मलाई लाग्छ मान्छेको मन र माटो जोडिनु पर्छ। जरासँग नजोडिएको जीवन सार्थक हुँदैन। आफ्नो भूमिसँग जोडिनु पर्छ। आफ्नो भूगोलसँग जोडिनु पर्छ मान्छेले।
परिबन्धले परदेशिनु पर्यो मैले। म सँगसँगै मेरो परिवार परदेशियो। मेरा छोराछोरी पनि परदेशी बने। विदेशी भूमिमा जन्मेका र यतै कतैका नागरिक भए पनि नेपालीका छोराछोरीहरू नेपाली नै हुन्, हुन्छन् र हुनेछन्। संसारभर जहाँ जन्मे पनि, जहाँ पुगे पनि नेपालीका सन्तान नेपाली नै हुन्छन् भाषिक र सांस्कृतिक रूपमा मात्रै भए पनि।
हजार वर्षपछि जन्मिने मेरा सन्तानहरूलाई पनि तिम्रा पुर्खा कहाँबाट आएका हुन्? भनी कसैले सोधेमा गर्वसाथ भन्न सकून् कि मेरा पूर्वज नेपालबाट आएका थिए, माउन्ट एभरेस्टको देशबाट आएका थिए, लर्ड बुद्धको जन्मभूमिबाट आएका थिए। भन्न सकून् कि बेद र उपनिषद् रचना गर्ने ऋषिको सन्तान हुँ म। माउन्ट एभरेस्टमा पहिलो चढ्ने साहसी तेन्जिङ नोर्गे शेर्पा जन्मेको देशबाट आएका हुन् मेरा पुर्खा। विश्वभर शान्ति र सुखको शंखनाद गर्ने प्रकाशपुरूष महात्मा बुद्धको सन्तान हुँ म, युद्ध इतिहासका शुरवीर बहादुर गोर्खालीको सन्तान पनि मै हुँ। म हिमाल पर्वतको सन्तान हुँ। मसँग हिमालयझैं उच्च हृदय छ, त्यसैले त म भन्न सक्छु - बसुधैव कुटुम्बकम्। यो बसुधा अर्थात् पृथ्वीमा बस्ने सम्पूर्ण प्राणी मेरै आफन्त हुन्, कुटुम्ब हुन्। हजार वर्षपछि जन्मने मेरा सन्तानले पनि अठार पुराणको सार एक वाक्यमा बताइदिन सकून् कि परोपकार नै पुण्य हो र परपीडा महापाप।
यसका लागि मैले मेरा सन्तानलाई मेरो भाषा, संस्कार र संस्कृतिसँग मात्रै जोडेर पुग्दैन, मेरो भूमि र भूगोलसँग पनि जोड्नु पर्छ भनेर नै म बेलाबेला नेपाल यात्राको योजना बनाइरहन्छु, बुनिरहन्छु। यस्तै एक योजना बन्यो सन् २०२२ को गर्मी बिदाको बेला। ममी, म, बर्षा, प्रेषक र प्रसिद्धी नेपाल जाने भयौं एक महिनाका लागि।
वासिङ्गटन डल्लस अन्तर्राष्ट्रिय विमान अड्डामा सुरक्षा जाँचका लागि तल्लो तलामा ओर्लियौं। जाँचपछि माथिल्लो तलामा रहेको आफ्नो टर्मिनल जान आन्तरिक ट्राम चढ्दा एअरपोर्टभित्रै रेल चढेको अनुभवले केटाकेटी गद्गद् देखिए।
हिँड्ने बाटोमा पङ्क्तिबद्ध विभिन्न रेस्टुरेन्ट, पसल र ड्यूटी फ्री स्टोरहरू देखिए। सफा भुइँहरू र फराकिला बस्ने क्षेत्रहरू र चार्जिङ स्टेसनहरू टर्मिनलभरि छरिएका थिए।
आधुनिक वास्तुकलाको एक नमूना यो विमानस्थलको मुख्य टर्मिनल विशाल झ्यालहरूका कारण प्राकृतिक प्रकाशले उज्वलित थिए। ती विशाल भुइँदेखि छतसम्मका झ्यालहरूबाट रनवेमा दौडँदै गरेका विमानहरूको रोमान्चक दृश्य देखियो।
