गोसाइँकुण्ड जाने योजना बन्यो।
पदयात्राका लागि चाहिने केही सामग्री किन्यौं त केही घरमै भएकाले काम चालउने भयौं।
साथीहरूसँग लामो यात्रा गर्ने भएकाले साह्रै उत्साहित थिएँ। पदयात्रा जाने उग्र इच्छा थियो। तर सामान्य हाइकिङ पनि नगएकाले र लामो पदयात्रामा केहि होला कि भन्ने कता कता डर लागिरहेको थियो।
जेठ ११ गते आठ जनाको टोली गोसाइँकुण्ड पदयात्राका लागि रसुवाको धुन्चेतर्फ लाग्यौं।
शिवपुरी राष्ट्रिय निकुञ्जको पहाड चढेर छहरे हुँदै बेलुकीको साढे ८ बजेतिर धुन्चे पुग्यौं। धुन्चेमा हाम्रो सम्पर्क व्यक्ति थिए, ज्ञानेन्द्र न्यौपाने।
उनी राष्ट्रिय समाचार समिति (राससक) का स्थानीय संवाददाता। उनी त्यहाँका पाका र अनुभवी पत्रकार हुन्।
धुुन्चेमा उनले खानेबस्ने सबै बन्दोबस्त मिलाएका थिए। फ्रेस भएर बेलुकाको खाना खायौं। त्यसपछि ज्ञानेन्द्रजी कै सहयोगमा धुन्चे अस्पतालमा समान्य स्वास्थ्य परीक्षण गरायौं।
लेक लाग्नबाट जोगिन औषधि र जीवनजल खायौं। त्यस रात धुन्चेकै होटलमा साँझ रमाइलो गरि बितायौं।
भोलिपल्ट बिहान ४ बजे उठेर नास्ता खाएर गोसाइँकुण्डको पदयात्रा सुरू गर्यौं। झोला बोकेर लठ्ठीको साहारा लिँदै हामी अघि बढ्यौं। करिब ४५ मिनेट जति तेर्सो बाटो हिँडेपछि आउने मिनी गोसाइँकुण्डसम्म न्यौपाने दाइले हामीलाई साथ दिनुभयो।
'लु मिनि गोसाइँकुण्ड हाम्रो यात्रा सफल पार्नु है' भन्दै मिनि गोसाइँकुण्डलाई दाहिने पारेर अगाडि बढेपछि बल्ल यात्रा सुरू भयो।
मेरो पहिलो यात्रा भएकाले म साह्रै उत्साहित थिएँ। यात्रामा भेटिएकाहरूलाई ग्रिट गर्दै यात्रा अगाडि बढ्यो।
थकाइ मार्दै, बस्दै खानेकुराहरू खाँदै र फोटो खिच्दै विशुद्ध प्रकृतिको मज्जा लिँदै यात्रालाई निरन्तरता दियौं।
पदयात्रा सुरू भएदेखि पहिलो स्टेसन थियो छेन्दी, त्यहाँ एकैछिन विश्राम गर्यौं र उकालो लाग्यौं। हाम्रो गोसाइँकुुण्ड यात्राको टिममा अफिसको सबैभन्दा पछिल्लो ब्याचीदेखि अवकाशप्राप्त कर्मचारीसम्म थियौं। उमेर र ऊर्जा फरक होला तर यसपटको हाम्रो बाटो र गन्तव्य भने एउटै थियो। फरक मान्छे, फरक धरातल फरक इन्ट्रेष्ट तर गन्तव्य एक।
हामी एकनासले अगाडि बढ्यौं। यहाँ महिला र पुरूषबीच कुनै भेदभाव थिएन। बिस्तारै कछुवाको गतिमा हाम्रो यात्रा निरन्तर बढिरहेको थियो।
पूर्व निर्धारित समयतालिका अनुसार नै हामी देउरालीमा खाना खान पुग्यौं। पहिले नै खाना अर्डर गरी सकेकाले केही बेरको आरामपछि नै खाना खायौं। भोक पनि सामान्यभन्दा बढी लागेको थियो। हाम्रो यात्रामा सबैभन्दा मिठो खाना देउरालीको नै थियो।
उकालो चढ्दै जाँदा सायद प्रकृतिको सुन्दरतासँगको सामिप्यताले मलाई अत्यन्तै आनन्द लागिरहेको थियो।
