अक्टोबर २५, आइतबार।
दक्षिण अमेरिकी देश ब्राजिलमा राष्ट्रपति चुनावको परिणाम सार्वजनिक हुँदै थियो।
राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सबैलाई आश्चर्यमा पार्दै पुनः चुनाव जितेका थिए।
तीन साताअघि भएको पहिलो चरणको मतदानमा उनी आफ्ना प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोभन्दा पछाडि परेका थिए। धेरै राजनीतिक विश्लेषकले उनको हारको अनुमान गरिरहेका थिए।
तर दोस्रो चरणमा नतिजा उल्टियो।
लुलाले ५१.७९ प्रतिशत मत ल्याएर चुनाव जिते। उनका प्रतिद्वन्द्वी बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाए।
यो विजयसँगै ८० वर्षीय लुला चौथो पटक ब्राजिलका राष्ट्रपति निर्वाचित भए।
चुनाव जितेपछि लुला आफ्ना समर्थकलाई सम्बोधन गर्न मञ्चमा उक्लिए। त्यहाँ उनका छेउमै पहेँलो फुटबल जर्सी लगाएका एक व्यक्ति उभिएका थिए।
लुलाले ती व्यक्तिलाई देखाउँदै भने, 'हाम्रा जनरल।'
उनले चुनावी अभियान क्रममा आफ्ना समर्थकहरूको मनोबल बढाउन ती व्यक्तिले अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए।
ती व्यक्ति थिए, आन्द्रे जानोनेस।
४२ वर्षीय जानोनेस ब्राजिलको मिनास जेराइस राज्यबाट निर्वाचित सांसद हुन्। उनी लुलाको दल वर्कर्स पार्टीका सदस्य समेत होइनन्। लुलाको चुनावी अभियानमा उनको कुनै औपचारिक जिम्मेवारी पनि थिएन।
तर चुनावको अन्तिम तीन साता उनी लुलाको पक्षमा सामाजिक सञ्जालबाट अभियान चलाउने सबभन्दा चर्चित व्यक्तिमध्ये एक बने।
उनले ह्वाट्सएपमा एउटा च्यानल खोलेका थिए, जसको नाम थियो— 'लुलाको सेना।'
यो कुनै वास्तविक सेना थिएन। ह्वाट्सएपमार्फत जोडिएका लुलाका समर्थकहरूको समूह थियो।
तीन साताभित्र यो च्यानलमा एक करोडभन्दा बढी मानिस जोडिए।
जानोनेसले उनीहरूलाई आफ्ना 'सैनिक' भन्थे। आफूलाई 'जनरल' र उनीहरूलाई दिनहुँ लगाउने कामलाई 'मिसन' भन्ने गर्थे।
उनको अभियानले चुनावमा कति प्रभाव पार्यो भन्ने यकिन मापन भएको छैन। तर लुलाको पक्षमा ठूलो संख्यामा मानिसलाई संगठित गर्न यो अभियान महत्त्वपूर्ण भएको धेरैको बुझाइ छ।
अक्टोबर २८ मा प्रकाशित न्यूयोर्क टाइम्सको विस्तृत रिपोर्टमा जानोनेसले यो अभियान कसरी चलाए र कसरी लाखौं मानिसलाई सामाजिक सञ्जालमा सक्रिय बनाए भन्ने रोचक विवरण छ।
दिनमा चार घन्टा सुत्ने 'जनरल'
चुनाव सकिएको भोलिपल्ट, सोमबार राति।
जानोनेस ब्राजिलको साओ पाउलो सहरको एउटा बैठक कोठामा थिए।
उनी कफी पिउँदै यताउता हिँडिरहेका थिए। अघिल्लो दिनको चुनावी विजयबारे उत्साहपूर्वक कुरा गरिरहेका थिए।
पछिल्ला तीन साता उनी दिनमा औसत चार घन्टा मात्र सुतेका थिए।
चुनाव जितिसकेपछि उनी ढुक्कले आराम गर्न सक्थे। तर उनको उत्साह अझै सेलाएको थिएन।
न्यूयोर्क टाइम्सका पत्रकारसँग दुई घन्टा लामो अन्तर्वार्तामा उनले भने, 'अब मेरो जीवनमा जेसुकै भए पनि मलाई आफ्नो जीवन सार्थक भएको लाग्छ। मैले मेरो देशमा लोकतन्त्र जोगाउन योगदान दिन सकेँ।'