छतमा झुण्डिएका अन्तर्राष्ट्रिय झण्डाहरूले विमानस्थलको विश्वव्यापी कनेक्सनलाई प्रतिबिम्बित गरेको पाइयो। विमानस्थलको यो भव्यतामा रम्दा रम्दै विमान चढ्ने बेला भयो। कतार एअरवेजको विमान चढ्यौं, एक अलग उत्साह र उमङ्गका साथ। कोरोना महाकाल र महाप्रलयको समय चलिरहेको समय थियो। त्यो ऐतिहासिक त्रासदी छोप्न मास्क लगाएका थियौं सबैले।
भर्खर आठ कक्षा सकेको छोरो र चार कक्षा सकेकी छोरीको नेपाल जाने उत्साह र उत्सुकतालाई मास्कले छोप्न सकेको थिएन। तिनका आँखामा छचल्किरहेको देखिन्थ्यो त्यो खुसी।
बिहान ११ः३५ मा क्यू आर ७१० विमानले कतारको दोहाका लागि भुइँ छोड्यो। विमान सँगसँगै हामी सबै एक अलग उमङ्गले उचालियौं माथि आकाशतिर। विस्तारै विमान अझ माथि उचालिँदै गयो, आन्ध्र महासागरको आकाश माथि पुग्यो।
विमानको झ्यालबाट कपासजस्ता सेता बादलका थुप्राहरू हामीभन्दा धेरै तल देखिए। यी बादलका बुट्टाहरूको सौन्दर्यमा मोहित हुँदाहुँदै जहाजभरि मीठा मीठा परिकारका वासना हरर्र फैलिन थाले। यहाँ कार्यरत सुन्दर अप्सरा र किन्नर किन्नरीहरूले हामी हरेक यात्रीका आसनसम्म ती मिष्ठान्न परिकारहरू ल्याइपुर्याए। चिया ल्याए, कफी ल्याए, फलका रसहरू ल्याए, सोमरसहरू ल्याए। पटक पटक यस्ता स्वादहरूको मजा लिँदै, हावामा तैरिँदै, झ्यालबाट वायु मण्डलको रम्यतामा रम्दै, कोही सिनेमा हेर्दै, कोही उङ्दै निदाउँदै साढे १२ घन्टा लामो यात्रा तय गर्यौं हामीले।
अर्को बिहान सात बजे दोहाको हमाद अन्तर्राष्ट्रिय विमान अड्डामा सकुशल अवतरण गर्यौं।
त्यहाँ साढे २ घन्टाको ट्रान्जिट थियो। विमानबाट ओर्लेर चम्किला सिंगमरमरका भुइँमा हिँड्यौं। चार पाङ्ग्रे गल्फ कार्ट जस्ता बग्गी पनि गुडिरहेका थिए तर हामी हिँडेरै आयौं । त्यहाँ नेपाली दाजुभाइ पनि प्रशस्तै रहेछन्। ती बग्गी हाँक्ने पनि नेपाली नै थिए धेरै। केहीबेर हिँडेपछि विमानस्थलको चौरस्ता जस्तो फराकिलो क्षेत्र आइपुगियो। रंगीविरंगी पसलहरू, संगीतमय माहौल र मानिसहरूको चहलपहलले गुल्जार थियो त्यो चोक। ‘वाउ सो नाइस्’ देब्रेतिर देखिएको पहेंलो विशाल टेडी बियरको मूर्ति हेर्दै छोरी प्रसिद्धीले भनिन्।
‘जाऔं फोटो खिच्न’ वर्षाको प्रस्तावमा हामी सबै अरू सयौं मानिसहरूको हुलमा मिसियौं। पालो पर्खेर अग्लो बत्तीवाला खम्बा मुनि रहेको त्यो रमाइलो स्मारकलाई तस्वीरहरूमा सजायौं।
‘केही खानेकुरा किन्न हुन्छ?’ छोरो प्रेषकले इच्छा जाहेर गर्यो।
‘किन्दिनु न त’ नजिकै बर्गर किङतिर इशारा गर्दै ममीले भन्नुभो।
