नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।
चुनावी हारको जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा दिएका थिए।
उक्त राजीनामाबारे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको थियो।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकले निर्वाचनमा पराजयको कारण संरचनागत समस्या तथा नियन्त्रण बाहिरका परिस्थितिलाई आधारकारण मानेको छ।
‘वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको छ। राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले राजीनामा अस्वीकार गर्ने निर्णय भएको हो,’ प्रवक्ता चालिसेले भने, ‘राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको हो।’
गत पुसमा भएको विशेष महाधिवेशनबाट थापा कांग्रेसको सभापति बनेका थिए। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट मात्रै जितेको थियो।
यही विशेष महाधिवेशन पछि कांग्रेस २.० अनुसार सुधारका कार्यक्रम कार्यान्वयनका लागि पनि सभापति थापाको राजीनामा अस्वीकृत भएको प्रवक्ता चालिसेले बताए।
अब थापाकै नेतृत्वमा पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने पनि उनले बताए।