जानोनेसको यो अभियान कसरी सुरू भयो भन्ने बुझ्न तीन साता पछाडि फर्किनुपर्छ।
अक्टोबर ४ मा ब्राजिलमा राष्ट्रपति चुनावको पहिलो चरण सम्पन्न भएको थियो।
राष्ट्रपति लुलाले ४५.१६ प्रतिशत मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोले ४७.०३ प्रतिशत।
फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुन्। जैर बोल्सोनारो सन् २०२२ को चुनावमा लुलासँग पराजित भएका थिए। त्यसपछि सत्ता पल्टाउने षड्यन्त्र गरेको अभियोगमा उनी दोषी ठहरिएका थिए।
यस पटक उनका छोरा फ्लाभियोले लुलालाई कडा चुनौती दिए। पहिलो चरणमा पछाडि परेपछि लुलाको चुनावी अभियानमा निराशा बढेको थियो। तर जानोनेस हार स्वीकार गर्ने पक्षमा थिएनन्।
उनले अप्रिल महिनामै 'लुलाको सेना' नामको ह्वाट्सएप च्यानल बनाएका थिए, जसमा करिब ५३ हजार मानिस जोडिएका थिए। च्यानल विस्तार भने सुस्त थियो।
पहिलो चरणको परिणाम आएको भोलिपल्ट, अक्टोबर ५ मा उनले च्यानलका सदस्यहरूलाई एउटा सन्देश दिए।
'अब तपाईंहरू अचम्ममा पर्न तयार हुनुहोस्। शिर ठाडो पार्नुहोस्। किनभने हामी यो चुनाव जित्नेछौं। कसरी जित्छौं, म भन्छु। सबभन्दा पहिले हामी जनताले बुझ्ने भाषामा कुरा गर्नेछौं।'
त्यसपछि सुरू भयो उनको तीन साताको अनौठो अभियान।
मोबाइलमार्फत समर्थकहरूसँग संवाद गर्दै लुला र जानोनेस।
हरेक दिन समर्थकलाई नयाँ काम
जानोनेस सामाजिक सञ्जालमा पहिलेदेखि नै सक्रिय थिए।
सन् २०१८ मा उनले फेसबुकमा गरिबहरूको पक्षमा र आन्दोलनरत ट्रक चालकहरूको समर्थनमा भिडिओ बनाएका थिए। ती भिडिओ निकै चर्चित भए। त्यसै वर्ष उनी पहिलो पटक सांसद निर्वाचित भए।
उनको आफ्नै जीवन पनि संघर्षपूर्ण थियो।
जानोनेसका अनुसार उनी गरिब परिवारमा जन्मिएका थिए। बाल्यकालमा भोक समेत सहनुपरेको थियो। आमाले एक्लै हुर्काएकी थिइन्।
उनले बसमा भाडा उठाउने काम गरेर कानुन पढेका थिए।
लुलाको जीवनसँग पनि उनको अनुभव मिल्थ्यो। लुला पनि गरिब परिवारबाट आएका नेता हुन्। मजदुर आन्दोलन हुँदै राजनीतिमा उदाएका थिए।
दुवैले गरिब र श्रमिक वर्गका मानिससँग आफ्नो सम्बन्ध रहेको बताउने गरेका छन्।
जानोनेसलाई एउटा कुरा स्पष्ट थियो — चुनावी भाषण मात्र गरेर सामाजिक सञ्जालमा समर्थकहरू सक्रिय हुँदैनन्। उनीहरूलाई केही न केही काम दिनुपर्छ।
त्यसैले उनले आफ्ना समर्थकलाई दिनहुँ नयाँ 'मिसन' दिन थाले।
कुनै दिन उनी लुलाको भिडिओ अन्तिमसम्म हेर्न भन्थे। कुनै दिन त्यसमा प्रतिक्रिया लेख्न र अरूलाई पठाउन आग्रह गर्थे।
कहिले धेरै मानिसले एउटै विषयमा एकै पटक पोस्ट गर्न भन्थे।
उनले सामाजिक सञ्जालले कुन सामग्री धेरै मानिससम्म पुर्याउँछ भन्ने कुरालाई पनि ध्यान दिएका थिए।
न्यूयोर्क टाइम्सका अनुसार जानोनेसले लुलाविरूद्धका सबै पोस्टमा प्रतिक्रिया नदिन आफ्ना समर्थकलाई सम्झाएका थिए।
कारण थियो — कुनै पोस्टमा धेरै प्रतिक्रिया आए सामाजिक सञ्जालले त्यसलाई अझ धेरै मानिससम्म पुर्याउन सक्छ।
त्यसैले विरोधीका कतिपय पोस्टलाई बेवास्ता गर्न र लुलाको समर्थनमा बनेका सामग्रीलाई धेरै मानिससम्म पुर्याउन उनले आग्रह गरे।
