हाम्रा शीर्ष नेताहरूले बारम्बार आफ्नो भाषणमा दोहोर्याउने गर्छन्।
‘नेपाललाई सिंगापुर बनाउँछौं,’ उनीहरूले यसै भन्छन्।
मलाई रहर पनि थियो, हाम्रा नेताहरूले नेपाललाई कस्तो बनाउने सपना देखेका छन् भनेर बुझ्न।
१३ मे २०२५ मा म पहिलो पटक सिंगापुर पुगेँ। सिंगापुरको चांगी विमानस्थल उत्रनेबित्तिकै मलाई लागेको थियो, ‘ओहो! यो ठाउँ त साँचिकै स्वर्गको अनुपम र अद्वित्तीय टुक्रा हो।’
मेरो सिंगापुरको तीनदिने बसाइ अनुभवले भन्छ, नेपाललाई सिंगापुर जस्तै होइन, त्योभन्दा पनि राम्रो बनाउन सकिन्छ।
सहरीकरणको नाममा बोटबिरूवा कटान गर्न आवश्यक छैन भन्ने कुराको बलियो सन्देश पनि हो सिंगापुर।
मैले जे जति देख्न भ्याए त्यो सबै क्रमबद्धरूपमै साझा गर्दैछु। सुरू गर्छु, एयरपोर्टबाटै।
सिंगापुरको चांगी इन्टरनेसनल एयरपोर्ट संसारकै उत्कृष्ट र रमणीय विमानस्थलहरूमध्ये एक मानिन्छ।

यो एयरपोर्ट केवल अवतरण र उडान गर्ने ठाउँ मात्र होइन, यो त आफैमा एक अद्भुत गन्तव्य हो। एयरपोर्ट प्रवेश गर्ने बित्तिकै हरियाली परिवेश यसरी स्वागत गर्न तम्तयार छन्। कि, लाग्छ सिंगो प्रकृति नै यहीँ मौजुद छ।
नानाथरी फूलहरूको सुन्दर बगान आँखामा आउँछ। हरर बासना फिँजाएका छन्। क्या चित्ताकर्षक दृश्य।
एयरपोर्टको मुख्य भागमा रहेको ज्युवल चांगी भवनमा संसारकै अग्लो इनडोर झरना (एचएसबिसी रेन भोर्टेक्स) अवस्थित छ, जसलाई हरियाली फरेस्ट भ्यालीले घेरेको छ। यही भवनमा क्यानोपी पार्क पनि छ, जसले सबैलाई आाफूतिर खिच्छ। आकर्षित तुल्याउन कुनै कसर बाँकी राख्दैन।
एयरपोर्टभित्रको सफाइ, त्यहाँको सुव्यवस्थित सूचना प्रणाली र मुस्कानसहित स्वागत गर्ने कर्मचारीहरूले यात्राको थकान पलभरमै दूर गरिदिन्छ।
चांगी एयरपोर्टबाट बाहिर निस्कँदा मैले जे देखेँ, त्यो निकै प्रशंसायोग्य थियो।
एक्जिट गेटमा यात्रुहरूको सुविधा र सुरक्षाका लागि एयरपोर्टका कर्मचारी आफैले ट्याक्सी बोलाइदिने व्यवस्था थियो।
कोही लिन आउने रहेछन् भने भइहाल्यो, यदि छैनन् र ट्याक्सी चाहिने हो भने, उनीहरूले बोलाइदिएको केही मिनेटभित्रै ट्याक्सी आइहाल्छ। यसो हुँदा यात्रुले अनावश्यक झन्झट झेल्न पर्दैन। के होला? कता जाने होला? भन्ने सास्ती झेल्नु पर्दैन।
यथोचित भाडा लिने हुनाले यात्रुहरूले ठगिन्छौं कि भन्ने भय पाल्नै नपर्ने!
यो कार्यले पर्यटकलाई निकै प्रभावित तुल्याउन सक्छ। दोहोर्याएर सिंगापुर जान मन लागिरहन्छ।
के नेपालको एयरपोर्टमा यो सिस्टम सम्भव छैन?
