काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग मिलेर नयाँ राजनीतिक समीकरण बनाउने कार्यलाई तीव्रता दिएका छन्।
आफ्नानिकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर कुपण्डोलस्थित निवासमा पछिल्लो दुई दिनदेखि 'म्याराथन मिटिङ' गरिरहेका मेयर बालेनले आफू संसदीय राजनीतिमा प्रवेश गरेको प्रस्ट सन्देश मात्र दिएका छैनन्, सबै नयाँ शक्ति मिलेर एकीकृत रूपले चुनाव लड्न आह्वान पनि गरेका छन्।
'म अब सक्रिय राजनीतिमा आएँ, हामी सबै मिलेर चुनावमा जाऊँ,' बालेनसँग विभिन्न चरणको छलफलमा सहभागी एक नेताले उनको भनाइ उद्धृत गर्दै सेतोपाटीसँग भने।
बालेनले भेटवार्तामा डाकेका जेनजी प्रतिनिधि र नेताहरूलाई 'यो राजनीतिक अभियानमा तपाईंहरू मलाई साथ दिनुहुन्छ नि' भनेर सोध्ने गरेको ती नेताले जानकारी दिए।
उनका अनुसार बालेन अहिले विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्व विवेकशील साझाका नेतालाई 'देश विकास पार्टी' मा जोड्ने र त्यही पार्टीमार्फत् आगामी निर्वाचनमा देशव्यापी उम्मेदवारी दिने तयारीमा छन्।
'म त एउटा निर्वाचन क्षेत्रमा चुनाव उठूँला, तर म मात्र उठेँ भने केही परिवर्तन ल्याउन सकिँदैन। मलाई बाँकी १६४ सिटमा चुनाव उठ्ने मान्छे चाहिएको छ। समानुपातिक सिटका लागि पनि थप मान्छे चाहिएको छ। यसका लागि मलाई यो अभियानमा जोडिन सक्ने वा जोडिन चाहने सबैको साथ र सहयोग चाहिएको छ,' बालेनले भेटवार्ता क्रममा भन्ने गरेका छन्।
यही उद्देश्यका साथ उनी सबै पक्षसँग निरन्तर छलफलमा जुटेको ती नेताले जानकारी दिए।
हामीले बालेनसँगका ती भेटवार्तामा सामेल पूर्व विवेकशील साझाका नेता मिलन पाण्डेसँग कुरा गरेका छौं। उनले आसन्न निर्वाचनलाई लक्ष्य गरेर बालेन सक्रिय राजनीतिमा आउन विभिन्न समूहसँग गम्भीर छलफलमा जुटेको पुष्टि गरे।
पछिल्लो दुई दिनमा दुईचोटि बालेनसँग भेटवार्ता गरिसकेका पाण्डेले भने, 'बालेनजीसँग पछिल्लो समय भएका भेटवार्ता अनुसार राजनीति अगाडि बढ्यो भने देशका लागि राम्रो हुन्छ। उहाँले जेनजी प्रतिनिधि, विवेकशील साझा लगायत नयाँ र पुराना सबै शक्तिसँग भेटघाट तीव्र पार्नुभएको छ। त्यो भेटघाटमा सबैलाई संयोजन गरेर लैजान म आफू पनि सहजकर्ताको भूमिका खेलिरहेको छु।'
ती सबै शक्तिसँगको भेटघाट सौहार्द्ध रूपमा अघि बढेको उल्लेख गर्दै पाण्डेले केही दिनमा ठोस परिणाम निस्कने आशा व्यक्त गरे।
बालेनले छलफललाई तीव्रता दिनुको एउटा मुख्य कारण समानुपातिक सूची बुझाउने दिन नजिक आएकाले पनि हो। समानुपातिकको बन्दसूची यही पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। यसका लागि देश विकास पार्टीले शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर आयोगमा सूची बुझाउने तयारी भइरहेको स्रोतले जानकारी दियो।
बालेनले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, सुनिल शर्मा, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, चिकित्सक डा. भगवान कोइराला र जेनजी अभियानका रक्षा बम, सागर ढकाल, केपी खनाल, अभिनेता निश्चल बस्नेत लगायतसँग छलफल गरेका थिए।
त्यसैमध्ये बालेनसँग भेटवार्ता गरेका एक नेताले ऊर्जामन्त्री कुलमान घिसिङसँग एक भएर अघि बढ्ने कुरा पनि लगभग टुंगो लागिसकेको जानकारी दिए।
भेटवार्ता क्रममा घिसिङबारे कुरा उठ्दा बालेनले भनेका थिए, 'कुलमानजी हामी सँगै हो। उहाँको बारेमा चिन्ता नलिनू। हामी एकै हौं।'
घिसिङ निकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। यो अवस्थामा उज्यालो नेपाल र देश विकास पार्टीले चुनावी समीकरण मात्र गर्ने हो कि कसरी अघि बढ्ने हो भनेर प्रश्न गर्दा ती नेताले भने, 'जे पनि हुन सक्छ। उज्यालो नेपाल पार्टीलाई निष्क्रिय बनाएर कुलमानजी नै देश विकास पार्टीमा सामेल हुने कुरा पनि भइरहेको छ। त्यसमा कुरा मिलेन भने दुवै पार्टी एकता गरेर जाने विकल्प पनि खुला छ।'
देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ। यसको अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न लौरो छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए।
बालेनले आफ्नो राजनीतिक भेटवार्तालाई तीव्रता दिएको सोमबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटेपछि हो।
उक्त भेटवार्तामा लामिछानेले बालेनलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउँदै सहकार्य गर्न प्रस्ताव गरेका थिए। तर यसका लागि ठोस प्रस्ताव केही नआएकाले बालेन आफ्नो तर्फबाट छुट्टै राजनीतिक समीकरण बनाउने तयारीमा अघि बढेको उनी निकट एक नेताले बताए।
रास्वपाले राखेको प्रस्तावलाई लिएर बालेन र रविबीच अहिले 'निर्णायक' वार्ता भइरहेको पनि स्रोतले जानकारी दियो। यसअघि बालेन र कुलमानबीच पनि आज बिहीबार बिहान भेटवार्ता भएको स्रोतले बतायो।
साथै मेयर बालेनले श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका धरान उपमहानगरका मेयर हर्क साम्पाङसँग पनि कुराकानी हुने र मिलेरै जाने बताउने गरेका छन्।