आइएमई जनरल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने भएको छ।
कम्पनीको २१ औँ बार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। कम्पनीको चुक्त पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुगेको छ।
साधारण सभामा बोल्दै इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले ४ बर्षमा कम्पनीले नयाँ बीमालेख लगायत आफ्ना सेवालाई देशका सात वटै प्रदेशमा विस्तार गरेको बताए।
देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने उनको भनाइ छ।
कम्पनीले गत आबमा १ अर्व ७७ लाख बीमा शुल्क आर्जन गरि १५ करोड ९८ लाख खुद नाफा आर्जन गरेको थियो। चालु आबको हालसम्म करिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गरेको छ।