बिस्तारै बिस्तारै उकालो लाग्दै जाँदा साथी मुना र मलाई अलि गाह्रो भयो।
मुना बसेपछि उठ्न गाह्रो मान्थिन्, मलाई पनि त्यस्तै भइरहेको थियो।
मेरो जीवनको पहिलो पहाड चढाई थियो त्यो।
यति लामो पैदल यात्रा पहिलो पटक गर्दै थिएँ। उता मुनाको पनि यस्तै रहेछ।
पहिले नै गोसाइँकुण्ड गइसकेकाले सुनाएका थिए- 'धैरै ठूलो समुह बनाउँदा सबैलाई सँगैसँगै हिँड्न मुस्किल हुन्छ।'
उनीहरूले भनेको कुरा हो रहेछ, फरक स्टामिनाका कारण सबैजना एकै पेसमा हिँड्न सकिँदैन रहेछ। त्यसैले समुहमा हिँड्दा अलिअलि समस्या भयो। यद्यपी हाम्रो टोली सँगैसँगै हिड्यौं।
हाम्रो यात्रा जति कठिन भएपनि मनमा भने बेग्लै आनन्द थियो। वरपरका जंगल, जंगलको शीत्तल हावा, बीचमा रहेको साँघुरो बाटो।
वरफर देखिने झरना, परपर कतै कतै देखिने साना बस्ती। तर ती बस्तीमा पुग्ने मोटरबाटो भने थिएनन्।
केही कदम हिँडेपछि उभिएर सोचेँ- 'ती बस्तीहरूको जीवनशैली कस्तो होला? रहनसहन कस्तो होला?'
चार पाइला अगाडि बढ्यो र खुइँय गर्दै रोकियो, टुस्स बसेपछि उठ्नै मन नलाग्ने। आँखा झिमिक्क नपारी परपरसम्म हेरीरहुँझैं लाग्ने। यस्तो रमणीय दृश्य थियो कि जे देख्दा पनि क्यामरामा कैद गर्न मन लाग्थ्यो।
कहिल्यै नदेखिएका सुन्दर र स्वच्छ दृश्यहरू, त्यो पहाड, त्यो वनबुट्यान, त्यो छहराहरूले छोएका चट्टानहरू, वाह! हाम्रो देश नेपाल।
फोटो खिच्दै, टिकटक बनाउँदै, गीत गाउँदै अगाडि बढ्यौं। घण्टी बजाउँदै हिँडेका घोडाका अवाजले मलाई अझै रमाइलो बनाइरहेको थियो। गोसाइँकुण्ड पुगेर फर्कनेहरूले विस्तारै जानुस् है भन्दै हामीलाई ढाडस दिन्थे।
हामी अब कति हिँड्नुपर्छ भन्दै सोध्दै अगाडि बढ्थ्यौं। मैले सोचेँ यात्रा गर्नेहरूबीच देखिएको त्यो सामिप्ता र त्यो सौहार्दता अन्य ठाउँमा सायदै पाइएला?
गइसकेका साथीहरूले माथि पुगेपछि जाडो हुन्छ भनेका थिए। सोही सल्लाहअनुसार लगाएका लुगाले पोल्न थालिसकेका थिए भने पिठ्युँको झोला पनि भारी लाग्न थालिसकेको थियो।
जलवायु परिवर्तनले गर्दा तापक्रममा परिवर्तन आएर हुन सक्छ हामीहरूले त्यति जाडो भने महसुस गरेनौं। तर हामीलाई मौसमले भने एकदमै साथ दिएको थियो। यात्रामा न पानी पर्यो, न धेरै जाडो नै भयो।
यात्रामा देखिएका गुलाबी, राता र विभिन्न रंग गुँरासका फूल, चराका चिरबीर आवाज र सुन्दर दृश्यहरूले हाम्रो थकान कम गर्ने ‘पेन किलरको’ काम गरिरहेको थियो।
देउरालीमा मिठो खाना खाएर पुन ढिम्साका लागि गन्तव्यतर्फ लाग्यौं।
ढिम्साका बाटोमा घाँटीमा झुन्ड्याएको घण्टी टिङ टिङ बजाउँदै गरेको घोडा डोहोर्याउँदै आएका एक जना भाइले भन्दै थिए, 'दिदी घोडा चढ्ने हो?'
'कति हो र भाइ?'
