनी रङ्गमा मुस्कुराउँछिन्। त्यो दृश्य यति मोहक हुन्छ कि आँखाले देखे पनि मनले पत्याउन मुस्किल पर्छ। रारा यी तीन समयमा मात्र होइनन्, प्रत्येक सेकेन्डमा बहुआयमिक रङहरू फेर्दै रहन्छिन्- जसलाई शब्दले बयान र क्यामेराले कैद गर्न सक्दैन। यसलाई त आँखाले अनुभूत गर्ने, मस्तिष्कले महसुस गर्ने र हृदयले आत्मसात गर्नुपर्छ।
बिहान १२ बजेसम्म रारा स्थिर र शान्त हुन्छिन्। त्यसपछि वायुको वेग बढ्दै जान्छ र छालहरू तरंगीत हुँदै जान्छन् अनि डुंगाहरू चल्नै छाड्छन्। ती छालले पानी मात्र होइन भावनाहरू पनि तरंगीत पार्दोरहेछ। आफ्नै प्रतिबिम्व पनि हिमाल, पहाडसँगै तालको पानीमा हल्लिन्छ। तब सोचहरू गहिरिन्छन, मन कताकता हराउँछ र घन्टौं बितेको पत्तै नहुँदो रहेछ। यसले यात्राका दुःखद् अनुभूतिहरू विस्मृत हुँदा रहेछन्, अनि स्वर्गीय आनन्द प्राप्त हुँदोरहेछ। त्यतिबेला हिमश्रृङ्खलामा क्षितिजसँगै बादलका घुम्टाहरू र जीवजन्तुका आकृतिहरू, कुनै क्यानभासका तस्बिरहरू जस्ता लाग्दछन्।
-1763797142.jpg)
उता घोडाको टापसँगै बजिरहेको घन्टी, चराको चिरबिर, झ्याउँकिरीको सुरम्य आवाजले जो कोहीलाई मदहोस पार्दछ। तालमा तैरिरहेका कमलको फूलमा जलहासको जोडीमाथि माता सरस्वती विराजमान भए जस्तो लाग्दा आफू देवलोकमै छु कि जस्तो भ्रम पार्दोरहेछ।
पर्यटकहरूको हर्षबोधक शब्दहरूले अन्तत: आफूलाई पार्थिव स्वर्गमा पुगेको अनुभूति दिलाउँदो रहेछ। वास्तवमा रारा केवल 'अप्सरा' मात्र होइनन्, उनी प्रकृतिको सुन्दरी, हिमाली जनजीवनको प्रतीक, सम्पदा र संस्कृतिको धरोहर, स्थिरता र शान्तिको मातृभूमि हुन् - जसले योगध्यानमा लीन योगी नरहरिनाथ जस्ता तपस्वी जन्माउन सक्ने शक्ति राख्दि रहिछिन्।
राराको उत्तरी किनारमा नेपाली सेनाको टुकडी, राष्ट्रिय प्रकृति संरक्षण कोष र आगन्तुकका लागि केही होटलहरू छन्। यति विशाल रारालाई छेउबाट हेर्दा आँखामा अटाउन्न रहेछिन्। सिंगै हेर्न त माथि मुर्मा टप जानु पर्ने रहेछ। यसका लागि तालको पश्चिमपट्टिको निकास निजार खोला (खत्याड खोलाको मुहान) भएर होमस्टे हुँदै र पुरानो मुर्मा गाउँको जनजीवन नियाल्दै जान सकिन्छ।
करिब दुई, तीन घण्टा उकालो चढेर हिँड्दै अथवा घोडसवार गरी क्रमशः ताललाई चियाउँदै ३५०० मि अग्लो मुर्मा टप पुगेर ताल र उपत्यकाको पूरै रूप आँखामा अटाउन सकिन्छ। यसका अलवा वरिपरिको छिमेकी जिल्लाहरू हुम्ला, जुम्ला, कालिकोट, बाजुरा साथै तिब्बतका केही भागहरू पनि देख्न सकिन्छ।