एयरपोर्ट आफैंले अथवा पर्यटन क्षेत्रसँग सम्बन्धित सरकारी निकाय र निजी कम्पनीहरू मिलेर ट्याक्सी सेवालाई व्यवस्थित गर्न सकिन्छ। एयरपोर्टका केही कर्मचारीहरूलाई ग्राहक सेवा र ट्याक्सी व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएर यात्रुलाई विश्वसनीय ट्याक्सी सेवा उपलब्ध गराउन सकिन्छ।
हामीले पनि ट्राफिक र यातायातसम्बन्धि नियम व्यवस्थित गरेर ट्याक्सी सेवाको गुणस्तरलाई विश्वसनीय र भरपर्दो बनाउन सक्नुपर्छ। हामीकहाँ मनपरी भाडा असुल्ने परिपाटी छँदै छ। विमानस्थलमा उत्रिएका यात्रुहरूलाई तानातान गर्ने, महँगो भाडादर थमाउने व्यवहार बढेको भनेर पनि गुनासो सुनिन्छ।
नेपालको एयरपोर्टमा यो सुधार ल्याउन ठूलो लगानी होइन, नियम बनाउन र कार्यान्वयन गर्न सके मात्र पनि सम्भव छ।
यसले नेपाल भित्रिने पर्यटकमा राम्रो प्रभाव छोड्न सक्छ।
मेरा लागि बोलाइएको ट्याक्सी आउनेबित्तिकै त्यही लिएर म होटल फेयरमोन्टतर्फ लागेँ। जति जति अगाडि बढ्दै गएँं, त्यति नै सिंगापुरको सफा, शान्त र सौम्य सहरले मन एकोहोर्याइरह्यो। त्यस क्षण मलाई नेपालको दृश्यले पनि सताइरहन्थ्यो। अव्यवस्थित बाटाघाटा, दोहोरीलत्त छुटेका गाडी, उछिनपाछिन, भीडभाड सडकले मेरो मथिंगल हल्लाउँथ्यो।

ट्याक्सी एकतमासले कुदिरहेको थियो, इस्ट कोस्ट पार्क-वे हुँदै। त्यो रोड समुद्र किनारसँगै लमतन्न फैलिएको छ। बाटोको दायाँबायाँ हरिया रूखहरू, विभिन्न रंगका मनमोहक फूलहरू, सफा सडक र ट्राफिकको सजिलो प्रवाहले मलाई थप मोहित बनायो।
केही बेरमै हामी मरिना बे एरिया नजिक पुग्यौं। ट्याक्सीको झ्यालबाट मरिना बे स्याण्ड्स, सिंगापुर फ्लायर, अनि टाढै देखिएको गार्डेन्स बाइ द बेले सिंगापुरको आधुनिकता र सुन्दरताको चिनारी दिन्छ।

मलाई लाग्यो, ‘यो सहरले अब थप गर्नुपर्ने केही छैन, वर्तमानमै सिंगो भविष्य बाँचिरहेको छ।’
त्यसपछि हामी सेन्ट्रल बिजनेस डिस्ट्रिक्ट (सिबिडी) भित्र प्रवेश गर्यौं।
त्यहाँ देखिएका आकर्षक अनि गगनचुम्बी भवनहरू, व्यस्त र सभ्य मानिसहरू देख्दा सिंगापुरको अनुपम कला, वैभव र व्यावसायिक ऊर्जा सहजै अनुभव गर्न सकिन्थ्यो।
त्यसपछि ट्याक्सी सिभिक डिस्ट्रिक हुँदै कुद्यो, जहाँ पुराना भवनहरू र आधुनिक संरचनाहरूको सुन्दर सन्तुलन देखिन्थ्यो। त्यहाँ अवस्थित थियो, एउटा पुरानो अदालत भवन, नेशनल ग्यालरी सिंगापुर, अनि सडकको दुवै किनारमा हरिया बोटविरूवा। सबैले सहरको सांस्कृतिक पक्षलाई ऊर्जागर गरिरहेका थिए।
केहीबेरमै हामी होटल फेयरमोन्टको गेट अगाडि पुग्यौं। ब्रास बसाह रोडको त्यो क्षेत्र निकै शान्त तर आधुनिक थियो। त्यहाँ शैक्षिक संस्थानहरू, संग्रहालयहरू अनि पार्कहरू नजिकै थिए।
चांगी एयरपोर्टदेखि फेयरमोन्टसम्मको ट्याक्सी यात्रा एउटा सामान्य यात्रा मात्र थिएन। यो यात्रा सहरको अनुशासन, सौन्दर्य, प्रविधि र सांस्कृतिक समन्वयको जिउँदो प्रतिविम्ब थियो। मलाई लाग्छ सिंगापुरमा जन्मिनेहरू र यहाँ बसोबास गर्न पाउनेहरू निकै भाग्यमानी मानिन्छन्। यहाँबाट नेपाल जानेहरूले फर्किंदा कस्तो विचार बोकेर फर्कन्छन् होला?
