परिचयको क्रममा तिमी
मेरो नाम सोध, भन्छु
ठेगाना सोध, बताउँछु
पेसा सोध, खुलाउँछु
उमेर किन भनूँ?
उमेर मलाई 'डाक्टरको विषय हो' लाग्छ।
कामचोरहरूले कहिल्यै काम गरेनन्
घुसको कुलतमा फसेकाहरूले
जनताको काम गरेनन्
भ्रष्टहरूको कुरै अर्को छ-
ती नयाँ प्रमाण निर्माण गर्ने
र प्रमाण नष्ट गर्ने धुनमा हुन्छन्
हिजोसम्म काममा कुनै खोट नदेखिएको
उम्दा कर्मचारीलाई उमेर सोधेर सरकार
'तिमी भोलिदेखि नआऊ' किन भन्छ?
उमेर मलाई 'डाक्टरको विषय हो' लाग्छ।
कोही जन्मँदै रोगी जन्मिन्छन्
तिनीहरूबाट घाँस-दाउरा हुँदैन
तिनीहरूबाट उकालो-ओरालो हुँदैन
तिनीहरूलाई जात्रा मेलाको पनि काम छैन
ती गीत गाउँदैनन्
ती नाच्न जान्दैनन्
कुनै समाचारले तिनीहरूलाई-
उत्सुकता जगाउँदैन
कुनै कविताले तिनीहरूलाई छुँदैन
कुनै जुलुसले तिनीहरूलाई
आन्दोलित बनाउँदैन
ती मतदान गर्न जाँदैनन्
ती जन्त र मलामी पनि जाँदैनन्
ती अस्पताल जान्छन्
उपचार विधि तय गर्न र औषधी लेख्नुअघि
रोगीको उमेर चाहिन्छ
उमेर मलाई 'डाक्टरको विषय हो' लाग्छ।