'देउरालीबाट लौरी बिनासम्मको १३ हजार।'
'अहिलेलाई भइगो भाइ। सकेसम्म हिँडेरै पुग्ने हो। गन्तव्यसम्म हिँडेरै पुग्ने संकल्पमा म अडिग रहेँ। गोसाइँकुण्डमा पदयात्रीलाई ओसार्न मात्र होइन धुन्चेबाट खाद्यान्न एवं अरू अत्यावश्यक सामग्री ओसार्नु ती घोडाहरूको दैनिकी थियो।
साथीहरूबीच भइरहेका रमाइला गफसँगै प्रकृतिसँग खेल्दै र हिँडाइको पीडा भुल्दै हामी ढिम्सा आइपुग्यौं।
यात्रा निरन्तर थियो। हामी यहाँ दिउँसै पुगेका थियौं। एकछिन विश्राम गरेर बास बस्नका लागि अझै माथि पुग्नुपर्छ भन्ने पूर्व योजनाअनुरूप चन्दनबारीतिर अघि बढ्यौं।
चन्दनबारीमा हामीले बस्ने स्थान खोज्यौ, त्यहाँ हामीभन्दा अगाडि नै २५२ जनाको जम्बो पतञ्जली योग समुहले सबै होलट बुक गरिसकेको रहेछ।
त्यसपछि त्यो दिनको यात्रा अझै लम्बिने निश्चित भयो। हामी अगाडि बढ्न बाध्य भयौं।
चन्दनबारीमा चौरीको दुध चिया र झोलामा बोकेको भुटेको मकै खायौं। र थाकेका खुट्टामा औषधि लगाएर चोलाङ पाटीसम्मका लागि यात्रा तय गर्यौं।
थरथर काँपेका खुट्टाको सहारामा ठाडो उकालो चढ्न सुरू गर्यौं।
चन्दबारीबाट चोलाङ पाटीसम्म पुग्ने बाटो ठाडो उकालो नभई तप्युँ तप्युँ थियो। त्यहाँ पुगेपछि त बस्न पाइन्छ भन्ने लागेर खुट्टा कटकटी दुःखे पनि यात्रामा विश्राम नगरी हिँड्यौं।
बल्ल बल्ल पुग्यौं। त्यो दिन अलि बढी नै हिँडेको अनुभव भयो। पहिलो पटक पदयात्रामा निस्केका हामी एकैदिन १२/१३ घण्टा हिँड्नुु चानचुने कुरा थिएन। त्यहाँ पुग्न त पुग्यौं तर हामीले तलैबाट भनेको होटल भीड रहेछ। यद्यपि अर्को होटलमा भए पनि कोठा पायौं।
कतिबेला खाना खाएर सुत्न पाइएला जस्तो लागेको थियो।
खाना खाइवरी एकैछिन तातो पानी खाँदै आगो तापेर आआफ्ना कोठमा लाग्यौं।
खुट्टा एकदमै दुखेको थियो। त्यस्तो दुखाइमा निन्द्रा लाग्ने त कुरै भएन। कटकटी दुखेका खुट्टा कमला मेडमले मेरो र मुनाको पालैपालो थिचिदिनुभयो। त्यही पनि बीसको उन्नाइस भएन।
फेरि भोलि बिहानै उठ्नुपर्छ भनेर सुत्न प्रयास गरेँ, तर दुखाइले आँखा जोड्न सकिँनँ। पछि कुनबेला निदाएँ पत्तै पाइनँ।
अर्को दिन बिहान ४ बजे नै उठेर पुनः चोलाङपाटीबाट गोसाइँकुण्डका लागि निस्कियौं।
ठाडो उकाले भएकाले सबैजना बिस्तारै हिँड्दै थिए। म पनि सकिनसकी हिँड्न थालेँ। तर सकिनँ।
संयोग कस्तो भने एक जना भाइ रित्तै घोडा लिएर हिँडिरहेको रहेछ। उसले मलाई प्रस्ताव गर्यो- जाने हो दिदी, मिलाएर लगिदिन्छु।
मैले उनको पहिलो प्रस्तावलाई अस्वीकार गर्दै भने, 'भैगो भाइ, हिँड्छु।'
आँट अझै डगमगाएको थिएन। त्यो भाइ अगाडि बढ्यो। तर, थाकेका खुट्टा र दुःखेका शरीरले अगाडि बढ्न साह्रै गाह्रो मानेको थियो। मैले घोडा चढ्ने निर्णय गरेँ।
घोडा चढ्न डर लागिरहेको थियो, किनकी पहिलोपटक घोडा चढ्दै थिए। सुरूमा असहज भएता पनि पछि सहज हुँदै गयो।