कन्कोर्समा पङ्क्तिबद्ध परफ्यूम, खुद्रा पसल, बुटिक, ड्युटी-फ्री लगायत उच्चस्तरीय पसलहरू र विविध खाना खाने रेस्टुरेन्टहरूमध्ये एक त्यही रेस्टुरेन्टमा पस्यौं। केहीबेरमा उच्च गुम्बजयुक्त त्यो दोहा विमान अड्डाको आधुनिक विलासिता र अरबी डिजाइनको रमिता सुँघ्दै काठमाडौं जाने जहाज चढ्न आफ्नो टर्मिनलतिर तेर्सियौं। विशाल झ्याल र स्काइलाइटहरूले उज्यालिएको त्यो फाइभ स्टार एअरपोर्टमा पारम्परिक इस्लामिक कलाहरू पनि देखिए कतैकतै।
भुइँतलाको भुइँदेखि छतसम्मका विशाल झ्यालहरूबाट रमिता हेर्दै गर्दा केहीबेरमा नेपाल जाने विमान चढ्ने बेला भयो। बिहान ९ः४५ को शुभ साइतमा क्यू आर ६४६ नम्बरको एअरबस चढ्यौं आफ्नो प्यारो मातृभूमिका लागि।
विमानको झ्यालबाट नजर डुलाउँदै दोहादेखि काठमाडौंसम्मको यात्रामा छौं।
एक भौगोलिक कथा पढ्दै गरेजस्तो लाग्दैछ। कतारको मरूभूमिबाट सुरू यो कथा विस्तारै अरब प्रायद्वीपका लहरिएका बालुवाका ढिस्काहरूमा परिणत हुँदै गयो। फारस र ओमानको खाडीको चम्किलो नीलो पानीमाथि उड्दै केही घन्टामा पाकिस्तानका पहाडी भू-भागमा प्रवेश गरेपछि अब नेपाल नजिकै छ भन्ने भावले मनमा आनन्दको अनुभूति सिर्जित भयो।
केहीबेरमा हिमालयका हिउँले ढाकिएका चुचुराहरू बादलका घेराबन्दी तोड्दै हँसिलो मुद्रामा आफ्ना धारिला शिखरहरूले आकाश छेडिरहेका देखिए। काठमाडौं नजिकिँदै गर्दा जहाज तल झर्दै गयो तर हाम्रा मनहरू खुसीले माथि उचालिँदै गए।
साँझ ४ः४५ मा विमानका पाङ्ग्राहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमान अड्डाको जमिनलाई चुम्बन गरे।
ओर्लेर आआफ्ना लगेज र व्यागहरू लिएर बाहिर निस्कँदा बेन्जु, हेमराज ज्वाईं, प्रिष्मा र परिसाको न्यानो स्वागत पाउँदा सबैका आँखा रसाए खुसीले।
बाहिर निस्केर वर्षाले एउटा टिकटक भिडिओ बनाइन् -उकाली ओराली गर्दै …..दु:ख पीडा बिर्सँदै म आएँ परदेशबाट फर्कि आएँ …
***
बिहान काठमाडौंमा ब्यूँझेँ पनि मनमा थिर भाव छैन। किनभने हामी घर पुगिसकेकै छैनौं। हाम्रो घर अझै टाढा छ-विराटनगर। काठमाडौं त ट्रान्जिट मात्रै हो। अब आज पूर्वतिर प्रस्थान गर्नुछ। बिहान उठेर नुहाईधुवाई र चियापानपछि साडुभाइ हेमराजजी र म गाडी खोज्न निस्कियौं।
हामी १० जनालाई पशुपतिनाथ दर्शन गराएर साँझसम्ममा धरान र विराटनगर पुर्याउने गाडी फेला पार्नु थियो। पर्यो। राधा ममी, दुर्गा ममी, हेमराज ज्वाईं, बेन्जु, प्रिष्मा, परिसा, प्रेषक, प्रसिद्धी, बर्षा, म र माइक्रो बस चालक आकाशजी गरी हामी एघार जनाको टिम पशुपतिनाथ दर्शनका लागि गौशालातिर लाग्यौं।