नेपालको सुन्दरता अपरिहार्य छ तर व्यवस्थित छैन। नेपाल अनम्यानेज, अनप्लान कन्ट्रि हो, सायद यस्तै सोच्दा हुन्।
अब साँझमा आँखामा छाएको सिंगापुरको सौन्दर्यको बखान गर्छु।
साँझको करिब ७ बजेतिर फेयरमोन्टबाट निस्किएँ। होटलको आरामदायी वातारणबाट बाहिर निस्कँदा सिंगापुरको चिसो हावाले स्वागत गर्यो।
मरिना बे तर्फ लागेँ, जहाँ अत्याधुनिक भवनहरू र थरीथरीका बत्तीका सजावटले साँझको वातावरणलाई झनै रमाइलो बनाएको थियो। मरिना बेको किनारमा पैदल हिँड्दा सिंगापुरको आधुनिकता मात्र होइन, सांस्कृतिक मेलमिलापको पनि अनुभूति भयो।
त्यसपछि सेंटोसा पुगेँ, जहाँ कृतिम कला र प्रकृतिको अनौठो संगम देखिन्छ।
सिंगापुरको सडकमा हिँड्दा सबैभन्दा पहिला महसुस गर्ने कुरा त्यहाँको सुरक्षा व्यवस्था हो। सफा सडकहरू व्यवस्थित मात्रै होइन, अत्यन्त सुरक्षित र मर्यादित छन्। पैदलयात्रीका लागि अलग बाटोहरू स्पष्ट रूपमा छुट्टिएका छन्।

एकै गतिमा हिँडिरहन्छन्, हरेक सवारीसाधनहरू। ट्राफिक नियम र ट्राफिक लाइटलाई बढो कुशलताकासाथ पालना गर्छन्। पैदल यात्रुलाई कुनै किसिमको असहजता छैन। जेब्राक्रसिङमा गाडिको भीडलाई छिचोल्दै हिँड्नु पर्ने बाध्यता सिंगापुरमा छैन।
के नेपालको जेब्राक्रसिङलाई त्यसरी नै प्रयोग गर्न सकिँदैन? यसका लागि न बजेट छुट्याउनु पर्छ न ठूलो लगानीकै जरूरत पर्छ। पैदलयात्रु र चालक अनुशासित भए पुगिहाल्छ।
देशको सामाजिक अवस्था नेपालको जस्तै सकारात्मक देखिन्छ। विभिन्न जातजाति, भाषा र धर्मका मानिसहरू शान्तिपूर्ण ढंगले सँगै बसिरहेका छन्। स्थानीय नागरिकहरू शिष्ट, सभ्य र सहयोगी छन्। सडकमा हिँड्दा देखिने स्थानीयहरूको अनुहारमा शान्ति र आत्मविश्वास पूरापूर झल्किन्छ। सायद देशको प्रणालीले पारेको सकारात्मक प्रभावको रूपमा यसलाई लिन सकिन्छ।

बसोबास शैलीमा आधुनिकता र परम्पराको सुमधुर समायोजन छ। धेरैजसो मानिसहरूको व्यस्त जीवनशैली।
सडक छेउछाउका पार्क, सार्वजनिक स्थल र जनजीवनका गतिविधिहरूले यहाँको सांस्कृतिक विविधता मुखार गर्छन्।
सिंगापुरको सडकयात्रा केवल गन्तव्यमा पुग्ने माध्यम होइन, देशको सुशासन, मानव जीवनशैली र संस्कारलाई नजिकबाट बुझ्ने एउटा अवसर पनि हो। मलाई यस्तो लाग्यो, सिंगापुर एक सुरक्षित, व्यवस्थित, र समृद्ध राष्ट्र हो भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन।
सिंगापुरको शैक्षिक प्रणाली विश्वमै प्रशंसा गरिन्छ र उच्च कोटिको मानिन्छ। यहाँका विद्यालयहरू अत्याधुनिक सुविधाले सुसज्जित छन् र शिक्षाको गुणस्तर अत्यन्तै राम्रो छ। विद्यार्थीहरूलाई प्राविधिक, वैज्ञानिक, र सांस्कृतिक क्षेत्रमा राम्रो प्रशिक्षण दिइन्छ। शैक्षिक प्रणालीमा कडा अनुशासन, व्यवस्थित पाठ्यक्रम, र शिक्षण पद्धतिमा नवीनता देखिन्छ।
सिंगापुरको त्यो व्यस्त सडकमा मैले मोटरसाइकल देखिनँ। त्यहाँको यातायात प्रणाली धेरै विकसित र व्यवस्थित छ।
सहरमा सार्वजनिक यातायातको पहुँच र सुविधा उत्कृष्ट भएकाले धेरै मानिसहरूले मोटरसाइकलको सट्टा मेट्रो, बस, वा ट्याक्सी प्रयोग गर्ने रहेछन्। यसरी सार्वजनिक यातायातको सेवा राम्रो हुने हो भने सडकमा भिड कम गर्न सकिँदो रहेछ।
सस्तो र सहज यात्राले सडकलाई सफा, सुरक्षित, आधुनिक र व्यवस्थित बनाउँछ।
सिंगापुरको बाटो काट्दै गर्दा मैले सोच्थेँ– नेपालमा जेब्राक्रसिङबाट पनि ढुक्क भएर रोड क्रस गर्न कहिले पाइन्छ होला ?
