ग्लोबल नेपाली
आफ्नो देशमा कामदारको अभाव भएपछि विश्वका विभिन्न देशबाट विशेष सीप भएका श्रमिक (एसएसडब्लु) लाई जापानले लैजाने गरेको छ।
सन् २०१९ देखि 'एसएसडब्लु' भिसा सुरू भएको हो।
विदेशी कामदारहरूलाई एउटा फ्रेममा राखेर भाषा र सीपको एउटा तह पार गरी भित्र्याउनको लागि उक्त भिसा सुरू गरिएको हो।
विद्यार्थीबाहेक कामदार भिसामा समेत जापान जान मिल्नेगरी यो कार्यक्रम ल्याइएको हो।
एसएसडब्लुको लागि जापानले कामको क्षेत्र छुट्ट्याइदिएको छ। जसमा होटल, नर्सिङ केयर, मत्स्यपालन, हवाई क्षेत्र, फुड सर्भिस लगायत १६ वटा क्षेत्र पर्छन्। 'एसएसडब्लु' भिसा अन्तर्गत जापान जानका लागि मुख्य गरेर तीन वटा आधार हुनुपर्छ।
पहिलो, काम गर्ने उमेर समूहको हुनुपर्छ।
दोस्रो, तोकिएको भाषाको तह पास गर्नुपर्छ।
तेस्रो, सम्बन्धित क्षेत्रको सीप परीक्षा पास गर्नुपर्छ।
'एसएसडब्लु' भिसामा नेपालबाट जापान जाने क्रम बढिरहेको छ। नेपालबाट फुड सर्भिस, नर्सिङ केयर, कृषि लगायतका क्षेत्रमा श्रमिकहरू गइरहेका छन्।
'एसएसडब्लु' भिसामा जान सक्ने प्रमुख तीन आधार भए पनि सबैभन्दा महत्वपूर्ण भनेको सीप परीक्षा र भाषा परीक्षा नै हो।
जापान जान सबैभन्दा ठूलो आधार भनेको भाषा नै हो। यसका लागि उनीहरूले एउटा मापदण्ड बनाएका छन्। जुन परीक्षा जापान फाउण्डेसनले लिन्छ। जापानिज भाषाको मापन गर्न एन-१ देखि एन-५ सम्मको ग्रेड निर्धारण गरिएको हुन्छ।
जापान पढ्न जाने विद्यार्थीहरूले एन-५ को तह पास गर्नुपर्छ। ३ देखि ४ महिना जापानिज भाषा पढेपछि यो परीक्षा पास गर्न सकिन्छ। यो परीक्षा पास गर्नेहरूले डिपार्टमेन्ट स्टोरमा सामान किन्न र रेलमा यात्रा गर्न सक्छन्।
एन-४ ग्रेड पास गरेकाहरूले जापानिजहरूसँग कुरा गर्न र उनीहरूले सिकाएको सिक्न सक्छन्। यसको लागि अर्को ३/४ महिना लाग्छ।
हो, यही परीक्षा पास गरेपछि सीप परीक्षा दिन पाइन्छ। त्यसको लागि जापानले निश्चित कोर्ष समेत बनाएको छ। त्यो कोर्ष पढेर आफूले रोजेको क्षेत्रका बारेमा दिने परीक्षा पास गरेपछि एसएसडब्लु भिसामा जापान जानका लागि योग्य भइन्छ। जापानको प्रोम्याट्रिक भन्ने वेबसाइटबाट परीक्षाको लागि समय लिन सकिन्छ। त्यसपछि यहाँका विभिन्न ठाउँमा परीक्षा हुन्छ।
सीप परीक्षाका लागि त्यसमा काम गरेको अनुभव हुनैपर्छ भन्ने छैन। जस्तो होटलमा काम गरेको अनुभव हुनेले नर्सिङ केयरका लागि सीप परीक्षा दिन सक्छ। सीप परीक्षा पास गर्न सक्यो भने कुन विषय पढेको छ भन्नेले अर्थ राख्दैन। अर्थात् एसएसडब्लु भिसाका लागि औपचारिक शिक्षा चाहिन्छ भन्ने छैन।
एसएसडब्लुको लागि जापान सरकारले पढाइलाई जोडेको छैन। त्यसको अर्थ के हो भने उसले भाषालाई धेरै प्राथमिकता दिएको छ। भाषा जान्यो भने सीप सिकाउन सकिन्छ भन्नेमा जापानिजहरू ढुक्क हुन्छन्।
एसएसडब्लु भिसामा जापान जानेहरूले त्यहीका श्रमिकले सरह सेवा सुविधा पाउँछन्। तर यस्तो भिसामा जानेहरूले आफ्नो परिवार लैजान पाउँदैनन् अनि ५ वर्षभन्दा बढी बस्न पनि पाइँदैन। यसो भन्दै गर्दा जापानले बस्ने बाटो पनि खुला गरेको छ।
जस्तो एन-४ तह पास गरेर गएको श्रमिकले एन-२ तह पास गर्न सक्यो भने आफ्नो परिवार लैजान पाउँछ। अनि लामो समयसम्म जापान बस्न पाइन्छ।
त्यसैले एसएसडब्लु भिसामा जापान जानेहरूले नेपालबाटै एन-३ तहको परीक्षा पास गरेर गएको धेरै राम्रो हो। एन-३ तहको भाषा पढेकाहरूले जापानिज भाषाका किताबहरू पढ्न सक्ने र धारणा पनि राख्न सक्ने हुन्छन्।
यदि एन-३ तह पास गरेर गइयो भने त्यहाँ गएर एन-२ तह पास गर्न सजिलो हुन्छ। यो परीक्षा पास गरेपछि जुनसुकै पदक लागि योग्य हुन सकिन्छ।
सबैभन्दा माथि एन-१ पनि छ। यो तहको भाषा जान्ने नेपाली पनि धेरै छन्। तर एन-२ तह पार गरेपछि जापानमा काम गर्ने सबै बाटो खुल्छ।
एसएसडब्लु भिसामा जापान जानको लागि के गर्ने भनेर धेरैको जिज्ञासा हुन सक्छ। अहिलेसम्म यो कार्यक्रमलाई सरकारले व्यवस्थित बनाउन सकेको छैन। कन्सल्टेन्सीहरूले भाषा पढाएर विद्यार्थी पठाउन पाउने भए पनि कामदार पठाउन पाउँदैनन्। कामदार पठाउने मेनपावरले हो।
अहिलेसम्म व्यक्तिगत तरिकाले श्रम विभागबाट स्वीकृति लिएर जापान गइरहेका छन्। तर केही दिनअघि जापानमा रहेको नेपाली दूतावासले अब सरकारी तहबाटै पठाइने भनेर भनिसकेको छ। यस्तो भयो भने अब अन्य देशहरूमा श्रम स्वीकृति लिएर कामदार गएकै जस्तो गरेर जान सक्ने हुन सक्छ। तर जसरी गए पनि भाषा परीक्षा र सीप परीक्षा पास गर्नैपर्छ। त्यसमा पनि भाषालाई उनीहरूले अझै महत्व दिन्छन्। त्यसैले जापान जाने हो भने भाषामा जति पोख्त भयो, त्यति सजिलो हुन्छ भन्ने यथार्थलाई कसैले भुल्न हुँदैन।
(एसएसडब्लु कार्यक्रम अन्तर्गत जापान जान सकिने विषयमा केन्द्रित रहेर नेपाल शैक्षिक परामर्श संघ (इक्यान) सचिव एवम् सक्सेस अब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईंसँग गरिएको भिडिओ कुराकानी।)