शनिबारको दिनलाई विशेष र अर्थपूर्ण बनाउने उद्देश्यले म र मेरो साथी जुलेन्द्रले घुमघामको योजना बनायौं।
मलाई साइकल यात्रा गर्न बहुत सौख लाग्छ।
साइकल यात्राले शारीरिक तन्दुरूस्ती मात्र होइन, मानसिक सन्तुलन, आत्मिक शान्ति र प्रकृतिसँग पनि नजिक बनाउँछ।
त्यसैले शहरीको कोलाहलबाट बाहिर, हरियालीले ढाकिएको, शान्त र सांस्कृतिक महत्त्व बोकेको स्थानमा केही समय बिताउने सोच बनायौं। त्यसैले यात्राको गन्तव्य बनायौं- चोभार डाँडा। किनकी त्यहाँबाट नयाँ ठाउँको खोजी गर्न पनि सकिन्थ्यो।
बिहान सबेरै, झण्डै ५ बजे नै हामी साइकल चढेर घरबाट निस्कियौं।
राजधानी निद्रामा मस्त थियो, सुनसान शीतल हावाको स्पर्श लिँदै बिस्तारै उज्यालिँदै गरेको बिहानीमा साइकल कुदाउनुको मज्जा नै बेग्लै थियो।
चोभार डाँडा पुग्दा सुनौलो घाम हरिया पातहरूमा झुल्किँदै थिए। मञ्जुश्री पार्कको शान्त वातावरण, चिसो हावाको स्पर्श, चराचुरूंगीको मीठो आवाजले थकानै बिर्साइदियो।
त्यहिबेला साथी जुलेन्द्रले नजिकै रहेको आदिनाथ मन्दिरको इतिहासबारे जानकारी दियो।
मैले भने आदिनाथ मन्दिरको नाम पहिलोपटक सुन्दै थिएँ।
अनभिज्ञ स्थलको यात्रा प्रायः रोमाञ्चक नै लाग्छ। त्यसैले तुरून्तै सहमत जनाएँ। केही उकालो चढेपछि हामी ऐतिहासिक र श्रद्धायुक्त आदिनाथ मन्दिरमा पुग्यौं।
मन्दिरको पहिलो झलक देख्नासाथ मन्त्रमुग्ध भएँ। तीनतले पगोडा शैलीमा निर्मित मन्दिर, परम्परागत नेवारी स्थापत्यकला र हस्तकौशलको अनुपम नमूना रहेछ। इँटाका सुन्दर पर्खालहरू, काठका कलात्मक झ्यालढोका, तिनको सतहमा कुँदिएका बारीक आकृति, र तामाका पत्रहरूले सजिएको छाना। यी सबैले मन्दिरलाई भव्य देखाइरहेको थियो भने पुरातात्विक महत्त्वको भएको भान गराइरहेको थियो। छेउमै रहेको ढुंगे मन्दिर र गुफाजस्तो बाटोले यसको ऐतिहासिकता झनै प्रगाढ बनाइरहेको थियो।
त्यहाँ भेटिएका एक वृद्धसँग कुराकानी गर्दै हामीले मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व बुझ्यौं।
उहाँका अनुसार, आदिनाथ मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूका लागि श्रद्धाको साझा केन्द्र रहेछ। हिन्दु धर्मावलम्बीहरूले यसलाई भगवान शिवको स्वरूप आदिनाथ मानेर आराधना गर्छन् भने बौद्ध धर्मावलम्बीहरूका लागि यो स्थल बोधिसत्व आनन्दादि लोकेश्वरको प्रतिक हो। यस्तो दुर्लभ धार्मिक सह अस्तित्वले काठमाडौं उपत्यकाको सांस्कृतिक सहिष्णुता झल्काएको छ।
जनश्रुतीअनुसार, १५ औं शताब्दीमा एक पुजारीले बागमती नदीमा बगिरहेको दिव्य मूर्ति भेटेपछि यहाँ मन्दिर स्थापना गरिएको थियो। पछि सन् १६४० तिर यसको पुनःर्निर्माण गरिएको मानिन्छ।
यहाँको अर्को विशिष्ट परम्परा भनेको 'भाँडाकुँडा चढाउने' चलन हो। जहाँ मानिसहरू थाल, कचौरा,चम्चाजस्ता धातुका भाँडाहरू चढाई आफ्ना दिवंगत आफन्तहरूको सम्झना, स्वास्थ्य लाभ, सन्तान प्राप्ति वा सफल वैवाहिक जीवनका लागि प्रार्थना गर्दछन्।
