काठमाडौं, कात्तिक गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसिसी) पदाधिकारीहरूको नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने रणनीतिक कार्यशाला सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा स्विस सरकारको सहकार्यमा मिरिड्यु परियोजनाको दोस्रो चरणअन्तर्गत अक्टोबर २८ देखि ३० सम्म गोदावरीमा आयोजित कार्यशाला शुक्रबार सम्पन्न भएको हो।
कार्यशालामा खाडी मुलुक (जिसिसी) अन्तर्गतका बहराइन, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार तथा मलेसियालगायतका देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यशालाको समापन कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा भर्चुअल रूपमा सहभागी भएका थिए।
उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव डा. चिरञ्जीवी खड्का, आइसिसी पदाधिकारी, सहकोषाध्यक्ष गंगा खतीवडा, उपमहासचिवद्वय दिनेश घिमिरे र वेद बस्नेत, एनसिसी अमेरिकाका अध्यक्ष विकास उप्रेती, दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाध्यायलगायतको उपस्थिति थियो।
विभिन्न देशका एनसिसी अध्यक्ष तथा पदाधिकारी, आइएलओका राष्ट्रिय संयोजक रोनी धौभाडेल र सचिवालयका प्रतिनिधिहरूको सहभागिता थियो।
तीनदिने कार्यशालामा संस्थागत नेतृत्व, व्यवस्थापन, प्रतिवेदन लेखन, आर्थिक पारदर्शिता तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, उद्धार र सहयोगसम्बन्धी विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको हो।
कार्यशालाले एनसिसी पदाधिकारीहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विभिन्न देशका एनसिसीबीच अनुभव आदानप्रदान र समन्वय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।