युनाइटेड नेपाली डायास्पोरा अर्गनाइजेसन (युएनडिओ) ले बाढीपीडितको उद्धार तथा राहतका लागि ५१ लाख रूपैयाँ सहयोग गरेको छ।
युएनडिओका अध्यक्ष सोनाम लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी बाढीपीडितको सहयोगार्थ संकलित ५१ लाख ५५५ रूपैयाँ हस्तान्तरण गरेको हो।
प्रतिनिधिमण्डलमा उपाध्यक्ष त्रिलोक गुरुङ, कोषाध्यक्ष उल्का घिमिरे, सल्लाहकार जानकी गुरुङलगायत सहभागी थिए।
युएनडिओका अध्यक्ष लामा एक्लैले भने २५ लाख सहयोग गरेका छन्।
नेपालमा विपत्ति परेका बेला आफूले सधैँ उद्धार तथा राहतका लागि सहयोग गर्दै आएको भन्दै युएनडिओ अध्यक्ष लामाले यसपटक व्यक्तिगत २५ लाखसहित संस्थाका तर्फबाट कुल ५१ लाख हस्तान्तरण गरिएको बताए।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्षसमेत रहेका लामा अमेरिका र नेपालमा व्यवसाय गर्दै आएका छन्।
अमेरिकामा उनले सुपरमार्केट र रेस्टुरेन्ट सञ्चालन गरेका छन् भने काठमाडौँको ठमेलमा ‘होटल लो मुस्ताङ’ र मुस्ताङमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालन गरेका छन्। मुस्ताङमा उनले स्याउ फार्मसमेत सञ्चालन गरेका छन्।