उनका सन्देश छोटा, सरल र उत्तेजनापूर्ण हुन्थे।
'यो पोस्टलाई इन्टरनेटमा विस्फोट गराइदिनुहोस्।'
'यो भिडिओ केही मिनेटभित्र लाखौं मानिससम्म पुग्नुपर्छ।'
यस्ता सन्देश उनी बारम्बार लेख्थे।
पहेँलो जर्सीबाट भाँडाकुँडासम्म
जानोनेसले चलाएको एउटा अभियान विशेष चर्चित भयो।
ब्राजिलको राष्ट्रिय फुटबल टोलीको पहेँलो जर्सी लामो समयदेखि दक्षिणपन्थी राजनीतिक समर्थकहरूले पनि प्रयोग गर्दै आएका थिए।
जानोनेसले लुलाका समर्थकलाई त्यही पहेँलो जर्सी लगाउन भने।
उनले सबैलाई एउटै समयमा जर्सी लगाएर हातले अंग्रेजी अक्षर 'एल' बनाउँदै तस्बिर खिच्न र सामाजिक सञ्जालमा पोस्ट गर्न लगाए।
'एल' लुलाको समर्थन जनाउने संकेत थियो।
'हामी हाम्रा प्रतीकहरू फिर्ता लिनेछौं,' उनले च्यानलमा लेखे।
केही समयमै यस्ता तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा देखिन थाले।
अर्को दिन उनले फरक तरिका अपनाए।
फ्लाभियो बोल्सोनारो ब्राजिलको सबभन्दा ठूलो टेलिभिजन नेटवर्कमा देखिने समयमा जानोनेसले समर्थकहरूलाई घरघरमा भाँडाकुँडा ठटाएर विरोध गर्न आह्वान गरे।
ल्याटिन अमेरिकी देशहरूमा विरोध प्रदर्शन क्रममा भाँडाकुँडा ठटाउने पुरानो चलन छ। यसलाई 'पानेलासो' भनिन्छ।
जानोनेसले समर्थकलाई भाँडाकुँडा ठटाइरहन आग्रह गरे।
उनको सन्देशको आसय थियो— भाँडो कुच्चिने गरी ठटाउनुहोस्, कुच्चिए अर्को किन्नुहोस्।
न्यूयोर्क टाइम्सका अनुसार यो आह्वान गरिएको उनको भिडिओले केही घन्टामै दुई करोड भ्युज पायो।
यसरी उनी सामाजिक सञ्जालमा मानिसको ध्यान खिच्ने अनेक तरिका अपनाइरहेका थिए।
आन्द्रे जानोनेस। तस्बिर स्रोत: न्यूयोर्क टाइम्स
५३ हजारबाट एक करोडसम्म
यो अभियानको प्रभाव च्यानलका फलोअर संख्यामा देखिन थाल्यो।
पहिलो चरणको चुनावपछि करिब ५३ हजार फलोअर रहेको च्यानलमा पाँच दिनमै ३० लाखभन्दा बढी मानिस जोडिए।
दोस्रो चरणको मतदान हुने दिनसम्म यो संख्या एक करोड नाघिसकेको थियो।
अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चुनाव आसपास च्यानलका फलोअर करिब एक करोड आठ लाख पुगेका थिए।
यसको अर्थ ती सबै मानिसले लुलालाई मत दिए भन्ने होइन। तर च्यानलमार्फत ठूलो संख्यामा समर्थकहरूसम्म एकै पटक सन्देश पुर्याउन सम्भव भएको थियो।
ह्वाट्सएपको यो च्यानल परम्परागत समूहभन्दा फरक थियो। यसमा सञ्चालकले एकै पटक लाखौं सदस्यलाई सन्देश पठाउन सक्थे। सदस्यहरूले ती सामग्री अरूलाई पठाउन सक्थे।
यसैबीच फ्लाभियो बोल्सोनारोको चुनावी अभियानले जानोनेसको च्यानलमाथि प्रश्न उठायो।
उनीहरूले च्यानलमार्फत ठूलो मात्रामा झूटा सूचना फैलाइएको आरोप लगाउँदै निर्वाचन अदालतमा उजुरी दिए।
अदालतबाट च्यानल बन्द गर्ने आदेश दुई पटक आयो। तर पछि ती आदेश हटाइए र च्यानल फेरि सञ्चालनमा आयो।
दक्षिणपन्थी विचारधाराका केही सामाजिक सञ्जाल खाताले जानोनेसले पैसा दिएर मानिसलाई च्यानलमा जोडेको आरोप पनि लगाए। तर त्यसको प्रमाण प्रस्तुत गरेनन्।