हातले इशारा गर्दै गाडीहरूलाई छल्दै, छिचोल्दै जेब्राक्रसिङबाट सडक पार गर्न अझै कति वर्ष कुर्नुपर्ला? यहाँबाट नेपाल जानेहरूलाई रोड क्रस गर्न कति संर्घष गर्नुपर्छ होला?
यो त मैले पहिलो दिनको प्रसंग सुनाएँ। अब म दोस्रो दिनको चर्चा गर्नेछु।
दोस्रो दिन मैले फेयरमोन्टबाट रफफल सिटी मल र लिटिल इन्डिया यात्रा गरेकी थिएँ।
बिहान करिब ११ बजे फेयरमोन्टबाट निस्किएर ५ मिनेट जति पैदल हिँडेपछि म रफफल सिटी मल पुगेँ। त्यहाँ विभिन्न ब्राण्डका स्टोरहरू थिए। मैले केही कपडा, ह्याण्डब्याग र परफ्यूम लिएँ।
त्यसपछि लिटिल इन्डियातर्फ लागेँ। रफफल सिटीदेखि लिटिल इन्डियासम्मको छोटो दूरीमा धेरै कुरामा फरकपन पाउन सकिन्छ। लिटिल इन्डिया नपुग्दै सेलेगी रोडतर्फ लाग्दा अचानक एउटा ऐतिहासिक भवनमा पुगेर आँखा अडिन्छ त्यो हो, १९२४ मा निर्माण गरिएको एलिसन बिल्डिङ। यो भवनले मलाई यसरी आकर्षित गरिदियो की, अघिसम्म चुपचाप बसेकी म यो भवनको बारेमा नसोधी बस्नै सकिनँ। ट्याक्सी चालकलाई सोधिहालेँ।
उसले ट्याक्सीलाई थोरै छेउ लगायो। र, मलाई यो भवनको बारेमा जानेजति बुझाइदियो। रोमानियाली यहूदी व्यापारी आइज्याक एलिसनले आफ्नी पत्नी फ्लोरा एलिसनको नाममा निर्माण गरेका थिए, यो भवन।

अद्वितीय अर्धवृत्ताकार गुम्बज शैलीले यो भवनलाई सिंगापुरको यहूदी इतिहाससँग जोडेको छ। समयसँगै यो भवनको धेरै भागहरू जीर्ण भैसकेका छन्, तर यसको वास्तुकलाले अझै पनि सयौं मानिसहरूको ध्यान तानिरहेको हुन्छ। अहिले नर्थ–साउथ कोरिडोर निर्माणको कारण यो भवनको केही भाग प्रयोगमा छैन, तर यसको मौनताले स्पष्ट इतिहास बोकेको छ।
एलिसन बिल्डिङ पार गरेपछि एउटा रंगिन सहरमा प्रवेश गर्न सकिन्छ। त्यो हो, लिटिल इन्डिया। यहाँका विभिन्न पसल, मन्दिरहरू, परम्परागत लुगा र सांगीतिक वातावरणले हाम्रो छिमेकी राष्ट्र भारतको झल्को दिन्छ। मैले त्यहाँको मुस्तफा मलमा केही सामान किनमेल गरेँ।
मुस्तफाबाट बाहिर निस्किएर हिँडिरहदा केही वर्षअघि भारत घुम्न गएको सम्झना ताजा तुल्याइदियो। भारतका गल्लीहरूमा हिँडिरहेको भान भयो। तर यहाँको सडक भारतभन्दा निकै सफा, सुन्दर र चिटिक्कका छन्। मुस्तफा सेन्टरकै अघिल्तिर रहेको बालाजी भावन भेजिटेरियनमा छिरेँ। त्यहाँ इन्डियन परिकारको मिठो स्वाद लिने अवसर पाएँ।

