चितवन, भरतपुरका उज्ज्वल खनाल पढाइको सिलसिलामा अस्ट्रेलिया गएको तीन वर्ष भयो। उनी अकाउन्टिङमा स्नातकोत्तर पढ्न गएका हुन्।
पढाइसँगै काममा समेत सक्रिय उनले विश्वभर छरिएका नेपालीलाई जोड्ने सामाजिक सञ्जाल 'थोप्ला' विकास गरेका छन्।
नेपाल र नेपालीका लागि सूचना प्रविधि क्षेत्रमा केही गर्ने सोचले आफूले थोप्ला प्लेटफर्म विस्तार गरेको उनले बताए।
'थोप्ला पनि अरू सामाजिक सञ्जालजस्तै प्लेटफर्म हो। यसबाट रिल्स बनाउन, फोटो तथा पोस्ट राख्न, अडिओ र भिडिओ कल गर्न, प्रत्यक्ष प्रसारण गर्न र आफूलाई मन परेको सामग्री बनाउने व्यक्तिलाई भर्चुअल उपहार पठाउन सकिन्छ,' उनले भने।
उनले अस्ट्रेलिया जानुअघि सन् २०२१ तिर नै थोप्लाको अवधारणा अघि सारेका हुन्। तर त्यस बेला धेरै नेपालीसम्म पुग्न सकेको थिएन। अहिले थप सुविधासहित नयाँ संस्करण सञ्चालनमा ल्याएका हुन्।
नयाँ संस्करण ल्याएको पाँच महिना भयो। हाल थोप्लाका प्रयोगकर्ता १३ हजार नाघिसकेका छन्। प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया आइरहेको उनी बताउँछन्।
थोप्लामा टिकटकमा जस्तै छोटा भिडिओ अर्थात् रिल्स बनाउन र साझा गर्न सकिन्छ। प्रयोगकर्ताले एकअर्कालाई फलो गर्न सक्छन्। यसमा क्वाइन प्रणाली र भर्चुअल गिफ्टिङको सुविधा पनि छ।
दुई सय फलोअर्स पुगेपछि प्रयोगकर्ताले गिफ्ट प्राप्त गर्न सक्ने सुविधा सुरू हुन्छ। पाँच सय फलोअर्स पुगेपछि भ्युजका आधारमा थोप्लाले रकम उपलब्ध गराउँछ। प्रयोगकर्ताले आफ्ना सामग्रीमा विज्ञापनबाट पनि आम्दानी गर्न सक्ने उज्ज्वलले बताए।
'थोप्लामा जम्मा भएको रकम बैंक खातामा स्थानान्तरण गर्न सकिन्छ। अहिले अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली प्रयोग भइरहेको छ। स्थानीय भुक्तानी प्रणालीसमेत जोड्ने योजना छ। त्यसपछि इसेवा र खल्तीमार्फत रकम निकाल्न मिल्ने सुविधा थपिनेछ,' उनले भने।
प्रयोगकर्तालाई सामग्री बनाउन र प्लेटफर्ममा सक्रिय रहन प्रोत्साहित गर्न थोप्लामा विभिन्न प्रतियोगिता पनि सञ्चालन गरिन्छन्। प्रयोगकर्ताले रिल्स ब्याटल गर्न सक्छन्।
यसअघि तीजका अवसरमा प्रतियोगिता सञ्चालन गरिएको थियो भने अहिले दसैं–तिहारका तस्बिरसँग सम्बन्धित प्रतियोगिता चलिरहेको उनले बताए। उक्त प्रतियोगितामा सबैभन्दा धेरै लाइक पाउनेलाई १० हजार रूपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ।
थोप्लामा खाता प्रमाणीकरणको सुविधा पनि छ। खाता भेरिफाई गराएका प्रयोगकर्ताले यस्ता कार्यक्रम सञ्चालन गर्न सक्छन्। त्यसका लागि आवश्यक कागजात उपलब्ध गराउनुपर्छ।
थोप्लामा सामाजिक सञ्जालका सामान्य सुविधासँगै प्रत्यक्ष सम्पर्क र अन्तरक्रिया गर्न सकिने व्यवस्था छ। प्रयोगकर्ताले लाइभ भिडिओ स्ट्रिमिङमार्फत प्रत्यक्ष प्रसारण गर्न र दर्शकसँग कुराकानी गर्न सक्छन्। लाइभ अडिओ रूममा एकै पटक धेरै जना सहभागी भएर कुराकानी गर्न सक्छन्। साथीभाइ तथा परिवारसँग सम्पर्क गर्न अडिओ र भिडिओ कलको सुविधा पनि छ।
विदेशमा रहेका नेपालीले नेपालमा भएका परिवार र आफन्तसँग कुराकानी गर्न यस्तो सुविधा उपयोगी हुने उज्जवल बताउँछन्। प्रयोगकर्ताबाट अडिओ तथा भिडिओको गुणस्तरबारे राम्रो प्रतिक्रिया आएको उनको भनाइ छ।
'खाडीका केही मुलुकहरूमा मेसेन्जर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जाल नचल्ने रहेछन्। ती मुलुकमा रहेका नेपालीका लागि थोप्ला निकै उपयोगी बनिरहेको प्रतिक्रिया आएको छ,' उनले भने, 'त्यहाँ कार्यरत धेरै नेपालीलाई परिवारसँग कुरा गर्न थोप्लाले सहज बनाएको छ।'
प्रयोगकर्ताको सुरक्षा र गोपनीयतालाई पनि थोप्लामा प्राथमिकता दिइएको उनी बताउँछन्।
उज्जवल नेपालमा बिबिए पढ्दै गर्दा प्रोग्रामिङ सिकिरहेका थिए। त्यसक्रममा उनको रूचि सूचना प्रविधिको क्षेत्रमा बढ्दै गयो।
अस्ट्रेलिया पुगेपछि पनि सूचना प्रविधि क्षेत्रमा काम गर्ने रूचि कायमै रह्यो। अहिले पनि उनी एउटा आइटी कम्पनीमा जोन म्यानेजरका रूपमा काम गरिरहेका छन्।
पढाइ र जागिरसँगै साथीहरूसँग मिलेर थोप्लाको विकास गरेको उनले बताए।
थोप्लामा नयाँ सुविधा थप्ने, कन्टेन्ट क्रिएटरलाई आम्दानीको अवसर दिने र भुक्तानी प्रणालीलाई सहज बनाउने योजना छ।
'नेपालीले नै बनाएको एप प्रयोग गरेर परिवारसँग जोडिन पनि सहज हुने भयो। सँगसँगै कन्टेन्ट क्रिएसनमार्फत आम्दानी पनि हुने भयो,' उनले भने।
अहिले अस्ट्रेलियामा पढाइ र जागिरसँगै नेपालीलाई जोड्ने सामाजिक सञ्जाल विकास गरेका उज्ज्वल भविष्यमा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा काम गर्न चाहन्छन्।
'विश्वभरका नेपालीलाई एउटै प्लेटफर्ममा जोड्ने र उनीहरूलाई आफ्ना सिर्जनाबाट आम्दानी गर्ने अवसर दिने योजना हो,' उनले भने।