गौशाला चौक मुन्तिर हिले पार्किङ लटमा गाडी राखेर हिँड्दै पशुपति परिसरतिर अघि बढ्दै गयो हाम्रो टोली। सोमबारको बिहान मानिसहरूको घन्चमन्च राम्रै देखिन्थ्यो मन्दिर परिसरमा। 'हात धोएर जानु, फूल प्रसाद लिएर जानु' बाटाका दुवैतर्फ रहेका पसलहरूबाट निरन्तर अनुरोध आइरहेका थिए। ममी एउटा पसलमा पस्नुभो। हामी सबै अडियौं। दुई सेट फूल प्रसादका ढाकीहरू लियौं। पशुपतिनाथको मूल ढोकातिर लम्कियौं। देब्रेपट्टि डबलीमा असंख्य परेवाहरू चारो टिपिरहेका थिए। त्यहीँ छरिएका केही अन्न टिपेर हुत्याइँदियो प्रेषकले, केही परेवाहरू भुरूर्र उडेर गए, केही आए। तिनको चर्तिकला हेरेर केटाकेटी रमाए। 'यो मन्दिर युनेस्को वर्ल्ड हेरिटेज साइट हो' मैले छोराछोरीलाई कुरो बुझाउन थालें। नेपालको सबैभन्दा ठूलो हिन्दू मन्दिर हो यो, यहाँ हिन्दूहरूले विशेष आस्था र भक्ति साथ पूजा र दर्शन गर्छन्।'
दर्शनार्थीहरूको जुलुस जस्तो भीड छिचोलेर मन्दिरको मूल प्रवेशद्वारबाट भित्र पस्दा घण्टीको आवाज र धूपको सुगन्धले मन प्रफुल्लित भयो।
ठूल्ठूला अण्डकोष भएको पहेंलो विशाल बसाहाले बसेरै स्वागत गर्यो हामीलाई। मूल मन्दिर दर्शन गर्न लामो लाइनमा बस्यौं। आध्यात्मिक, कलात्मक र ऐतिहासिक महत्वले भरिपूर्ण चार मुखे शिवलिङ्गको दर्शन गर्यौं, पुजारीले निधारमा चिसो चन्दनको लेपन लगाइदिए। वरिपरि परिक्रमा गरी सबै साना मन्दिरको आशीर्वाद ग्रहण गर्यौं। पेटीतिर बसेका केही दीनदुखीलाई सहयोग गर्यौं। माथिबाटै बाग्मतीको दर्शन गर्यौं। म केहीबेर सोही परिसरमै बसिरहें। वास्तवमा मन्दिरमा असीम आनन्दको अनुभूति हुन्छ मलाई। चित्तमा चार्ज थपिए जस्तो लाग्छ। मन्दिरहरू चार्जिङ स्टेशनहरू जस्ता लाग्छन्। मन्दिरमा मन त्यसै त्यसै फुरूङ्ग हुन्छ मेरो।
पशुपतिनाथलाई अर्पण गरेको एउटा ढाकीमा रूद्राक्षको माला पनि थियो। त्यो माला मैले लगाएँ। रूद्राक्षलाई हिन्दू धर्ममा धेरै महत्वपूर्ण मानिन्छ।
भगवान शिवको आँसुबाट उत्पन्न भएको मानिने यो फल रूद्राक्षका वृक्षहरूमा फल्ने गर्छ। एकदेखि एक्काइस मुखसम्मका विभिन्न मुखी रूद्राक्षका फरक फरक महत्व र प्रयोग हुन्छन्। यसले मानसिक शान्ति र आध्यात्मिक उन्नतिमा सहयोग गर्ने विश्वास गरिन्छ।
हामी सानो हुँदा बिहान पूजापाठको क्रममा हजुरबुवाले रूद्राक्ष माला जप्दै गरेको देख्ने गर्थ्यौं। रूद्राक्षको नियमित जप र ध्यानले मानसिक एकाग्रतालाई सहयोग गर्नेरहेछ।
रूद्राक्षमा सकारात्मक विद्युतीय तरंगहरू हुने हुनाले शरीरको विद्युतीय क्षेत्रलाई सन्तुलित राख्न मद्दत गर्ने र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने वैज्ञानिक अध्ययनहरूले देखाएको बताइन्छ।
यसरी रूद्राक्ष धारणले व्यक्तिमा सकारात्मक विचारको विकास हुने, आध्यात्मिक मार्गमा अघि बढ्न प्रेरणा दिने र आत्मज्ञान र आत्मचिन्तनमा सहयोग पुर्याउने हुनाले मलाई पनि रूद्राक्ष मन पर्छ। लगाउने गर्छु। लगाएँ।