जानोनेस आफैले पनि आफ्नो प्रचारशैली विवादरहित नभएको स्वीकार गरेका छन्।
न्यूयोर्क टाइम्ससँग उनले आफ्नो सन्देशमा कहिलेकाहीँ आधा सत्य प्रयोग गरेको स्वीकार गरे।
उनको भनाइ थियो, 'दक्षिणपन्थीहरू लाज नमानी झूटो बोल्छन्। उनीहरू कम्मरभन्दा तल प्रहार गर्छन्। आदर्श रूपमा त्यसभन्दा माथि प्रहार गर्नुपर्छ। मचाहिँ ठीक कम्मरमै प्रहार गर्छु।'
उनको यो शैलीले एउटा प्रश्न पनि जन्मायो — चुनाव जित्न विरोधीले अपनाउने आक्रामक र भ्रामक प्रचारशैलीकै नक्कल गर्नु कति उचित हो?
जानोनेसलाई यो प्रश्नको गम्भीरता थाहा थियो।
लोकतन्त्रको रक्षा गर्न भन्दै चुनाव लडिरहेका नेताको समर्थनमा सैन्य भाषा र आक्रामक तरिका प्रयोग गर्नु उनी आफैलाई पनि असहज लागेको थियो। तर उनी त्यसलाई असाधारण राजनीतिक परिस्थितिको आवश्यकता ठान्थे।
'यो युद्धको समय हो,' उनले भने, 'अहिले हामीलाई मन लागेको काम गर्ने बेला होइन। गर्नैपर्ने काम गर्ने बेला हो।'
ह्वाट्सएपबाट सडकसम्म
जानोनेसको अभियान सामाजिक सञ्जालमै सीमित रहेन।
उनले समर्थकहरूलाई चुनावी र्यालीमा सहभागी हुन र अरू मतदातालाई मतदान गर्न प्रेरित गर्न पनि आग्रह गरे।
यसको एउटा उदाहरण हुन्, ४३ वर्षीया मार्सेला मार्कोनी।
ब्राजिलको बाहिया राज्यमा बस्ने मार्कोनी जानोनेसको च्यानलमा जोडिएकी थिइन्। चुनावका दिन उनले मतदाताहरूलाई आफ्नो सहरको मतदान केन्द्रसम्म पुर्याउन सहयोग गरिन्।
पछि उनले आफ्नो कामको भिडिओ सामाजिक सञ्जालमा राखिन्।
उनले आफू 'जानोनाइज्ड' भएको बताइन्। अर्थात् जानोनेसको अभियानबाट प्रभावित भएर उनी सक्रिय भएकी थिइन्।
न्यूयोर्क टाइम्सले उद्धृत गरेका युनिभर्सिटी अफ भर्जिनियाका सहप्राध्यापक डेभिड नेमरका अनुसार यो च्यानलले पहिले मतदान गर्न नजाने सम्भावना भएका वामपन्थी मतदातालाई पनि सक्रिय बनाउन सहयोग गरेको हुन सक्छ।
नेमर ब्राजिलको राजनीतिमा सामाजिक सञ्जालको भूमिकाबारे अनुसन्धान गर्छन्।
उनका अनुसार ब्राजिलका वामपन्थी दलहरूमा लामो समयदेखि एउटा कमजोरी थियो — समर्थकहरूलाई एउटै ठाउँबाट संगठित र परिचालित गर्ने प्रभावकारी व्यवस्था।
जानोनेसको च्यानलले त्यस्तो खालको संगठन निर्माण गर्न सहयोग गर्यो। तर चुनावी परिणामको सम्पूर्ण श्रेय यो अभियानलाई दिन मिल्दैन।
बिबिसीले उद्धृत गरेका राजनीतिक विश्लेषकहरूका अनुसार लुलाको चुनावी पुनरागमनमा सामाजिक सञ्जालसँगै सडकका सभा, प्रत्यक्ष प्रचार, मतदाता परिचालन र चुनावी रणनीतिमा आएको परिवर्तनको पनि भूमिका थियो।
एक करोडभन्दा धेरै फलोअर भएको च्यानलले वास्तवमा कति नयाँ मत ल्यायो भन्ने प्रमाणित तथ्यांक छैन।
यद्यपि लुलाले सार्वजनिक रूपमै जानोनेसको योगदानको प्रशंसा गरेका छन्।
चुनाव जितेपछि उनले आफ्नो चौथो कार्यकालमा सरकारले जनतासँग प्रत्यक्ष संवाद गर्न डिजिटल माध्यमको अझ व्यापक प्रयोग गर्ने पनि बताएका छन्।
मोबाइलमार्फत समर्थकहरूसँग संवाद गर्दै लुला र जानोनेस।
लुलासँगै राजनीतिको भविष्य?