सिंगापुरको लिटिल इन्डिया एक रंगीन जीवनशैलीको संसार हो। जहाँ विभिन्न स्वाद, धुन र रंगहरू जीवन्त भएर बाँचिरहेका छन्। ब्रिटिश उपनिवेशकालको एउटा इतिहास बोकेको यो सहर परम्परा, धर्म, संस्कृतिसहित पुरानो शैलीमा आधुनिक जीवन बाँचेका छ। यहाँको गल्लीहरूमा पाइने पुराना सप हाउस अझै पनि उस्तै आकर्षक छन्। दुई–तीन तल्ले रंगीन भवनहरूमा तल पसल र माथि मानिसहरूको बासस्थानको संयोजन छ। यहाँका केही घरहरू स्थानीय बासिन्दाले नै प्रयोग गर्छन् भने धेरै भवनहरू पसल, रेस्टुरा वा होस्टलमा रूपान्तरण भइसकेका छन्।
यहाँका गल्लीहरू साँघुरा भए पनि जीवन भरिपूर्ण देखिन्छ। हिन्दु मन्दिर, इस्लामिक मस्जिद, गिर्जाघर र बौद्ध मठहरूको सहअस्तित्व रहेको यो सानो सहर साच्चै धार्मिक सहिष्णुता एवम् विविधताको अनुपम सौन्दर्य र प्रतिक हो।
लिटिल इन्डिया एउटा यस्तो ठाउँ हो, जहाँ परम्परा र आधुनिकता एकसाथ हातेमालो गर्दै हिँड्छन्। यहाँको रहनसहन हेर्न मात्र होइन, महशुस गर्नुपर्ने महत्त्वपूर्ण अनुभव पनि हो। यहाँको जीवनशैली, जहाँ सादगी, संस्कार र सहअस्तित्वले सिंगापुरलाई बहुसांस्कृतिक राष्ट्र बनाउन मिहिनेत गरिरहेको छ।
सिंगापुरका हरेक गल्लीमा फरकफरक कथाहरू लुकेका छन्, र यो यात्रा तिनै कथाहरूको मौन साक्षात्कार हो।
फेयरमोन्टको कोठामा झ्यालको पर्दा खोल्नेबित्तिकै मैले देखेको दृश्यले मलाई केही छिनका लागि स्तब्ध बनायो। ब्यस्त सहरको मुटुमा बसेर पनि कति शान्त, कति सन्तुलित लाग्थ्यो त्यो क्षण।
झ्यालको ठिक अगाडि विशाल भवनहरू, व्यवस्थित पार्कहरू र चलायमान मानिसहरूको ओहोरदोहोर देखिन्थ्यो। काममा जाँदै गरेका, फर्किंदै गरेका मानिसहरू, गल्लीको छेउमा बत्ती बल्न थालेका ट्राफिक पोस्टहरू यी सबैले साँझको सहरलाई जीवन्त बनाइरहेका थिए।
त्यसको केही पर, देखिन्थ्यो, मरिना बे स्याण्ड्स को गगनचुम्बी संरचना, आकाशमा झुण्डिएको जहाजजस्तै देखिने त्यो आइकोनिक भवन साँझपख झुल्किरहेको सूर्यको रङमा रंगिएर झनै मोहक प्रतीत हुन्थ्यो।
मरिना बे को आसपास बल्न थालेका रंगीचंगी बत्तीहरू, बेफ्रन्ट तर्फ चम्किएका पानीका छालहरू, अनि टाढा देखिने फ्लायर सिलुएट, यी सबै दृश्यहरू परै बसेर पनि मनभित्र गहिरिएका थिए।
कोठाभित्रबाट हेरिरहदाँ एकै झ्यालभित्र सिंगापुरको सिंगो इतिहास र आधुनिकता सँगै अटाएको त्यो दृश्य, मेरो सिंगापुर यात्रा भित्रको सबैभन्दा शान्त, गहिरो, प्रेमिल र सम्झनलायक अनुभव बनेको छ। जसलाई सायद अरू कुनै यात्राले प्रतिस्थापन गर्न सक्दैन।
अनि सोचेँ- नेताको भाषणमा सीमित भएको नेपाललाई सिंगापुर बनाउने सपना।
