नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गरेका छन्।
प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भएको छलफलमा प्रचण्डले यस्तो जानकारी गराएका हुन्।
‘छलफल सकारात्मक भइसकेको छैन। धेरै दिनपछि छलफल भयो भन्ने मात्रै हो’ प्रचण्डको भनाई उदृत गर्दै स्राेतले भन्यो ‘भोलि पनि बैठक गर्ने सहमति भएको छ।’
त्यसअघि आजको बैठकमा दुवै अध्यक्षहरुले आ–आफ्ना अडान राखेका थिए। आजको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल तथा स्थायी समिति सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए।
सोमबार पनि चारै जना नेताबीच छलफल हुने तय भएको छ।
गत मंगलबार स्थायी समिति बैठक स्थगित भएदेखि दुई अध्यक्षबीच भेटघाट हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेको भन्दै प्रचण्डले मंगलबार बैठकको अध्यक्षता गरेका थिए। बैठकमा वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहित २९ जना सदस्यहरु सहभागी थिए।
प्रधानमन्त्री ओली निकटका सदस्यहरु भने सहभागी थिएनन्। त्यस्तै पूर्व माओवादी पक्षधर ४ जना सदस्यहरु सहभागी थिएनन्।