केहीबेरपछि गाडी भएतिर फर्कियौं। बाटोमा विभिन्न अक्षरका माला ब्रासलेट आदि बनाइरहेका केही भुइँपसलहरू देखिए। केटीकेटीले आफ्ना नाउँका ब्रासलेट लाउने इच्छा गरे। ओम्, शान्ति आदि अक्षर सहितका आआफ्ना नामका ब्रासलेट लगाउन पाएर चारैजना खुब खुसी भए।
पशुपतिनाथको यात्रा सम्पन्न गरी तृप्त भावमा हामी भक्तपुरतिर फर्कियौं। खाना खाएर फेरि अर्को यात्रामा निस्कनु थियो आकाशजीको गाडीमा।
साँझ घर पुग्नु थियो। केहीबेर सँगै हिँड्दैखेरि हाम्रा ड्राइभर आकाश आफन्त जस्ता भइसकेका थिए। हामी नेपालीहरूको यो बडो गज्जबको विशेषता लाग्छ मलाई। पहिलोपल्ट भेटेको मानिससँग पनि हामी कति सहजै आत्मीयता साट्न सक्छौं, आफन्ती व्यवहार गर्न सक्छौं। हाम्रो नेपालमा बाहेक दुनियाँमा यस्तो हार्दिकता हत्तपत्त भेटिँदैन बाबै।
आकाशजी, उहाँका सहचालकसहित सबै जनाले बेन्जुको घरमा खाना खाएर मध्याह्नतिर हामी अरनिको राजमार्ग निस्कियौं। बनेपा बर्दिवास जोड्ने बीपी हाइवे बनिकन त्यो बाटो हिँड्ने मौका जुरेको थिएन। यसपालिको नेपाल यात्राका क्रममा काठमाडौंबाट विराटनगर जान मैले यो बाटो रोजें। मुग्लिन नारायणघाट हेटौंडा हुँदै चल्तीको बाटो हिँडेको भए पनि हुन्थ्यो। तर मैले बेचल्तीको बाटो रोजेँ,अर्थात् कम चल्तीको बाटो रोजें।
हामी भक्तपुरबाट अरनिको राजमार्ग हुँदै बनेपातिर गुड्दै थियौं। असार महिनाको हरियालीले ढपक्कै ढाकेको थियो वातावरण। असाध्यै सुन्दर थिए पहाडी दृश्यहरू। बनेपाबाट अरनिको राजमार्ग छोडेर ओरालो झरेपछि बनेपा-सिन्धुली-बर्दीबास सडक अर्थात् बीपी हाइवे पसियो। मात्रै एक लेनको साँधुरो हाइवे। तर प्राकृतिक रूप र रम्यताले भरिपूर्ण। सुन्दर ग्रामीण नेपाली परिदृश्यहरू देखिए।
बाटाछेउ धानका हरिया गाँजहरू खेतमा लहलहाइरहेका देखिन्थे।आकाशजीले हाम्रो हायस गाडीमा गीत घन्काएर रोसी खोला किनारै किनार दौडाइरहेका थिए। हामी यात्रीहरू एक तमासले रमिता हेरिरहेकै थियौं।
कतै रोपाइँको तयारी स्वरूप हलो जोतिरहेका, बिउ काडिरहेका, कोदालो खनिरहेका किसानहरू देखिन्थे।
खेतका बीचमा कतै मकैका बोटहरू देखिन्थे। पृष्ठभूमिमा हरिया पहाडहरू, नीलो आकाश, सेता बादलहरू, पहाडको फेदीमा छरिएर रहेका अग्ला रूखहरू। महान् चित्रकारका महान् चित्रकलाका जस्ता दृश्य देखिन्थे।
हरियाली र प्राकृतिक सौन्दर्यका अनुपम पहाडी दृश्यहरू, अग्ला पहाडका काखमा टाँसिएर बसेका सुन्दर घरहरू, हरिया रूखहरूका घना जंगलहरूले सुनाएका मौन कथा सुन्दै नागबेली बाटाहरू छिचोल्ने क्रममा अब हामी सुनकोशी नदी किनार भएर गुड्न थाल्यौं।
‘हेर्नु हाम्रो देश नेपाल कति राम्रो छ’ आफ्नो मोबाइल फोनबाट भिडिओ खिच्दै बर्षा भन्दैथिइन् ‘वाउ भेरी ब्युटिफुल।’