खुलेको आकाश, वारीपारी डाँडा, चाँदी जस्तै टल्केको लाङटाङ हिमालको मज्जा लिँदै घोडाको सहाराले अगाडि बढ्यौं।
मलाई घोडामा चढाउने ती शेर्पा भाइ पनि निकै मिजासिला रहेछन्। घरी मोबाइल मागेर फोटा पनि खिचिदिन्थे।
ती शेर्पा भाइका कुरा, त्यहाँको बसाइ र अनुभवबारे नयाँ कुरा सुन्दै जाँदा पनि बेग्लै रमाइलो।
चोलाङ पाटीबाट दुई किलोमिटर दूरीमा गुम्बा आयो। थाकेको शरीर, दुखेका खुट्टा र लौरीबिनाको त्यो ठाडो उकालोले गर्दा यो यात्रा सबैको लागि कठिन नै हुने रहेछ। लौरीबिनाको उकालो नै सबैभन्दा ठाडो उकालो रहेछ।
हुन पनि कति ठाडो उकालो कि नाकै ठोक्किएला जस्तो। फेरि त्यहाँ लेक लाग्ने सम्भावना पनि त्यत्तिकै। तर हाम्रो टोलीले अघिल्लो दिन नै लेक नलाग्ने औषधि खाइसकेका थियो। गुम्बा पुगेसँगै मेरो घोडासँगको यात्रा पनि सकियो।
गुम्बा पुुगेर लाङटाङ हिमालसहित केही फोटा कैद गर्दै यात्रालाई जारी राख्यौं। चोलाङपाटीबाट गुम्बासम्म घोडा चढेकाले एनर्जी सञ्चित थियो। त्यसैले पनि अब हिँड्न खासै समस्या थिएन, सरासर हिँड्यौं।
केहिबेर ती पहाड, ठूलाठूला चट्टान, र तल देखिने भैरव कुण्डको भिडियो बनाउँदै र फोटो खिच्दै सरासर अगाडि हिँड्दै थिएँ। अजङ्गका ढुंगाबीचको साँघुरा बाटामा मान्छे र घोडा नलडुन भनेर रेलिङ लगाइएको रहेछ।
पारी पहाडमा अलिअलि पग्लिन बाँकी रहेका हिउँका ढिक्का पनि देखिन्थ्यो। त्यहाँ पुग्दा गन्तव्य नजिकै छ भनेर होला थकान पटक्कै लागेको थिएन।
त्यहाँका अनौठो प्रकृतिक सौन्दर्य देख्दा, फोटो खिच्दा भावुक भएँ।
रून मन लाग्यो, सँगै कोहि नभएकाले रून लाज मान्नु परेन। त्यहिबेला छोरो र श्रीमानलाई सम्बोधन गरेर भिडियो पनि बनाएँ। मन हलुका भयो।
हरेक दुःख, सुख र रमाइलोमा परिवार मिस हुँदो रहेछ। परिवारसँगै आउन पाएको भए अझ रमाइलो हुन्थ्यो की जस्तो लाग्यो।
हिँड्दै गर्दा पारी डाँडामा एक दुईवटा घर देखिन थाल्यो। खुलेको बिहानी मौसम देख्दा मनै फुरूङ्ग थियो।
जति नजिक पुग्दै थियौं त्यति पाइला छिटो चल्दै थियो। अन्त्यमा निलो कुण्ड देखा पर्यो। मन हर्षित भयो। मनै आनन्द र शान्त भयो। थकान क्षण भरमै शून्य भयो। शरीरमा ऊर्जा आएको अनुभूति भयो।
स्वर्ग भन्ने ठाउँ कतै छ भने यही हो कि जस्तो लाग्यो। त्यो विशाल कञ्चन कुण्ड देख्दा, घन्टौं हेरिरहुँ जस्तो लाग्ने। त्यहाँबाट आँखै हटाउन मन नलाग्ने।
दुई चार दिन यतै बसेर आनन्द लिउँ जस्तो लागिरहेको थियो तर त्यो सहज थियो न त सम्भव नै।
कुण्डलाई नियाल्दा हावाले पानी बगाए जस्तो देखिन्थ्यो। ती पानीका छालले माझेका छेउका ढुंगाको साहरामा डुबुल्की मार्दै गरेका तीर्थयात्रीहरू। कस्तो स्वर्गीय आनन्द, स्वर्ग भनेको यस्तै त होला।
ती शब्दमा व्यक्त गर्न नसकिने अनुभवहरू साँच्चै अव्यक्त छन्।