मुर्माटप वरपर केही होटल र होमस्टेहरू रहेछन्। केही क्षणको विश्रामपछि पनि अझै धित् मरेन, पुनः रारा ताल फर्केर हेर्दा वरिपरि हरिया जंगलले घेरेको उपत्यका र यसको मध्य विन्दु अर्थात् खाल्डोमा निलो मसी पोखिएझैं देखिने यो मनमोहक दृश्यले जो कोहीलाई लाग्छ- स्वर्ग नै नभए पनि आफ्नै मातृभूमि 'स्वर्गको एउटा अंश' अवश्य हो।
अपत्याउँदो तर सत्य, यस्तो विकट र उपेक्षित भूमिमा भगवानले भने न्याय नै गरेका रहेछन्। सन्तोषले सास फेर्दै करिब दुई घण्टा ओरालो झरेर पुनः तालमा नै पुगियो।
धर्तीकी अप्सरालाई मौसम अनुसार फरकफरक रूपमा दृश्यावलोकन गर्न सकिने रहेछ। हाम्रो यात्रा दसैं र तिहारको मध्यम समयमा थियो। हामी जानकी ट्राभल एण्ड टुर्स मार्फत भ्रमणमा निस्केका थियौं। टोलीमध्ये पनि हामी खास गरी ५ जनामा म, द्रोण केसी, रत्न केसी, टेक बहादुर केसी र पूर्ण खडका विशेष थियौं।
हाम्रो टोलीसँगै यात्रामा जोडिनु भएको यम घिमिरे र रमेश आचार्यको दम्पती पनि हुनुहुन्थ्यो। भ्रमणका लागि दुई मौसम उपयुक्त मानिँदो रहेछ- पहिलो बसन्त ऋतु, दोस्रो शरद ऋतु।
सुन्दरी रारालाई नियाल्न दुई मार्ग रहेछन्।
पहिलो हवाई मार्ग— नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थल पुग्न ४०-४५ मिनेट, सुर्खेतबाट ताल्चा पुग्न ३०-३५ मिनेट अनि थप गाडीबाट एक घण्टा र पैदल एक घण्टा हिड्नु पर्ने रहेछ।
दोस्रो सडक मार्ग — पूर्व पश्चिम राजमार्ग कोहलपुरबाट सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको रारा पुग्न २-३ दिनमा लाग्छ।
हाम्रो यात्रा उपत्यकादेखि उपत्यका- चार वटा भिन्न भिन्न भूगोल, संस्कृति, र संवेदनाले भरिएका उपत्यकाहरूको यात्रा - एक अद्भुत अनुभव बन्यो।
काठमाडौंबाट, जहाँ प्रकृति बिस्तारै कंक्रिटको जंगलमा रूपान्तरण हुँदै गएको छ।
धुँवा, धुलो, कोलाहल, घनाबस्ती र मानवीय संवेदना हराउँदै गएको अनुभूतिसँगै विशेष खोजीमा हामीले राजधानीको व्यस्तता छोड्यौं अनि सुर्खेत, सिन्जा र राराको निकटता भित्र जोडियौं।
जुन हाम्रो अन्तिम गन्तव्य थियो रारा - शान्त, स्वच्छ, र स्वर्गीय सौन्दर्यले भरिएको उपत्यका।
पूर्वपश्चिम राजमार्गको कोहलपुर बाँकेबाट 'सुर्खेत उपत्यका' हुँदै प्रकृतिसँग मितेरी गाँस्दै अघि बढ्दा सुर्खेतबाट दुई वटा मार्ग खुल्छन्। पहिलो पश्चिमपट्टि वीरेन्द्रनगर, दैलेखको तल्लो डुङ्गेश्वर र कर्णाली नदीको किनारै किनार हुँदै साई खोला, राकम बजार, मान्मा कालिकोट।
दोस्रो वीरेन्द्रनगर, गुराँसे, दैलेखको सदरमुकाम नारायणथान, माथिल्लो डुङ्गेश्वर हुँदै साई खोला, राकम बजार, मान्मा कालिकोट।