‘आमामामा कस्तो दामी’ आकाशजीको उटाङ्गे प्रतिक्रिया आयो।
हामी सिन्धुली जिल्लामा थियौं। सुनकोशी नदी किनारका मनमोहक दृश्यको मजा लिंदै बाटो काट्दै थियौं।
वर्षायामको पहिचान स्वरूप सुनकोशीको पानी धमिलो देखिन्थ्यो। नदीको सेरोफेरो दुवैतिर बस्ती र हरिया पहाडहरूले घेरिएका थिए। किनारमा रङ्गीचङ्गी छानाका घरहरू थिए। राता, नीला रङ रङका टिनका छाना भएका ठूल्ठूला रिसोर्टहरू पनि देखिन्थे। पहाडको बीचबाट बगेको बाटो, नीलो आकाशमा उही सेता बादलहरू असाध्यै सुन्दर देखिन्थे। सिन्धुलीको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य र मानव बस्तीको सहअस्तित्व तथा नदी, पहाड र बस्तीका त्यस्ता अद्भुत प्राकृतिक परिदृश्यहरूको जति तारिफ गरे पनि कमै लाग्ने।
अलिक पर पुगेपछि दायाँतिर भित्ताभरि साना साना ऐनाहरू टाँसेका देखिए। ‘के हो त्यो’ बर्षाले सोधिन्, ‘भित्तालाई टीका लाको हौ भित्तालाई टीका’ आकाशजीको रमाइलो जबाफ ‘सेतीदेवी माताको मन्दिर हो यो।’
केहीबेरमा सुनकोशी र तामाकोशी मिसिएको दोभान आइपुग्यौं। सिन्धुली जिल्लाका सुन्दर दृश्य तिनै हुन्। आकाशमा तैंरिरहेका बादलहरू, हरिया पहाडहरू र किनारमा केही घरहरूलाई साक्षी राखेर माथि हिमालको चिसो खबर बोकेर एक्लै ओरालो झरेको तामाकोशीको सुनकोशीमा भएको विलय र एकाकारले दोभान दोभान बन्यो। प्रकृतिको क्यानभासमा एक सुन्दर चित्र बन्यो।
यस्ता सुन्दरतम दृश्यपान गर्दै गुड्ने क्रममा त्यो बाटो ओरालो झर्नुअघि डाँडामाथि चिया खाजा र फलफूलका केही पसलहरू देखिए,अन्य यात्रीहरू जस्तै हामी पनि त्यहाँ रोकियौं।
सिन्धुलीका स्वादिला जुनार र अनारसका रस पियौं। चिया खाजा खाने, बाथरूम जाने सबै कर्मपछि फेरि उही रसमय यात्रामा सामेल भयौं।
यात्राको तोडले सबैका मुहारमा थकानका आकृतिहरू देखिन थालिसके। केटाकेटी निदाउँदै ब्यूँझदै गर्दैछन्। म त बाहिरी दृश्यमा मग्न छँदैछु।
खुर्कोट, माडी बजार, भिमान आदि विभिन्न ठाउँहरू छिचोल्दै बर्दिबासतिर ओर्लियौं। कोशी नदीको पूल तर्दा झमक्कै साँझ पर्यो। त्यहाँबाट इटहरी हुँदै ममी, बेन्जु, ज्वाईं, प्रिष्मा र परिसालाई धरान पुर्याएर विराटनगर ओर्लंदा ठ्याक्कै रातको नौ बज्यो। राति नै भएपनि घर आइपुगियो। आमा बुवाको काखमा आइपुगियो। मातृभूमि र माता-पिताको काखमा हुनु जति ठूलो सुख त संसारमा के होला र!
रामायणमा भगवान राम भन्नुहुन्छ-
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥
‘लक्ष्मण! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रूचि छैन। किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्।’