मन्दिर परिसरबाट काठमाडौं उपत्यकाको दृश्य निकै मनोरम देखिन्छ। टाढाबाट देखिने चोभार खोला, प्राचीन गुफाहरू, वरिपरीका हरिया डाँडा, र घामको झुल्कोले सुशोभित क्षितिज। यी सबैले यो ठाउँलाई अविस्मरणीय बनाउँछ। यस्तो अनुपम धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदायुक्त स्थल अझैं धेरैका लागि अपरिचित रहेको महशुस हुँदा मन भने अलि खिन्न भयो।
त्यसपछि हामीले अर्को आध्यात्मिक यात्रा तय गर्ने निधो गर्यौं। जुलेन्द्रले खोकनाको चौरमा अवस्थित प्राचीन सिकाली मन्दिर जान प्रस्ताव राख्यो। नयाँ स्थलको खोजी गर्नु तीर्थयात्रा गर्नु मलई मनपर्ने काम भएकाले नसोची राजी भएँ।
चोभारको जलविनायक मन्दिर दर्शन गरेर फास्ट ट्र्याक हुँदै भैंसेपाटीतर्फ लाग्यौं। त्यहाँबाट हाम्रो यात्रा सिकाली मन्दिरतर्फ अघि बढ्यो।
शान्त चौरको बीचमा, खोलाको किनारमा अवस्थित सिकाली मन्दिरको सौन्दर्य असाधारण थियो। वरिपरिका हरिया वनस्पति, हावाले हल्लाइरहेका रूखका पातहरू, पक्षीहरूको मधुर स्वर, यी सबैले वातावरणलाई दिव्यता र सजीवताको आभास दिएको थियो। मन्दिरको पारिपट्टि देखिने फर्पिङ बस्ती र त्यहाँको सादगीपूर्ण जीवनशैली मन्दिरको आध्यात्मिकतासँग घुलमिल भइसकेको थियो। सोही परिवेश र दृश्यले हामीलाई पनि छुँदै गयो।
मन्दिर परिसरबाट देखिने काठमाडौं उपत्यकाको दृश्यले आत्मिक सन्तोष, शान्ति र स्वर्गीय आनन्दको अनुभूति दिलायो।
सिकाली मन्दिर, जसलाई 'सिकाली थान' पनि भनिन्छ, खोकनाको परम्परागत नेवारी समुदायद्वारा पूजिने एक विशिष्ट तान्त्रिक तीर्थ हो।
देवी सिकाली, जो काली वा दुर्गाको अवतार मानिन्छिन्, तान्त्रिक शक्तिका रूपमा यहाँ आराधना गरिन्छ। मन्दिरको स्थापना कहिले भयो भन्ने ठोस ऐतिहासिक प्रमाण नभए पनि मौखिक परम्पराले यसलाई शताब्दियौं पुरानो भएको बताउँछ। यस मन्दिर परिसरले इतिहास, संस्कृति र जनविश्वासको अद्वितीय संगम प्रस्तुत गर्छ।
हरेक वर्ष असोज महिनामा सिकालीमा भव्य सिकाली जात्रा लाग्ने गर्छ। यस जात्रामा मुखौटे नाच 'देवी प्याखा', पाल्की यात्रा, र विविध धार्मिक अनुष्ठानहरू सम्पन्न गरिन्छन्।
विशेषतः पशुबली नहुने परम्पराले सिकाली मन्दिरलाई सहिष्णुता, आध्यात्मिकता र आधुनिक चेतनाको सन्तुलित केन्द्र बनाएको छ। मन्दिरको सम्पूर्ण परिवेशले दर्शन मात्र होइन, गहिरो सांस्कृतिक अनुभूति, अध्यात्मिक उर्जा र प्रकृतिसँगको आत्मीय सम्बन्ध जगाउँछ।
त्यो दिनको यात्रा केवल एक रमाइलो यात्रा मात्र थिएन, हामीले सांस्कृतिक सम्पदा, धार्मिक विश्वास र ऐतिहासिक गाथाको गहिरो अनुभूति पायौं। यस्ता स्थलहरूको संरक्षण, जिम्मेवार पर्यटन प्रवर्द्धन र भावनात्मक सम्बद्धता अत्यन्त आवश्यक छ भन्ने सोच हाम्रो मनमा बलियो रूपमा उठ्यो।
यही अनुभूति नै हाम्रो यात्राको सबैभन्दा गहिरो र सार्थक उपलब्धि बन्यो।