त्यसपछि यात्रा तिला नदीको किनारैकिनार टिमुरे भिर, ताडी, सेर वाडा, हुँदै नाग्मा बजार, अलि माथि तिला कर्णाली र हिमा कर्णालीको दोभानबाट हिमा कर्णाली हुँदै जुगाड खोला, नारा कोट, सेरो ज्युला हुँदै जुम्लाको 'सिन्जा उपत्यका', पुगिन्छ।
त्यहाँबाट गोठी ज्युला, भुलभुले, हुँदै मुगुको ताल्चा विमानस्थलबाट रारा जाने बाटोमा भेट भएर सल्लेरीको मिरी चौर, 'रारा उपत्यका'- ताल पुगिने र फर्कंदा माथि उल्लेखित पहिलो वा दोस्रो बाटोबाट सुर्खेत पुग्न सकिन्छ।
सुर्खेतको ऐतिहासिक धरोहर काँक्रे विहारको पुनर्निर्माणपछि देखिएको स्वरूप र देउती बजैको मन्दिर दर्शनले पुरानो स्मृतिमा डुबायो। यो यात्रा क्रमको अन्तिम गन्तव्यमा पुग्दा केवल सफलताको खुसी मात्र होइन, एक किसिमको आध्यात्मिक शान्ति र अनुभूति पनि भयो।
यसै अवसरमा जानकी ट्राभल एण्ड टुर्स, झापादेखि धनगढी सम्मका सहयात्रीज्यूहरूलाई आपसी सहकार्य र सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यात्राका सदस्यहरू बिस्तारै बिदाइ हुँदै जानुपर्ने अवस्थाले मनमा भावुकता र हल्का चिन्ता पनि थपिदियो।
कोहलपुरदेखि क्रमशः आआफ्नो कार्यक्षेत्रतिर छुट्टिँदै जाँदा सातौँ दिनमा काठमाडौं फर्केर यात्राको समापन गर्यौं।
यो यात्रा केवल भौगोलिक गन्तव्यको भ्रमण मात्र थिएन, यो आत्मीय यात्रा थियो- जहाँ आधुनिक सहरको प्रदूषण र कोलाहलबाट छुटकारा पाएर हामी प्राकृतिक, जैविक, मौलिक, सांस्कृतिक र ऐतिहासिक उपत्यकाहरूको गहिरो अनुभूतिमा डुब्यौं।
-1763797142.jpg)
काठमाडौं, सुर्खेत, सिन्जा र रारा चार उपत्यकाको भ्रमणपछि प्रष्ट भयो कि प्रत्येक उपत्यकाको आ-आफ्नै ऐतिहासिक पृष्ठभूमि, संस्कृति, रहनसहन र रितिरिवाज रहेछन्।
नेपाली भाषाको उद्गमस्थल सिन्जा उपत्यकाले प्राचीन सभ्यता बोकेको छ भने रारा उपत्यकाले प्राकृतिक सम्पदा, भौगोलिक र जैविक विविधता, पौराणिक दर्शन र विश्व जगतमा विशिष्ट पहिचान अंकित गरेको छ।
नेपालको समग्र विकास क्रममा विविधता बीच केही समग्रता पनि अवश्य भेटिन्छ, जुन प्रत्येक व्यक्तिको आफ्नै दृष्टिकोण, बुझाइ र विश्लेषणमा निर्भर हुन्छ। सामजस्यतालाई थाती राखेर असामजस्यताहरूलाई केलाउने हो भने, देखिएको जनजीवनलाई कसरी समता कायम गर्ने भन्ने सम्बन्धमा एउटा छुट्टै अध्ययन सम्भव छ।
यसका लागि सरोकारवाला पक्षसँग अनुरोध गर्दै स्थानीय जनजीवनलाई समृद्ध बनाउन आन्तरिक पर्यटनमा जोड दिन सुझाउँछु।
आफ्नै भूगोलको विकटताभित्र सुन्दरता खोज्दै हिँड्ने हामी जस्ता कैयन् यात्रुहरूको मनमस्तिष्कमा ताजा स्मृति बनेर आएको छ, थियो र हुनेछ - स्वर्गधरा रारा .... ।
-1763797142.jpg)
-1763797140.jpg)
-1763797140.jpg)
-1763797141.jpg)
-1763797141.jpg)