लुलाको विजयपछि जानोनेसलाई नयाँ सरकारमा कुनै जिम्मेवारी दिइने चर्चा पनि चलेको छ। तर जानोनेसले आफू सरकारी पदमा रूचि नराख्ने बताएका छन्।
उनी दक्षिणपन्थी राजनीतिक शक्तिका आलोचक हुन्। ब्राजिलका वामपन्थी नेताहरूको पनि खुलेर आलोचना गर्छन्।
विशेषगरी आफूलाई बौद्धिक र उच्च वर्गको ठान्ने वामपन्थी नेताहरूप्रति उनी असन्तुष्ट छन्।
ब्राजिलमा यस्ता नेताहरूलाई कहिलेकाहीँ 'क्याभियर लेफ्ट' भनिन्छ। अर्थात्, गरिबहरूको पक्षमा राजनीति गर्ने तर व्यवहारमा सम्भ्रान्त जीवन र सोचबाट बाहिर ननिस्कने वामपन्थीहरू।
जानोनेसका अनुसार यस्ता नेताहरूको बौद्धिक अहंकार र सम्भ्रान्त सोचले श्रमिक वर्गलाई राजनीतिबाट टाढा बनाएको छ।
'वामपन्थीहरूले जनताको गन्ध नै बिर्सिसके,' उनले न्यूयोर्क टाइम्ससँग भने।
उनको विचारमा सर्वसाधारण मानिसले बोल्ने भाषा, उनीहरूले भोग्ने समस्या र उनीहरूको दैनिक जीवनसँग जोडिन नसक्ने राजनीति कमजोर हुन्छ।
उनी आफूले चलाएको अभियान सफल हुनुको एउटा कारण पनि यही ठान्छन्।
यसबीच चुनावी पराजयपछि फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान क्रममा ब्राजिलको सर्वोच्च अदालतले उनलाई राहदानी बुझाउन आदेश दिएको थियो। तर उनले आदेश पालना नगरी देश छाडेका थिए। उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन्।
ब्राजिलमा चुनावी प्रतिस्पर्धापछि पनि राजनीतिक तनाव कायमै छ।
तर जानोनेसका लागि अक्टोबर २५ को विजय जीवनको अत्यन्त महत्त्वपूर्ण क्षण बनेको छ।
पछिल्ला तीन सातामा उनले नियमित व्यायाम समेत छाडेका थिए। दिनरात मोबाइल चलाइरहेका थिए। सन्देश लेखिरहेका थिए। भिडिओ पोस्ट गरिरहेका थिए। समर्थकहरूलाई नयाँ नयाँ काम दिइरहेका थिए।
मोबाइलमा यति धेरै समय बिताउने व्यक्ति सायद उनी यसअघि कहिल्यै बनेका थिएनन्।
सोमबार राति न्यूयोर्क टाइम्सका पत्रकारसँग दुई घन्टा लामो अन्तर्वार्ता सकिन लाग्दा उनी एकछिन रोकिए।
त्यसपछि मुस्कुराउँदै भने, 'पछिल्ला दुई महिनामा मोबाइल नहेरी मैले बिताएको यो नै सबभन्दा लामो समय हो।'
***