प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले बुइँ चढेर रोष्टम उक्लने प्रयास नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।
नेकपा एमालेको आइतबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले संसदीय मर्यादामा बस्न सासंदहरूलाई निर्देशन दिएका हुन्।
भदौ २५ गतेको बैठकमा एमाले सांसदहरूले केही सांसदलाई बुइँमा चढाएर रोष्टम उकाल्ने प्रयास गरेका थिए।
'हामी अवरोधको बाटोमा अघि बढेका छौँ। अवरोध जारी रहन्छ र जारी राख्नुपर्छ', ओलीले भने, 'हामीले संसदीय मर्यादाभित्र तोकिएका नारा लगाउँ। हामी वेलमा जान्छौँ। वेलमा नाराबाजी गर्छौं। अलिकति एग्रेसिभ भएर सभामुख सत्तापक्ष आउँदा चर्को आवाजमा नारा लगाउने हुनसक्छ। नारा लगाउने र वेलमा जानेभन्दा बाहिर जानुहुन्न।'
उनले एमाले सांसदले माइकले सभामुखलाई हान्ने योजना रहेको भन्ने टिप्पणीको खण्डन गरे।
'कतिपय साथीहरूले बोलेको सुनेँ। सभामुखलाई माइक हान्ने योजना थियो भनेर। त्यसो योजना थिएन। हुँदै नभएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुन्न। बोल्दा माननीयहरूले जिम्मेवारीपूर्वक बोल्ने गर्नुपर्छ', ओलीले भने, 'काँध चढेर माथि जान खोज्ने नगरौं। देखाउने कुरा हुन्छ। मर्यादापालकको घेरा तोड्न खोजेको होइन। यदि त्यस्तो हुन्थ्यो भने अर्कै ढंगले प्रस्तुत हुन्थ्यौँ।'
नेकपा एमालेकी सांसद रेखा झाले भदौ २५ गतेको बैठकपछि पत्रकारहरूलाई सभामुखलाई माइकले हान्ने योजना रहेको बताएकी थिइन्।
दलका नेता ओलीले संसदको वेलमा मर्यादापालकले नाराबाजी लगाउने ठाउँ नदिएको आरोप लगाए।
'वेल मर्यादापालकहरुले घेरेका छन्', ओलीले भने, 'प्रमुख सचेतकले मर्यादापालक प्रमुखलाई भन्नुपर्छ।'
उनले बैठमा सभामुख अग्नि सापकोटाको पनि आलोचना गरे।
'सभामुख सभामुखको कुर्सीमा बस्न लायक रहनुभएन। पदीय मर्यादा र गरिमा कायम गर्न सक्नुभएन। जुन क्रियाकलाप देखाइरहनु भएको छ', उनले भने, 'मन्त्री आफ्नो आसनमा नबस्ने सांसदको बीचमा लुकेर बस्ने भयो।'
उनले एमालेले बजेटलाई कानुनी रूप दिन तयार भए पनि सभामुखको आचरणका कारण सहयोग गर्न नसकेको बताए।
'सत्तापक्षले बढी टकरावको बाटो नलियोस्। मर्यादापालकको परिचालन सीमा भित्रै रहोस्', ओलीले भने।