म आज मेरो देश छोड्दै छु
छोड्दै छु मेरो गाउँ,
मेरा साथीभाइ,
मेरो बालापनको सारथि
मेरो परिवार साथै
म आफैले आफैलाई छोड्दै छु
मलाई मेरो परिवारको आर्थिकोपार्जनमा सहयोग गर्नु छ
साहुको ऋण, पापी पेटले मागेको एक छाकको आहार सँगै-सँगै
मेरा बा-आमालाई लागेको रोगको उपचार गर्नु छ!
आज जाँदैछु म खाली खुट्टा
रित्तो हात
भोको पेट
झोले झुम्रे, धुलो मैलो भएर
र आज मसँग छ त केवल भारी मन
परिवारको आशीर्वाद
देशप्रतिको उच्च सम्मान
जन्मभूमिका चराचुरंगीहरूले पर्खी बस्छौँ है
भनेर गरेको त्यो चिरबिर
खोलानालाले सुसेलीसँगै
बाई-बाई भनेको त्यो सुमधुर आवाज
र मेरो देशले मलाई थमाइदिएको
त्यो एक हरियो पासपोर्ट!
हेर न अब मसँग त बाँकी भनेको
त्यही एक थोपा आँसु
आँसुसँगै सजाएका ती
उज्ज्वल भविष्यका मिठा सपना
जन्मभूमिलाई गरेका ती बाचाहरू
प्रियजनलाई सम्झाएका ती मिठा शब्दहरू
अब भोकै सुत्नु नपरोस् भनी कोरिएका
ती स्वर्णिम खेस्रा रेखाहरू!
हो, आजकै दिन मैले बेचेको हो
मेरा अहङ्कार
मेरा बा-आमासँग दुःखसुख सँगै काट्छु
भनेर खाएका ती बाचा
मेरो मातृभूमिलाई सकेसम्म देशमै बसेर
सहयोग गर्छु भनेका ती बाचा
मेरा सहपाठीहरूलाई देशमै गर्नुपर्छ
भनेर उक्साएका ती बाचा
र मैले अध्ययन गरेका काम नलाग्ने
ती कागजका खोस्टाका डिग्रीशिटहरू!
सायद आमा अब त
बस्नु पर्दैन होला त्यो
चुहिने खरको छानोमुनि
खानु पर्दैन होला त्यो
मागेको ढुसी परेको एक गाँस रोटी पनि
बोक्नु पर्दैन होला
भारीको भारी मलको डोका एकै छाक टार्न पनि
पर्खनु पर्दैन होला
मिठो खान दसैँ, राम्रो लाउन तिहार
किनकि तिम्रो छोरोले पनि
यो देश छोड्दै छ त अनि!